भारतबाट नेपाली कोसेली

  • याे पुस्तक समकालीन भारतमा नेपाली लेखनको माक्र्सवादी मीमांसा र दर्पण हो ।

- विमल आचार्य

‘पोस्ट–ट्रुथ’ शब्दलाई ‘वर्ड अफ दी इयर– ०१६’ घोषणा गरियो । यता हाम्रो साहित्यिक–प्राध्यापकीय वृत्तमा ‘वर्ड अफ दी इयर’ घोषणा गर्ने हो भने ‘डायस्पोरा’ शब्दले बाजी मार्न सक्छ । एक दशकअघिसम्म ‘आप्रवासी लेखन’ वा यस्तै केही भनिन्थ्यो, त्यसलाई डायस्पोरा शब्दले विस्थापित गरिसकेको छ । 

एकताक यताको केन्द्र अर्थात् एकेडेमीदेखि विश्वविद्यालय (पाठ्यक्रम)सम्म नेपालीमूलका भारतीय लेखकको वर्चस्व नै थियो । तर, अहिले पनि नाम लिँदा इन्द्रबहादुर राई र लीलबहादुर क्षत्रीबाट सुरु भएर त्यहीँ टुंगिने ग्याप अवस्था छ । नेपालको पूर्वाेत्तर सीमाबाहिर असीमित कर्म भइरहेका छन्, नेपाली भाषा र साहित्यका क्षे त्रमा । सिक्किम–दार्जीलिङतिर साहित्यिक–प्राज्ञिक कर्म गरिरहेका टीका ‘भाइ’, राजा पुनियानी, अजय खड्का, वेगवसन्त थापा, श्रीनारायण प्रधान, लेखनाथ छेत्री, रवि रोदन, गणेश गजमेर र भीम ठटालका नामै पनि सुनेको होइन काठमाडौँले । तर, यिनै नौ जना सक्रिय लेखकका कृतिमा माक्र्सवादी–प्रगतिवादी दृष्टि दिएका छन्, रूपेश शर्माले सिर्जना र दृष्टिमा । 

टीका ‘भाइ’को कवितासंग्रह पैतालातल्तिर (सन् २०१२)का ६० वटा कवितामा शर्माले क्रान्तिकारी आशावाद र भविष्यदृष्टि देखे–खोजेका छन् । उनी ‘इतिहासचेत र भविष्यदृष्टि भएका प्रगतिवादी कवि’ हुन् । ‘भारतीय नेपाली साहित्यमा सिर्जनात्मक हस्तक्षेपको नेतृत्वदायी भूमिकामा अघि आएका’ कवि राजा पुनियानीको अर्काे लस्कर (२०१३) कवितासंग्रहमा पहिलोदेखि चौथो लस्करसम्म १३ वटा शृंखला कविता छन् । शर्माको मूल्यांकन छ– राजा विचार, वरीयता, सत्ता र शोषणमा स्थापित मठ र रूढ मानसिकताविरुद्ध धावा बोल्छन् । 

डुवर्सका अजय खड्काको पहिलो कृति पखेटा चलुन्जेल निबन्धसंग्रहलाई शर्माले ‘डुवर्समा यसकोटिको पहिलो निबन्ध’ भनेका छन् । खड् काका निबन्धमा चियाश्रमिकका समस्या बढी आएका छन् । डुवर्सकै आशाबारी चियाबगान निवासी अर्का लेखक वेगवसन्त थापाको दोस्रो कृति म टिस्टा बगिरहेछु कवितासंग्रहका २६ कविता स्थानीयताले उल्लेख्य छ । सिद्धिचरण श्रेष्ठको कविता ‘तिम्रो बासित पैसा छैन’झैँ ‘तिम्रो डुवर्ससित स्कुल छैन’ मर्मस्पर्शी छ । मातृभाषा (नेपाली)मा शिक्षा पाउने अधिकारबाट वञ्चित नेपालीहरूको अवस्थाको दारुण चित्र छ यसमा । डुवर्सकै श्रीनारायण प्रधानले तीनओटा कथा किताब निकालेका छन्, विरोध बोल्न नसकेका बिहानहरू (१९८८), गल्लीदेखि राजमार्गसम्म (२००४), निमित्तहरू (२०१३) । उनी सामाजिक मुद्दामा उदात्त भाव भरेर लेख्ने प्रगतिशील लेखक हुन् । 

लेखनाथ क्षत्रीका बाउको पसिना (२०१२) अक्षर अनप्लग्ड (२०१५) कवितासंग्रह प्रकाशित छन् । अक्षर अनप्लग्डका पाँच खण्डमा समय क्यानभास, अक्षर पोट्रेट, जीवन फ्ल्यासब्याक, स्व–उत्खनन, प्रेम अनप्लग छन् । यस्तै, दक्षिण सिक्किम जोरथाङमा बस्ने अर्का कवि रवि रोदनको पहिलो कवितासंग्रह समय स्ट्रोक्सका ४५ कवितामा समय स्ट्रोक्स, चियाबारी स्ट्रोक्स, जीवन स्ट्रोक्स, अतिरिक्त स्ट्रोक्स गरी चारवटा स्ट्रोक्स छन् । यसमा समीक्षक शर्माले प्रतिरोधी कालिक चेतना खोजेका छन् र उनका कविताको केन्द्रीय पक्ष खुट्याएका छन्, उज्यालोको खोजी । 

कवि गणेश गजमेरको गाउँलाई भनेर कवितासंग्रह (२०१३) का ४० वटा कवितालाई अतीतमोह, डुवर्स: चियाबारीको यथार्थ, जातीय चेतना, क्रान्तिकारी भावधारा, माया–प्रीति र कविताको संरचनात्मक स्वरूपमा हेरेका छन्, शर्माले । सिक्किम सरकारका उच्चपदस्थ अधिकारी एवं कवि भीम ठटालको जिद्दी बालक (२००६)मा उनले मानवीय मूल्यबोधको दृष्टि दिएका छन् । यस संग्रहमा ठटालले १९८९ देखि लेखिरहेका कविता संगृहीत छन् । 

पुस्तकको पहिलो खण्डमा उपर्युक्त नौ प्रायोगिक अध्याय छन् । दोस्रो खण्डमा सैद्धान्तिक चार अध्याय छन् । भारतीय नेपाली साहित्यमा नारीवादी लेखक के कसरी आएका छन् भन्नेबारे इतिवृत्तान्त छ । लक्खीदेवी सुन्दास, इन्द्रमणि दर्नाल, कविता लामा, रेमिका थापा, विन्द्या सुब्बालगायत थुप्रैको नारीवादी पहिचान र सामथ्र्यको निरूपण गरिएको छ । दुईवटा उपन्यास भोलिको प्रतीक्षामा (१९९०) र मध्यान्तर (२००७) लेखेकी पुष्प राई नारीवादी स्वर मुखर गर्ने सशक्त हस्ताक्षर हुन् । इन्द्रबहादुर राई, रेमिका थापा तथा लेखकको विचार छ, भोलिको प्रतीक्षा ‘नारीवादी प्रथम लेखन’ हो । लीला छेत्रीले नारी, समाज र समय (२०१३) लेखसंग्रह प्रकाशन गरेकी छन् । नारीवादी समालोचनामा कलम चलाउने कविता लामाका अनुशीलन (२०१०), भारतीय नेपाली बालसाहित्यमा नारी स्रष्टा (२०१४) तथा सिक्किमको साहित्येतिहासबारे पुस्तक नै लेखेका दीपक तिवारीको नेपाली साहित्यमा नारीलेखन (२०१४) नारीवादी दृष्टिले उल्लेख्य छन् ।

समीक्षक शर्मा माक्र्सवादी लेखक भएको हुँदा उनले उत्तरआधुनिकतावाद परिच्छेदमा के, कति र कसरी आलोचना गरे भनेर लेखिरहन परेन । इन्द्रबहादुर राईबारे उनको टिप्पणी सटीक छ । साहित्यको अपहरण : माक्र्सवादिक प्रतिबद्धता प्रकाशनको ६ वर्षपछि कठपुतलीको मनमा छापिएका २० सूत्रीय घोषणामा माक्र्सवादीय सिद्धान्त पनि राख्नुमा माक्र्सवादप्रति राईको नकार र सकारको लीला भ्रान्तिमय देखिन्छ नै । 

लेखक शर्मा सिक्किमेली पत्रकारितामा सक्रिय माक्र्सवादी युवा हुन् । सन् २०१७ को आरम्भमै प्रकाशित उनको सिर्जना र दृष्टिमा सिक्किम–पश्चिम बंगाल भारतको माक्र्सवादी साहित्यिक चित्र दुरुस्त छ । अहिलेको काठमाडौँ (नेपाल)ले राजा पुनियानी र मनोज बोगटीलाई अलि बढी पढिरहेको छ, शर्माले राजालगायत नौ जनाका लागि एक–एक अध्यायमा विवेचना गरेका छन् । ‘विचारको शक्ति’मा उनको निष्कर्ष छ, विचारप्रति विचार नपुर्‍याउनेहरू विचार भएर पनि निरीह र शक्तिहीन हुन्छन् । पुस्तक समकालीन भारतमा नेपाली लेखनको माक्र्सवादी मीमांसा र दर्पण हो । 

सिर्जना र दृष्टि 

लेखक    :    रूपेश शर्मा 

प्रकाशक    : बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, पश्चिम बंगाल, भारत

पृष्ठ    :    ३३२

मूल्य    :    २५० रुपियाँ

प्रकाशित: चैत्र २३, २०७३