खुसी जित्ने नेपाली किन दुब्लाए ?

- हस्त गुरुङ

भर्खरै गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती मनाइयो । गणतन्त्र स्थापना र शान्ति पुन:स्थापना गर्न उनले निर्वाह गरेको ऐतिहासिक भूमिकालाई स्मरण गरियो । वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरिजाबाबुलाई विशेष स्मरण गर्दै भने, ‘गिरिजाबाबुले जंगलका हिंस्रक समूहलाई शान्ति प्रक्रियामार्फत देशको सत्ताको मियोमा नबाँधिदिएका भए, यहाँ शान्ति पुन:स्थापना हुने थिएन । जोदेखि घरघर, जनजन, पार्टी कार्यकर्ता त्रस्त र भयभीत थिए, तिनलाई विलासी महल र सत्ताको शक्ति हस्तान्तरण नगरेको भए, देश र देशवासीले शान्तिको श्वास फेर्न पाउने थिएनन् ।’
 
पौडेलका दृष्टिले हेर्ने हो भने देशको शान्ति प्रक्रियाले उत्तम प्रतिफल दिएको छ । यसमा गिरिजाबाबुको हात छ । संसदीय प्रक्रियामा आएका गुरिल्लाहरू हाम्रा आँखाअगाडि शान्त भएर सत्ता सुख भोगिरहेका छन् । उनीहरूको आवास, व्यञ्जन र सुखभोगका लागि देशको ढुकुटीको ढोका उदांग छोडिएको छ । सुरक्षाकर्मीहरूलाई उनीहरूकै सुरक्षामा तैनाथ गरिएको छ । त्यसैले अब शान्तिको पालुवा पलाउन लागेको छ । यो हराभरा हुन्छ, यसका हाँगामा फूल फुल्नेछन् र भविष्यमा मीठा फल दिनेछन् । 

गोठगाउँको कथा 
जुगल हिमालको फेदीमा एउटा धनी गाउँ थियो, गोठगाउँ । त्यस गाउँका गोठालाहरूले प्रशस्त गाई–भैँसी, भेडा–बाख्रा पालेका थिए । बस्तुभाउको मल प्रशस्त भएकाले अन्नपातको उब्जनी राम्रो हुन्थ्यो । चरिचरन राम्रो भएकाले पशुहरू मोटाघाटा थिए । सबैका घरमा दूध–दही, घ्यू–मही, ऊन–मासु र अन्नपात भरिभराउ थिए । तिनको बेचबिखनबाट हुने आम्दानी पनि राम्रै थियो । त्यो आम्दानी खर्चेर गाउँलेहरूले पाटी–पौवा, कुवा–पैनी, घोडेटो–गोरेटो आदि आफैँ बनाउँथे । उनीहरू दिनभरि कडा परिश्रम गर्थे र साँझमा केही समय रामरमाइलो गरेर ढुक्कसँग सुत्थे । 

त्यस गाउँमा एक दिन कतैबाट एक पाहुना आइपुगे । तिनलाई गाउँ साह्रै मन पर्‍यो । अनि, उनले धेरै पाहुनालाई लगेर त्यहाँ चेतनामूलक शिक्षा–दीक्षाको लहर चलाउन थाले । सभा, सेमिनार, गोष्ठी आदि गर्दागर्दै उनीहरूले त्यस गाउँको वनमा एकाध पशुमा घाउचोट लाग्ने गरेको पत्ता लगाए । पशुका आङमा लागेका किर्नाहरू टिपेर खाने क्रममा त्यस्ता घाउ कागले लगाएका थिए । 

त्यसैले गोठालाहरूले काग भगाउने उपाय खोजे । बुद्धिजीवी पाहुनाहरूले त्यहाँको बिरालो छाडेर काग भगाउने उपाय सुझाए । जंगलमा छाडिएका ती बिराला बिस्तारै हिंस्रक बने । तिनले पशुमा झन् ठूला घाउ लगाउन थाले । अनि, बिराला भगाउन स्याल र ब्वाँसाका पाठाहरू ल्याएर हुर्काउन थाले । गोठालाहरूले दूध खुवाएर पालेका ती पाठाहरू बिस्तारै हिंस्रक बन्दै गए । तिनले घरपालुवा पशु नै मार्न थाले । चरन क्षेत्रमा पुगेका पाल्तु जनावर हराउन थाले । 

केही समयपछि पाहुनाहरू आएर गोठाले समाजमा केही समस्या छन् कि भनेर सोधखोज गरे । गाउँलेहरूले वनमा हिंस्रक जनावर बढेर गोठाला र पाल्तु पशुलाई मार्ने र सताउने गरेको सुनाए । ती स्याल र ब्वाँसाहरूले दूधालु पशुहरूलाई छानीछानी मारिरहेका थिए । यति कुरा सुनेपछि पाहुनाले फेरि विज्ञको रूप धारण गरेर आश्वासन दिए, ‘त्यसो भए सिकारी खोजेर हिंस्रक पशुहरूलाई तह लगाउनुपर्ने भो, म त्यो सिकारी खोज्छु ।’ 

केही समयपछि ती पाहुनाले एउटा सिकारी ल्याएर गाउँलेसामु उभ्याए । ऊ पत्यारलाग्दो थियो । सरसल्लाहपछि गाउँलेलाई सताउने जंगलका हिंस्रक पशुहरू तह लगाउन सिकारी तयार भयो । तर, उसले एउटा सर्त राखिदियो । उसले भन्यो, ‘म शान्तिको मार्गमा तपस्यारत छु । हतियारको समाधानमा विश्वास गर्दिनँ । मबाट कुनै प्राणीलाई मार्ने र रगत बगाउने काम हुनेछैन । तर, हिंस्रक पशुहरूलाई तह लगाएर तपाईंहरूलाई चैनको निद्रा दिने वातावरण तयार गर्छु ।’ 

गाउँलेहरूले सोधे– तर, कसरी ? बिनाहतियार हिंस्रक पशु तह लगाउन सकिन्छ र ? सिकारीले ढुक्क हुँदै बतायो, ‘ त्यो शान्तिपूर्ण उपायबारे मलाई थाहा छ, म गरेर देखाउँछु ।’ 

केही समयपछि सिकारीले अनेकन् जाल बुन्यो, बलिया खोरहरू बनायो । किनभने, उसले हिंसा नगरी हिंस्रकहरूलाई नियन्त्रणमा लिनु थियो । अनि, हिंस्रक मन्त्रद्वारा आह्वान गरेर पशुहरूलाई गाउँमै आउन निमन्त्रणा दियो । तिनको बसोवासको व्यवस्था मिलाइदियो । कसैलाई जालमा र कसैलाई खोरमा राखिदियो । तिनलाई चाहिने जति खाना र अन्य सुविधा उपलब्ध गराइदियो । गोठालाहरू खुसी भए । हिंस्रक जन्तुलाई गाउँलेकै आँगनमा उम्कनै नसक्ने गरी राखिदिएपछि गाउँमा शान्ति पुन:स्थापना भएको भनी विज्ञ पाहुनाहरूले प्रचार गरे । 

तर, त्यस दिनदेखि गाउँमा अचम्मको परिवर्तन देखापर्‍यो । घरपालुवा पशुहरूमा मन्द ज्वरो देखियो । दूधालु पशुहरूको दूध घट्दै गयो । ऊन दिने भेडाहरू टाक्सिँदै गए । गोठालाहरूले अनेकन् विशेषज्ञहरू लगाएर उपचार गराए । तर, रोग बढ्दै गयो । फलत: दुग्ध उद्यम सुके । मासु र ऊनको उत्पादन बन्द भयो । राडीपाखी उद्योग पनि बाँकी रहेनन् । गोठालाहरूलाई पेट पाल्नै मुस्किल हुन लाग्यो । अनेक उपचार खोजे तर केही सीप नचलेपछि गाउँलेहरू रोजगारको खोजीमा विदेशिन थाले । विदेश गएका गोठालाहरू असाध्य रोग लागेर फर्किन थाले । 

धेरै गोठालाहरू मर्न थालेपछि एउटा बूढो भेडो बरबरायो । उसले साहस गर्दै सुझायो कि स्याल र ब्वाँसाका दाह्रा र नंग्राहरू घोटेर पिलाइदिएपछि गोठालोको रोग निको हुनेछ । अनि, गोठालाहरूले स्याल र ब्वाँसोका दाह्रा र नंग्रा झिकेर घोट्दै औषधि बनाउन थाले । युवा गोठालोको ज्यान बचाउन स्याल, ब्वाँसो आदिका दाह्रा र नंग्रा झिकिन थालेपछि गोठका पशुहरू पनि तंग्रिँदै गए । दूधालु पशुहरूले दूध दिन थाले । भेडाहरूका भुत्ला बाक्लिए । गोठका पशुमा आएको परिवर्तन देखेर शान्तिविज्ञहरू छक्क परे । अनि, तिनले बूढो भेडोलाई सोधे, ‘तिमी त धेरै दिन बाँच्दैनौ भनेर माया मारेका थियौँ, अचेल मोटाउन पो थाल्यौ ? कसरी यस्तो भयो ?’ 

बूढो भेडाले नडराई भनेछ, ‘खोरमा राखिए पनि स्याल र ब्वाँसा कराउँदा, चटपटाउँदा हामी डरले भुतुक्क हुन्थ्यौँ, खाएको पच्दैनथ्यो । बाँच्ने आशा हराएको थियो । किनभने, तिनीहरूसँग धारिला दाह्रा र नंग्रा थिए । त्यो झिकिदिएपछि तिनीहरूसँग डर लाग्न छाड्यो । अनि, हामी त्यसै स्वस्थ भयौँ । अब बाँच्ने आशा जागेर आयो ।’

खोरमै राखिएको भए पनि स्याल र ब्वाँसाका तीखा दाह्रा र नंग्रा देखेर शान्त पशुहरूको सातो जान्थ्यो । तिनीहरू त्रस्त भइरहन्थे । त्यसले गोठै दुब्लो बनाएको रहेछ । गोठालाहरूले यो कुरा बुझेपछि, पाहुनाविज्ञहरूले गाउँ छाडे । गोठगाउँमा फेरि शान्ति फर्कियो ।

नेपाली दुब्लाउनुको कारण 
सम्भवत: नेपालको शान्ति प्रक्रियामा पनि गोठगाउँकोजस्तै त्रुटि भएको छ । विशेषज्ञहरूले जति चर्का कुरा गरेर शान्तिको बयान गरे पनि नेपालीहरू ढुक्क भएर एक निद्रा सुत्न सकेका छैनन् । देशको व्यापार घाटा आठ खर्ब रुपियाँ नाघिसकेको खबर पाएर देशलाई माया गर्नेहरू झस्केका छन् । साझा बस, स्कुल बस र सार्वजनिक यातायातमा तोडफोड भएपछि बालबालिकाहरू १० वर्ष पुरानो आततायी घटना सम्झिएर आत्तिन्छन् । मन लगाएर पढ्न सक्दैनन् । 

तस्करी, लुटपाट, चेलीबेटी बेचबिखन खुला रूपमा हुन थालेपछि देशवासीको छाती चर्किएको छ । सत्ताको खोरमा पुगेकाहरूले ढुकुटी रित्याउने उही चाला दोहर्‍याएपछि युवाहरू आफ्नो भविष्य अन्धकारमय देख्दै छन् । नेताहरूको क्षुद्र र क्षुब्ध तर्कसहितका भाषण सुनेपछि नागरिकलाई दिउँसै ऐँठन हुन्छ । चिसो हुँदै गरेको चुल्हो र झुत्रो हुँदै गएको ओछ्यान देखेपछि नागरिकका आङ भरंग भएर पसिनाले निथ्रुक्क भिज्छ । केटाकेटी र बूढाबूढीको दाना कर्मचारीले लटपट्याएर रुवाएपछि तिनका आँखाबाट निद्रा हराएको छ । बादल गर्जेजसरी नेताहरू गर्जन थालेपछि, टाउको उठाएर झ्यालबाट बाहिर हेर्‍यो भने नेपाल बन्द गरेर आगजनी गर्दै हिँडेको उही झुन्ड देखापर्छ । तिनले गरेका तोडफोड र आगजनीका कारण उर्वर खेतबारी, मायालु घर–परिवार, सहयोगी ईष्टमित्र र रमाइलो देश छाडेर अन्यत्र जान मन लाग्छ । अन्यत्र जान खुट्टा उचाल्नेबित्तिकै मिटर ब्याजे साहूहरूको पासो पनि सुखद लाग्छ । अनि, सिंगो देशमा १ करोड २० लाखजति मतदाता बाँकी रहन्छन् । त्यसको आधाजति भुरेटाकुरे नेता छन् । तिनका काम गर्ने हात छैनन्, खाने मुख मात्र छन् । 

सुन्दा पनि त्रासद लाग्छ, देशका एकतिहाइ युवामध्ये ६० लाख युवा उखरमाउलो गर्मी बेहोर्न खाडी पुगेका छन् । तिनको कमाइले जसोतसो पेट पालनको मेसो चलेको छ । देशका बुुद्धिजीवीहरूले रेमिट्यान्समा पनि कर लगाउने बन्दोबस्त गरेका छन् ।

त्यसमा उपरीमाथि थुपरी भएको छ । मानव व्यापारीहरूले ‘रेमिट्यान्समा गर्व गरौँ’ भन्ने नारा चलाएका छन् । त्यसैले तीन वर्ष उमेर बढाएर पासपोर्ट लिने नाबालकहरूको भीड चलेको छ । नि:शुल्क हवाई टिकट र फ्रि भिसा बेच्नेहरूको हैसियत र बजार फस्टाएको छ । अपांगता बेहोर्ने र कालो बाकसमा सजिएर आउने युवाको धुइरो लागेको छ । हो, नेपालभरिका युवामा असाध्य रोग लागेको छ । तर, तिनको उपचारको बिङ् गा लगाउने कुनै भेडोले साहस झिक्न सकेको छैन । पीडित जति रुन–कराउनमै व्यस्त छन् । खतरामा नपरेका जति रमिते बनेका छन् । विज्ञहरूको विज्ञताको खेल उल्टो परेको छ ।

तिनको परामर्शका कारण पहाडी गाउँका घरमा मोटा ताल्चा लागेका छन् । त्यस भेगमा सामुदायिक वनको बैठक गर्नुसमेत असान्दर्भिक हुँदै गएको छ । किनभने, गाउँका खेतबारी मात्र होइनन्, आँगनसमेत जंगलमा परिणत हुन थालेका छन् । गाउँमा कसैले पैसा लैजान पनि सक्दैन र राख्न पनि सक्दैन । लगानीको सुरक्षा कतैबाट छैन । मधेसमा उद्योग चल्न सकेका छैनन् । रोजगारी बन्द भएका छन् । आन्दोलनको चक्रवातले युवाहरूको ज्यान लिएको छ । 

अर्थात् नेपालको शान्ति प्रक्रिया अधुरो छ । खुसी जित्ने नेपालीहरू किन दुब्लाए भन्ने रहस्य जान्न मन लागे गोठगाउँ जाऔँ र केही सिकौँ । गाउँलेसँगै बसेर गाउँमै त्रास फैलाउने हिंस्रक समूहको दाह्रा र नंग्रा त झिक्नैपर्छ । त्यति नगरी देशमा शान्ति फर्कंदैन । 

प्रकाशित: चैत्र २३, २०७३