जनआन्दोलन जारी छ...

  • व्यवस्थाको ब्यानर परिवर्तन, पात्र र प्रवृत्ति उस्तै

- राजकुमार बानियाँ

मुलुकमा गणतन्त्र स्थापना भएको एक दशक पुग्नै आँट्यो । तर, जनआन्दोलन–२ को सार्थक परिणाम अझै लोक व्यवहारमा अनुभव हुन सकेको छैन । नागरिक तहमा त गुनासो छ नै, स्वयं ०६२/६३ को जनआन्दोलनमा होमिएर ‘सेलिब्रिटी’ बनेका कवि–कलाकारलाई पनि लाग्छ, ‘के त्यस्तो पनि भयो र ? साँच्चै जनआन्दोलन भएको हो र ?’ यसै सन्दर्भमा आन्दोलनकारी तीन कवि–कलाकारको अनुभूति :

अर्जुन पराजुली, ५३, हास्यकवि
१९ दिने आन्दोलनभरि अर्जुन पराजुली एक दिन पनि सडकमा देखिएनन् । टिचिङ अस्पतालबाट कफ्र्यु तोडेको आरोपमा २६ चैतमै २४ जना डाक्टरसहित पक्राउ परिहाले । अर्जुनसहित नागरिक नेताको समूह १८ दिनसम्म सशस्त्र प्रहरी गण दुवाकोट (भक्तपुर)मा थुनियो । बन्दी जीवनको अनुभव उनलाई नयाँ थिएन । काभ्रेको ज्याम्दी, भतेरेका अर्जुन न्यायसेवाको डिट्ठा भएर कर्मचारी आन्दोलन (०४९)मा लाग्दा एक महिना थुनिएका जो थिए । 

दाह्रीका हिसाबमा मुल्लाहजस्तो देखिए पनि अर्जुन खासमा हास्यव्यंग्य कवि थिए । सात दलको नयाँबानेश्वर सभामा हास्यकविता सुनाएर साँझ गोंगबुस्थित घर फर्कंदा उनलाई कसैले पछाडिबाट मुख थुनिदियो र टाउकोमा केही तेर्साएर धम्की दियो, ‘यताउता नगर्लास् । खबरदार !’ अँध्यारोमा उनले आँखा खोलेर हेर्न पनि भ्याएनन् । उनलाई थाहा छैन, त्यसमा राजनीतिक उद्देश्य थियो वा अरू नै ?
यति भएर पनि उनी आन्दोलनबाट डगमगाएनन् । उनका ‘राजाहरू बिक्रीमा छन्,’ ‘पेसा राम्रो प्रतिगमन,’ ‘जंगबहादुरसित पुनर्मिलन,’ ‘सत्र साल भाग दुई’ आदि कविता त्यतिबेला निकै चर्चित भए । गुरुकुलमा दुई घन्टासम्म २९ थान कविता पढे । बोतलको पानी घुट्को लगाउँदै ट्याक ट्याक कविता पढ्ने शैलीका कारण ‘वान्समोर’ पनि पाए । वसन्तपुरको डबली, राजपुरको  मैदान या नयाँ बानेश्वरको मैदान कतै फ्लप भएनन् । आन्द्रालोक कवितासंग्रह पनि निकालेका अर्जुनको बुझाइमा हास्यकविता सडक चेतनालाई प्रभावकारी बनाउने माध्यम हो । सुन्दा हाँसो उठ्ने, बुझ्दा रुन मन लाग्ने ।
 
हालचाल सन्ध्याकालीन दैनिक भुँडीपुराण, चंखे, फुमन्तर नामक हास्यव्यंग्य पत्रिका पनि निकालेका अर्जुनको वाचनशैलीमा कति पकड थियो भने १४ वैशाख ०६३ को विजयसभामा कांग्रेसका तत्कालीन नेता सुशील कोइरालाले गिरिजाप्रसाद कोइराला नआउने सूचना दिएपछि अशान्त भीडलाई ‘राजाहरू बिक्रीमा छन्’ सुनाएर थुमथुमाए र ऐलान गरे, ‘पुराना राजा ल्याउनूस्, नयाँ राजा लैजानूस् ।’ 

१३ वर्षदेखि नयाँ बानेश्वरस्थित पाठशाला नेपाल नामक शैक्षिक संस्थाको अध्यक्ष रहेका अर्जुन अहिले सन्तुष्टि लिने एउटै ठाउँ देख्छन्, गणतन्त्र । अब त्यसले बाटो लेला भन्ने आशा पनि छ । “हाम्रो एक मात्र एजेन्डा राजतन्त्र फालेर गणतन्त्र ल्याउने थियो । कृष्ण पहाडीलगायत हामी कि राजतन्त्र छैन, कि हामी छैनौँ भनेर लागेका हौँ,” उनी भन्छन्, “एउटा राजा हटे पनि हजारौँ राजा जन्मिन्छन्, हामी तिनलाई पनि हटाउन तयार छौँ ।”

मणि काफ्ले, ३३, कवि
तिनताका त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा अंग्रेजी विषयमा एमएड पढ्दै थिए, मणि काफ्ले । कुनै दलमा आबद्ध थिएनन् तर नैतिक समर्थन सशस्त्र विद्रोहमा संलग्न तत्कालीन नेकपा माओवादीलाई थियो । कहाँ कतिबेला कसले कसलाई मार्छ भन्ने ठेगान थिएन । 
चाँडै उथलपुथलकारी आन्दोलन सुरु हुने दिनगन्ती गरिरहेका थिए मनमनै ।

१९ दिने आन्दोलन घोषणापछि पनि उनले नेतालाई कतै भेटेनन् । २७ चैत ०६२ मा कीर्तिपुर चोकमा उभिएर कवितामार्फत आन्दोलनलाई सघाउने विचार गरे । प्यारोडी शैली मुखमुखै कविता वाचन गरे, ‘सम्बोधन ।’ कवितामार्फत राजा ज्ञानेन्द्रले देशवासीका नाममा गरेको सम्बोधनलाई व्यंग्य थियो त्यो । त्यसले आन्दोलनमा उभार मात्र आएन, उनले पनि एकाएक प्रसिद्धि पाए । 

जनआन्दोलनभरि उनले कविता वाचन नगरेको कुनै दिन थिएन । लगातार ६ घन्टासम्म पनि कविता सुनाए । उनका कविताका कुनै स्क्रिप्ट थिएनन् । राजाले यसो भने, फलानो ठाउँमा गोली चल्यो या गृहमन्त्री कमल थापाले यसो गरे भन्ने सूचना साथीहरूले दिन्थे, उनी तत्क्षण आशुरचना गरिहाल्थे । आन्दोलनको सफलतापछि लिखितम कविता पाठ गर्दा साथीहरूले भन्न थाले, ‘मणिले 
चिट चोर्‍यो ।’ 

लोकतन्त्र आएपछि मणि नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीको कीर्तिपुर केन्द्रीय क्याम्पसको एकाइ उपाध्यक्ष पनि भए । ६ महिनामै त्यो जिम्मेवारी छाडिदिए उनले । प्रचण्ड–वैद्य ‘ब्रेकअप’पछि उनी वैद्य माओवादीतिर लागेका थिए । फेरि वैद्य–विप्लव ‘ब्रेकअप’ले उनी राजनीतिबाट ‘साइड’ लागे । 

धेरैले सोचेजस्तो माओवादीको सत्तारोहणपछि मणिले कुनै लाभ लिएनन् । तर, कतै उनको खोजी पनि गरिएन । राजनीति समाजसित नजोडिएको निष्कर्षसहित ०६७ मा उनी आफ्नै गाउँ फर्किए, सिन्धुलीको सिर्थौली । त्यहाँ कृषि फार्म सुरु गरे । बंगुरपालनमा खासै नाफा लिन सकेनन् र माछापालनमा लागेका छन् । सँगसँगै हिमालयन इङ्लिस स्कुल पनि चलाइरहेका छन् । “नढाँटी भनुँ भने सरकारी अनुदान पाइन्छ भनेर कृषि फार्म सुरु गरियो,” ६ महिने छोरीका बाबु सुनाउँछन्, “कर्मचारीहरू बल्छी थापेर बसेका हुँदा रहेछन् । 

एक लाख पाउने छ भने ७५ हजार रुपियाँ बराबर त उनीहरूलाई खर्चनुपर्ने ।” 

अब सामान्य डेन्टपेन्टवाला राजनीतिको औचित्य देखेका छैनन् उनले । अब जनआन्दोलन–२ सम्झँदा पनि उनलाई उदेक लाग्छ । कि नेताको दास बन्नुपर्ने या देश छाडेर जानुपर्ने विकल्प मात्र देख्छन् युवामा । “मैले मानेका क्रान्तिकारी नेता प्रचण्डले हिजो हामीलाई गोली हान्न आदेश दिने मान्छेलाई बोकेर अबिर जात्रा गर्दै बालुबाटार लग्छन् भने मैले के बुझ्ने ?” उनी भन्छन्, “व्यवस्थाको ब्यानर मात्र परिवर्तन भयो, पात्र र प्रवृत्ति उस्तै छ । गणतन्त्र खोइ कहाँ आयो मिडियामा या सिंहदरबारमा ?”

रुबिन गन्धर्व, २६, सारंगीवादक
राजधानीका माइक्रो बसमा सारंगी बजाएर हिँड्ने रुबिन गन्धर्वलाई भृकुटीमण्डपमा समातेर विद्यार्थी नेताहरूले आन्दोलनमा लगाएका थिए । ‘समातेर’ किन भनेको भने उनलाई आन्दोलन, लोकतन्त्र या राजसंस्थाबारे खासै जानकारी थिएन । तत्कालीन विद्यार्थी नेताहरू गगन थापा, रामकुमारी झाँक्री, चन्द्र शाही, प्रेम प्रधान, सुरेश पराजुलीहरूकै उक्साहटमा उनी आन्दोलनमा होमिए । पहिलोपटक सारंगी रेट्दै आन्दोलनको गीत गाए, रातोघर (तत्कालीन अनेरास्ववियुको कार्यालय) छेउमा । 

आन्दोलनमा होमिएपछि कैयन् पटक उनलाई प्रहरीले समातेर कहिले ककनी त कहिले भीमफेदी लगेर छाडिदिन्थ्यो । एक पटक त प्रहरीले बालाजु चोकमा घाइते हुने गरी पिट्यो । “म १३–१४ वर्षको थिएँ । तर, गिरिजाप्रसाद कोइरालाले बोल्न नसकेको कुरा पनि गीतमा पोखेँ,” उनी दाबी गर्छन्, “त्यस कारण मेरो कोठासम्म सेना आयो । म बालबाल बँचेको हुँ ।” उनको क्रेज कस्तो भयो भने जिल्ला–जिल्लामा पनि उनको माग हुन थाल्यो । केपी ओलीले आफूसँगै इलाम लिएर गए, गिरिजाप्रसादले विराटनगर । अर्जुननरसिंह केसीदेखि रामशरण महतसम्मलाई रुबिन नै चाहियो ।

लोकतन्त्र स्थापनापछि गिरिजाप्रसादले उनलाई सरकारबाट महिनावारी पाँच हजार रुपियाँ पाउने व्यवस्था गरिदिए । अर्को सरकार आएपछि कर्मचारीहरूले बखेडा झिके र त्यो क्रम रोकियो । “सबै नेताले भेट्दा के छ, कसो छ भन्छन्, जीविकोपार्जनबारेमा कसैले सोध्दैनन्,” उनी भन्छन्, “परिवर्तनपछि पनि मुलुक यथास्थितिमै रुमल्लिरहँदा नेपाली जनता दु:खी छन्, त्यसमा रुबिन गन्धर्व खुसी हुने कुरै भएन ।” 

नेपालले सम्पर्क गरिरहँदा लमजुङको राइनासमा थिए रुबिन । जापानी साथीहरूलाई लिएर गन्धर्व गाउँ घुमाउन लगेका रहेछन् । दुईदिने झरीमा डोजरले बाटो हिलाम्मे पारेकाले फर्कन नसकिरहेको बाध्यता सुनाउँदै थिए । ठमेलस्थित गन्धर्व कल्चर एन्ड आर्ट अर्गनाइजेसनका उपाध्यक्ष रहेका रुबिन प्राय: यस्तै काममा समय बिताउँछन् । हप्ताको दुई साँझ ठमेलकै ट्राभलर्स क्याफेमा सारंगी बजाउँछन् । 
गोरखाका बासिन्दा रुबिनको घर द्रव्य शाहले दौडेर जितेको लिगलिगकोटको टुप्पोमा छ । ०५८ तिर ४ कक्षा पढ्दापढ्दै घरबाट भागेर साझा बसमा राजधानी आइपुगेका रुबिनले लोकतन्त्रपछि कक्षा १२ सम्म पढे । घरजम गरे । अहिले ६ वर्षकी छोरीका बाबु बनिसकेका छन् । “केही पनि परिवर्तन भएन भन्ने म मान्दिनँ । २ सय ४० वर्षको राजतन्त्र ढल्नु ठूलै उपलब्धि हो,” उनी भन्छन्, “म निराशावादी सोचको मान्छे होइन । आज नभए भोलि, भोलि नभए पर्सि केही त हुन्छ, हुन्छ ।” 

प्रकाशित: चैत्र २३, २०७३