पाएजति खेल्ने काइदा

- नेपाल संवाददाता

धेरैभन्दा गुणस्तरीय फिल्म खेल्दा कलाकारको कद अग्लो हुन्छ । बजार भाउ पनि सोही अनुसार बढ्छ । तर, सुझबुझ भएका भनिएका कलाकारले समेत यो यथार्थलाई आत्मसात् गर्न सकेका छैनन् । हिरोइन प्रियंका कार्कीलाई हेर्दा त्यस्तै लाग्छ । पत्याउन मुस्किल होला, सत्य हो कि उनी अभिनीत पाँच फिल्म रिलिज हुन बाँकी छन्, लालटिन, राधे, ह्पाप्पी डेज, अनागत र बटरफ्लाइ ।

नेपालजस्तो सानो बजारको फिल्म उद्योगमा एउटै कलाकारको यति धेरै फिल्म ‘स्टक’ रहनु प्रत्युत्पादक हुन्छ । त्यसमाथि राधेबाहेक अरु फिल्मको रिलिजको टुंगो छैन । तर पनि, ‘ब्रेक’ लिएकी छैनन् । चैत पहिलो साता अर्जुनकुमारको फाटेको जुत्तामा औपचारिक रुपमा अनुबन्ध भएकी छन् । छक्का–पन्जाको सिक्वेलमा त उनको उपस्थिति सुनिश्चित नै छ । नाफारघाटा आफ्नो ठाउँमा छ तर पाएजति फिल्म खेल्ने प्रियंकाको काइदाचाहिँ मान्नैपर्छ । 

प्रकाशित: चैत्र २२, २०७३