यसकारण संकीर्णताको उदय

  • संसारमा उदाएको ‘कन्जरभेटिभ’ आन्दोलन, ब्रेक्जिट, अमेरिकी रास्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदय, युरोप, चीन, भारत, टर्की, रसिया र इजिप्टको सरकार र समाजमा हाबी हुँदै गइरहेको अतिवादको प्रभावबाट नेपाल मुक्त छैन ।

- सुमित शर्मा समीर

विश्वव्यापी राजनीतिको पदचापलाई पछ्याउँदै के नेपाली राजनीतिमा संकीर्ण शक्तिहरूको उदय हुन लागेको हो ? संसारमा उदाएको ‘कन्जरभेटिभ’ आन्दोलन, ब्रेक्जिट, अमेरिकी रास्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदय, युरोप, चीन, भारत, टर्की, रसिया र इजिप्टको सरकार र समाजमा हाबी हुँदै गइरहेको अतिवादको प्रभावबाट नेपाल मुक्त छैन । तर, नेपालमा कन्जरभेटिभ आन्दोलन नै किन उदाइरहेको छ, यसको विश्लेषण कहीँकतै भएको छैन ।

नेपालमा संकीर्ण शक्तिहरूको उदयका पछाडि मूलत: तीन कारण छन् । पहिलो, कम्युनिस्टको हिंसात्मक प्रगतिशील क्रान्ति । दोस्रो, लोकतान्त्रिक भनाउँदा दलहरूको नवउदारवादी अभ्यास । र तेस्रो, ‘सफ्ट पावर’ र ‘युरोसेन्ट्रिजम’को माध्यमबाट संस्थागत भएको सामाजिक विभाजन । 
प्रगतिशील क्रान्ति : विसं ०४६ पश्चात् नेपाली राजनीतिमा निरन्तर रूपमा हेगल र कार्ल माक्र्सको दर्शनले भन्ने गरेको ‘ऐतिहासिकता’को एक मात्र विकल्प हाबी छ– प्रगतिशीलताको मुखुन्डो लगाइएको हिंसात्मक लाल आतंक । कम्युनिस्टहरूको ऐतिहसिकतामा आधारित विश्लेषण सम्भवत: १८औँ शताब्दीको युरोपका लागि सही पनि थियो होला । तर, के यो नेपाली समाजका लागि पनि सही थियो ? कम्युनिस्ट कित्ताले निरन्तर घोकाएकै भरमा सिंगो नेपाली समाजलाई सम्पूर्ण रूपमा सामन्ती ठहर गर्न मिल्छ ? 

‘इतिहासले निश्चित दिशा तय गर्नैपर्छ’ भन्ने तर्कमा टेकेर माक्र्सले कम्युनिस्ट मेनुफेस्टोमा सम्पूर्ण समाजको इतिहास भनेको वर्ग संघर्षको इतिहास हो भनी घोषणा गरिदिए । समयको कालखण्डमा वर्ग धुमिल हुँदै गयो तर संघर्ष संस्थागत भयो । समाज परिवर्तन गर्ने शान्तिपूर्ण सुधार र सामाजिक स्थायित्वको बाटो परित्याग गर्दै क्रान्तिकारिताका नाममा हिंसालाई संस्थागत गर्छौं, त्यस्तो बेला भाइचारा त्याज्य हुन्छ र संघर्षका नाममा समाज विभाजित हुन्छ । 

नवउदारवादी अभ्यास : नवउदारवादी अभ्यासले असमानता मात्र बढाएको छैन, अपितु बजारको आदर्शलाई सम्पूर्ण क्षेत्र र गतिविधिलाई हाँक्ने दर्शन बनाएको छ । मानिसलाई मात्र बजारको अभिनेतामा परिणत गरिदिएको छ । जीवनका हरेक अवयवमा बजार हाबी छ, पैसा हाबी छ । लोकतान्त्रिक भनाउँदा दलहरूको आजको धर्मशास्त्र नै पैसा हो । त्यही पैसा र शक्तिका लागि यी दलहरू गिरोहमा परिणत भएका छन् । राज्यका सबै निकायमा नियुक्तिदेखि सबै सरुवा–बढुवामा दलहरूको पैसाको धर्मशास्त्र हाबी छ । फाइदा अधिकतम कमाउनु नवउदारवादको प्राणवायु हो । तेस्रो विश्वमा यस्तो अभ्यासलाई सुशासनको नाम दिएर सफ्ट पावरका माध्यमबाट विकसित मुलुकहरूले संस्थागत गर्दै आएका छन् । 

युरोसेन्ट्रिजम : युरोपको सांस्कृतिक पहिचानलाई धार्मिकता र क्रिस्चियानिटीले मलजल गर्दै आएको छ । युरोपीय अवधारणाले भौगोलिक, राजनीतिक र आर्थिक परिभाषा पाएपछि पुरानो युरोपलाई आधुनिक र धर्मनिरपेक्ष युरोपको मुखौटा त भिरायो तर युरोपले कहिल्यै पनि आफ्नो क्रिस्चियन जरासँग सम्बन्धविच्छेद गरेन । यथार्थमा अरू सभ्यताहरूसँगको मुठभेडमा यसले आफ्नो श्रेष्ठतालाई ‘रि–इन्फोर्स’ गर्न ‘युरोसेन्ट्रिक’ विचारधारालाई नै मलजल गर्‍यो ।

त्यही विचारधाराले लामो समयसम्म भारतीय इतिहासलाई आर्यन भर्सेज द्रबिडियनको द्वन्द्वको इतिहास भनेर परिभाषित गर्‍यो, जुन सर्वथा गलत थियो । बेलायतीहरू भारत प्रवेश गरेपछि आफ् नोभन्दा श्रेष्ठ सभ्यता देखेर चकित परेका थिए । यो सभ्यतालाई अधीनस्थ गर्न उनीहरूलाई मध्य एसियाबाट आफूजस्ता आर्यन छिराउन मात्र अपरिहार्य थिएन, अपितु आर्यनले द्रबिडियनमाथि राज्य गरेको भनेर स्थापित गर्न त्यत्तिकै आवश्यक थियो । 

यो ‘न्यारेटिभ’को माध्यमबाट बेलायतीहरू भारतीयलाई भन्न चाहन्थे कि उनीहरू यो ठाउँमा नयाँ भए तापनि, धेरै अघि (१५०० क्राइस्टपूर्व) मध्य एसियाबाट छिरेका आफूजस्तै गोराहरूले सभ्यता सिकाएको हो । आफूहरू भारतमा ज्ञान बाँड्न मात्र आएको हो । त्यसकारण बेलायती शासनको विरोध गर्नु उचित छैन । यही दलिलमा टेकेर इस्ट इन्डिया कम्पनीका नामबाट भारतमा व्यापार गर्न छिरेको बेलायती साम्राज्यले भारतलाई अधीनस्थ बनायो ।

त्यो प्रक्रियामा बेलायतीहरूले हिन्दु–मुस्लिम विभाजनको रेखा कोरे । भारतीय राजनीतिज्ञ शशी थरुरले भनेकै छन्, ‘जाति व्यवस्था पनि ब्रिटिस राजकै विरासत हो । हामीमा जाति थियो, उप–जातिहरू थिए, सामाजिक भेदभाव थियो, खास गरी दलितहरूमाथि । ती सबै सत्य हुन् । तर, ब्रिटिसहरूले भनेजस्तो, व्याख्या गरेजस्तो जाति–व्यवस्था थिएन । १८औँ शताब्दीको अन्त्यतिर जब ब्रिटिसहरूले भारतलाई अधीनस्थ गरे, हाम्रो समाजलाई थप वर्गीकरण र श्रेणीकरण गर्न प्रारम्भ गरे ।’
नेपोलियनको ‘बेलायत पसलेहरूको राज्य हो’ भन्ने भनाइलाई सत्य साबित गर्दै उनीहरू भारतको लुटमा मग्न भए । यसरी कहिले नयाँ ज्ञानका नाममा, कहिले सभ्यताका नाममा, कहिले प्रजातन्त्रका नाममा, कहिले समावेशिताका नाममा आफूले राज गर्न खोजेको समाजलाई विभिन्न नाममा वर्गीकरण र श्रेणीकरण गर्ने प्रक्रिया र परम्परा संसारभरि अद्यावधि जारी छ । 

नेपाल सन्दर्भ : नेपाल लामै समयदेखि यसबाट अछूतो छैन । शताब्दीयौँदेखि राजनीतिक र धार्मिक शरणको केन्द्र र आर्थिक सम्भावनाका निम्ति पनि खुला रहँदै आएको छ । त्यसैले पनि विगतमा इस्ट इन्डिया कम्पनीले नेपाललाई आर्थिक रूपमा दोहनको भरमग्धुर प्रयास गरेकै हो । 

उनीहरूको त्यस प्रयासका विरुद्धमा उभिएका पृथ्वीनारायण शाहलाई बेलायतीहरूले बदनाम गर्न आवश्यक थियो । ग्रीस र युगोस्लाभियामाथिको आक्रमणका लागि आफ्ना सेनालाई चाहिने अनाज भारतबाट युरोपमा निर्यात गर्ने विन्स्टन चर्चिल, जसको त्यो निर्णयले सन् १९४३–४४ को बंगालको भोकमरीमा करिब साढे चार लाख मानिस मरे, तिनै चर्चिललाई राजनेता, लोकतन्त्र र स्वतन्त्रताको प्रतीक मान्ने बेलायती, युरोपीयन समाज र त्यहाँको ‘ इन्टेलिजेन्सिया’ले पृथ्वीनारायणलाई राष्ट्रनिर्माता मान्नु/नमान्नुको अर्थ छैन । 

पृथ्वीनारायणपछिको नेपालले सन् १७८८–९२ सम्म चिनियाँ आधिपत्यको तिब्बतसँग र सन् १८१४–१६ सम्म बेलायती शासनविरुद्ध लडेकै हो । इतिहासका विभिन्न कालखण्डमा नेपालले धेरै किसिमका शासक खेप्यो । केहीले आफ्नो ज्यानको बाजी लगाएर यो मुलुकको अस्मिता जोगाउने प्रयास गरे भने केहीले ठूला शक्तिहरूसँग केही लाग्दैन भन्दै यथास्थितिलाई निरन्तरता दिए र आफ् नो सत्ता टिकाउन मात्र केन्द्रित रहे । फेरि पनि यस मुलुकका नागरिकले हिम्मत हारेनन् । जस्तो : मकवानपुरमा बेलायत र नेपालबीच भएको अन्तिम युद्धमा उपस्थित जुनियर अफिसर, जोन सीपले आफ् नो संस्मरणमा नेपालीहरूको बहादुरीको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

समाजको त्यो अपराजित ऊर्जा आज पनि संघर्षशील छ । र, त्यससँगै प्रयत्नशील छन्, हाम्रो त्यो ऊर्जालाई घुँडा टेकाउन चाहने शक्तिहरू । किनभने, नेपाल भू–राजनीतिक हिसाबले हिजो जति महत्त्वपूर्ण थियो, आज यसको महत्त्व झनै बढेको छ । चीन र भारतजस्ता शक्तिशाली मुलुक र सभ्यताको बीचमा मात्र नेपाल छैन, अनादिकालदेखि यो आफैँमा एउटा अलौकिक सभ्यता हो । यस भूखण्डमा अवस्थित सबै जात–जाति, धर्म र आस्थाले यो सभ्यतालाई सिञ्चित गरेका हुन् । 

तर, १९औँ शताब्दीको मध्यदेखि बेलायतीहरूले लखनउमा सिया, सुन्नी र हिन्दुहरूलाई विभाजित गरेजस्तै नेपालमा पर्वते भर्सेज अरू जात–जातिको वर्गीकरण र श्रेणीकरण गर्न व्यापक रूपमा प्रयोग भएको छ, युरोसेन्ट्रिक इन्टेलिजेन्सिया । र, यो हाम्रा विभिन्न जात–जाति, धर्म र आस्थाबीच विभाजन ल्याउन हिजोभन्दा आज झनै बढी क्रियाशील छ । नेपाली समाजको एकीकृत ऊर्जालाई परास्त गर्न यसले नेपाललाई एकीकृत राष्ट्र नै बन्न दिइरहेको छै्रन । 

एकीकृत राष्ट्र भन्नाले एकांगी संकीर्ण राष्ट्र हुँदै होइन । विविधता, फरक मत अनि एकीकृतता हाम्रो सांस्कृतिक धारा हो । हामीकहाँ ब्राह्मण र श्रवण सांस्कृतिक परम्परा प्राचीन समयदेखि जीवित छ । ब्राह्मण वैदिक थिए भने श्रवण अवैदिक । श्रवण वेदको प्रमाणीकता स्वीकार्दैनथे, तपस्यालाई महत्त्व दिन्नथे । त्यस्तै बुद्धको शिक्षा मध्यमार्गी थियो । यी वर्णाश्रमभन्दा फरक मत राख्थे । फेरि पनि वैदिक धर्ममा भएको चार आश्रम जस्तै : बौद्ध धर्ममा पनि गृहपति, श्रामरोर, भिक्षु र आरन्यक गरी चार परिषद् बने । 

तसर्थ, विरोधाभास हाम्रो यथार्थ हो । हामी सीधा रेखामा हिँड्दैनाैँ । पश्चिमलाई यो ‘इल्लजिकल’ (कुतर्क) लाग्न सक्छ । अवैज्ञानिक लाग्न सक्छ । तर, हामी सदियौँदेखि अव्यवस्थित व्यवस्थामा बाँचेका छौँ । हाम्रो ‘लजिक’ र विज्ञान नै यही हो । विविध फेरि पनि एकीकृत । एकरूपता निर्माण त शासकहरूको प्रयास मात्र हो । यस्तो प्रयास विभेद हो, अन्याय अनि महाभूल हो । विगतको यही महाभूलमा टेकेर नेपाली समाजको दानवीकरणको प्रक्रियालाई तीव्र बनाइएको छ । होइन भने महाप्रजापति गौतमीलाई भिक्षु हुने अधिकार बुद्धको समयमै प्राप्त भएको समाजलाई समवेशिता सिकाइरहनुपर्छ र ? फेरि पनि सिकाइन्छ र त्यही सिकाउनलाई समाजलाई वर्गीकृत गरिन्छ । हामीबीच विभाजनलाई संस्थागत गरिन्छ । 

विगतमा एक बेलायती राजदूतले धर्मसम्बन्धी संविधानमा उल्लेख गर्नुपर्ने भनेर अभिव्यक्त गरेका विचार, मानव अधिकारको रक्षाका नाममा युरोपियन प्रमण्डलहरूले सीके राउतसँग गरेका वार्ता, राज्य पुन:संरचनाका नाममा हुने अनेकानेक कार्यक्रमहरू, नेपालको आन्तरिक राजनीतिलाई मानव अधिकार, समावेशीका नाममा यसो र उसो गर्नु भनेर बेलाबेला निस्कने संयुक्त सन्देशहरू अमेरिकी राजनीतिशास्त्री जोसेफ स्यामुयल नेले भनेजस्तो सफ्ट पावर हुन् । र, यसको प्रयोगबाट आजको युगको युरोसेन्ट्रिक विचारधारा अभ्यास गरिँदै छ, जसका विरुद्ध नेपाली समाज वैचारिक हिसाबले द्वन्द्वमा छ । तसर्थ, विचारधाराको यति ठूलो द्वन्द्वको वर्तमान परिवेश हाम्रा लागि उत्तर–वैचारिक हुनै सक्दैन । 

त्यही कारण कम्युनिस्टको हिंसात्मक प्रगतिशील क्रान्ति, कथित लोकतान्त्रिक दलहरूको नवउदारवादी अभ्यास र सफ्ट पावर अनि युरोसेन्ट्रिजमको माध्यमबाट संस्थागत गरिएको सामाजिक विभाजन आजको नेपालमा संकीर्णताको उदयका कारक हुन् । यी कारणले राजनीतिक दल मात्र होइन, समाजलाई पनि चिरा–चिरामा विभक्त गरेको छ । निरन्तरको सामाजिक विभाजनले जब समाजलाई निराश बनाउँछ अनि समाजले वैकल्पिक शक्तिको खोज प्रारम्भ गर्छ । आज भएको त्यही हो । यस्ता कारणलाई सम्बोधन नगर्ने हो भने भोलि फेरि राजनीतिमा दोहोरिने प्रक्रिया यही नै हो । 

प्रकाशित: चैत्र २१, २०७३