हिन्दुवादी कट्टरताको विपक्षमा

  • राज्य आफैँमा कुनै पनि धर्मको पक्षपाती भएमा अरू धर्मका जनतालाई अपनत्वको भाव कसरी देखाउन सक्छ ?

- श्रेय पौडेल

अहिले नेपालमा हिन्दुवाद एउटा महत्त्वपूर्ण दोबाटोमा देखिएको छ । छुट्टिएका पूर्वपञ्चहरू फेरि मिल्न पुगे । पछिल्लो क्रममा राप्रपाको राष्ट्रिय राजनीतिमा सक्रियता तथा भारतमा पनि कट्टरपन्थी हिन्दुवादीहरूको जुन खालको वर्चस्व देखियो, त्यसबाट फेरि पनि देशमा एक प्रकारको हिन्दुवादी राजनीतिक प्रवृत्तिको पुनरागमन हुन सक्ने आकलन गर्न सकिन्छ । 

हुन त धर्म निरपेक्षताको कुरा गर्दा धर्मविरोधीको आक्षेप लाग्न सक्छ । कतिपयले यो शब्दले अंग्रेजी शब्द ‘सेक्युलरिज्म’को सही अर्थमा अनुवाद नगरेको तर्क दिन्छन् । तर,  शाब्दिक र प्राविधिक गोलचक्करमा नफस्ने हो भने धर्म निरपेक्षताको अर्थ स्पष्ट छ ।

आधुनिक नेपालको हिन्दुवादी मोड पृथ्वीनारायण शाहको पालादेखि नै सुरु भयो, जब उनले नेपाललाई ‘असली हिन्दुस्तान’ बनाउने सपना देखे । पछि, जंगबहादुरले मुलुकी ऐनमा सामाजिक संरचना तथा जीवनलाई हिन्दु वर्णव्यवस्थाका आधारमा पुन:व्याख्या गरेका थिए । त्यस अन्तर्गत विवाह, शिक्षा, छुवाछूत, सजायलगायतमा ठूलो जात र सानो जातलाई राज्यले फरक–फरक व्यवहार गथ्र्यो । विसं २०१९ मा राजा महेन्द्रले संविधानमा जातीय भेदभावलाई आधिकारिक रूपमा त हटाए तर उक्त  संविधानमा नेपाल हिन्दु राष्ट्र भएको पनि घोषणा गरे । यस क्रममा अन्तरिम संविधानमा धर्म निरपेक्षताको घोषणा नहुन्जेल नेपाली राज्यले हिन्दु धर्मलाई राष्ट्रिय धर्मका रूपमा संरक्षण गरेकै हो ।

यसकारण नेपालको सन्दर्भमा धर्म निरपेक्षताको मुख्य ध्येय नेपाली राज्य र हिन्दु धर्मलाई फरक कित्तामा उभ्याउनु हो । हिन्दु धर्मको विरोध गरिएको हुँदै होइन तर राज्यसँग हिन्दु धर्मको नाता तोड्न खोजिएको चाहिँ स्पष्टसँगै हो ।

राज्य आफैँमा कुनै पनि धर्मको पक्षपाती भएमा अरू धर्मका जनतालाई अपनत्वको भाव कसरी देखाउन सक्छ ? अल्पसंख्यक धर्म मान्ने जनतालाई दोस्रो दर्जाको नागरिकका रूपमा राख्नु, २१औँ शताब्दीको नेपालमा कदापि मान्य हुनेछैन । तर, कुनै खास  धर्म र राज्यको अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ भन्ने सोच वास्तवमा बहुलवादको  मान्यताविपरीत छ ।

हिन्दु संस्कृति अनुसार हिन्दु धर्मावलम्बी मांसाहारी पनि हुन सक्छन्, शाकाहारी पनि  । धनका पति विष्णुलाई पुज्ने सम्भ्रान्त संस्कार पनि हिन्दु हो र विद्रोहका प्रतीक शिवलाई मान्ने संस्कार पनि हिन्दु नै । हिन्दु मान्यतामा आकार भएका देवी–देवतालाई मनुष्य रूपमै पुज्न सकिन्छ, त्यस्तै निराकार ब्रह्मलाई पनि मान्न सकिन्छ । पुलिंग भगवान्को भक्ति गर्न पाइयो, स्त्रीलिंग मातालाई मान्न सकियो, त्यस्तै दुई लिंगबीचको रूप–अर्धनारेश्वरलाई पनि पुज्न पाइयो । ध्यान गर्न गुफा पसे पनि भयो, गृहस्थ जीवनमा कर्मयोग गरे पनि भयो ।   

यो पंक्तिकार आफैँ पनि हिन्दु भएकाले हिन्दु धर्मको विराट् बहुलवाद देखेर दंग र अचम्मित छ । तर, अर्को अचम्मित पार्ने कुरो हो– यस्तो बहुलवादी हिन्दु धर्मलाई एक निरंकुश राजनीतिक वाद अथवा हिन्दुवादका रूपमा प्रयोग गर्न खोजिएको दुष्प्रयास । यदि हिन्दु धर्म आफैँमा यति उदार छ भने मुस्लिम, क्रिस्चियन, बौद्ध तथा प्रकृतिपूजक जनताको राष्ट्रिय धर्म भनेर हिन्दु धर्मलाई जबर्जस्ती लाद्नु कत्तिको जायज छ ?

पूर्वपञ्चहरूको टोली राप्रपाको त धर्मको आडमा राजनीति गर्नुबाहेक खासै अरू एजेन्डा छैन । तर, कमसे कम समाजवादी पार्टी कांग्रेस, कम्युनिस्ट पार्टी एमाले तथा हिन्दु राज्यविरुद्ध लडेको पार्टी माओवादीले कमल थापाहरूको धर्मको आडमा गरिएको राजनीतिको प्रखर स्वरमा विरोध गर्नुपर्छ । कांग्रेस पार्टीभित्र धर्म निरपेक्षताको वकालत गर्नेहरूले खुमबहादुर खड्का र शशांक कोइरालाहरू किन गलत छन् भनेर बहस चलाउनु पर्‍यो । एमालेभित्र पनि राष्ट्रवादको आडमा परम्परागत धर्मलाई बचाउनुपर्छ भन्ने भित्री हिन्दुवादीहरूलाई धर्म निरपेक्षतावादीहरूले वैचारिक रूपमा नंग्याउन सक्नुपर्छ । माओवादीहरूले त पहिचानका मुद्दा मधेसवादी दललाई सर्लक्क बुझाएपछि बाँकी भएका आफ्ना  मुद्दालाई बचाउने हो भने धर्म निरपेक्षताको पक्षमा अझै प्रखर भएर अगाडि आउनुबाहेक विकल्प छैन ।

अहिले भारतीय जनता पार्टी भारतको केन्द्रीय सत्तामा छ र गोरखनाथ मन्दिरका मठाधीश योगी आदित्यनाथ हाम्रो छिमेकी राज्य उत्तर प्रदेशको सत्तामा छन् । यो हिन्दुवादी समीकरणको नेपालमा महत्त्व पक्कै पनि छ । प्रजा परिषद्देखि, कांग्रेस, माले तथा पछिल्लो चरणमा माओवादी आन्दोलनले आफ्नो प्रेरणाको स्रोत भारतमा भएका आन्दोलनहरूमा पाए । त्यसैको फलस्वरूप अहिले उत्तर प्रदेशमा योगी आदित्यनाथको उदयपछि नेपालका हिन्दुवादीहरू सामाजिक सञ्जालमा निकै उत्साहित छन् । तर, हाम्रा हिन्दुवादीहरू धेरै खुसी भइहाल्नुको अर्थ छैन किनभने नेपाली बहुसंख्यक हिन्दु हुन् तर हिन्दुवादीचाहिँ होइनन् । धर्म र राजनीति मिसाउने खेलमा नेपाली जनता लागेका छैनन् र यसको सबैभन्दा ठूलो प्रमाण राप्रपाले हिन्दुवादी एजेन्डामा पाएको टीठलाग्दो मत हो ।

तर, धर्म निरपेक्षतावादीहरूले पनि कानमा तेल हालेर ढुक्कसँग बस्ने अवस्था भने छैन । पहाडमा बिस्तारै झ्यांगिँदै गएको  राष्ट्रवादको एउटा अंग त हिन्दुवाद पनि हो । त्यस हिन्दुवाद जडित राष्ट्रवादका कटुवालहरू अब राप्रपामा मात्र होइन, अन्य मुख्य पार्टीमा पनि देखिन थालेका छन् । संविधानमा सनातन धर्मको संरक्षण गर्ने धर्म निरपेक्षताको परिकल्पना भएको अवस्थामा धर्म निरपेक्षताको एजेन्डालाई थप स्पष्टतासाथ अघि बढाउन, यसलाई  भौतिकवादी तथा कम्युनिस्टहरूको हातमा मात्र नछोडेर उदारवादी हिन्दुहरू आफैँ पनि सक्रिय हुनुपर्ने अवस्था छ । ‘वसुधैव कुटुम्बकम्’ अथवा संसार नै हाम्रो परिवार हो भन्ने भनाइमा विश्वास गर्ने हामी हिन्दुले आफ्नो धर्म अरूमाथि लाद्ने होइन र त्यो हाम्रो संस्कार अनुरूप पनि हुँदैन । त्यसैले हिन्दु भएरै सर्वधर्म समानताका लागि हिन्दुवादी कट्टरताको विरोध गर्न पछि नपरौँ । 

प्रकाशित: चैत्र २०, २०७३