[झटारो] नमरी बाँचे, दैवले साँचे

- लक्ष्मण गाम्नागे

विक्रम संवत् २०९९ सम्म नेपाल कस्तो होला र त्यस्तो बनाउन के के गर्नुपर्ला भनेर एमाले अध्यक्ष केपी ओलीले विद्वत्सभा आयोजना गरेर राय–सुझाव माग गरेको समाचार सुन्नमा आयो । केपी ओली बेलाबेला विपक्षी, आलोचक र प्रतिस्पर्धीहरूलाई यस्तै खालका नयाँ नयाँ स्वादका थप्पड हानिरहन्छन् ।
 
२०९९ सम्ममा नेपाल कस्तो होला भन्ने कुरा थाहा पाउन त्यत्रा ठूला विद्वान्हरूलाई सोध्नै पर्दैनथ्यो । जोसुकै निरक्षर भुक्तभोगी नेपालीलाई समातेर सोध्यो भने पनि सजिलै बताइदिइहाल्थ्यो । विद्वान् र नेताज्यूहरूको अमूल्य समय मात्रै खेर गयो । 

०९९ आउन अब २६ वर्ष बाँकी छ । स्मरणीय छ, आजभन्दा २६ वर्षअघि विसं ०४७ थियो । त्यसबेला यिनै नेपाली कांग्रेस र एमालेले ठूलो संघर्ष गरेर नेपालबाट पञ्चायत समाप्त पारी बहुदलीय व्यवस्था ल्याएका थिए । र, हौसिँदै भनेका थिए– अब राजनीतिक आन्दोलन सकियो, देशले विकासको गति लिन्छ, दस वर्षमा यो देश सिंगापुर हुन्छ । २६ वर्षमा २६ पटक नै सरकार फेरिए । २६ सय जना नेता सांसद र मन्त्री भए होलान् । तिनले देशलाई सिंगापुर बनाएको हामीले देख्यौँ । 

माथि जेसुकै लेखिएको भए पनि एउटा कुरा ठोकेर भन्न सकिन्छ, अबको २६ वर्षमा हाम्रो देश विश्वका समृद्ध देशमध्ये नमुना देश बन्नेछ । जनता सुखी–सम्पन्न हुनेछन् । विदेशीका लागि हाम्रो देश आकर्षणको केन्द्र हुनेछ । देशैभरिका सहरहरू, गाउँहरू सुन्दर र झकिझकाऊ हुनेछन् । सडकहरू फराकिला र सफा हुनेछन् । खानेपानीको छेलोखेलो हुनेछ । भान्छाभान्छामा ग्यासका पाइप आइसक्नेछन् । आफ्नै पानीजहाज, आफ्नै अन्तरिक्षयानहरू, रेलको जालो सबै हुनेछन् । बिजुली, पेट्रोल, जडीबुटी, खनिजहरू निर्यात हुनेछ । हाम्रो कृषि उत्पादनले दुई–चार मुलुकलाई समेत पाल्दै हुनेछ । हामीले देख्दै आएका सपना सबै पूरा हुनेछन् । यो एकदमै सम्भव छ तर त्यसका लागि केही सर्त पालना गर्नुपर्नेछ । 

साह्रै सामान्य छन् सर्तहरू, जसलाई नेताज्यूहरूले मात्र पालना गरे पुग्छ । सर्त पालना गर्न धन खर्च गर्नुपर्दैन । घरबारी बेच्नुपर्दैन । कसैले ज्यान दिनुपर्दैन, कसैको ज्यान लिनु पनि पर्दैन । देश टुक्र्याउनु पर्दैन । कुनै छिमेकी–सिमेकीको सहयोग पनि लिनुपर्दैन । नेताहरू इमानदार मात्र भए पुग्छ ।

नैतिकवान् भए पुग्छ । नि:स्वार्थी र देशभक्त भए पुग्छ । एकअर्काको खुट्टा तान्न छाडे पुग्छ । राजनीतिलाई कमाउने भाँडो बनाउन छाडे पुग्छ । झिँगे दाउ खेल्न खुलेका दलका पसलहरू बन्द गरेर कम्तीमा पाँच वर्ष एउटै सरकारले ढुक्कसँग काम गर्न पाउने व्यवस्था गरे पुग्छ । आधाउधी भ्रष्टाचार घटाए पुग्छ । कर्मचारीतन्त्रमा राजनीतीकरण कम गरे पुग्छ । छिमेकीका चरणमा शरण नपरी आफ्नै खुट्टामा उभिएर काम गरे पुग्छ । 

यति गरे देश बन्न २६ वर्ष लाग्दैन, पाँच वर्षमा बन्छ । तर, तपाईं नेताज्यूहरू यस्ता सामान्य सर्तहरू कुनै हालतमा पालना गर्नुहुन्न । त्यसैले विसं ०९९ मा नेपाललाई तपाईंहरूले कहीँ पनि पुर्‍याउनुहुन्न । सके रसातलमै पुर्‍याएर सिध्याउनुहोला, नसके नेपाल र नेपालीलाई आजजसरी नै त्यसबेला पनि फनफनी घुमाइरहेकै हुनुहुुनेछ । यति भविष्यवाणी गर्न कुनै विद्वत् वर्ग वा ज्योतिषी चाहिँदैन । नमरी बाँचे, दैवले साँचे ०९९ मा हेरम्ला ।

प्रकाशित: चैत्र २०, २०७३