एक आप्रवासीको दुर्दान्त बयान

- सञ्जय चौधरी

उनको नाम हो, कृष्ण महत । उनको घर छ, चोरमारा, नवलपरासीमा । तीन दशक पनि उमेर नपुगेका उनी करिब १० वर्षदेखि नै परदेशमा छन् । पहिले भारत बसे, त्यसपछि दुबई अनि टर्की । आमनेपाली युवाको जस्तो विदेशिएर कमाइ गर्ने चाहले जीवन र मृत्युसँग संघर्ष गरेर स्वप्नको संसार युरोप आइपुगेका महत अहिले जर्मनीको ब्रेमेन सहरको एक रेस्टुराँमा काम गर्छन् । 

उनी आमाको कोखमा छँदै बाबुले अर्को बिहे गरे, आमाले पनि अर्कै । जन्मिएपछि उनी टुहुरा भए । विद्यालय पढ्ने उमेरमा उनले गाउँकै खेमकुमारी महतकहाँ बाख्रा चराउने काम गरे । पछि, तिनै खेमकुमारी उनकी आमा भइन्, जसले पछि छोराकै रुपमा उनको राहदानी पनि बनाइदिइन् । पहिले उनी काम गर्न भारतको दिल्ली गए, त्यहाँ करिब ६० हजार रूपियाँ कमाए र त्यही पैसाले दुबई गए । 
दुबईबाटै सुरू भयो, उनको युरोप सपना र यात्रा । त्यस क्रममा उनले कति सास्ती खेपे, कति पटक मृत्युसँग साक्षात्कार गरे, त्यो विदेशिन चाह गर्ने आमनेपाली युवाका लागि राम्रो पाठ हुन सक्छ । अघिल्लो महिना महतलाई ब्रेमेनमा भेटेपछि उनको युरोप यात्राको संघर्ष गाथालाई यो पंक्तिकारले अन्तर्वार्तामा यसरी उन्यो : 

जर्मनी कसरी आइपुग्नुभयो ?
दुबई, ओमान, इरान, टर्की र ग्रीस हुँदै १४ लाख रुपियाँजति खर्च गरेर एक वर्षअघि मात्रै यहाँ आइपुगेको हुँ ।

पहिले दुबई जानुभएको ? 
भिसा लगाएरै दुबई आएको हो, म्यान पावर एजेन्सीमार्फत । तर, म्यानपावरको नामचाहिँ थाहा भएन । दुबईमा चार वर्ष काम गरेँ । तर, आठ सय दिराम भनेर लगेको पाँच सय दिरामभन्दा बढी तलब दिएन । 
त्यही भएर युरोप आउने सोच बनाउनुभो ?
हो, दुबईमा हाम्रै कम्पनीका साथीहरू काम छोडेर भागेका रहेछन् । दुई महिनापछि थाहा भयो हामीलाई यो कुरा । उनीहरूसँग सम्पर्क भयो ग्रीसमा । त्यहाँ राम्रो कमाइ हुन्छ भनेर उनीहरूले सुनाए । त्यहाँ पुग्न र पुगेपछि पाइने दु:खबारे चाहिँ भनेनन् । पैसा पनि ठाउँमा पुगेरै दिने हो भने । नेपाली तीन लाख रुपियाँ लाग्छ भनियो । युरोप छिरेपछि केही न केही हुन्छ भन्ने सोचेँ । तर, धेरै दु:ख पाएँ । एजेन्टहरूले धोका दिए । 

दुबईबाट कसरी निस्कनुभयो ?
ओमान र यूएईको सिमाना खुला हुन्छ, त्यहाँबाट ट्याक्सीमा ओमान छिरिने भइयो । पासपोर्ट, कम्पनीमै छोडेर निस्किएँ । मसँग परिचय खुल्ने कुनै कागज थिएन । एउटा ट्याक्सी लिन आयो । हामी ६ जनाको समूहमा थियौँ । हामीलाई ट्याक्सीको डिक्कीमा राखेर बन्द गरियो र माथिबाट कम्बलले छोपियो । करिब तीन घन्टाको यात्रापछि हामी ओमान पुग्यौँ । त्यहाँ हामीलाई ‘सेफ हाउस’मा राखियो ।

त्यहाँ अरू पनि थिए कि ?
थुप्रै रहेछन्, करिब ५० जना । तर, सबै एउटै एजेन्टको होइन कि फरक–फरक एजेन्टका ।
धेरै बिजोग थियो त्यहाँको अवस्था । पैसा असुल्नका लागि त्यहाँ जोर–जबर्जस्ती गरिँदो रहेछ, कुटपिट गर्ने र यातना दिने । कतिसम्म भने मृत्यु नै पनि हुने रहेछ । त्यसैले नेपालबाट आउनेहरूलाई मेरो सल्लाह छ, यस्तो दु:ख गरेर कहिल्यै पनि नआउनू । 

कस्तो यातना ? 
कपडामा लगाउने इस्त्री हुन्छ नि, त्यो तताएर पोलिदिने । बिजुलीको तार बटारेर हिर्काउने, यस्तै यस्तै । अनि, धम्क्याउने, पैसा माग्ने । मसँग १ हजार २ सय दिराम थियो, सबै लुटे । मोबाइल पनि खोसे । बिहानको ३ बजेतिर त्यहाँ सबैलाई चेक गर्ने हो, अगाडि गाडी छ भनेर पठाए र हरेकलाई छामछुम गर्दै भएजति पैसा, सामान लुटेर कसैलाई कता कसैलाई कता पठायो । 

त्यसपछि कता लगे ? 
बिहान हुन लागिसक्यो पुलिसको गस्ती आउला भनेर हामी खच्चड बगानमा गयौँ, जहाँ एउटा बंगाली काम गर्दो रहेछ । उसले रोटी, दही खुवायो र आफ्नो मोबाइलबाटै एजेन्टलाई फोन गरिदियो । बेलुका ३ बजे एउटा गाडी लिएर आयो, पाकिस्तानी । हामी सबैलाई त्यसमा कोच्यो र फेरि त्यही ओमानकै सेफ हाउसमा लिएर गयो । हामी ग्रीस जान हिँडेकाले अबको गन्तव्य इरान थियो ।

इरान कसरी पुग्नुभयो ? 
इरान छिर्न समुद्री मार्ग भएर जानुपर्ने थियो, स्पिड बोटमा । कहिले हावाहुरी छ, कहिले मौसम खराब छ भनेर टारिरह्यो । आखिर जाने तयारी भयो । अँध्यारोमा लुगा फुकालेर कट्टु मात्रै लगाएर पारि गयौँ । हामी अगाडि बढ्दै थियौँ, पुलिसहरू स्पीड बोटमा गस्ती गरिरहेका रहेछन् । हामी नजिक आएर उनीहरूले बत्ती बाले र फायरिङ सुरु गरे । यो क्रम करिब डेढ घन्टासम्म चल्यो । हामी खाली खुट्टै दौडेर भागाभाग गर्‍यौँ । कोही कता, कोही कता भयौँ ।

भाग्दाभाग्दै बिहान भइसकेको थियो । ओमानमा पुलिसले पक्रिन्छ भनेर फेरि एजेन्टलाई फोन गरियो । एजेन्टले ट्याक्सी पठाइदियो र फेरि सेफ हाउसमा लगेर राख्यो । अरू मान्छे कहाँ छन्, थाहै भएन ।

त्यसपछि ? 
दुई दिनपछि हामीलाई स्पीड बोट चढाएर इरानको सीमामा पुर्‍यायो । त्यसरी जाँदा स्पीड बोटमा स्याङ्जाका एक नेपालीको मृत्यु पनि भएको रहेछ, हामीभन्दा केही अघि । मेरो समूहमा नेपाली म मात्रै थिएँ, अरू पाकिस्तानी र बंगाली थिए । ती नेपाली अर्कै समूहमा थिए । हामी इरानको सीमामा पुगेपछि स्पीड बोटमा ती नेपालीको मृत्यु भएको थाहा पाइयो । उनको शवलाई त्यही बालुवामा छाडिदिएर हिँडेका रहेछन् भन्ने पनि थाहा भयो । 

इरान पुगेपछि हामीलाई उँट चढ्ने ठाउँमा लगेर बसालियो । पुलिसहरू यताउति घुम्दै थिए, लुकेर बस्यौँ । पछि, गाडी लिन आयो । हामीमध्ये तीन जनालाई चाहिँ डिक्कीमा हाल्यो, बाँकीलाई अगाडिपट्टि खुट्टा पनि चलाउन नपाउने गरी राख्यो, करिब तीन घन्टासम्म । त्यो इरानको बन्द्राबास भन्ने ठाउँ थियो, गाडीमा हामीलाई त्यहाँबाट टर्कीको नजिक पुर्‍यायो । र, फेरि सेफ हाउसमा राख्यो ।

त्यहाँ पनि यातना दियो ?
दियो नि ! त्यहाँ तीन लाख रुपियाँ पनि माग्यो । दुबईमा रहनुभएका भिनाजुलाई फोन गरेर त्यो रकम भुक्तानी गराएँ । भिनाजुले एजेन्टको खातामा हालिदिनुभयो । 

त्यो पैसा दिएपछि टर्की पुर्‍यायो त ?
इरानबाट टर्कीे हिँड्दै गइयो, पहाडै–पहाड हिउँको बाटो । अति जाडो थियो, लुगाचाहिँ एउटा सर्ट र पाइन्ट मात्र थियो । बेलुका ५ बजे हिँडेको बिहानको ६ बज्यो टर्कीे सीमा पुगियो । 

बाटोमा मरेका मान्छेका खप्परहरू देखिए । सायद, हिँड्न नसकेर छाडिएका मानिसका हुँदा हुन् । हिँड्न नसक्नेलाई बोक्ने कुरा भएन, बाटामै छाडिदिने रहेछन् । सुरक्षाकर्मीले देखे गोली हान्ने, जनावरले पाए खाने । 

अनि, टर्की सीमा कसरी पार गर्नुभो नि ? 
त्यहाँबाट गाडी पठाउने भनेर एजेन्टले भन्यो । करिब चार घन्टा कुरेपछि एउटा ठूलो ट्रक आयो । सबैलाई त्यसैमा कोचेर लग्यो । पछि आ–आफ्ना एजेन्टका मान्छेहरूलाई बाँडेर हामीलाई स–सानो गाडीमा सार्‍यो । म चढेको गाडीमा हामी तीन जना थियौँ । पिक अपजस्तो त्यो गाडीमा पछाडि सामान लोड गरेजसरी हामीलाई राखिएको थियो । यसरी इस्तानबुल पुर्‍याइयो हामीलाई । त्यहाँ पनि हामीलाई सेफ हाउसमा लगियो । 

त्यहाँचाहिँ पैसा मागेन ? 
माग्यो नि, भिनाजुलाई भनेर फेरि आठ लाख रुपियाँ तिरियो । भिनाजुले रकम पठाइदिएपछि मात्र टर्कीको सेफ हाउसबाट निकालियो । 

ग्रीस जान हिँडेको तर त्यसपछि टर्कीमै बस्नुभो होइन ? 
हो, सुरुमा त भिखै मागेर पनि गुजारा गरेँ । पछि, शरणार्थीको कागज बन्यो । करिब चार वर्ष बसेँ, काम गरेँ र लागेको सबै ऋण तिरेँ । त्यहाँ सुरुमा कन्स्ट्रक्सन कम्पनीमा काम गरेँ, पछि कपडा कारखाना र प्लास्टिक कारखानामा । 

टर्कीबाट जर्मनी कसरी आइपुग्नुभो नि ? 
त्यहाँबाट ग्रीसको सीमामा आउनु थियो । हामी तीन जना नेपाली थियौँ । र, प्रत्येकले आठ सय अमेरिकी डलर तिरेका थियौँ । त्यसरी आउने क्रममा जंगलमै दुई दिन बितायौँ । त्यहाँबाट समुद्र तरेर ग्रीस पुग्नुपर्ने थियो, हावा भर्ने खालको प्लास्टिकको बोट आफैँले चलाएर । हामी करिब ५५ जनालाई त्यसरी प्लास्टिक बोट चढाएर पठाइदिए र चलाउने जिम्मा मलाई दिए । त्यो समूहमा अरू नेपाली पनि मिसिएका थिए, यस्तै आठ जना थिए ।

त्यो त डुब्न पनि सक्थ्यो, जे पनि हुन सक्थ्यो ? 
केटाकेटी–बूढाबूढीसमेत सँगै थिए । टर्कीको सीमाबाट ग्रिसको सीमा देखाएर त्यहाँनेर पुर्‍याउने र ओर्लिने भनिदिन्थे । मान्छे कोही हुँदैनन्, आफैँ चलाउने हो । त्यो चलाउन निकै गाह्रो हुने रहेछ । सीधा लान खोज्दा बांगो हुन्थ्यो अनि घुम्दाघुम्दै पानीमै उज्यालो भयो ।

बिहानसम्म पार गर्न सकिएन ? 
कसैलाई बाटै थाहा छैन । हेर्दा नजिक देखिन्छ तर टाढा हुन्छ । अनि, बिहान भएपछि एउटा ठूलो जहाज आयो १६ तलाको । त्यो हामीतिर आएपछि हामी अर्कोतिर जानुपर्ने, नत्र त्यसले हानिदिन्थ्यो । त्यसैले आफ्नो बोटलाई घुमाएर त्यसको पछाडि गइयो । तर, जहाजले पछाडिबाट पानी फाल्दा डुबाउलाजस्तो भयो । डराएर सबै चिच्याउन थाले । भगवान्ले जोगाए, त्यसको आधा घन्टापछि बल्ल ग्रीसको जमिन टेकियो । 

ग्रीस आएपछि के भो ?
त्यहाँ संयुक्त राष्ट्र संघका मानिस भेटिए । उनीहरूले अन्तर्वार्ता लिए । त्यहाँबाट लगेर क्याम्पमा खाना दिए । जसको कपडा छैन, उसलाई कपडा दिए । 

ग्रीसमा दुई दिन बसियो । हजारौँ मान्छे थिए त्यहाँ । शरणार्थीकै रूपमा सिरियल नम्बर अनुसार ग्रीसबाट अगाडि बढियो, सर्बिया, मेसेडोनिया, हंगेरी, स्लोभाकिया र चेक गणतन्त्र हुँदै जर्मनी आइपुगियो  । 

(अन्तर्वार्ताकार चौधरी कैलाली, धनगढीका उद्यमी हुन् ।)

प्रकाशित: चैत्र २०, २०७३