पत्रकारिताको आँखीझ्याल

  • 'छाल'मा दुर्गानाथ शर्माको जीवनयात्राको आरोह–अवरोहसँगै नेपाली पत्रकारिताको विकासक्रम पनि लेखबद्ध भएको अनुभव गर्न सकिन्छ ।

- रमण घिमिरे

विसं ०२६ मा दुर्गानाथ शर्माले गोरखापत्रमा विज्ञापन महाशाखामा सुपरभाइजरको पदमा नियुक्ति पाउँदा नेपाली पत्रकारिता आजजस्तो व्यावसायिक भइसकेको थिएन । त्यस कालखण्डमा व्यावसायिकताको सपना देख्नु नै स्वैरकल्पना हुन्थ्यो । अर्को गतिलो जागिर नपाउन्जेल अल्झिने बाटोजस्तो मात्र भएको थियो पत्रकारिता । दुर्गानाथ शर्मा पनि जागिरै खान अध्ययनलाई निरन्तरता दिन गोरखापत्र प्रवेश गरेका थिए । आज समय, परिस्थिति र प्रतिभाले उनलाई पत्रकारिताको माथिल्लो उचाइमा बसेर तल हेर्ने व्यक्ति बनाइदियो । 

हालै प्रकाशित उनको संस्मरण छाल आद्योपान्त अध्ययन गर्दा शर्माको जीवनयात्राको आरोह–अवरोहसँगै नेपाली पत्रकारिताको विकासक्रम पनि लेखबद्ध भएको अनुभव गर्न सकिन्छ । उनले गोरखापत्रको इतिहास लेख्ने क्रममा संक्षेपमा नेपाली पत्रकारिताकै इतिहास लेखेका छन् । जुन पत्रकारिताको अध्ययन गर्नेहरूका लागि पनि सन्दर्भ–पुस्तक हुन सक्छ । रेडियो नेपालका कुरा र अझ नेपाल टेलिभिजनका संघर्षका कथा आफैँमा उदाहरणीय छन् ।

त्यसबेलाको आमपत्रकारिता र पत्रकारको प्रवृत्तिलाई पनि उधिनेको छ छालले । केही पत्रकारहरू जो गोरखापत्रमै कार्यरत थिए, तिनीहरू विभिन्न दूतावासबाट कसरी आर्थिक लाभ उठाउँथे भन्ने प्रसंग होस् या दूतावासबाट उपहारमा आएका विदेशी मदिराका बोतल सजाएर घरमै बार खोल्ने पत्रकारहरूको प्रसंग होस्, यिनले पुरानो समयको सजीव चित्र उतारेका छन् । 

रेडियो नेपालमा समाचारवाचकका रूपमा कार्यरत रहँदाका अनुभव पनि यस कालखण्डका पत्रकार–पाठकका लागि रोचक हुन सक्छन् । त्यसमध्येको एउटा प्रसंग छ, त्यस बेलाका प्रधानमन्त्री तुलसी गिरीको । गिरीकी प्रेमिका सारा योञ्जन पनि रेडियो नेपालको समाचार महाशाखामै कार्यरत रहिछन् । उनी प्रधानमन्त्रीकै गाडीमा आउँथिन् । शर्मालाई प्रधानमन्त्रीको गाडीमा यसरी योञ्जन आएकामा उदेक त लाग्थ्यो लाग्थ्यो, त्यसबाहेक समाचार भन्ने बेलामै गिरीले उनलाई गाडी पठाएर लिन पठाउँदा समाचार वाचन गर्ने मानिसको तुरुन्तै व्यवस्थापन गर्नुपर्दा धपेडी पनि एउटा रोचक प्रसंग हुन पुगेको थियो । एक पटक गिरीले गोरखापत्रका लागि मगाइएको दामी क्यामेरा झन्डै झ्याप पारेको सन्दर्भलाई जोड्दै उनले गिरीबारे तीनवटा कमजोरी औँल्याएका छन्– कार, केटी र क्यामेरा ।

शर्माको छालमा नेपाली पत्रकारिताका विभिन्न कालखण्ड तरंगित भएका छन् । पञ्चायतदेखि दरबारसम्म, प्रजातन्त्रदेखि लोकतन्त्रसम्मका घटना समेटिएका छन् । तर, उनले आफ् नो पत्रकारिता जीवनमा यात्रा गरेका अप्ठ्यारा कुइनेटालाई सरल भाषामा उधिनेका छन् । यस क्रममा राजनीति र राजनेताको पनि प्रसंग उठाएका छन् । जस्तो : अधिराजकुमार र राजा हुँदा उनले ज्ञानेन्द्रसँग दुई पटक अन्तर्वार्ता लिए । यस क्रममा उनले ज्ञानेन्द्रलाई नम्र र शिष्ट बोली–व्यवहार भएको व्यक्तिका रूपमा स्वीकारे । तर, दरबारियाहरूलाई यसको तुलनामा अत्यन्तै अवसरवादी र हेपाहा प्रवृत्तिको पाए । त्यसैले ज्ञानेन्द्रको विदेश भ्रमणमा पहिल्यै निर्धारित उनको नाम अन्तिम अवस्थामा काटिएको तिक्तता र खिन्नताले उनी भुटभुटिएका छन् । 

उनले कृष्णप्रसाद भट्टराईलाई भद्र र गिरिजाप्रसाद कोइरालालाई देशको वर्तमान दुर्गतिको जिम्मेवार ठहर्‍याएका छन् । यद्यपि, गिरिजा साहसिक र निडर थिए भन्ने कुरा भने उनले स्वीकारेका छन् । 

गोरखापत्र, रेडियो नेपाल हुँदै नेपाल टेलिभिजनसम्मको दूरी पार गरेर झन्डै पाँच दशक लामो पत्रकारिताका गल्ली, सडक र मोड हिँडेका दुर्गानाथ शर्माको सरकारी पत्रकारिताको सारांश हो, “सरकारी सञ्चारमाध्यम भनेपछि सरकारको कुरा मात्र गर्ने माध्यम भनेर जनताले यी माध्यमका समाचारलाई विश्वास गर्दैनन् ।” तर, उनी निजी क्षेत्रका सञ्चारमाध्यम पनि यस रोगबाट मुक्त नरहेको किटान गर्छन् । विशेषत: साप्ताहिक पत्रिका कुनै न कुनै राजनीतिक दलको दौराको फेरो समातेर हिँडेका छन् भन्ने उनको बुझाइ छ । उनको निष्कर्ष जनताका विषय बोल्ने र लेख्ने सञ्चारमाध्यमको नेपालमा अहिले पनि अभावै छ । 

समग्रमा छाल नेपाली पत्रकारिताको अहिलेसम्मको एउटा आँखीझ्याल हो, त्यहाँबाट चिहाएर भित्र हेर्‍यो भने नेपाली राजनीति र पत्रकारिताका धेरै रहस्य उद्घाटित हुन पुग्छन् । 

छालले दुर्गानाथ शर्मालाई एउटा कर्मठ र कर्तव्यपरायण पत्रकारका रूपमा प्रस्तुत गरेको छ । यो स्वाभाविक पनि छ । उनी आफ्नो पत्रकारिता जीवनको लामो यात्रामा कहिल्यै कुनै विवादमा आएनन्, न आर्थिक कुराले न व्यावसायिक पक्षले । यस पुस्तकले उनको त्यही शिष्टताको बयान गर्छ । 

यति हुँदाहुँदै पनि पुस्तकमा केही गल्ती छन् । जस्तो : उनले विसं ०२६ मा श्री ५ महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाहददेवको शुभविवाह भनेर उल्लेख गरेका छन् । तर, त्यतिबेला वीरेन्द्र राजा होइन, युवराज थिए । यस्तै रेडियो नेपालकी समाचारवाचिका कल्याणी रिमाल हुनुपर्नेमा नारायण रिमाल उल्लेख भएको छ । अझ उनी कार्यरत नेपाल टेलिभिजनको शृंखला ‘जनैको साँचो’ हरिहर शर्माले बनाएको भनेर उल्लेख गरेका छन् तर त्यो शृंखला अनिल पाण्डेको निर्देशनमा प्रस्तुत भएको थियो ।

मुद्रा राक्षसको दोषले होला १४औँ परिच्छेदको सुरुमै ‘वि.सं. कात्तिक ३० गते नेपालको सञ्चारक्षेत्रले ठूलो फड्को मार्‍यो’ भन्ने मात्र उल्लेख छ, साल कति हो, लेखिएको छैन । यी सामान्य गल्तीबाहेक पुस्तकले पाठकलाई रोचक प्रसंग र घटनामा बाँध्दै सजिलै आद्योपान्त छिचोल्न सहयोग गर्छ । 

छाल 
लेखक    :    दुर्गानाथ शर्मा
प्रकाशक    :    ब्रदर्स बुक्स
पृष्ठ    :    २५६
मूल्य    :    ३५० रुपियाँ

प्रकाशित: चैत्र १८, २०७३