[नाटक] बुँख्याचा मन: जातीय विभेदप्रतिको रोष

- गोकर्ण गौतम

समय एक्काइसौँ शताब्दीमा दौडिरहेको छ । लोकतन्त्रले सबैलाई समान र सम्मानित गराएको छ । तैपनि हाम्रो समाजमा यस्ता कुरीतिहरू छन्, जसले आधुनिकता मात्र होइन, मानवताकै खिल्ली उडाएको छ । जातीय छुवाछूत त्यस्तै अध्याँरो र तीतो नियति हो । जातकै आधारमा कोही उचनीच मानिने यस प्रथाले सामाजिक सन्तुलन र सम्बन्धलाई गडबड बनाउँछ घरीघरी । निर्देशक राज शाहले समाजमा जरा गाडेर बसेको यही विभेदलाई उदांगो पारेका छन्, नाटक बुख्याँचा मनमा ।

सर्वनाम थिएटरको यस नाटकको परिकल्पना र लेखन पनि राजकै हो । खासमा यो मित्रताको कथा हो तर त्यहाँ जात मिसिएपछि आउने उतारचढावलाई राजले मुख्य विषयवस्तु बनाएका छन् । तर विषयवस्तु जति गहन छ, सोही अनुरुप कलात्मक र विश्वसनीय बनाउन भने उनी चुकेका छन् । यसो हुनुमा अपरिपक्व कलाकारको जत्थाको पनि भूमिका छ । तर पनि कुनै आयातित कथा भन्दा आफ्नै समाजको यथार्थलाई उधिन्न खोज्नु  प्रशंसनीय छ । 

कथित तल्लो जातको धने (राज शाह)ले युवावस्थामा वीरकाजी (रिनेक्स बस्नेत) को ज्यान जोगाएको छ । त्यसैले जातभन्दा माथि छ उनीहरूको  सम्बन्ध तर जब धनेको छोरा विनय (सुशील गैरे) ले वीरकाजीकी छोरी सीमा (सुजिता अधिकारी) भगाउँछ, सुमधुर सम्बन्ध शत्रुतामा बदलिन्छ । बिचरा धने छोरालाई गालीबाहेक केही गर्न सक्दैन । उता, आफ्नो इज्जत धुमिल्याएको र सम्बन्धबाट गलत फाइदा उठाएको भन्दै वीरकाजी धने र उसको छोरासँग रिसले चुर छ । यस्तो बेला गरिब धनेको परिवारमा कस्तो बज्रपात अँइलाग्ला ? अन्तर्जातीय विवाह गरेको जोडीले सुखसँग जीवन बिताउन पाउलान् त ? यिनै सवालको परिधिमा घुमेको छ नाटक ।

यो नाटक जातीय विभेदमाथिको तीव्र आक्रोश हो । मान्छेले मान्छेबाट मान्छेकै व्यवहार नपाउँदाको पीडालाई मर्मस्पर्शी ढंगबाट उनिएको छ । धने र वीरकाजीको सम्बन्धले ग्रामीण भेगमा विद्यमान प्रेमलाई प्रतिविम्बित गर्छ । तर आफ्नो ज्यान बचाउने मित्रसँग जातको सवाल बीचमा आएपछि मान्छे कति निर्दयी बनिदिन्छ भन्ने भावलाई पनि उत्तिकै आत्मसात् गरिएको छ । यो कथित उपल्लो जातभित्रको कुण्ठामाथि कटु व्यंग्य हो । जो बाहिर समानताको कुरा गर्छन्, तर आफैँचाहिँ परम्परागत सोचबाट माथि उठ्न सक्दैनन् ।  

विनय र सीमाको निर्दोष र कञ्चन प्रेमले दर्शकको मन जित्छ तर जातप्रथा विरुद्ध बनाइएको यस नाटकका मुख्य पात्रहरूलाई किन ‘हरुवा’ बनाइयो ? निर्देशक अलमलमा देखिन्छन् । किनभने समाजमा विनय र सीमाजस्ता पात्रहरू सयौँ छन्, र उनीहरू विद्रोह गरेरै बाँचेका छन् । यस अर्थमा नाटकका पात्रलाई आर्दश बनाएर सकारात्मक सन्देश प्रवाह गर्ने अवसरलाई खेर फालिएको छ । झन् क्लाइमेक्समा धनेले बोलेका संवाद त नाटकको शीर्षकलाई स्थापित गर्ने एकोहोरो रटानको प्रतिफलझैँ लाग्छ । 

पश्चिम नेपालको लवज, भेषभूषा, संस्कृतिलाई सकेसम्म टिप्ने प्रयास गरिएको छ । गाउँलेका बोली र हुलिया, नाचगान, बाजा, कपडा सिलाउने मेसिन लगायतका कुराले दर्शकलाई दुर्गम भेग पुगेको आभास हुन्छ । हाँस्ने संवाद र दृश्यको पनि अभाव छैन । यद्यपि स्टेजको साजसज्जाले कथाको भावलाई आत्मसात् गरेको छैन । सन्दर्भ अनुसारको पृष्ठभूमि संगीत नाटकको सबल पक्ष हो । दमाहाको धुन र धनेको मुहारमा देखिने आक्रोशसहितको संवादविहीन दृश्यले मन छुन्छ । तर धेरै कलाकारले पात्रलाई जीवन्तता दिन सकेका छैनन् ।

जवान भूमिकामा धने बनेका राज र वीरकाजी रिनेक्स जर्बजस्त सुहाएका छन् तर जवान छोरा भइसकेपछि उनीहरूको बोली र शारीरिक हाउभाउमा जुन परिपक्वता आउनु पर्ने हो, त्यो छैन । अर्थात् उनीहरू बुबा भएको दर्शकलाई पत्याउन मुस्किल छ । बरु सुशील र सुजिता आफनो भूमिका र भावमा फिट छन् । आरोही शर्मा, सुदर्शन अर्याल, प्रकाश केसीलगायतका कलाकारमा अपेक्षाकृत परिपक्वता देखिन्न । वास्तविक उमेर र चरित्रबीचको भारी अन्तरको परिणाम हुनसक्छ यो ।

बुख्याँचा मनका कुनै दृश्य नौलो लाग्दैन, हामीले देखे/सुनेको/भोगेका घटनाहरू मात्र छन् । सोही कारण नाटकमा जोकोहीले आफूलाई ‘कनेक्ट’ गर्न सक्छ । तर यथेष्ट कलात्मकता र सही निर्देशन नहुँदा कतिपयलाई खल्लो पनि लाग्न सक्छ ।

लेखन/निर्देशन : राज शाह
कलाकारहरू : राज शाह, रिनेक्स बस्नेत, विवेक आचार्य, सुजिता अधिकारी, आरोही शर्मा आदि ।

प्रकाशित: चैत्र १८, २०७३