हामी पनि के कम ?

  • अन्तर्राष्ट्रिय उपाधि चुम्दै महिला बडी–बिल्डरहरू

- शिल्पा कर्ण

कीर्तिपुर नगरपालिकाले बडी–बिल्डर ननिता महर्जन, ३१, लाई सम्मान गर्‍यो, पुस अन्तिम साता । विश्व शारीरिक सुगठन प्रतियोगितामा काँस्य जितेपछि महर्जनलाई सम्मानको ओइरो लागेको छ । हेर्दा लुरी देखिने उनलाई सम्मान गरिसकेपछि मुख्य अतिथि काठमाडौँ १० का सांसद राजन केसीले मन्तव्यका क्रममा मनको कुरा लुकाइराख्न सकेनन् । भने, ‘मलाई लाग्थ्यो, बडी–बिल्डरको हेर्दै शरीर अजंंग हुन्छ । तर, ननितालाई देखेपछि मेरो भ्रम तोडियो ।’ 

उनलाई मात्र होइन, बडी–बिल्डिङ भन्नेबित्तिकै जीउ फुलाएर गठिलो बनाउने भन्ने सोचाइ हामीकहाँ आम छ । तर, ननितालाई भेटेपछि यो बुझाइ फेरिन्छ । अर्कातिर उनले पाएको अन्तर्राष्ट्रिय सफलताले महिलाहरूमा यो खेलप्रतिको चासो ह्वात्तै बढेको छ । आखिर कुनै नेपाली महिला बडी–बिल्डरले विदेशी भूमिमा पाएको सबभन्दा अग्लो सफलता न पर्‍यो !

विश्व शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स संघले १९ मंसिरमा थाइल्यान्डको पटायामा आयोजना गरेको विश्व शारीरिक सुगठनको आठौँ संस्करणमा महिलातर्फको १ सय ६५ सेमि समूह (एथ्लेटिक फिजिक)मा ननिताले तेस्रो स्थान हासिल गरेकी थिइन् । गत भदौमा सम्पन्न मिस्टर काठमाडौँमा पहिलोपल्ट महिला बडी–बिल्डरलाई स्टेजमा उतारिएको थियो । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी भन्छन्, “त्यसको दुई महिनाभित्रै विश्व च्याम्पियनसिपमा तेस्रो स्थान ल्याउनु ठूलो उपलब्धि हो ।”

मिस्टर काठमाडौँ सोका दौरान महिला बडी–बिल्डरलाई हेर्न जमलस्थित राष्ट्रिय नाचघरमा दर्शकहरूको घुइँचो थियो । पुरुष र महिला बराबरी थिए । जब कि, पुरुष बडी–बिल्डिङ प्रतियोगितामा यति धेरै दर्शक कहिल्यै हुँदैनथे । महिलाहरू बडी–बिल्डिङको प्रतिस्पर्धामा उत्रिनु नेपालको हकमा बिलकुलै नयाँ भएकाले दर्शकको भीड लागेको उपाध्यक्ष भण्डारीको बुझाइ छ । त्यस सोमा डिभाइन जिमकी ननिता नै पहिलो भएकी थिइन् भने सेप्सकी सन्ध्या श्रेष्ठ र फिटनेस स्टुडियोकी लुना प्रधान क्रमश: दोस्रो र तेस्रो । 

त्यो प्रतिस्पर्धामा उपाधि चुमेसँगै ननिताको व्यावसायिक बडी–बिल्डिङ यात्रा प्रारम्भ भएको हो । तर, उनले जिमखानाको ढोका ढकढकाउनुअघिको कहानी आफैँमा रोचक छ । २८ वर्षको उमेरमा ७१ किलोको शरीरसहित जिम छिरेकी थिइन् तर दुई वर्ष नबित्दै काँक्राको चिराजस्तो शरीर लिएर पटायाको स्टेजसम्म पुगिन् । अझ रमाइलो त के भने उनी आठ वर्षीय छोराकी आमा पनि हुन् । उनी विद्यालयमा हुँदा भलिबल भनेपछि हुरुक्कै हुन्थिन् । वल्लोपल्लो स्कुलमा पनि भलिबल खेल्न पुग्थिन् तर घरजम गरेपछि धेरै महिलाझैँ उनको पनि खेलकुदमा ‘ ब्रेक’ लाग्यो । घर–व्यवहारमै अल्झिइन् । 

छोरो पाएपछि शरीरको तौल बढ्दै गयो । अनि, श्रीमान् रुजन बज्राचार्यकै सल्लाहमा जिम पुगिन् । त्यही नै उनको जीवनको ‘टर्निङ पोइन्ट’ बनिदियो । अर्थात्, ज्यान त चाहे अनुरूप चुस्त भयो नै, सँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर आफ्नो र देशको नाम पनि राखिन् । उनको ‘अपर बडी’ मजबुत पक्ष रहेको उनका प्रशिक्षक रुजन शाही बताउँछन् । यतिबेला ननिता कोरियामा आउँदो सेप्टेम्बरमा हुन लागेको एसियन च्याम्पियनसिपको तयारी गर्दै छिन् । लगत्तै नोभेम्बरमा अर्को प्रतियोगितामा पनि सहभागी हुनुपर्ने उनी सुनाउँछिन् । 

ननिताजस्तै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक चुम्न कम्मर कसेर लागेकी छन्, निर्मला महर्जन, ३३, पनि । लाजिम्पाटको नेक्स्ट स्टेप फिटनेसमा तयारी गरिरहेकी उनी १५ वर्ष हुँदैदेखि नै जिम गर्थिन् । १६ वर्षीय छोराकी आमा उनीसँग दुईपल्ट अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको अनुभव पनि छ । दुई वर्षअगाडि थाइल्यान्डको बैंककमा वल्र्ड बडी–बिल्डिङ तथा फिजिक स्पोर्ट च्याम्पियनसिपमा र अघिल्लो वर्ष भुटानमा सम्पन्न एसियन बडी–बिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा उनले आफ्नो क्षमता देखाइसकेकी छन् । भुटानको उक्त प्रतियोगितामा विमेन फिजिक मोडेलतर्फ १ सय ६५ सेमिमा सातौँ स्थानसम्म पुगेकी निर्मला भन्छिन्, “यी दुवै प्रतियोगिताबाट बडी–बिल्डिङको पोजिङ, बडी कलरिङ, ड्रेस कोडजस्ता कुरा सिक्न पाएँ । यसले अगाडि बढ्न थप हौसला दिएको छ ।” प्रतियोगिताअघि पोजिङ, शरीर रंग्याउनुपर्ने, कम्तीमा पाँच इन्चको हिल लगाउनुपर्ने, टू पिस बिकिनीमा प्रस्तुत हुनुपर्ने लगायतका नियमबारे उनले इन्टरनेटबाट जानेकी हुन् । 

विदेशका प्रतिस्पर्धा मात्र होइन, देशभित्रै आयोजना हुने प्रतियोगिताका लागि पनि महिला बडी–बिल्डरहरू तयारी गर्दै छन् । यसैमध्येकी एक हुन्, सन्ध्या श्रेष्ठ । तीन वर्षदेखि बडी–बिल्डिङमा लागिरहेकी सन्ध्याले देशव्यापी प्रतिस्पर्धामा दोस्रो स्थान जितिसकेकी छन् । हुन त प्रतिस्पर्धाको तयारीमा मात्र होइन, ६ वर्षीय छोरीलाई हुर्काउन पनि उनले समय छुट् याउनुपर्छ । भविष्यमा देशव्यापी प्रतियोगिता जित्दै अन्तर्राष्ट्रिय स्तरमा नाम कमाउने उद्देश्य छ उनको । ८० किलोभन्दा बढी तौललाई उनले अहिले २० किलो कम गरिसकेकी छन् । दैनिक तीन घन्टा जिममा बिताउने गरेको उनको भनाइ छ । 

रविभवनकी जुनु श्रेष्ठ, ३२, पनि ६ वर्षअघि जिम छिरेकी थिइन् । तर, निरन्तरता दिन थालेको भने वर्ष दिन पुग्दै छ । भन्छिन्, “राष्ट्रियस्तरका प्रतिस्पर्धामा कस्तो गर्न सकिन्छ, त्यही आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने हो ।” 

राजधानीबाहिरका पोखरा, बुटवल, धरानजस्ता सहरहरूमा पनि जिम गर्ने महिलाको उल्लेख्य संख्या छ । तर, एकाध मात्र बडी–बिल्डिङतिर लाग्छन् । त्यही थोरैमध्ये पर्छिन्, पाइलट लुना प्रधान पनि । आफ्नो बुबाकै जिम भएकाले पहिलेदेखि नै जिम जाने र एक्सरसाइज गर्ने गर्थिन् । “सिनियर बडी–बिल्डरहरूले भन्नुभएर बडी–बिल्डिङमा लागेको थिएँ,” उनले भनिन्, “यसैलाई करिअर बनाएर 

जानचाहिँ सक्दिनँ ।”

बडी–बिल्डर जुनुको विचारमा बडी–बिल्डिङ महँगो त छ नै कडा शारीरिक मिहिनेत पनि अनिवार्य छ । प्रतिस्पर्धा नजिकिँदै गर्दा नुन, खाना, पानी सबै कति र कहिले खाने ? सबैको रुटिन हुन्छ । त्यसबाहेक भिटामिन, प्रोटिन पनि खानैपर्‍यो । केही महिलाको बडी–बिल्डिङमा रुचि भए पनि जिम आउनेको मुख्य उद्देश्य शरीर घटाउनु वा स्वस्थ रहनु नै हुने गर्छ । 

टू पिस बिकिनीमा प्रस्तुत हुनुपर्ने, जिममा धेरैजसो पुरुष रहने हुनाले असजिलो अनुभव गर्ने, बडी–बिल्डिङ केवल पुरुषका लागि हो भन्ने मानसिकता, शरीर ठूलो देखिने डर आदि कारणले यस क्षेत्रमा उल्लेख्य महिला उपस्थिति नभएको यस क्षेत्रसँग सम्बन्धितहरूको बुझाइ छ । निर्मला भन्छिन्, “पुरुष र महिलाको शरीर प्राकृतिक रूपमै फरक हुन्छ । एक्सरसाइज गरे पनि पुरुषको जस्तो ठूलो देखिन्न ।” महिलाको शरीर पुरुषभन्दा फरक हुने भएकाले बडी–बिल्डिङ गरे पनि ठूलो नहुने बरू सुगठित हुने यस क्षेत्रमा लागेका महिलाहरू बताउँछन् । पुरुषहरूको प्रतियोगिता तौल समूहमा हुन्छ भने महिलाहरूको उचाइ अनुसारको समूह बनाई प्रतिस्पर्धा गराइन्छ । 

यही चैत अन्त्यतिर छैटौँ राष्ट्रव्यापी एथ्लेटिक फिजिक फिटनेस र बडी–बिल्डिङ प्रतियोगिता (मिस्टर हिमालय)मा पहिलोपल्ट महिला बडी–बिल्डर पनि प्रतिस्पर्धा गर्दै छन् । राष्ट्रव्यापी यस प्रतियोगितामा काठमाडौँसहित देशभरिका महिला बडी–बिल्डरहरूले सहभागिता जनाउनेछन् । त्यस्तै, आउँदो वर्षको भदौमा दोस्रोपल्ट मिस्टर काठमाडौँ एन्ड फस्ट लेडिज फिटनेस च्याम्पियनसिपमा महिला बडी–बिल्डर पनि उत्रिनेछन् । यी प्रतियोगितामा महिला प्रतिस्पर्धीको संख्या बढ्ने आशा राख्छन्, उपाध्यक्ष राजभण्डारी । “समाजमा यस खेललाई पचाउन सक्ने वातावरण बन्न नसकेकाले महिलाहरू अझ खुलेर आइरहेका छैनन्,” राजभण्डारी भन्छन्, “बिस्तारै महिलाहरूको उल्लेख्य उपस्थिति रहनु सुखद संकेत हो ।” 

प्रकाशित: चैत्र १७, २०७३