नृत्य तपस्वी

  • नृत्यलिपिकै निम्ति ६० वर्ष लामो साधना गरेका छन्, भैरवबहादुर थापाले ।

- राजकुमार बानियाँ

नृत्यलिपिकै निम्ति ६० वर्ष लामो साधना गरेका छन्, भैरवबहादुर थापा, ८५, ले । संगीतजस्तै नृत्यलाई पनि लिपि दिने उनको हठ हो, नृत्याक्षर विज्ञान । संसारमै नभएको नौलो काम, अझ एक नृत्य तपस्वीको ‘ड्रिम बुक’ । नृत्यको नयाँ व्याकरणलाई विदेशी भाषामा लैजाने क्रममा आउन लागेको अंग्रेजी संस्करण हो, अल्फाबेट अफ डान्सेज साइन्स । 

यसको पृष्ठभूमि हो, ०१३ मा महाचीनको सांस्कृतिक भ्रमण । भैरवको नाच कति रुचाइयो भने चिनियाँ प्रधानमन्त्री चाउएनलाइले तीन हप्ताको भ्रमण पाँच हप्ता लम्ब्याइदिए । नेपाली नाचमा दंग परेका तत्कालीन अध्यक्ष माओत्सेतुङले लङकोटको खल्तीबाट झिकेर मोटो फाउन्टेन पेन दिए भैरवलाई । 
त्यस दौरान कुन्मिङको एउटा चिनियाँ नृत्य भैरवलाई खुब मन पर्‍यो । त्यसलाई टिपोट गर्ने लहड चल्यो । एक त नृत्यको नोटेसन नहुने, अर्को चीनमा अंग्रेजी नचल्ने । कसरी सिक्ने ? चिनियाँले नै सल्लाह दिए, केही दिन यतै बसेर सिक्ने ।

उनलाई छटपट छटपट भइरह्यो । झोक चल्यो– अब नृत्यको नोटेसन लेख्छु, लेख्छु । माओ–पेनबाटै सुरुआत गरे उनले । चिनियाँ सशस्त्र क्रान्तिताकाको त्यो कलम दुई वर्षसम्म मसी नफेरी चल्यो । 
त्यस बीचमा कतिपयले नृत्यलिपिको औचित्यमै प्रश्न नउठाएका पनि होइनन् । डिजिटल जमानामा के नृत्यको नोटेसन ? किताबमा उनले २६ अंगव्यञ्जनका साथै बलरुम, कत्थक, टेम्पोरियन मात्र नभएर डाई डान्ससम्मको परिचर्चा गरेका छन् । “किताब भनेको अभिलेख हो, पृथ्वी रहुन्जेल रहन्छ,” उनको अप्रतिम विश्वास छ, “फिल्मले अभिलेखको धीत मार्न सक्दैन ।” 

चीन जान नपाएको भए ? उनलाई थाहा छ, केवल काँठे झ्याउरे काखी च्यापेर बसेको नटुवा मात्र हुन्थे । कथात्मक भावनृत्य (ब्याले), अपेरा, ट्याब्लोजस्ता आधुनिक नाट्यसँग परिचित हुन पाए । मयूर नृत्य, याक नृत्य, झाँक्री नृत्य, गुरु पद्मसम्भव नृत्य सिर्जना गरे । अर्थात् आजको रंगमञ्चको मार्गदर्शन ।

०१६ मा नेपाल एकेडेमीको पहिलो वार्षिकोत्सवमा नवरस ब्याले देखाए । राजदरबारमा भैरव नृत्य दलका कलाकारसित राजाले हात मिलाएको र डिनरका लागि गाइड गरेको उनलाई सम्झना छ । मुलुककै पहिलो कोरियोग्राफरका रूपमा चिनिएका भैरव कमलपोखरी, चारबुर्जामा जन्मिएका हुन् । ’९० सालको भुइँचालोबाट जोगिएका कारण घर नजिकैको भैरवथान सम्झेर उनको नामकरण भयो । 
तेजशमशेर (सानो हजुर)ले भैरवलाई जन्मेको मितिदेखि नै महिनाको चार रुपियाँ (कम्पनी रुपियाँ) भत्ता व्यवस्था गरिदिए । गोरखाली राजा राम शाहदेखि राणा प्रधानमन्त्री वीरशमशेरको पालासम्म उनको पारिवारिक सम्बन्ध शक्तिकेन्द्रसँगै गाँसिएको छ ।

राम शाहका हजुरिया भारदार तान्त्रिक लखन थापा उनका पुर्खा हुन् । गोरखाको मनकामना मन्दिरका पुजारी मगर वंशज । उनका जिजुहजुरबा मानसिंह राणा प्रधानमन्त्री जंगबहादुरका हजुरिया डिट्ठा, हजुरबा वीरबहादुर वीरशमशेरका सवारी डिट्ठा, बुबा पदमबहादुर तेजशमशेरका हजुरिया डिट्ठा रहेछन् । 
पाँच वर्षसम्म काठमाडौँमै बिताएका भैरव जुद्धशमशेरको शासनकालमा तेजशमशेरसँगै पर्साको रानीगन्ज लखेटिए । त्यसपछि सानो हजुरका छोरा बडाहाकिम इन्दुशमशेरसँगै इलाम खटिए । इलामबाट एकै बेग वनारस पुगेका भैरव म्याट्रिक जाँच दिएर पहलमान दाजु श्यामबहादुरसित गोरखपुर घुम्न निस्केका थिए । 

रेलवे स्टेसनमा चियानास्ता खाँदै गर्दा ब्रिटिस आर्मीका अफिसर हरिकान्त राई भेटिए । उनले नेपालीको साइनो गाँसेर भने, ‘तपाईं ब्रिटिस आर्मीका क्लर्क पोस्टमा जानुपर्‍यो ।’ त्यतिबेला भैरव १८ वर्ष पनि पुगेका थिएनन् । कास्कीतिरको कागजात बनाइदिए राईले । दाजुलाई त्यहीँ छाडेर पानीजहाजमा बर्मा हुँदै मलाया छाउनी (पेनाङ) पुगे, ००७ मा । 

सिंगापुर पुगेपछि उनका गोडामा कसरी कसरी नृत्यको उटपट्याङ चस्का पस्यो । टेबल ठटाउने अनि नाच्ने । अंग्रेज अफिसर रिसाउँथे रे, ‘नो डिसिप्लिन ?’ अनि, कुनातिर गएर आफैँ हाँस्थे रे † क्लर्कस् क्लबमा नाचगानको जिम्मा उनकै हुन्थ्यो । इलाम बस्दा मास्टर गुप्तसेनबाट तबला सिकेका उनको घरेलु परिवेश एकदमै सांगीतिक थियो । आमा पियानो बजाउने, दिदीहरू हार्मोनियममा भजन गाउने, दाजु श्यामबहादुर त तबला उस्तादै भइहाले । 

तीन वर्षसम्म मलायाको जंगल युद्ध तालिम लिएका भैरव ब्रिटिस आर्मीबाट ०१० मा ६ महिने छुट्टीमा आए । टोले साथी विष्णु सिलवालसित भुरुङखेल चौर गए । अखिल नेपाल किसान संघको सांस्कृतिक कार्यक्रम रहेछ । काउब्वाय ह्याट, फिरफिरे स्कार्फ, कम्मरमा खुकुरी र दुई–दुईवटा बेल्ट भिरेका उनलाई त्यहाँ निर्मल लामाले मञ्चमा जबर्जस्ती उकाले । भैरवले लेखट्दै सबैलाई मुक्का हान्न थाले । दर्शकले साँच्चै नाटक सम्झेर ताली बजाए । 

नेपथ्यमा मास्टर गुप्तसेनले हार्मोनियम र तबला बजाए, ‘पम् पम पम ककक, पेटमा पड्क्यो डम्, एट्म बम’को धुनमा । त्यसले उनका हातगोडा स्वत:स्फूर्त चलायमान भइहाले । ‘भैरव मलायान प्यांख’ (भैरवको मलाया नाच) कति प्रख्यात भयो भने डेढ महिनासम्म फुर्सदै पाएनन् । लालदरबारिया भीमनिधि तिवारीले अमरसिंह नाटक खेलाएको थाहा पाएपछि बालकृष्ण समले एक पाइला अघि बढेर भैरव नृत्य दल नै खोलिदिए, १० फागुन ०१० मा । 

भैरव नृत्य दलको पहिलो चरणका चेला थिए, कोकिल गुरुङ, कुमार बस्नेत, अच्युतनन्दन चालिसेहरू । कलाकार खोजीमा हाट हाटमा भौँतारिए भैरव । पशुपतिनाथको भजन मेला पुग्थे । नाच्ने प्राय: काँठ–पाखाका हुन्थे । तिनलाई कमलपोखरी भैरव निवास ल्याएर कसरी नाच सिकाउने ? 

तिनताका काठमाडौँमा दुई भैरवबहादुर थापाले उधुम मच्चाएका थिए । एउटा नृत्यका भैरव, अर्का संगीतका उस्ताद । उनीहरू एकअर्कालाई ‘मीतज्यू’ भन्थे । रेडियो नेपालमा भेटिएका तिनै संगीत उस्तादलाई गुहारे भैरवले, ‘मीतज्यू, कोही चेली खोजिदिनुपर्‍यो ।’ नभन्दै संगीत उस्तादले छोरी भुवन (चन्द)लाई पठाइदिए । नृत्यांगना विमला श्रेष्ठलाई उनले मच्छिन्द्रबहालबाट काँधमा बोकेर ल्याएका थिए ।

पोखराको बाटुलेचौरका गन्धर्वहरू ल्याएर आफ्नै घरमा राखे भैरवले । धारा बिटुलो बनाइदिएको भन्दै टोलवासीले हुक्कापानी लगाएर थानकोट कटाउने योजना बुनेछन् । टोलबाट टुँडिखेल पुगेको नृत्य दललाई सत्यमोहन जोशीले पाटनस्थित आफ्नै घरको छिँडी जिम्मा लगाए । एक हप्तामै उनका अनगन्ती चेलाचेली भए ।  

०१८ मा कमलाक्षीस्थित राष्ट्रिय नाचघरको संस्थापक निर्देशकको नियुक्ति पाए उनले । नाचघरको कर्मकाण्डबाट तीन वर्षमै वाक्कदिक्क भए । पृथ्वी जयन्ती, त्रिभुवन जयन्ती, राजा र रानीका जन्मोत्सव, संविधान दिवस, प्रजातन्त्र दिवस, भानु जयन्ती, मोती जयन्ती मात्र नभएर विदेशी पाहुना आउँदा थप कर्मकाण्ड । “सधैँ एउटै देखाउने कुरा भएन, सिर्जनशील तरिकाले सोच्नै नपाइने,” उनी सम्झन्छन्, “कर्मकाण्डी कार्यक्रमले थकाउनु थकायो ।”

नाचघरका हाकिमहरू उनलाई पटक्कै मन पराउँदैनथे । हाकिमहरू कलाकार केटीहरूसँग अंकमाल गरेर बसेको भैरव देखिनसहने ।  रिहर्सलमा ‘डिस्टर्ब’ हुन थाल्यो । भैरवको कलाकारितालाई पन्छाउन नसकेपछि उनीहरूले मन्त्री–सचिवलाई बांगोटिंगो कुरा लगाउन थालेछन्, भैरव कम्युनिस्ट हो, पुष्पलालको साथी हो आदि इत्यादि । 

अन्तत: नाचघरबाट ०३० मा राजीनामा दिए उनले । ११ बजे दिएको राजीनामा चार घन्टामै स्वीकृत भएछ । त्यसपछि नृत्य दलमै सक्रिय भए भैरव । इन्टरनेसल फोकलोर फेस्टिवलमा पर्यटन प्रवद्र्धनका कार्यक्रम लिएर युरोप गए । त्यसबाट औडाहा भएर अन्नपूर्ण होटलका तत्कालीन म्यानेजिङ डाइरेक्टरले होटल, ट्राभल्स कम्पनीलाई महाराजधिराजको आदेश भन्दै गोप्य सर्कुलर जारी गरेछन्, ‘भैरव नृत्य दलको टिकट नकिन्नू । थाहा पाए पर्यटक पठाउन्नौँ ।’ राज खानदानको कुरा कसले काट्ने ? 

केही समय अनौठो मौनता छायो भैरवको नृत्यकलामा । रवि शाह, गणेश रसिकले उनलाई सम्झाए, ‘तपाईं सुत्नु भनेको राष्ट्रको संस्कृति सुतेसरह हो ।’ पछि नाचघरको जीएम भएका नारायण गोपाल र गणेश रसिकलाई कोरियोग्राफरका रूपमा सघाए उनले । 

राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत नेपाल खेलकुद सांस्कृतिक संघको महासचिव पनि भए । पोखरामा सात सय र काठमाडौँमा १ हजार ४ सय जनाको मास क्यालोथेनिक्स देखाए, झमझम इस्टकोट.., हुक्का मेरो डल्ले डल्ले.., पानको पात.. मिसाएर । उनी अहिले पनि त्यसको कम्पोज खोजिरहेका छन् । 
नृत्यमा त्यसरी मरिमेट्दा पनि भैरवले कुनै सरकारी पदक पाएनन् ।  “राजा महेन्द्रका अगाडि अरू कलाकारहरू झ्याल फेर्न पाइनँ, ढोका फेर्न पाइनँ सरकार भन्थे,” उनी सुनाउँछन्, “मेरो अवस्था त्यस्तो दरिद्र पनि थिएन । राजासित के माग्ने ?”

राजा महेन्द्रले कमलपोखरी टुकुचादेखि तीनधारा पाठशालासम्मको रमणीय खेत ‘सरकारका हजुरमा दाखिला गर्न हुकुम गरेपछि’ उनका ठूलदाजु श्यामलगायत डेढ दर्जन मोही टुकुचा खेतमै सुतेर विरोध गरेका थिए कुनै बेला । पाँच रोपनी खेतबापत पाँच सय रुपियाँ मुआब्जा पाएको र आफ्नै पुख्र्यौली खेतमा नेपाल एकेडेमी उभिएको देख्दा उनलाई गौरव लाग्छ । 

राजा महेन्द्रलाई भैरवका विरोधीहरू कम्युनिस्ट भएको चुक्ली लगाइदिँदा रहेछन् । राजाले उनलाई भनेछन्, ‘रूखका हाँगाहाँगाबाट कम्युनिस्ट पलाए पनि केही फरक पर्दैन । राजा भिक्षु हुन सक्छ भने राजा कम्युनिस्ट पनि हुन सक्छ । कम्युनिस्टहरू मेरा हितैषी नै हुन् । कोही मेरो व्यवस्थामा प्रवेश गरिसके । अरू कमरेड पनि आउने कुरा गर्दै छन् ।’ 

केन्द्रशमशेर राणाका तीन छोरी ऐश्वर्य, कोमल र प्रेक्षालाई पनि नृत्य तालिम दिएका रहेछन् भैरवले । “६ महिनाको अभ्यासमा ऐश्वर्य मैयाँ निपुण भइन्, कान्छी पनि त्यही हाराहारीमा तर माइली कोमल मैयाँ मोटी भएकाले ६ महिनापछि मात्र नाच्न सक्ने भइन् ।” उनका दुई चेली नेपालका रानी भए । 
अघोरी बाबा स्वामी रामनाथबाट आर्यघाटमा रावणसंहिता ज्योतिष दीक्षा लिएका भैरव राखेपमा पूजापाठ पनि गर्थे । उनले थेगो पनि बनाए, राखेप गोत्र तर्पणे । आफूले पूजा छाडेको वर्ष ०४४ मा रंगशाला काण्ड भएको उनको भनाइ छ ।  

कुनै बेला शंकर लामिछानेको क्वाँच मित्रमण्डलीमा थिए भैरव । त्यसैले भूपी शेरचन, तुलसीनाथ ढुंगेल, धनमानसिंह परियार, भीमदर्शन रोका, अम्बर गुरुङ, उत्तम नेपालीका कुरा फर्माउन उनलाई आनन्द लाग्छ । आफूलाई ब्रिटिस आर्मीमा भर्ना गरिदिने हरिकान्त राई त शंकर लामिछानेका जेठान रहेछन् । राई बेलायती दूतावासको सैनिक सहचारी भएर नेपाल आउँदा त्यो रहस्य खुल्यो । 

मनको बाँध सुटिङका लागि पोखरा गएका थिए भैरव । सरकारी गेस्ट हाउसमा एउटै कोठा पर्‍यो शंकरसँग । पिउँदापिउँदै शंकर घुर्न थालिहाले । घुराइका कारण सुत्न नसकेका भैरव जिनको सिसी लडाएर अनिँदै बसे । बिहान उठेपछि शंकरले भनेछन्, ‘ओहो भैरवजी, एक्लै पिउँदै हुनुहुन्छ ? लौ गजब भो !’ नटराजको आशीर्वाद पाएका यी साधक बीपी कोइरालासँग भूपी शेरचनलाई भूमिगत भेट गराइदिएको चर्चा गरेर थाक्दैनन् । ०२२ सालमै कक्षा ६, ७ र ८ का लागि नेपाली नृत्य र शारीरिक प्रवेशिका लेखेका उनको ढोका कवितासंग्रह, हिँड्दाहिँड्दै बनेका तस्वीरहरू र समर्पण (संस्मरण) र हिमानी नाट्य मिमांसा प्रकाशित छन् । 

अवकाशप्राप्त कर्नेल जयन्द्रवीरसिंह बस्न्यात भैरव नृत्य दललाई भैरव इन्टरनेसल कल्चरल एकेडेमीका रूपमा पुन: जन्म दिने कोसिसमा छन् । “इलाहावादको प्रमाणपत्र देखाए मात्र जागिर दिने चलन छ । नेपाली प्रमाणपत्र अझै छैन,” भैरव उदेक मान्छन्, “प्राथमिक कक्षादेखि पीएचडीसम्मको खुराक लेखिरहेको छु ।” 

भैरवका नजिर भनेका उनकै चेलाचेली हुन् । “गुरुबाले लोकल नृत्यलाई ग्लोबल बनाइदिए,” पुराना चेला शक्ति श्रेष्ठ भन्छन्, “खेतको आली र बारीका पाटामा हराएका नाच विश्व मञ्चमा पुग्यो ।”

रोगको हेडक्वाटरजस्तो भएका छन् भैरव । अस्पताल नै तीर्थधाम भएको छ । बायाँ आँखा देख्दैनन् भने दायाँँ आँखाका लागि महिनाको एउटा इन्जेक्सन दिन्छन् । मुटुको भल्भ फेरेका छन् । क्रोनिक बाथ पनि छ । तर, आइग्लास हातमा लिएर नेपालमा नृत्यको तालिम परम्पराका विषयमा खोज गरिरहेका छन् । “अहिलेका लेखकहरू वर्तमान रिझाउन मात्रै लागिरहेका छन्,” उनको अनुभव छ, “शक्तिको गीत गाउँदा फुर्सद पाएका छैनन्, भविष्यका विद्यार्थीका लागि कसले लेखिदिने ?”

ब्रिटिस आर्मी परित्याग गरेको ५२ वर्षपछि भैरवको मुटुको भल्भ लिकेज भएको र डेरा जिन्दगी बिताइरहेको थाहा पाएछन् मेजर त्रिलोकसिंह थापाले । ब्रिटिस आर्मीमा डेजर्ट (भगौडा) जनाइसकेका उनलाई कागजात मिलाएर नि:शुल्क उपचार हुने व्यवस्था मिलाइदिए । गोर्खा कल्याणकारी योजनासँग भूपू साइनो जोड्न पुगेका भैरव सरकारलाई अनुरोध गर्न जाँदैनन्, सरकार उनको अवस्था थाहा पाउन खोज्दैन । 

भनेजस्तै श्रीमती पाएका थिए उनले ०१८ मा । चार छोरा र एक छोरी पुरस्कार दिएकी रुक्मिणीको शोकको रापले डामिएको चार वर्ष भयो । माइला छोरालाई अल्पायुमै गुमाएको शोक पनि छ । उनका जेठा छोरा ताजकुमार औषधि कम्पनीमा काम गर्छन्, साइँला सम्राट थापा संगीतकार हुन् भने कान्छा महाराज थापा म्युजिक एरेन्जर । छोरी मन्जिमा अवाले घरगृहस्थीमै छन् । 

धनुषा यज्ञभूमिमा चार बिघा जमिन बौद्ध गुम्बालाई दिएका यी दानवीरको कालोपुलमा डेराबास छ । “मेरो त घरै नेपाल हो,” छुट्टिने बेलामा उनले अलि भावुक बनाइदिए, “अर्को पटक अन्तर्वार्ता लिन आउँदा म यो टोलमा भेटिने छैन ।” 

प्रकाशित: चैत्र १७, २०७३