आरोग्यशैली

  • हाम्रो ६०/७० ग्रामको जिब्राले ६०/७० किलोको शरीरमाथि शासन गरिरहेकामा लेखक उदेक मान्छन् ।

- विमल आचार्य

‘स्वास्थ्य नै धन हो ।’ ‘रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिने उपाय अपनाउनु बुद्धिमानी ।’ यस्ता सूत्र कण्ठै छ हामीलाई, फरर भनिदिन सक्छौँ । सुन्दर निबन्ध मात्र होइन, पुस्तक नै लेखिदिन सक्छौँ । यस्ता ‘कोटेसन’ कण्ठ पारियो, भित्तामा टाँसियो तर जीवनमा कहिल्यै लागू गरिएन । समस्यै यहीँनेर छ । 

योग विज्ञानमा विद्यावारिधि राजु अधिकारीको पुस्तक यस्तो होस् जीवनशैलीले पनि राती अबेरसम्म नबस, सूर्योदयअघि नै उठ र योग/व्यायाम/ध्यान/वाक् गर भन्छ । यो पंक्तिकारलाई यी सब कुरा थाहा भएको–मन परेको बच्चैदेखि हो तर यो समीक्षा नै पनि म नसुती राती १ बजे लेखिरहेछु ।

पंक्तिकारजस्ता अल्छी, अस्तव्यस्त, लापरबाह, सर्वआहारी, कम्प्युटर–कामकाजी— चाँडै रोगी हुने त निश्चितै छ— लाई बेलैमा बिउँझाउने झापडशैलीमा लेखिएको छ यो पुस्तक । 

खाने कसरी पिउने कसरी, योग पनि गरौँ भोग पनि गरौँ, तपाईंका लागि योग पुस्तक लेखिसकेका अधिकारी यस पुस्तकमा स्वस्थ र सुन्दर जीवनशैलीका यावत् पक्षबारे सजिलरी चर्चा गर्छन् । उनी पुस्तकमा योग/व्यायाम/ध्यानशैलीदेखि निद्राशैली, सम्भोगशैली, हास्यशैली, रोदनशैली, मनोरञ्जनशैली, सरसफाइशैली, विचारशैली, अध्ययनशैली, कामकाजीशैली, भ्रमणशैली, मोबाइल/कम्प्युटरशैली हुँदै मृत्युशैलीसम्मका परिच्छेदमा कामलाग्दा ‘ टिप्स’ दिन्छन् । उनी हामीलाई बिउँझाउन संसारभरका उदाहरण र उद्धरणको चाङ पनि लगाउँछन् । 

यो समीक्षकलाई ३० वर्षमै बूढेसकालले छोए, रोगले च्यापे, तनावले झकाएजस्तो लाग्छ । उता ९० वर्षे हजुरआमा यो उमेरसम्म एक दिन नबिराई चिसै पानीले नुहाउने, केही औषधि त के तातैपानीसमेत नखाई, अस्पताल नै नटेकी आफ्नो सब काम आफैँ गरिरहेकी हुनुहुन्छ । प्रस्ट छ, हाम्रो गाँसदेखि साससम्ममा विष छ, आराम–कामको सन्तुलन फिटिक्कै छैन । आफूले सक्ने र भ्याउने पनि शारीरिक परिश्रम गर्नु छैन । वातावरण र सेरोफेरो यति प्रदूषित छ कि सर्ने–नसर्ने रोगका सूचीले नै पाँच पाना भरिने अवस्था छ । प्रकृतिमाथिको दोहन र प्रदूषणको विकृति यतिसम्म छ कि पृथ्वी जीवजन्तुका लागि अयोग्य हुँदै छ । यी सबको कारक त हामी नै हौँ । 

हरेक मानिसको अन्तिम साध्य भनेको प्रसन्नता, खुसी र सुख नै हो । तर, ‘हामीले देखेकै कुरा हो, आज विद्वान्, वैज्ञानिक, प्राध्यापक, विशेषज्ञ, धर्मगुरु, प्रशासक, पत्रकार, राजनेता कति बेचैन र व्याकुल छन् ! भ्रमित र व्याकुल अग्रपंक्तिबाट कस्तो समाज तयार होला ?’ लेखक चिन्तित छन्, अस्तव्यस्त जीवनशैली, अस्वस्थ आनीबानी र असन्तुलित आहारविहारमा सुधार नगरी अब धरै छैन । हामी प्रत्येकको आहारविहार ठीकठाक भए तन र आचारविचार ठीकठाक भए मन, यी दुवै ठीकठाक भए समग्र जीवन ठीकठाक ।

अहिले समय ठीक उल्टो भएको छ । हामी निर्जीव वस्तु/प्रविधिलाई औधि प्रेम गर्छाैं तर मानिस/आफूलाई चाहिँ उपभोग/प्रयोग । हामी हाम्रा सय, हजार, लाख, करोडका मेसिनरी सामानमा केही मिसावट तत्त्व छिर्ला र बिग्रेला भनेर सचेत हुने तर अमूल्य शरीर–यन्त्र बिग्रेला कि भनेर केही चिन्ता नलिने । खान मिल्ने–नमिल्ने, बासीतासी, फोहोर–प्रदूषित, सबै खाइदिएपछि शरीर त जरुर बिग्रने नै तर्क छ लेखकको । 

लेखकका विचारमा सही आहार, सही रीतिले, सही समयमा, सही मात्रामा खानु नै शक्तिशाली औषधि हो । प्रकृतिको भान्सामा पाकेका जसलाई फेरि पकाउनु पर्दैन नै सबैभन्दा सर्वाेत्तम आहार हो । घरको भान्सामा पाकेको खानकी उत्तम आहार । पेटभित्रको भान्सा अर्थात् आफैँले सकीनसकी पचाइदिनुपर्ने विषादी–रसायनजन्य खानेकुरा खाँदै नखाने सल्लाह छ लेखकको । अहिले जंकफुड यति चलेको छ कि लेखकले यसबाट हुने नकारात्मक असर असरल्ल पोखेका छन् । सेवाका नाममा वृद्धाश्रममा गएर, भूकम्पपीडित सोझा गाउँलेकहाँ गएर चाउचाउ–कुुरमुरे बाँड्नु अपराध हो । 

लेखक भन्छन्, ‘मैलो कपडालाई पानीमा भिजाउने, साबुन लाएर मिच्ने, त्यसपछि पानीमा पखाल्ने र अन्तमा निचोरेर घाममा सुकाएपछि त्यो सफा र आकर्षक हुन्छ । ठीक यसै गरी शरीरभित्रको फोहोरमैला निकाल्न व्यायामको सर्वश्रेष्ठ भूमिका हुन्छ । सबैले बुझ्ने भाषामा भन्ने हो भने व्यायाम–कसरतले शरीरलाई निचोर्ने, मिच्ने र धुने काम गर्छ ।’ व्यस्त हुनुहुन्छ ? २० मिनेट ध्यान गर्नुहोस् । भ्याउनुहुन्न, अति व्यस्त हुनुहुन्छ ? उसो भए त झन् धेरै एक घन्टा ध्यान गर्नुहोस् । 

तत्कालीन मुख्यसचिव लीलामणि पौड्याल र लेखक अधिकारीबाट सुरु भएको वाग्मती सफाइ अभियान अहिले चर्चामा छ । सफाइ अभियन्ता अधिकारी भन्छन्, ‘ प्रकृति, धर्ती र नदीलाई सफा, शुद्ध, पवित्र, निर्मल बनाउनेजस्ता कुरा शासन र कानुनभन्दा पनि संस्कार र स्वभावका कुरा हुन् ।’ मानिस धर्म गर्न तीर्थ गर्न जान्छु भन्छन् तर तिनै ‘धर्मी’बाट धेरैजसो तीर्थ क्षेत्र फोहोर, विकृत र अस्वस्थकर बनेका छन् । 

हाम्रो ६०/७० ग्रामको जिब्राले ६०/७० किलोको शरीरमाथि शासन गरिरहेकामा लेखक उदेक मान्छन् । जिब्रोको स्वाद मात्र नखोज्न सल्लाह छ उनको । चिन्तन, चरित्र र व्यवहार मात्र होइन, मन पनि शुद्ध हुनुपर्छ । मनभित्रको दृश्य कसैले देख्ने होइन क्यारे भनेर अर्थहीन र अश्लील विचारलाई स्थान दिनु रोगलाई स्वागत गर्नु हो । 

पूर्व र पश्चिमको दुवै ज्ञानलाई जोडेर छरितो र रसिलो शैलीमा लेखिएको यस पुस्तकका टिप्स नयाँ होइनन् तर कहिल्यै नबिउँझिनेहरूका लागि ‘अलार्म’ अवश्य हुन् । 

***

यस्तो होस् जीवनशैली 

लेखक    :    राजु अधिकारी

प्रकाशक    :    मानव उत्कर्ष नेपाल, काठमाडौँ

पृष्ठ    :    ३६८

मूल्य    :    ३९९ रुपियाँ

प्रकाशित: चैत्र १७, २०७३