संकटमा टक्–टक्

  • आधुनिक परिवहनको प्रवेशले घोडाको सहर नेपालगन्जमा टाँगा विस्थापित हुने क्रममा

- जनक नेपाल

नेपालगन्ज ।। घोडाका टापको टक्–टक् आवाज । अनि, टाँगाको सवारी । संगीतको धुनजस्तो लाग्ने आवाजसँगै यात्रा गर्नुको मज्जै बेग्लै । यसलाई करिब दुई सय वर्ष पुरानो नेपालगन्ज सहरको मौलिकताका रूपमा बुझिन्थ्यो । तर, पछिल्लो एक दशकमा त्यो टक्–टक् निकै पातलो सुनिन थालेको छ । 

कुनै बेला सहरको मुख्य सवारी साधन टाँगा थियो । नेपालगन्जदेखि कोहलपुर–चिसापानीसम्म टाँगा चल्थे । खजुरा बजारमा रहेको विमानस्थल पुग्ने एक मात्र साधन टाँगा थियो । नेपालगन्ज घुम्न आउने जोकोहीका लागि टाँगाको यात्रा रोमाञ्चक रहन्थ्यो । धेरैले घोडा चढ्ने रहर टाँगा चढेर पूरा गर्थे । सुर्खेत रोड हुँदै नेपालगन्ज–रुपैडिया रुटमा टाँगा चल्दासम्म व्यवसायीको राम्रै आम्दानी थियो । सुरुमा रिक्साले यात्रु खोसे । त्यसपछि मिनी बस र अहिले इलेक्ट्रिक रिक्साले । त्यसैले कुनै बेला पाँच सयको हाराहारीमा रहेका टाँगामध्ये अहिले ९० प्रतिशत विस्थापित भइसकेको व्यवसायीहरूको भनाइ छ । टाँगा व्यवसायी समितिका अध्यक्ष सहादल अली भन्छन्, “मुस्किलले ५० वटा टाँगा चल्छन् । अब ती पनि धेरै टिक्नेवाला छैनन् । ग्राहक पाइन्न । घर चल्दैन ।”

विस्थापित नै हुने अवस्थामा पुगेपछि टाँगावालहरू आन्दोलन र विरोधमा पनि उत्रिए । तर, उनीहरूको केही लागेन । मुख्य चोक धम्बोझीछेउको बेलासपुरबाट टाँगा स्ट्यान्ड नगरभवन सामुन्ने सारियो । सुर्खेत रोड चार लेनमा विस्तार हुने बेलासम्म स्थानीय प्रशासन र प्रहरीले रुट फेरेर टाँगालाई अस्पताल रोडमा मात्र सीमित गरिदिए । टाँगाबाट जीविका चल्न छाडेपछि केही व्यवसायी भारत छिरेर मजदुरी गरिरहेका छन् । केही रैथानेले आफ्ना घोडा र खच्चडलाई इँटाभट्टामा लगाएका छन् । टाँगा व्यवसाय प्रवद्र्धन गर्न सरकारीस्तरबाट कुनै सहयोग नपाएको अध्यक्ष अली गुनासो गर्छन्, “पहिले रुट पाइएन । अहिले यात्रु पाइन्न । प्रहरी, प्रशासन र रिक्सावालहरू एकै पटक हामीविरुद्ध लागे ।”

समितिले टाँगाको रुट निर्धारण गर्न पटक–पटक माग गर्दै आएको छ । तर, स्थानीय प्रशासनले प्रस्ट रुट निर्धारण गरेको छैन । न त पार्किङका लागि स्थान तोकेको छ । टाँगा स्टेसन निर्माणमा समेत स्थानीय निकायले बेवास्ता गरेको व्यवसायीहरू गुनासो गर्छन् । समितिकै पहलमा रकम संकलन गरिए पनि सरकारी बेवास्ताले निर्माण कार्य अलपत्र छ । अहिले स्टेसनमा टाँगा कमै देखिन्छन् । बाबागन्जका सुबेदार मुसलमान भन्छन्, “पुराना रिक्सा चलाउनेले ऋण लिएर बिजुली रिक्सा किनेका छन् । हामी भएको घोडा कहाँ बेचौँ भन्ने अवस्थामा पुगेका छौँ ।”

टाँगा व्यवसाय छाडेर अरू काम गरे पनि घोडा र खच्चड पाल्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । किनभने, टाँगा विस्थापित हुन थालेपछि घोडा–खच्चड खरिद–बिक्री घटेको छ । घोडालाई दानापानी खुवाउनसमेत समस्या भएको उनी सुनाउँछन् । “बिहानदेखि बेलुकीसम्म घुम्दा पनि यात्रु पाउन गाह्रो छ,” उनी भन्छन्, “दिनभरिको कमाइ साँझ–बिहानको छाक टार्न र घोडाको दानापानीमै सकिन्छ ।” 

दुई वर्षअघिसम्म नेपालगन्जका टाँगा व्यवसायीको एक दिनको कमाइ १ हजार ५ सय रुपियाँसम्म हुन्थ्यो । तर, अहिले तीन सय रुपियाँ कमाउनसमेत मुस्किल हुने व्यवसायी बताउँछन् । इलेक्ट्रिक रिक्सा, मिनी बस र निजी सवारी साधनका कारण टाँगाप्रतिको आकर्षण घटेको पाइएको छ ।

टाँगा यात्रु ओसार्ने सवारी मात्र होइन, घोडालाई मालवाहक साधन तान्न पनि प्रयोग गरिन्छ । तर, घोडा वा खच्चड पाल्न सजिलो छैन । त्यसमाथि घर खर्च चल्ने गरी कमाइ हुन छाडेपछि टाँगा व्यवसायीहरू निराश छन् । एनिमल नेपालका अनुसार टाँगाका लागि ७० प्रतिशत घोडाको प्रयोग भइरहेको छ । त्यस्ता घोडा तथा खच्चडको स्वास्थ्य पनि कमजोर पाइएको छ । ३३ प्रतिशत घोडामा विभिन्न चोटपटक देखिएको छ । टाँगामा प्रयोग गरिने पशुहरूमा पखाला र आँखाको संक्रमण पनि देखिएको छ । नेपालगन्ज र वीरगन्जका २ सय ३१ घोडापालक व्यवसायीबीच गरिएको अध्ययनले ९९ प्रतिशत घोडाले पर्याप्त पौष्टिक दानापानी नपाएको जनाएको छ ।

सहरमा घोडाको टक्–टक् पातलिँदा स्थानीयलाई केही खल्लो महसुस भइरहेको छ । सहरको मौलिकतालाई पुन:ताजकी गर्न चैत अन्तिम साता नेपालगन्जमा घोडा दौड प्रतियोगिता आयोजना गर्न लागिएको छ । प्रतियोगिता संयोजक सुरेन्द्रदीप कार्की भन्छन्, “मौलिकता जोगाउँदै घोडा र टाँगालाई पर्यटक आकर्षित गर्ने गरी प्रवद्र्धन गर्न जरुरी छ । यसतर्फ सबैको ध्यान खिच्न घोडा दौड गर्न लागेका हौँ ।”

प्रकाशित: चैत्र १६, २०७३