[स्मरण] दरबारमा प्रस्टीकरण

- गोरक्षबहादुर न्हुछें प्रधान

विराटनगरस्थित रघुपति जुट मिलमा ठूलो आगलागी भयो । आगलागी यति भयानक थियो कि समयमै त्यसलाई नियन्त्रणमा लिन सकिएन भने पूरै विराटनगर बजार आगोको लपेटामा पर्ने निश्चित थियो । अञ्चलाधीश कार्यालयबाट आत्तिएको र पीडाको भावमा काठमाडौँस्थित गृह मन्त्रालयलाई यस्तै जानकारी गराइएको रहेछ । 

विसं २०३३ को प्रसंग हो यो । त्यतिबेला म प्रधानमन्त्री तुलसी गिरीको सचिवालयमा सचिव थिएँ । राजा वीरेन्द्र पोखरा भ्रमणमा रहेकाले प्रधानमन्त्रीसहित गृह तथा पञ्चायत मन्त्री भोजराज घिमिरेलगायतका मन्त्री र उच्च पदस्थ धेरैजसो कर्मचारी पनि पोखरामै थिए । त्यही भएर गृह मन्त्रालयका सहसचिवले मलाई विराटनगरमा आगलागी भएको जानकारी गराए । 

विराटनगरका वारुण यन्त्र (दमकल)ले मात्र आगलागी नियन्त्रणमा लिन असम्भव भएपछि जनकपुर र वीरगन्जमा रहेका दमकल पनि तत्काल विराटनगरतर्फ पठाउन भनियो । तर, तिनको प्रयोगबाट पनि आगो नियन्त्रणमा आउन सकेनछ । आगोका लप्का झन्झन् बढ्न थालेको खबर आयो । भारतको फारबीसगन्जमा रहेका फोमसहितका दमकल पठाउने प्रबन्ध मिलाइदिन भनेर खबर प्राप्त भयो ।

तुरुन्तै परराष्ट्र मन्त्री कृष्णराज अर्यालयसँग अनुरोध गरी उहाँमार्फत भारतीय दूतावासमा सम्पर्क गरी फारबीसगन्जमा रहेका फोमसहितका दमकल विराटनगर पठाउन अनुरोध गरियो । दूतावासले पनि ‘क्विक डिसिजन’ गरी तुरुन्तै फोमसहितका दमकल विराटनगर पठाउने प्रबन्ध मिलायो र आगलागी नियन्त्रणमा आयो । विराटनगर बजार आगोको लपेटामा पर्नबाट जोगियो ।

सिंहदरबारमा आगलागी हुँदा समयमै निर्देशन नदिँदा र राजाको निर्देशन पर्खिंदा ठूलो क्षति भएको देखेकाले प्राकृतिक विपत्तिजस्तो कुरामा पोखरामा रहेका राजा र प्रधानमन्त्रीलाई जानकारी गराएर त्यहाँको निर्देशन लिएर काम गर्ने समय थिएन । तसर्थ, परराष्ट्र मन्त्रालयको सहयोगमा गृह मन्त्रालय र प्रधानमन्त्रीको सचिवालयका कर्मचारीको साथ/सहयोगमा उक्त काम फत्ते गरिएको थियो ।

 

आगलागी भएकै दिन बेलुका राजा वीरेन्द्रसहित प्रधानमन्त्री काठमाडौँ फर्केपछि मैले त्यस विषयमा जानकारी गराएँ । प्रधानमन्त्रीले पनि तुरुन्तै दरबारमा राजाको दर्शनभेट रहेकाले यसबारेमा ब्रिफिङ गरिदिए । भोलिपल्टै गृहमन्त्री, अर्थमन्त्री र गृहसचिवसहितको टोली विराटनगर पुगेर आगलागीको वस्तुस्थिति बुझेर फर्कियो । त्यो टोलीले पनि फारबीसगन्जबाट ल्याएको दमकलको सहयोगले नै आगलागी नियन्त्रणमा आउन सफल भएको जानकारी गराएको हामीले थाहा पायौँ ।  

आगलागी भएको दुई–तीन दिन मात्र बितेको थियो, राजाको सचिवालयलाई के लागेछ कुन्नि, यस कुराबाट निश्चिन्त हुनै सकेन । त्यस घटनाका बारेमा बारम्बार मलाई बोलाएर मौखिक रूपमा ‘के भएको थियो ? भारतीय दमकल झिकाउने निर्णय कसरी लिनुभयो ? त्यसका लागि औपचारिक परिपत्रको जरुरी किन परेन !’ जस्ता अनेक किसिमका प्रश्न सोधियो । 

मैले यस विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइसकेको थिएँ । त्यही कुरा दरबारको प्रमुख सचिवालयका पदाधिकारीलाई पनि बताएँ । तर, उनीहरूले मलाई सोध्न छाडेनन् । ‘जाबो दमकलजस्तो सहयोग पनि माग्ने’ भन्ने ढंगले प्रस्तुत भएको महसुस गरेँ ।

बारम्बार राजदरबार सचिवालयका पदाधिकारीबाट यसबारेमा मलाई के भएको हो भनेर सोध्न थालेपछि मैले प्रधानमन्त्रीलाई भनिदिएँ, ‘आफ्ना कुरा स्पष्टसँग भनिसकेको छु । यसरी बरम्बार मलाई यही विषय सोधिरहनु उचित लागेन । यो सबै मेरै नेतृत्वमा भएको हो । मलाई राजाका अगाडि उभ्याइदिए आफ् ना कुरा राखेर राजीनामा दिन परे पनि दिन्थेँ ।’ प्रधानमन्त्रीले मलाई सम्झाउँदै यसमा चिन्ता लिनुपर्दैन, आफूले राजालाई पनि स्पष्ट पारिसकेको बताए ।  

पछि त्यसबारेमा बुझ्दै जाँदा थाहा भयो, दरबारभित्रकै केही कर्मचारीले राजालाई पनि यसबारेमा बताएका रहेछन् । दरबारमा जानकारी नै नगराई सोझै दूतावासमार्फत कुराकानी गरेर दमकल झिकाउँदा दरबारको मान–मर्यादामाथि आँच पुगेकाले’ मलाई स्पष्टीकरण लिनुपर्ने दरबारको प्रमुख सचिवालयमा प्रभाव पारिएको रहेछ । त्यसै कारण सचिवालयले मलाई बारम्बार स्पष्टीकरण सोधेको रहेछ ।

प्राकृतिक विपत्तिजस्तो संवेदनशील विषय र तत्काल निर्णय नगरे सिंगो विराटनगर बजार नै ध्वस्त हुने अवस्थामा विभिन्न पत्राचार र औपचारिकता पूरा गर्नेतर्फ लाग्दा आगलागी भएपछि कुवा खन्न सुरुआत गरेजस्तो हुन्थ्यो भन्ठानेर त्यस किसिमको निर्णय लिन पुगेको थिएँ । तर, हाम्रो मुलुकको प्रशासन र काइदा–कानुनले त्यस किसिमको निर्णय लिनु पनि अपराधसरह नै ठान्यो र मलाई बारम्बार प्रताडित गर्ने ढंगले स्पष्टीकरण सोधिरह्यो । 

प्रस्तुति: ईश्वरी ज्ञवाली

प्रकाशित: चैत्र १६, २०७३