सीमापारिकी साया

- नेपाल संवाददाता

युवापुस्ताले औधि रुचाएको उपन्यास हो, समर लभ । सुबिन भट्टराई लिखित यही उपन्यासमा फिल्म बनाउन लागिपरेका छन्, मुस्कान ढकाल । जब समर लभ फिल्मको घोषणा गरियो, उपन्यासकी मुख्य पात्र सायाको भूमिकामा को देखिन्छिन् भन्ने सवालले धेरै चर्चा बटुल्यो । सुरुमा साम्राज्ञीराज्यलक्ष्मी शाहको नाम सुनिएको थियो तर त्यत्तिकै सेलायो । त्यसपछि निर्माण पक्ष किताबी चरित्रझैँ नेवार समुदायकी युवतीको खोजीमा लाग्यो । 

दुई वर्षपछि सायाको टुंगो त लागेको छ तर उनी नेवार भने होइनन् । उनी हुन्, नेपाली मूलकी भारतीय नागरिक रेवती क्षत्री । जसले समर लभ पढेकी छैनन्, अडियो भर्सन सुनेकी मात्र छन् । त्यसैले त ६ चैतमा फिल्म घोषणा कार्यक्रममा रेवतीले सायालाई जीवन्त बनाउलिन् त भन्ने शंका उब्जियो । पत्रकारको यही भावका प्रश्न तेर्सिएसँगै सिक्किमेली लबजमा उनले भनिन्, “चुनौती त छ तर म निकै उत्साही छु, सायाको भूमिका सार्थक बनाउन ।” 

प्रकाशित: चैत्र १५, २०७३