त्यस बखतका चित्रकार चिकित्सक

  • जसले डेढ सय वर्षअघि नै पेन्टिङ र पुस्तकका माध्यमबाट नेपाल चिनाए

- गोकर्ण गौतम

ललितपुरको पाटनढोका नजिकैको पिम्बहाल पोखरीको बीचमा राणाकालीन बज्रको भवन थियो, दुई दशकअघिसम्म । तर, जब मदन पुरस्कार पुस्तकालय र नेपालस्थित बेलायती दूतावासको सहकार्यमा ‘प्रिन्स अफ वेल्स कलेक्सन’ नामको प्रदर्शनी भयो, त्यो भवन भत्काएर पाटी बनाइयो । किनभने, प्रदर्शनीमा झन्डै १ सय ६० वर्ष पुरानो पेन्टिङ राखिएको थियो, जसमा पोखरीको केन्द्रमा भवन होइन, पाटी थियो । अरू संरचना र वस्तुस्थितिचाहिँ हातेचित्रमा जस्तो थियो, अहिले पनि त्यस्तै छ । त्यही कारण स्थानीयवासीको अग्रसरतामा त्यहाँ परम्परागत शैलीकै पाटी बनाएर इतिहासलाई पुन:जीवन दिइयो । 

विसं १९९० को महाभूकम्पले क्षतविक्षत भएको थियो, पाटन दरबार स्क्वायरभित्रको विश्वेश्वर (भाइदेग:) मन्दिर । ८० वर्षपछि ऐतिहासिक महत्त्वको यो मन्दिर फेरि आफ्नै स्वरूपमा उभिन पाउने भएको छ । अहिले मन्दिरको पुन:निर्माण भइरहेको छ । पिम्बहालको पार्टीझैँ यसको पुन:निर्माणमा पनि पुरानो स्केचको भूमिका अहम् रह्यो । त्यो चित्रकै आधारमा भण्डारखालमा थुपारिएका टुँडाल विश्वेश्वरकै हुन् भनेर ठहर गरियो । किनभने, माथिल्लो भागलाई असाध्यै आकर्षक देखिने गरी पाताको आकार दिइएको टुँडाल पेन्टिङमा उत्तिकै आकर्षक शैलीमा बुनिएको छ । मन्दिरका भित्री भागहरूको कारिगरी पनि मिहिनेतसाथ वर्णन गरिएको चित्रले मन्दिरका नष्ट भएका अन्य भाग तयार पार्न पुन:निर्माण टोलीलाई सजिलो भयो । 

डेढ सय वर्ष पहिले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका त्यस्ता सम्पदालाई चित्रमा कसले उतार्‍यो त, त्यो पनि वाटर कलर पेन्टिङमा ? चासो हुने भइहाल्यो । रोचक के भने ती पेन्टिङ कुनै कलाकारले होइन, एक सर्जन (शल्य चिकित्सक)ले सिर्जेका हुन् । बिलकुलै आफ्नो रुचि र सम्पदा–प्रेमले । उनी हुन्, नेपालस्थित तत्कालीन बेलायती रेजिडेन्सी (दूतावास)मा कार्यरत डा हेनरी एम्बु्रस ओल्डफिल्ड । जो सन् १८५० देखि १८६४ सम्म नेपालमा कार्यरत थिए, जतिबेला यहाँ जंगबहादुर राणाको शासन चलिरहेको थियो । क्यामराको आविष्कार भइसके पनि नेपालमा त्यतिखेरसम्म आइसकेको थिएन । त्यसैले फोटोका सट्टामा प्रत्यक्ष हेर्दै बनाइएका चित्र/पेन्टिङ नै प्रचलित थिए ।

यहाँको १४ वर्षे बसाइमा ओल्डफिल्डले आफ्नो ड्युटी निर्वाह मात्र गरेनन्, नेपाली समाज, यहाँको इतिहास, सांस्कृतिक धरोहर र अन्य आयामलाई नजिकबाट नियाले । अनि, ल्यान्डस्केपमा उतारे । जुन माथि उल्लेख गरिएझैँ तत्कालीन समयको सम्पदा र समाज अध्ययनका लागि विशिष्ट र विश्वसनीय सन्दर्भ–सामग्री भएको छ । जस्तो : भक्तपुरको लामो पाटी (ता:फल्चा)को चित्र ओल्डफिल्डले जसरी कोरे र त्यसको जति दूरी भनिएको छ, उत्खननले त्यही प्रमाणित गर्‍यो । यति मात्र होइन, ओल्डफिल्डले गर्दा त्यतिबेला अरू कोको चित्रकार थिए भनेर खोज्न कौतूहल पनि जगायो । राजमानसिंह चित्रकारबारे ओल्डफिल्डपछि नै थाहा भएको हो । ल्यान्डस्केप पेन्टिङ गर्ने राजमानसिंह उनका समकक्षी मानिन्छन् । 

ओल्डफिल्डका पेन्टिङलाई हाम्रो सांस्कृतिक सम्पदा र धरोहरको ‘अर्काइभ’ मान्छन्, सम्पदाविद् शुक्रसागर श्रेष्ठ । किनभने, उनी बेलायती रेजिडेन्सीमा खटिएको समयमा नेपालमा फोटोग्राफी भित्रिएको थिएन । विदेशीहरू पनि फाट्टफुट्ट मात्र आइपुग्थे । एक हिसाबले नेपाल बन्द–समाजजस्तै थियो । त्यही बेला ओल्डफिल्ड भने हाम्रो वस्तुस्थितिलाई चित्रमा उतारिरहेका थिए । “हामीकहाँ अहिले पनि ल्यान्डस्केप अत्यन्त कमजोर छ । तर, ओल्डफिल्डले त्यतिबेलै स्यान्डस्केपमा छुट्टै दृष्टिकोण दिए,” सम्पदाविद् श्रेष्ठ भन्छन्, “फिजिकल ड्रइङ (भौतिक चित्र)मा त्यस्तो योगदान पुर्‍याउने नेपालका लागि पहिलो व्यक्ति उनै हुन् ।” ओल्डफिल्डका चित्र उम्दा हुनुको कारण उनले संरचनाको सूक्ष्मीकरणलाई अघोर महत्त्व दिएका छन् । 

हुन त ओल्डफिल्डभन्दा अगाडि पनि नेपालमा चित्रहरू नबनाइएको होइन । तर, त्यसअघि धार्मिक विषयवस्तुलाई मात्र महत्त्व दिइन्थ्यो । देवी–देवताहरूको चित्र बनाइन्थ्यो, कहिलेकाहीँ मात्रै जीवनशैली छिथ्र्यो । तर, ओल्डफिल्डले धर्मभन्दा सामाजिक र सांस्कृतिक जीवनशैली र सम्पदालाई महत्त्व दिए । नेपालस्थित बेलायती दूतावासका पूर्वराजदूत स्मिथ ब्रायन (सन् १९९५), जसको अग्रसरतामा प्रिन्स अफ वेल्स कलेक्सन प्रदर्शनी भएको थियो, ले ओल्डफिल्डलाई नेपालका लागि पहिलो निरपेक्ष कलाकार भएको दाबी गरेका छन् । अधिकांश सम्पदाविद्, संस्कृतिविद् र अन्य सरोकारवालाहरू ब्रायनसँग सहमत छन् । 

यहाँको जीवनशैलीसँगै बुद्ध दर्शनप्रति ओल्डफिल्डको विशेष लगाव थियो । दुई भागमा निस्किएको उनको पुस्तक स्केचेज फ्रम निपालमा पनि बुद्ध धर्म, दर्शन र सम्पदाको अधिक वर्णन गरिएको छ (हेर्नूस्, बक्स : दुई पुस्तक पनि) । संस्कृतिविद् रमेश ढुंगेल भन्छन्, “नेपालको राजनीतिक इतिहास मात्र नभएर बौद्ध सम्पदा र अभ्यासबारे ओल्डफिल्डको रुचि देखिन्छ । अध्ययनको प्रमाणिकता थप्न पनि उनले चित्र कोरेका हुन् ।” ओल्डफिल्ड अगाडि हेरेर चित्र बनाउँथे । कहिलेकाहीँ अरू मान्छेलाई पनि लगाउँथे । कति पेन्टिङचाहिँ यहाँ स्केच कोरेर लन्डन र तत्कालीन इस्ट–इन्डिया कम्पनीको मुख्य स्टेसन कोलकाता फर्केर रंग भरेको ढुंगेलको भनाइ छ । तर, चित्रमा यहाँको वास्तविकतालाई तोडमरोड गरेनन् । 

ओल्डफिल्डका चित्रका विशेषता र महत्त्वलाई थप चर्चा गर्नु पहिले उनको व्यक्तिगत जीवनलाई खोतलौँ । सन् १८२२ मा जन्मिएका ओल्डफिल्ड ४९ वर्षको अल्पायुमै बिते । सेन्ट एन्ड्रयु विश्वविद्यालयबाट एमडी (मेडिसिन डाक्टर) सक्दा २३ वर्ष पुग्दै थिए । अर्को वर्ष इस्ट इन्डिया कम्पनीले स्थापना गरेको बंगाल मेडिकल सर्भिसमा सहायक चिकित्सकका रूपमा काम सुरु गरे । त्यहाँ चार वर्ष बिताएपछि काठमाडौँस्थित बेलायती रेजिडेन्सीमा नियुक्त भए, पहिलो चिकित्सकका रूपमा । जतिबेला रेजिडेन्ट (राजदूत) थिए, जेम्स क्लाउडियस । 

करिब १४ वर्षको नेपाल बसाइमा ७५ पेन्टिङ बनाए उनले । जसको मूल कपी लन्डनस्थित ब्रिटिस दूतावासमा सुरक्षित छन् । तीमध्ये ३९ चित्रका पछाडि मिति लेखिएको छ । सन् १८५२ मा भक्तपुरको भैरव मन्दिरबाट उनले पेन्टिङ सुरु गरेको मनिक बज्राचार्य, एक्सेल माइकल्स र निल्स गुट्चोद्वारा लिखित पुस्तक हिस्ट्री अफ किंग्स अफ नेपालमा उल्लेख छ । उनले बनाएको सबभन्दा ठूलो आकारको चित्र ‘द कोट अफ काठमाडौँ ड्युरिङ दसेरा’ हो भने सबभन्दा सानो ‘फुटप्रिन्ट्स अफ मञ्जुश्री’ । मन्दिर, जात्रा, विभिन्न स्थानका अलावा जंगबहादुरको दरबार र बेलायती दूतावासलाई पनि वाटरकलर पेन्टिङमा उतारेका छन् उनले ।

ओल्डफिल्ड काठमाडौँ उपत्यकाबाहिर कमै मात्र निस्कन पाउँथे तर सन् १८५५ मा एक पटक जंगबहादुरले त्रिशूली चढाइ गर्ने फौजसँग केरुङसम्म जान दिएका थिए । ककनी हुँदै त्रिशूलीको बाटो गएकाले त्यस क्रममा पर्ने हिमाल अनि केरुङ र रसुवागढीको परबाट स्केच उतारे । तर, सम्पदा र काठमाडौँको जीवनशैलीझैँ हिमालको पेन्टिङमा चाहिँ उनी पोख्त देखिन्नन् । बरू नेपाली फौजको चढाइ, तोप तान्ने शैली, पोसाक र लस्करसम्बन्धी उनका चित्रले नेपालको सैनिक इतिहास दर्शाउने विज्ञहरूको भनाइ छ । 

बेलायतमा हुँदा ओल्डफिल्डले पेन्टिङ गरेको कतै भेटिन्न । भारतमा आएपछि भने उनमा चित्रकारिताप्रति रुचि जागेको देखिन्छ । त्यहाँ बस्दा सिमला र लाहोरको पेन्टिङ गरेका थिए । नेपाल आएपछि यहाँको माहौल, संस्कृति, प्राकृतिक सुन्दरता र सम्पदाबाट निकै प्रभावित भए । तर, फोटोग्राफी थिएन । स्वदेश फर्केपछि परिवारलाई देखाउन सम्झनाका लागि पनि उनले यहाँको वस्तुस्थितिलाई चित्रमा ढालेका थिए । यहाँ बस्दा आमालाई लेखेका चिट्ठीहरूमा पनि यहाँको राजनीतिक–ऐतिहासिक घटनासँगै जीवनशैली, संस्कृति, बुद्ध दर्शनजस्ता विषयको सजीव ढंगले वर्णन गरेका छन् उनले । 

त्यति बेला बेलायती दूतावासमा थोरै कर्मचारी भएकाले चिकित्सकका रूपमा उनले धेरै समय खर्चनु पर्दैनथ्यो । त्यसैले आफ्नो झुकाव भएको समाज अध्ययनमा समय व्यतीत गर्थे । ओल्डफिल्डका चित्रहरूको प्रदर्शनीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सम्पदाप्रेमी कनकमणि दीक्षित भन्छन्, “यही खाली समय पेन्टिङमा व्यतीत गरेको देखिन्छ । किनभने, उनका चित्रमा मानवता र यहाँको सम्पदाप्रति अथाह प्रेम झल्कन्छ ।” साँच्चै त्यो स्नेह र उत्साह नहुँदो हो त कुनै चिकित्सकले त्यति धेरै संख्यामा मूर्त शैलीका चित्र बनाउन सम्भव हुन्थ्यो होला र ? 

तथापि, ओल्डफिल्डको चित्रकारिताको उद्देश्यको विषयमा विद्वान्हरूबीच फरक मत नरहेको भने होइन । इतिहासमा समेत रुचि राख्ने सम्पदाविद् श्रेष्ठका अनुसार क्यामेरा आविष्कार हुनुभन्दा अगाडि विदेशमा काम गर्न जाने कर्मचारीका लागि बेलायत सरकारले मुख्य ‘क्राइटेरिया’ बनाएको थियो, स्केच र पेन्टिङ बनाउन सिक्नैपर्ने । सरकारले नै ६ महिनाको तालिम दिन्थ्यो । कार्य क्षेत्रमा गएपछि प्रत्येक ६ महिनामा घटीमा एउटा स्केच र आफू खटिएको ठाउँमा के देख्यो, के महसुस गर्‍यो ? लेखेर पठाउनै पथ्र्यो । श्रेष्ठ भन्छन्, “त्यसैले ओल्डफिल्डले आफ्नो ड्युटी अन्तर्गत नै स्केच गरेका हन् ।” तर, संस्कृतिविद् ढुंगेल भने बिलकुलै व्यक्तिगत रुचिले ओल्डफिल्डले पेन्टिङ गरेको दाबी गर्छन् । उनको भनाइ छ, “औपनिवेशिक नियतले भन्दा सज्जन हिसाबले सामाजिक जीवनको अध्ययनका लागि ओल्डफिल्डले पेन्टिङ गरेका हुन् । उनको ड्युटी थिएन त्यो ।” 

कारण जे होस् तर ओल्डफिल्डका पेन्टिङ तत्कालीन वस्तुस्थिति बुझ्न महत्त्वपूर्ण दस्तावेज समान रहेकामा चाहिँ सायदै कसैको विमति होला । 

प्रकाशित: चैत्र १३, २०७३