नोटबुक

- रविन्द्र मानन्धर

पानीमा लोडसेडिङ 

मेलम्चीको पानीको आशमा जिन्दगी घिसार्ने सहरवासीको भीडमध्येका हामी । घरको धारो रसाएको हेरौँला र भाँडा भरौँला भन्ने आशामा हप्ताको एक दिन अनिँदो बसेर पानी थाप्नुपर्ने बाध्यता । त्यहीमाथि खानेपानी संस्थानले बेलाबेला माछा–माछा भ्यागुतो बनाइदिन्छ । कुर्‍यो–कुर्‍यो पानीको थोपा त के, हावा पनि आउँदैन । कालीमाटीका प्राय: उपभोक्ताको यही दु:ख छ भने छिमेकको सोल्टी होटल (ताहाचल)तिर भने हप्ताको दुई पटक ६ देखि आठ घन्टा पानी आउने रहेछ । 

खानेपानीको यस्तो असमान वितरणको रहस्यको खोजीमा लागियो । यस क्रममा धेरैतिर गाइँगुइँ सुनियो, पानीको साँचो खोल्ने कर्मचारीले बदमासी गरेका कारण यसो भएको हो । धेरै उपभोक्ताको गुनासो थियो, ग्राहकहरुको समूहबाट घूस लिएर धेरैबेर पानी वितरण गर्छन् ती पानी चौकीदारले । फलस्वरुप अन्य ग्राहकको भागमा पर्नुपर्ने पानी तिनले आफू अनुकूल क्षेत्रमा पठाउने गर्छन् । यसबारे त्यतातिरका बासिन्दाले त मुख खोल्ने कुरा भएन । तर, यस क्षेत्रको चुहावट नियन्त्रणको जिम्मा पाएका अधिकारीसित यस्तो शंका जाहेर गरियो । उनी त झारा टार्ने उत्तर दिएर उम्कन खोजे । भने, “फोनमा म तपाईंलाई राम्ररी बुझाउन सक्तिनँ । एक पटक भेटेरै कुरा गरौँ है ।” खानेपानी संस्थानमै पनि गुनासो गरियो । कर्मचारीले बनिबनाउ उत्तर दिए, “परीक्षणका बेला यसो हुन गएको होला ।”

खोइ कस्तो खालको होला यो कहिल्यै नसकिने परीक्षण, जुन एउटै क्षेत्रमा भइरहँदो रहेछ । एउटा कुराचाहिँ स्पष्टै छ, बिजुलीको लोडसेडिङ हटे पनि कर्मचारीको बानी नसुध्रिएसम्म पानीमा 

लोडसेडिङ भइरहनेछ । 

लोपोन्मुख बत्ती

चौबाटोमा घाइते अवस्थामा रहेको ट्राफिक सिग्नललाई देखाएर बेलाबेला छोरी सोध्ने गर्छे, “बाबा ! त्यो के हो ?” ट्राफिक लाइट हो भन्दा ऊ पत्याउँदिन र भन्छे, “अनि, किन बत्ती नबलेको त ? रेड, एलो, ग्रीन ?”

स्कुलमा सिकाइएको, देखाइएको जस्तो नै ऊ सहरको चोकमा ट्राफिक बत्ती खोज्छे । फुर्सद भयो कि बत्ती बलेको ट्राफिक लाइट देखाउन लैजान कर गर्छे । म आफैँले आफू हिँड्ने चौबाटोहरुमा सही हालतमा रहेको ट्राफिक लाइट देखेको छैन । उसको जिज्ञासा मेट्न दरबार मार्ग, बानेश्वर न्युराेडलगायतका व्यस्त चोकतिर पनि डुलाएँ तर कतै सद्दे बत्ती फेला पार्न सकिनँ । भएका जति बत्ती त मर्मतसम्भार नपुगेर भँगेरा र परेवाका गुँड बनेका छन् । जापानसित हात फैलाएर मागेको यस्तो जिनिसले राम्ररी काम गर्ने बनाइराखेको भए न त यति सडक जाम हुन्थ्यो, न ट्राफिक प्रहरीलाई नै सास्ती ।

अब म छोरीलाई कुन चोकमा लगेर उसले स्कुलमा पढेको जस्तो बत्ती बल्ने ट्राफिक लाइट देखाऊँ ? उसले सिके–सुनेको साधनको सजीव रुप देखाउन उसलाई सहरको कुन चोकतिर लगूँ ? 

मौकामा चौका

बर्डफ्लुको हल्लाले एक समय राजधानीवासीलाई नराम्ररी हल्लाएथ्यो । कुखुराको नजिक मात्र होइन, फुल र मासुपसलको नजिक भएर पनि मान्छे हिँड्न डराउँथे । हल्ला चलेका बेला कंसले देवकीका 

सन्तान मारेझैँ कुखुराहरु मारिन्थे । अन्डा र कुखुराको भाउ त घटेर पातालै छिरेको रेकर्ड पनि बनेको थियो त्यसबेला ।

अहिले समय फेरिएको छ । हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति बढेको हो वा मनको शक्ति । अचेल चिकेन–प्रेमीहरु यो बर्डफ्लुबाट डराउन छाडेका छन् । मासु पसलमा भीड घटेको छैन । मासु किन्न जाँदा हरेकपल्ट पाँच–दस रूपियाँ बढेकै हुन्छ । पोखरालगायतका केही ठाउँमा बर्डफ्लु देखिएको समाचार दिनहुँजसो समाचारमा देखिन्छ । तैपनि, मासुपसलमा भीडभाड भइरहनुको रहस्य के होला ? मासु पसलेको उत्तर थियो, “उच्च तापक्रममा राम्ररी पकाएर खाए बर्डफ्लु–सर्डफ्लुले छुँदैन । अचेलका ग्राहकले यो बुझेका छन् । त्यही भएर मासुको माग झन् बढेको पो छ त ! अनि, किन भाउ घटाउने ?”

हुन पनि हो, वायु प्रदूषण नाप्ने त्यत्रो आधुनिक मेसिन बिगार्न सक्ने धूलोले बिगार्न नसकेको हाम्रो ज्यानलाई नाथे बर्डफ्लुले के बिगार्ला ? पोखरामा पानी पर्‍यो भन्दैमा काठमाडौँमा छाता किन ओढ्नू ? 

प्रकाशित: चैत्र १३, २०७३