[झटारो] खुसीको कुरा

- लक्ष्मण गाम्नागे

गएको वर्षभरि मेरो मन त्यसै त्यसै खुसी भइरह्यो । म मात्रै होइन, परिवारका सदस्य, छरछिमेकीदेखि बाहिरतिर सडकमा हिँडिरहेका मान्छे पनि खुसी देख्थेँ म । किन यस्तो भइरहेको छ भनेको त हाम्रो देशको खुसीको पारो नै माथि माथि चढिरहेको रहेछ । एउटा अन्तर्राष्ट्रिय संस्थाले भर्खरै हाम्रो खुसी वर्षैपिच्छे बढिरहेको तथ्य सार्वजनिक गरेपछि मात्रै यो रहस्य थाहा भयो । 

दक्षिण एसियामा हाम्रो खुसीले तेस्रो थान ओगटेछ । खुसीमाथि थप खुसी लाग्ने कुराचाहिँ के भने भारतभन्दा हामी बढी खुसी रहेछौँ । नाकाबन्दी लगाएर, राजनीतिमा हस्तक्षेप गरेर, साँधसिमाना मिचेर, हाम्रा नदीनाला र प्राकृतिक स्रोतमा आँखा लगाएर हामीलाई धुरुक्क पारेर रुवाउँदा पनि ऊ हामीभन्दा दु:खी रहेछ । छिमेकी आफूभन्दा दु:खी हुनु हाम्रा लागि कम्ती खुसीको कुरा हो त ! यस खुसीको असर पनि मूल्यांकनमा थपिएपछि आगौँ हाम्रो खुसी अझै माथि पुग्ने निश्चित छ । 

धेरैले प्रश्न उठाए– राजनीतिमा यस्तो डामाडोल स्थिति छ । महँगी, भ्रष्टाचार, कालोबजारी, तस्करी झन्झन् बढेको छ । देशको हालत भद्रगोल हुँदै जाने, खुसीचाहिँ बढ्दै जाने, यस्तो पनि कहीँ हुन्छ ? त्यो संस्थाको अनुसन्धान नै गलत हुनुपर्छ । खुसी बढ्नलाई जनता खुसी हुनुपर्दैन ?

अहँ, पर्दैन । देशभित्र जोसुकै खुसी भयो भने पनि खुसीको पारो चढ्छ । पारोलाई के थाहा जनता हाँस्यो कि सुन तस्कर ? पुच्छरले कुकुर हल्लाइरहेको देशमा बहुसंख्यकको बेखुसीलाई अल्पसंख्यकको खुसीले पेलेर खुसीको लेभल चढाइदिन्छ । भएको त्यही हो । तथ्यांकमा त्रुटि भएको होइन । 

राजनीतिक अस्थिरता यति बढिसक्यो कि देश नै विखण्डन गर्छौं भन्नेहरू खुलेआम आमसभा गर्दै छन् । सधैँ यस्तै अस्थिरता कायम रहोस् भन्ने दुष्टहरू अट्टहास हाँसो हाँसिरहेका छन् । भ्रष्टाचारीहरू सधैँ गद्गद छन् । तस्करहरूको स्वर्ग भन्छन् नेपाललाई, तिनीहरूको खुसीको सीमै छैन । राजनीतिक दलहरू पालैपालो गरेर सत्ता भोगिरहेका छन् । उनीहरूको खुसी सधैँ झुसीझुसी छ । यी सबैका खुसी राष्ट्रिय खुसीमा मिसिएर नै हाम्रो खुसीको ‘लेभल’ बढेको हो । 

हुन त हामी जनता पनि त्यति बेखुसी कहाँ छौँ र ! नेताहरूले, दलहरूले वर्षैभरि देखाइरहने अनेक गाईजात्रे प्रहसनहरू हेरेर हामी रमाइरहन्छौँ । उनीहरूले कुनै आश्वासन दिए, सपना देखाए भने हामी दंग परिहाल्छौँ । कागजमा रंगीबिरंगी राष्ट्रिय गौरवका आयोजना देखाएर १० वर्षमा देशलाई सिंगापुर बनाउँछौँ भनेर सपना देखाउँछन्, हाम्रो खुसीको पारो १० वर्षसम्म चढेको चढेकै गरिहाल्छ । 

हामी घरमा झल्याकझुलुक बत्ती आउँदा खुसी, धारामा तर्‍याकतुरुक पानी आउँदा खुसी, दुई–चार घन्टा लाइनमा बसेर पेट्रोल–ग्यास पाइयो, खुसी । धूवाँ र धूलोमा निस्सासिँदै सडकका खाल्डाहरूमा नखसी सकुशल घर आइपुगियो, खुसी । मुलुकमा केही दिन मात्रै बन्द, हडताल, आन्दोलन भएन, खुसी । 
खुसी भन्ने कुरा देख्नै नपाउने दु:खीहरूका बेखुसीले राष्ट्रिय खुसी घटाउनमा खासै भूमिका खेल्दैन । तिनीहरूको दु:खको भकारीभन्दा सत्ताधारीहरू र त्यसका ‘स्टेकहोल्डर’हरूको खुसीको भण्डार कति हो कति ठूलो छ । त्यसैले खुसीको पारो माथिमाथि चढेको हो । 

आगामी दिनमा पनि हामी एकदमै खुसी रहौँ । रुनु परे भित्रभित्रै रोऔँ, बाहिर बाहिर हाँसौँ । खुसीको अंक घट्न नदिऔँ ।

प्रकाशित: चैत्र १३, २०७३