छवि क्याम्पमा साम्राज्ञी

- नेपाल संवाददाता

साम्राज्ञी राज्यलक्ष्मीको एउटै फिल्म रिलिज भएको हो, ड्रिम्स । तर, चर्चाचाहिँ दर्जन फिल्म खेलेकी हिरोइनको भन्दा कम हुन्न । चाहे लभ अफेयर होस् वा पारिश्रमिक अनि नयाँ फिल्मका कारण किन नहोस्, साम्राज्ञी जहिल्यै ‘लाइमलाइट’मा हुन्छिन् । यतिबेला उनी छविराज ओझाको क्याम्पमा छिरेको चर्चाले फिल्म वृत्त तातेको छ । किनभने, छविको नयाँ प्रोजेक्ट मंगलममा साम्राज्ञीको प्रवेश सायदै कसैले आकलन गरेका थिए । तर, भइदियो त्यस्तै ।

साम्राज्ञीले अभिनय गरेको यस फिल्मको हाल धमाधम सम्पादन भइरहेको छ । यद्यपि, मंगलमले उनलाई ‘ब्याकफायर’ गर्ने दाबीकर्ताहरु पनि नभएका होइनन् । आखिर साम्राज्ञीको भूमिका सहायक मात्र हो, लिड रोलमा त छविकी प्रिय शिल्पा पोखरेल छिन् । त्यसैले साम्राज्ञी ‘सो पिस’ मात्र हुने त होइन ? शंका त जरुर उठ्छ । 

प्रकाशित: चैत्र ११, २०७३