विकीमा बनाऔँ नयाँ नेपाल

- अमृत घिमिरे ‘रञ्जित’

हामी आफूलाई जानकारी चाहिएका थुप्रै विषय गुगल सर्च गर्दा सुरुमै विकिपिडियाको लिंक भेट्छौँ । व्यवस्थित गरिएर त्यसबारे जानकारी राखिने हुँदा त्यसमै छिर्न रुचाउँछौँ हामी । तर, नेपालबारे के त्यसै गरी विकिपिडियामा पृष्ठहरू भेटाउँछौँ त ?

अहिले दूरदराजसम्म मोबाइलको पहुँच छ । इमेल नै नखोलीकनै फेसबुक चलाउनेहरू लाखौँमा छन् । स्वदेशी–विदेशी एपहरूको प्रयोग उस्तै बढिरहेको छ । हामीले विकिपिडियालाई भने अझै बुझ्न सकेका छैनौँ । स्वयंसेवी अभियानका रूपमा विकिपिडिया प्रयोगकर्ताद्वारा नै नयाँ–नयाँ कुराको जानकारी राखेर आज त्यो स्थितिमा पुगेको छ । अंग्रेजी भाषाको विकिपिडियामा मात्र हालसम्म सयौँ क्षेत्रका ५३ लाख पृष्ठ छन्, दैनिक आठ सयदेखि एक हजार नयाँ पृष्ठ थपिइरहेका हुन्छन् । तर, अंग्रेजीबाहेक २ सय ९४ भाषामा विकिपिडियाका लागि पृष्ठहरू बनिरहेका छन् । असीमित क्षेत्र र दायराका व्यक्तिहरूले यसमा जानकारी राख्दै जाने भएकैले विकिपिडियामा ठूलो जमातका लागि पानीपँधेरो सरह बनेको छ । सर्च इन्जिनमा सुरुमै विकिपिडियाको पृष्ठ किन पनि देखिन्छ भने धेरैले हेर्ने वेबसाइट भएकाले यसको पेज र्‍याङ्किन प्राय: शीर्ष स्थानमै हुन्छ । 

मोबाइलबाटै वा सामान्य इन्टरनेट साक्षरताका भरमा हामीले इन्टरनेटमा नि:शुल्क प्रयोग गर्न सकिने इन्साइक्लोपेडिया विकिपिडिया विस्तार गर्न सक्छौँ । नेपाली, अंग्रेजी वा नेपाल भाषा, भोजपुरी, मैथिलीजस्ता अन्य केही भाषामा । हाम्रा ठाउँ, घटना, विषय, व्यक्ति, इतिहासजस्ता अनेकन् विषयमा डिजिटल पदचाप खडा गर्ने र थुप्रैलाई थाहा दिने यो सुन्दर मञ्च हो । 

विकिपिडियामा पृष्ठ बनाउन सहज छ तर उसका नियमलाई भने नजरअन्दाज गर्न पाइँदैन । सबैले जे पनि राख्न सक्ने भए विकिपिडियाको विश्वसनीयतामाथि किन प्रश्न नउठाउने त ? जवाफ सरल छ, हाम्रा हरेक वाक्य वा विवरण कुनै विश्वसनीय स्रोतबाट लिइएकै हुनुपर्छ । त्यो स्रोत विश्वसनीय नभएमा वा झूटा भएमा वा विकिपिडियाको नियमविपरीत भएमा जसले पनि त्यसमा प्रश्न उठाउन मात्र होइन, हटाउन पनि सक्छ । गलत विवरण र अयोग्य विषयलाई विकिपिडियामा स्थान दिन खोज्ने योगदानकर्ता कालोसूचीमा पर्न सक्छन् । 

विकसित देशका थुप्रै कुरा विकिपिडियामा छन् । हाम्राबारे भने धेरै कुरा समेटिन बाँकी छ । हिन्दी/अंग्रेजी चलचित्रहरूको कथा, कमाइ, निर्माणलगायत सम्पूर्ण विवरण विकिपिडियामा पाइन्छ । तर, सुपरहिट भनिने नेपाली फिल्मबारे पनि विकिपिडियामा भेट्न धौधौ पर्छ । 

नेपाल गौतम बुद्धको जन्मस्थल हो भनेर जति नै कराए पनि विकिपिडियामा नेपालको पृष्ठमा अझै त्यो समावेश गर्न सकिएको छैन । ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान जति चले पनि गौतम बुद्ध पृष्ठमा जन्मस्थानमा कतै भारतको नाम समावेश थियो । एक योगदानकर्ताका रूपमा मैले त्यसमा नेपाल लेख्नलाई थुप्रै प्रयास गरेँ तर विकिपिडियामा भारतबाट कैयौँ प्रयोगकर्ता सक्रिय भएकाले उनीहरूले तुरुन्तै नेपाल हटाइहाल्थे । लामै समयसम्म यो प्रक्रिया चलेपछि जन्मस्थानमा नेपाल वा भारत कुनैको पनि नाम समावेश भएन र त्यसको तर्क पुष्टि गर्न जन्मस्थानमा लामै व्याख्या राखियो, जसमा हालको नेपालमा पर्ने भन्ने एउटा तर्क समावेश छ । 

बुद्ध जन्मस्थानमा नेपाल समावेश गर्ने प्रयासका बेला म दुईपटक विकिपिडियाबाट ब्लक पनि भएँ । कैयौँ स्रोतको सहयोगले जन्मस्थानमा देशको नाम समावेश गराउन नसके पनि लुम्बिनीसम्म राख्न सफल भएको थिएँ । विकिपिडियाका नेपाली प्रयोगकर्ता र बलियो पृष्ठभूमि भएका सम्पादकहरू धेरै भएका भए जन्मस्थान स्पष्टसँग नेपाल नै लेख्न सकिन्थ्यो कि जस्तो लाग्छ । 

नेपालबाट विकिपिडियाका पृष्ठ सम्पादन गर्नेको संख्या अति कम छ । झन् नेपाली विकिपिडियामै पनि जान्नु/चिन्नुपर्ने थुप्रै नेपालीहरूबारे पृष्ठ छैन । ३२ हजारजति पृष्ठ नेपाली भाषाको विकिपिडियामा छन् तर समेटिनुपर्ने कैयौँ विषयले स्थान पाउन सकेका छैनन् । सकून् पनि कसरी ? ४५ जना मात्र सक्रिय सम्पादक छन् नेपाली भाषाको विकिपिडियामा । जोकोही प्रयोगकर्ता आफ्नो योगदानका भरमा विकिपिडियाको सम्पादक बन्न सक्ने प्रावधान हामीले सदुपयोग गर्न सकेका छैनौँ । सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरु गरिएको थियो । ३१ हजार प्रयोगकर्ताले नेपाली विकिपिडियामा दर्ता गरे पनि नियमित चलाउने जम्मा १ सय ३१ जना छन् । 

नेपालका थुप्रै चर्चित पर्यटकीय ठाउँबारे विकिपिडियामा लेख्न सके त्यो नि:शुल्क विज्ञापनजस्तो हुन्छ । राष्ट्रिय तथा केही अन्तर्राष्ट्रिय पत्रिका, वेबसाइटका जानकारी तथ्यपरक हुने हुँदा तिनैलाई उद्धृत गर्दै विकिपिडियामा लेख बनाउन आवश्यक छ । आईएसबीएन भएका पुस्तकबाट संस्करण र पृष्ठ खुलाएर पनि लेख्न सकिन्छ । 

नेपालमा इन्टरनेटमा प्राय: व्यक्तिबारे जानकारी पाउन गाह्रो हुने हुनाले पनि कसैले बनाएको विकिपिडिया लेख–स्रोतको अभावले नै हटाइएका हुन्छन् । त्यसैले विकिपिडिया हुर्कन बलियो मिडिया संसार चाहिन्छ । सोसल मिडियाभन्दा माथि उठेर इन्टरनेटमा सक्रिय हुने जमात बढ्यो भने नेपाली विषयमा विकिपिडिया हुर्कन गाह्रो छैन । आफ्नो देशबारे कसैले केही खोज्दा र सजिलै भेट्दा जोकोहीलाई आनन्द महसुस हुन्छ ।

कुनै पनि विषयलाई खोज्दा रातोमा देखायो भने त्यो विषय विकिपिडियामा थप्न बाँकी छ भनेर बुझ्न सकिन्छ । सोही अनुसार थप्न सकिन्छ भने अन्यथा पहिल्यै भएको पृष्ठमा नयाँ जानकारी थप्न पनि सकिन्छ । यो अवसरलाई सदुपयोग गर्न हामी सबै नेटिजन्सले अभियान नै चलाउनुपर्छ । हाम्रा बिर्सिएका कुरा, फैलाउनुपर्ने कुरा र सबैले जान्नुपर्ने कुरा विकिपिडियामा राख्नैपर्छ । भर्चुअल जगत्मा यो पनि नेपाल निर्माण अभियान नै हो । 

प्रकाशित: चैत्र १०, २०७३