[संस्मरण] डेरा लेखन

- मधुवन पौडेल

शिक्षाको प्रारम्भिक चरणदेखि नै सानै उमेरमा परिवारबाट एक्लिएर डेरामा बस्नुपर्‍यो । जीवनको पूर्वाद्र्धसम्म मेरो बसउठ आफ्नो तीनवटा स्कुलका सहपाठी र शिक्षकदेखि विभिन्न समयमा डेरामा बस्दा सम्पर्कमा धेरै घरधनी र तिनका परिवारसँग भयो । यस क्रममा विभिन्न पेसामा लागेका कामदारदेखि पसले, सरकारी कर्मचारी, रिक्सावाल, ढाक्रे (मजदुरी खोजेर सहर–बजार र यताउति घुमिरहने), जोगी र साधुसम्मलाई भेटेँ । यति मात्र होइन, टुँडिखेलमा लाम लागेर बस्ने सक्कली–नक्कली ज्योतिषी, टोलका दादा, दिनभरि डबलीमा गफ चुटेर बस्ने गुन्डा आदि सबैसँग सम्पर्क भयो ।

त्यसबेलाको सामाजिक सञ्जाल अहिलेजस्तो थिएन, गोरखापत्र प्राय: सरकारी अफिस र नगण्य व्यक्तिले पढ्थे, टेलिफोन थिएन । टोलमा रेडियो हुने नगण्य घरधनीकहाँ रेडियो सुन्न मानिसको भीड लाग्थ्यो । जहाँ घरमा खाएको तरकारीका कुरा, सासू–बुुहारीको गनगन, अमुक लोग्नेले स्वास्नी कुट्छ रे भन्ने कुरादेखि फलानाको तिलानीसँग लसपस छ रे भन्ने गाइँगुइँसमेतको चर्चा हुन्थ्यो । 

आफ्नो औपचारिक स्कुले जीवनको लगभग प्रारम्भमा नै म ललितपुरको काँठबाट सहर पसेको थिएँ । पहिलो सात–आठ महिना भने ललितपुर र काठमाडौँको सिमानाको वाग्मती पुलसँगै त्यतिबेला सानो फाँटमा रहेको एउटा पुरानो बस्तीमा डेरा गरी बसेँ । पिताजी र ठूलो बुबाको संयुक्त परिवारको एक हिस्सा थियौँ हामी सबै । त्यसै बेला ठूलो बुबा काठमाडौँ मेजिस्ट्रेट अफिसबाट रसुवा सरुवा हुनुभयो र दाइ पनि संस्कृत छात्रावासमा बस्न जाने तय भएकाले त्यो डेरा खाली गर्नुपर्ने थियो । म एक्लै परेकाले पिताजीले एक मित्रको छोरो र मेरा सहपाठीलाई एउटा घरमा डेरा खोजिदिनु भयो । कोपुन्डोलको त्यस घरमा कम्तीमा चार–पाँचथरी त डेरावाल मात्र हुन्थे । त्यहीँबाट हामी पुतलीसडकको पद्मोदय हाईस्कुल जान्थ्यौँ । 

त्यस बेला अहिलेको राम भण्डार वाग्मतीको पुलपारि एउटा सानो छाप्रोमा चलेको थियो । त्यही राम भण्डारमा पिताजीले महिनावारी ठेक्कामा खाजा खान लगाइदिनुभएको थियो । स्कुलबाट डेरा फर्किंदा त्यही पसलमा दस पैसाको एउटा मिठाई र तारेको चना खान्थेँ । चिया खाने छुट थिएन तर साहूले बेलाबेलामा चिया दिने गरेको सम्झना छ । हरेक शुक्रबार आठ माइल बाटो नाप्दै गाउँको घर जाने र आइतबार त्यसै गरी गाउँबाट जागिर धान्ने कर्मचारीलाई पछ्याउँदै आएर स्कुल भ्याउनुपथ्र्यो । 

कोपुन्डोलमा बस्न थालेको केही वर्षअघि छोटो समय म ठूलो बुबाको संरक्षणमा उहाँको त्यतैको डेरामा पनि बसेको थिएँ । तर, मेरो उमेर धेरै कम भएको र शारीरिक दृष्टिले पनि त्यति स्वस्थ नभएकाले म पुन: गाउँ फर्कें । नाताले बाजे पर्ने र पं नयराज पन्तका शिष्य भोलानाथ पौडेलले गाउँमै खोल्नुभएको पाठशालामा पढ्न थालेँ । आफ्ना गुरुझैँ उहाँ ज्योतिषशास्त्र, संस्कृत साहित्य र नेपालको प्राचीन इतिहासको प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । तर, उहाँ अंग्रेजी शिक्षाको विरोधी हुनुहुन्थ्यो । पाठशालामा कालीदासको रघुवंश कण्ठ पार्नुपर्ने, अन्य दैनिक पाठ र बेलाबेलामा चक्रपाणि चालिसेको रामायण र महाभारत पढेर उहाँलाई सुनाउनैपर्ने हुन्थ्यो । त्यहाँ हासिल गरेको शिक्षाले पनि मलाई लेखनमा लाग्न प्रेरित गरेको हो ।

मैले बाबु–आमाको काखबाट निस्किएर अर्को साढे दुई दशकभन्दा बढी समय विभिन्न डेरामा बिताएँ । मेरो कथा लेखनको आरम्भमा धेरै कथावस्तुमा मेरो डेरावाला जीवनको भोगाइ पनि समेटिएका छन् । पहिलो केही महिनापछि नै म डेरामा एक्लिएको थिएँ, मसँग बस्ने सहपाठी आफ् नो सैनिक अधिकृत बाबुसँग नारायणहिटी दरबारभित्र बस्न गइसकेका थिए । पहिलो डेरामा नै पण्डित, जागिरे, विभिन्न पेसामा लागेका कामदार र दिनभर अरूको कुरा काटेर नअघाउनेहरूको जमघट थियो । घरधनीले जोडिएको घरबाट पानीदेखि चर्पीसम्म नियन्त्रण गर्थे । डेरावाल कतिबेला आउँछन्, के के किनेर ल्याउँछन् भनेर चियो गर्ने काम जेठी छोरीको थियो । मैले ’३० र ’४० को दशकमा लेखेका कथाहरूमा उनलाई पनि पात्र बनाएको छु । मलाई भने निकै सानो उमेरको भएको र धेरै वर्ष त्यस घरमा डेरा बसेको र ठूलो बुबाको छविको कारणले पनि त्यति कडाइ गर्दैनथे ।

मेरा सहपाठी डेरा छोडेर हिँडेपछि पिताजीका लागि अर्को उपाय भएन । त्यसैले मसँगै मिलेर बस्न चाहने कुनै पाको अर्को डेरावाल खोज्नुभयो । कोपुन्डोलबाट पद्मोदय स्कुल नै टाढा लाग्ने बेलामा पाटनतिर लाग्ने कुरो पनि भएन । अन्त्यमा म पिताजीको माहिला बुबाको घर पुतलीसडकमा खान जाने र उनीहरूको घरसँगैको फाँटमा एक जना महर्जन कृषकको घरमा एउटा कोठा लिएर बस्ने भएँ । उहाँको सोचाइमा स्कुल नजिक हुनु र माहिला बुबाहरूले मेरो निगरानी पनि गर्न सक्ने भएकाले त्यो डेरा मेरा लागि ज्यादै उपयुक्त थियो । 

माहिला बुबाहरूको ठूलो परिवार थियो । समान उमेरका दाजुभाइ र माहिली आमाले ज्यादै माया गर्ने भएकाले सुबिस्तै थियो । पाहुना पनि कहिल्यै नटुट्ने भएकाले मेरो धेरैजसो समय खेलकुदमै बित्न थाल्यो । मैले तासको ‘ट्वेन्टी नाइन’ खेल सिकेको त्यही बेला हो । त्यहाँ गएपछि मेरो पढाइ बन्द प्राय: भयो । स्कुलमा भर्ना भएको वर्ष कक्षामा पहिला भएको केटो तेस्रो भएपछि पिताजीले तर्सेर फेरि अर्को डेरा खोज्न थाल्नुभएछ । पिताजी पनि गाउँको सरकारी स्कुलको हेडमास्टर हुनुभएकाले र तालिम लिँदा समकक्षी भएकाले मेरो स्कुलका हेडसरसँग उहाँको परिचय थियो । अर्को डेरा लिन हतारिनुको कारण हेडसरको संकेत पनि थियो कि जस्तो लाग्छ । 

पुतलीसडकको फाँटमा सरेको केही महिनामै पिताजीले मलाई भैरव अर्याल र पुरु रिसालको डिल्लीबजारको ओरालोमा रहेको संयुक्त डेरामा गाँस्सिएर बस्न पठाउनुभयो । तिनताका म आठ कक्षामा पढ्थेँ । मेरो पहिलो साहित्य सिर्जना त्यसै बेला भएको हो । मैले पहिलोपल्ट कविता लेखेँ, जुन उपत्यकाव्यापी अन्तर हाई स्कुल साहित्य सम्मेलनमा दोस्रो भएर पुरस्कृत पनि भयो । सधैँ बेलुकी खाना खाएपछि भैरव दाइ लेख्न बस्थे भने पुरु दाइ विद्यार्थी राजनीति, केही पत्रकारिता र केही सिर्जनात्मक लेखनमा व्यस्त हुन्थे । भैरव दाइका काका पनि कविता नै कोर्थे । तर, मलाई चाहिँ तीनै जनाले ‘पर्दैन लेख्न, किताब पढेर बस्’ भनेर हप्काउने गर्नुहुन्थ्यो । हप्काउँदा हप्काउँदै पनि त्यहीँ बसेर कनिकुथी पुरस्कृतबाहेक चार–पाँचवटा कविता लेखेको थिएँ । 

भैरव अर्याल दाताराम शर्मासँगै हालखबर दैनिकमा काम गर्नुहुन्थ्यो र रचना मासिकको सम्पादनमा रोचक घिमिरेलाई पनि सघाउनुहुन्थ्यो । हाम्रो डेरामा कथाकार रमेश विकल, रोचक घिमिरे, नवराज चालिसे प्राय: आइरहन्थे । अरू लेखक–साहित्यकारहरूको पनि भेला हुन्थ्यो । कविता र लेख रचना सुनाउने गर्थे । सबैले आफ्ना रचना भैरव दाइलाई परिमार्जन गर्न दिएको देख्थेँ । सिद्धहस्त भएकाले उनी निरन्तर विविध विषयवस्तुमा केही न केही लेखी नै रहन्थे, आफ् नो र अर्काको नाममा पनि । सूचना विभागका लागि उहाँले लेख्नुभएको पुस्तिका पञ्चायत के कस्तो र हालखबर पत्रिकामा छद्म नामले नियमित लेख्ने व्यंग्यात्मक लेख पढ्दा भैरव अर्यालको लेखनमा बौद्धिक तीक्ष्णता त झल्किन्थ्यो नै तर कताकता विरोधाभास पनि पढ्न सकिन्थ्यो । त्यस डेराको सहवासको प्रभाव मेरा केही कथामा समेत परेका छन् । 

तर, डिल्लीबजारको त्यो डेरा धेरै समय टिकेन । कुन सड्को पिताजीले थाहा पाउनुभएछ, मैले कविता लेख्न थालेको र पुरस्कृत पनि भएको भनेर । अनि त के चाहियो र ! पढाइ बिगार्‍यो भनेर फेरि अर्को डेरा खोज्ने काम भइहाल्यो । पिताजीको सोच पनि अनौठो थियो, सम्भवत: गाउँकै स्कुलमा जीवन बितेकाले होला, उहाँका लागि विद्यार्थीका निम्ति फुटबलबाहेक अतिरिक्त क्रियाकलापको आवश्यकता थिएन । केटाकेटी छँदा उहाँ मलाई सधैँ भन्नुहन्थ्यो, ‘पढुन्जेल अर्थोक केही गर्ने होइन, न फुटबल न त स्काउट, पर्दैन यताउति लाग्न !’ तैपनि, स्कुलमा स्काउटको संख्या कम भएर हेडसरले पिताजीलाई अनुरोध गरेकाले अन्तिम समयमा मैले स्काउट हुन पाएको थिएँ । मलाई एउटा कुरा सधैँ खट्किरहन्छ, गीताजस्तै उहाँ दोहोर्‍याइरहनुहुन्थ्यो, ‘पढेको मान्छे कोही बिग्रियो भने कवि र पत्रकार हुन्छ, नपढेको मान्छे बिग्रियो भने ड्राइभर ! बुझिस् ?’ 

चौथो डेरा वीर अस्पतालपछाडि भोटाहिटी जाने गल्लीमा थियो । त्यस डेराको छनोट पनि एउटै घरमा मेरा गुरु र हजुरबा भोलानाथ पौडेल बस्नुभएकाले मात्र भएको थियो । उहाँ त्यो समयमा पं नयराज पन्तको इतिहास संशोधन मण्डलमा सक्रिय हुनुहुन्थ्यो । मलाई पिताजीले उहाँको पाठशालाबाट झिकेर आफ्नै सरकारी स्कुलमा लगेर भर्ना गरेपछि केही समय उहाँ रिसाउनु पनि भएको थियो । 

त्यो डेरामा रिक्सावालदेखि टुँडिखेलमा सर्बत बेच्ने, सरकारी कर्मचारी, शिक्षक, वैद्य, शिल्पी, तेस्रोलिंगी, खुद्रा व्यापारी र भरियासम्म बस्थे । घरबेटी आमा पक्षघातकी रोगी भए पनि सकी–नसकी तीन भर्‍याङ उक्लेर दिनको दुई पटक प्रत्येक कोठा चहार्नुपर्ने, फोहोर गरे कि भनेर हेर्ने र प्राय: सबैलाई हपार्ने गर्थिन् । मलाई चाहिँ सानो देखेर ‘मचा वर्मु’ (बाहुन केटो) भनेर माया नै गर्थिन् । पिताजीको आग्रहमा त्यहीँ बस्ने ‘ कान्छी दिदी’ भन्ने एक तेस्रोलिंगीलाई मेरो कोठा सफा गर्ने र भाँडा माझ्ने काम गर्न खोजिदिएकी थिइन् । त्यो डेरामा बस्दा मैले अर्को दुइटा स्कुल फेरेँ– पाँच–सात महिना दरबार स्कुल र दसौँ कक्षाको एक वर्ष जुद्धोदय हाई स्कुल र एसएलसी गरेपछि त्रि–चन्द्र कलेजमा आईएस्सीमा पढ्न सुरु गरेको डेढ वर्ष म त्यही डेरामा थिएँ । डेराको नियम कडा थियो– दिनको दुई गाग्री पानी ल्याइदिने, जाडोमा एक घन्टा मात्र कौसीमा घाम ताप्न पाइने तर फुच्चे भएकाले अरूले जस्तो मैले चोकचाहिँ बढार्नु पर्दैनथ्यो । वैद्यबा र मेरो कोठा जोडिएको थियो । हामी दुवैको भान्छा तीन तलामाथि बुइँगलमा थियो । पहिलो गोल चुल्हो अनि टिनको बट्टाभित्र खुट्टा निकालेर प्याक गर्न मिल्ने एस्सो नामको दम दिने सानो स्टोभमा म आफैँ खाना बनाउँथेँ, कान्छी दिदीले भाँडा मात्र माझ्थिन् । समय बित्दै जाँदा घरधनीका नातेदारले कचकच गर्न सुरु गर्न थालेकाले आईएस्सी पढ्दापढ्दै म जैसीदेवल नजिकै मञ्जेश्वरी गल्लीको पाँचौँ डेरामा सरेँ ।

त्यो गल्लीभित्र एक वर्ष बित्नासाथ मेरी बहिनी र भाइ थपिएपछि छैटौँ डेराका रूपमा घर मात्र फेरियो तर परिवेश यथावत् नै थियो । त्यो एरियामा अर्को दुई ठाउँ चहार्दाचहार्दै मैले १५ वर्ष बिताएछु ।

छरछिमेकमा खास गरी बौद्ध समुदायका नेवार परिवार थिए र बहुसंख्यक बूढापाका पुरातन संस्कारकै भएकाले पहिलेका डेराहरूमा भन्दा अलग्गै अनुभव भयो । त्यहाँ वर्ग र समुदायका छिमेकी थिए । संयोगले मैले त्यहाँ नाम, थर र उमेर ढाँटेर भारतीय सेनामा बुट बजार्न पुगेका आफ् ना युवा पतिलाई पर्खेर सानोतिनो काममा अल्झिएका यौवना, अशिक्षित समुदायको परिवारमा जन्म लिएर उच्च शिक्षा हासिल गरेका कारण बिहे नभएका महिलाहरू पनि भेटेँ । उनीहरूको जीवनको सन्ताप र कुण्ठालाई मैले पछिल्लो समयमा कथावस्तु बनाएको छु । 

मेरो कथा लेखनको श्रीगणेश ०२६ सालमै आफ्नै कलेजको एक जना सहपाठीको जीवनमा आधारित कथावस्तुबाट भएको थियो । तर, निरन्तरता दिन नसकेकाले वास्तविक कथा लेखन भने त्यसको सात–आठ वर्षपछि मात्र भयो । निरन्तरताचाहिँ रुपरेखा र मधुपर्कमा कथाहरू प्रकाशित हुन थालेपछि भयो । प्राय: प्रारम्भमा लेखेका कथाहरूमा मेरो कल्पनाको साथमा डेरावाल छँदा आफूले प्रत्यक्ष देखेका, सुनेका र भोगेका कुरा कुनै न कुनै रूपमा समेटिएका छन् । मलाई अझै पनि कथा लेख्न सुरु गर्दा ती दिनको झझल्को आइरहन्छ । 

प्रकाशित: चैत्र १०, २०७३