गोर्खाली सेनाको खोजबिन

- सीताराम बराल

अंग्रेजसँगको युद्ध (विसं १८७१–७२)मा पराजयको केही वर्षपछि नै नेपाल–अंग्रेज युद्धका एक प्रमुख योद्धा बलभद्र कुँवर तत्कालीन शिख शासक रणजीत सिंहको सेनामा भर्ती हुन गए । अध्येता हिरण्यलाल श्रेष्ठको हालसालै प्रकाशित पुस्तक शान्ति सेना र विदेशी सेनाहरूमा नेपाली/गोर्खाली पुस्तकमा बलभद्र कुँवरले शिख शासकबाट प्राप्त गरेको जुन आकर्षक तलब उल्लेख गरेका छन्, त्यसबाट के अनुमान लगाउन सकिन्छ भने अंग्रेजप्रति बदलाभावका अलावा रणजीत सिंहले प्रदान गरेको आकर्षक तलबका कारण पनि पन्जाब पुगेका थिए बलभद्र । त्यस अनुसार खाल्सा सेनामा प्रवेश गर्दा सुरुमा दैनिक १० रुपियाँ तलब पाउने बलभद्रको अन्तिम अवस्थासम्म पुग्दा दैनिक १५ रुपियाँ तलब थियो । 

सुगौली सन्धिपछि नेपालको विस्तार अभियान जब रोकियो, आयुधजीवी नेपालीहरू धमाधम ब्रिटिस–भारतीय सेनामा भर्ती हुन थाले । सार्वभौम मुलुकका नागरिक यसरी विदेशी सेनामा भर्ती हुन जानुको मुख्य कारण आर्थिक उपार्जनका लागि नै हो । शासकको नीति पनि युवाहरूलाई स्वदेशमा बस्न प्रोत्साहित गर्नुभन्दा यसरी विदेशी सेनामा वा अन्य खालका वैदेशिक रोजगारीमा पठाउनु रहँदै आएको छ । मोटामोटी रूपमा थाहा भएको तथ्य के हो भने बेलायती र भारतीय सेनामा मात्र नेपाली/गोर्खाली छन् । तर, पुस्तक पढ्दा थाहा हुन्छ– त्यो मात्रै होइन, विश्वका झन्डै एक दर्जन मुलुकका सेनालगायत सुरक्षा अंगमा सेवा गरिसकेका छन् । 

श्रेष्ठका अनुसार सिक्किम, भुटान, तिब्बत, बर्मा, चीन र भारत स्वतन्त्रताका लागि गठन गरिएको आजाद हिन्द फौजलगायतका सेनामा नेपालीहरूको सहभागिता रहिसकेको छ । मूलत: तीन कारणले नेपालीहरू विदेशी सेनामा भर्ती हुन पुगेका रहेछन् । पहिलो कारण त जीविकाका लागि नै हो । भूराजनीतिक कारणले पनि नेपालीहरू अर्काे मुलुकको सेनामा भर्ती हुन पुगेका रहेछन् । सिक्किमका शासक तिब्बती मूलका भएकाले नेपालीहरूको बसाइँसराइमार्फत त्यहाँको सेनामा भर्तीका लागि प्रोत्साहित गरे । बर्मेली र भुटानी सेनामा गोर्खालीहरूको प्रवेशको कारण ती देशमा नेपालीहरूको बसाइँसराइ रहेछ । चीनको युनान प्रान्तसँग सीमा जोडिएकाले बर्मामा रहेका केही नेपालीहरू चिनियाँ सेनामा पनि भर्ती हुन पुगेका रहेछन् । 

ब्रिटिस सेनामा भर्ती भएका गोर्खालीलाई सन् १९५० को दशकमा मलाया (मलेसिया)को कम्युनिस्ट विद्रोह दबाउन प्रयोग गरेको थियो बेलायतले । विश्वयुद्धमा लड्ने क्रममा त्यस क्षेत्रमा पुगेका नेपालीहरूले मलेसियामै बसोवास गरे । त्यसै क्रममा मलायाको कम्युनिस्ट विद्रोह दबाउन स्पेसल पुलिस कन्स्टेवलमा मलेसियाकै नेपाली/गोर्खाली महिलालाई पनि भर्ती गरिएको रहेछ । यसै आधारमा लेखकले विदेशी फौजमा नेपाली/गोर्खाली महिलालाई पहिलो पटक भर्ती गर्ने मुलुक मलेसिया भएको तथ्य पेस गरेका छन् । 

यसबाहेक अन्य केही रोचक तथ्य पुस्तकमा छन् । जस्तो : सन् १९५० मा भारतले भुटानको सुरक्षा मामिला आफ्नो हातमा लिनुअघिसम्म भुटानी सेनाले नेपाली सेनाबाट हातहतियार, तालिमलगायतको सहयोग पाएको रहेछ । जंगबहादुरका पालादेखि भुटानी सेनालाई नेपाली सेनाले तालिम र हतियार दिन थालेको रहेछ । यसै गरी नेपाल प्रहरीका महानिरीक्षक भइसकेका रोमबहादुर थापा बर्मामा छँदा बर्मेली सेनाका जनरल ने विनलाई तालिम दिएका रहेछन् । तिनै ने विन पछि बर्माको राष्ट्रपतिसमेत भए । सन् १९६६ र १९७७ मा नेपाल भ्रमणमा आउँदा राष्ट्रपति ने विनले आफूलाई सैनिक तालिम दिएका थापालाई भेटेर सद्भाव र सम्मान प्रकट गरेको सन्दर्भसम्म पुस्तकमा समेटिएको छ । 

श्रेष्ठद्वारा लिखित यो पुस्तकको मूलत: दुई उद्देश्य देखिन्छ । एक, कुन मुलुकका सेनामा नेपालीहरू कार्यरत थिए र छन् भन्नेबारेमा जानकारी दिनु । दुई, बिनाजानकारी र सम्झौता नेपालीलाई अन्य मुलुकले आफ्नो सेनामा भर्ती गर्न थालेकाले यो हुन नदिन नेपाल सरकारलाई झकझक्याउनु । भारत र बेलायतबाहेक अन्य मुलुकसँग नेपालले सैन्य भर्तीसम्बन्धी सम्झौता गरेको छैन । त्यसैले सिङ्गापुर, ब्रुनाई र युनाइटेड अरब इमिरेट्स (यूएई)ले आफ्नो मुलुकको सेना तथा प्रहरीमा नेपालीहरूलाई भर्ती गर्नु गम्भीर कुरा मान्छन् एक समय मन्त्रीसमेत रहिसकेका लेखक श्रेष्ठ । उनका भनाइमा नेपाली सेना र नेपाल प्रहरीका जवानहरू जागिरबाट राजीनामा दिएर युनाइटेड अरब इमिरेट्स (यूएई)को सामुदायिक प्रहरीमा आकर्षक तलबको लोभमा भर्ती हुन जानु चिन्ताको विषय हो र यसबारे गम्भीर बन्नुपर्छ ।

विदेशी सेनामा भर्ती हुने, परायाका लागि जीवन अर्पण गर्ने र लडाइँमा मारिएर कफिनमा फर्कने क्रम बढेको प्रति उनी निकै चिन्तित देखिन्छन् । विदेशी सेनामा नेपालीलाई भर्ती हुन दिने क्रम रोकेर राष्ट्रसंघीय शान्ति सेनामा नेपालीलाई पठाउन राज्यको भूमिका देखिनुपर्ने सुझाव छ उनको । श्रेष्ठले पुस्तकमा भनेका पनि छन्, ‘नेपालको छवि विश्व शान्तिका लागि शान्ति योद्धाको हुनुपर्छ, परायाको सिपाहीका रूपमा होइन ।’ 

शान्ति सेना र विदेशी सेनाहरूमा नेपाली/गोर्खाली 
लेखक    :    हिरण्यलाल श्रेष्ठ
प्रकाशक    :    दी अ प्रकाशन
पृष्ठ    :    ११९
मूल्य    :    ३०० रुपियाँ

प्रकाशित: चैत्र १०, २०७३