नोटबुक

  • म झसंग भएँ, छाउरा मात्र हराएका र छाउरी नहराएका रहेछन् । मानिसमा मात्र होइन, पशुमा पनि लिंग विभेद हुँदो रहेछ ।

- रवि मानन्धर

लिंगभेद यहाँ पनि

घरछेउमा एउटा कुकुर देखा पर्‍यो । कसैको घरबाट भागेको हो कि भनेर टोलछिमेकमा खोजीनीति पनि गरियो, कतैबाट पत्ता लागेन । जसलाई देखे पनि कुकुर नक्कल गरेर कम्मर मर्काई–मर्काई पुच्छर हल्लाउँथ्यो । त्यसैले कुकुरको नाम नक्कली राखियो । नक्कलीले घरछेउमा अड्डा जमाएर बसेको केही महिनामै पाँचवटा बच्चा जन्माई । छरछिमेकी सबै पशुप्रेमी भएकाले सुत्केरी नक्कलीको स्याहार–सुसारमा कुनै कमी भएन । 

केही समयमै नक्कलीका छाउरा–छाउरी नजिकैको चौरमा घाम ताप्न निस्कन थाले । कुनै सेतो, कुनै कालो, कुनै टाटेपाटे, सबै उत्तिकै राम्रा । मानिसहरु तिनलाई हातमा लिएर ‘यो म लान्छु, यो म लान्छु’ भन्दै कुरा गर्थे । म भने सानैमा आमाको दूध छुटाउँदा बच्चा कमजोर हुन्छ भनेर केही समय कुर्न सुझाउँथेँ । केही दिनपछि नै नक्कलीका बच्चा हराउन थाले । पाल्न लगेको भन्ने थाहा भएपछि मनमा सन्तोष भो । 

तीनवटा बच्चा हराएको धेरै दिन बितिसकेको थियो । बाँकी रहेका दुईवटा भने कसैले लगेनन् । मानिसहरु आउँथे, उचालेर ओल्टाई–पल्टाई हेर्थे र छाडेर जान्थे । किन नलगेको होला ? कसैले पाल्न लगेको भए हुन्थ्यो जस्तो लाग्थ्यो । 

एक दिन छिमेकीले नक्कलीको एउटा बच्चा मरेको जानकारी दिए । हेर्न गएँ, हो रहेछ । मन खिन्न भयो । हातले उचालेर हेरेँ, छाउरी रहेछ । छिमेकीको सहयोगमा खाल्डो खनेर गाडेँ । 

त्यसको केही दिनमै बाटोमा निस्किएको नक्कलीको अर्को बच्चालाई ट्याक्सीले किचेछ । मन नरमाइलो भयो । छिमेकीबाट थाहा भयो, त्यो पनि छाउरी नै रहेछ । म झसंग भएँ, छाउरा मात्र हराएका र छाउरी नहराएका रहेछन् । मानिसमा मात्र होइन, पशुमा पनि लिंग विभेद हुँदो रहेछ । यस्तो नहुँदो हो त छाउरीहरुले पनि कसैको आश्रय पाउने थिए । अनाहकमा ज्यान गुमाउनुपर्ने थिएन ।  

पशु चिकित्सकको पीडा

प्रसंग, फेरि पनि कुकुरकै । सानैदेखि पालेको भोटे कुकुर चार पटक ह्वालह्वाली रगत बान्ता गरेर अर्धचेत अवस्थामा पुग्यो । हल न चलको अवस्थामा पनि कुकुर आँखा घुमाई–घुमाई हेथ्र्याे । चिनेजानेका पशु चिकित्सकलाई फोन गरेँ । ‘आठ वर्ष भइसकेछ, कुकुरको आयु भनेको आठ–दस वर्ष मात्र हो, भो छोडिदिनूस्’ समेत भने । परिवारको सदस्यजस्तै बनिसकेको कुकुरको छटपटी हेर्न म नसक्ने अवस्थामा थिएँ ।  

मुखबाट रगत बग्दै गरेको कुकुरलाई तन्नाले बेरेर अन्तत: जाउलाखेलमा एउटा भेटनरी क्लिनिकमा पुर्‍याएँ ।  

कुुकुरलाई उपचार गर्नुअघि पशु चिकित्सकको तीतो वाक्यले मुटु घोच्यो, ‘१५—२० हजार रूपियाँ खर्च लाग्न सक्छ, निको हुन पनि सक्छ, नहुन पनि । उपचार गर्ने कि नगर्ने ?’ 

‘गर्ने ।’ छोटो उत्तर दिएँ । 

उपचार सुरू भो, चार बोतल स्लाइनमा औषधि मिलाएर दिएपछि कुकुर चलमलाउन थाल्यो । लागेको खर्च चुक्ता गर्दै गएँ । पहिले खरो बोलेका चिकित्सक नरम हँुदै गए । उपचार पाँच दिन चल्यो । कुकुर निको भएकामा खुुसी थिएँ । तर, सुरुको दिनमा चिकित्सकको रुखो व्यवहारले मन दुखेको थियो । 

फर्कने दिन तिनै चिकित्सकसँग पहिलो दिनको रुखो व्यवहारको विषयमा जिज्ञासा राखेँ । उनले नरम हुँदै भने, ‘के गर्नु सर ! मान्छेहरु बिरामी कुकुर लिएर आउँछन्, उपचार गर्दै गर्नू, घरबाट पैसा लिएर आउँछु भनेर जान्छन्, फर्केर आउँदैनन् ।’ उनी थप्दै गए, ‘क्लिनिकको मालिक सित्तैँमा उपचार गर्न तयार हँुदैन । कुकुरको छटपटी हेरेर बस्न सकिँदैन अनि उपचार गरेर निको हुने कुकुरलाई पनि इन्जेक्सन दिएर सधैँका लागि सुताइदिनुबाहेक उपाय हँुदैन । कति भोगियो कति !’ 

यो सुनेपछि मेरो मन भारी भयो । धन्यवाद भनेर बाहिर निस्किएँ । उनी कुकुरलाई सुमसुम्याउँदै बाहिरसम्म छोड्न आए ।  

काकाको देउवा–प्रेम

बिहान स्वयम्भू परिक्रमाबाट फर्किंदा चिया पसलमा एक जना पुराना कांग्रेसी काकासँग भेट हुन्छ प्राय: । सत्याग्रहका बेला पुतलीसडकबाट आफू गिरफ्तारीमा परेको खुबै सुनाउँथे उनी । धेरैजसो हाम्रो चियाको पैसा उनी आफैँ तिर्थे, हामीलाई तिर्न दिन्नथे । सन्तनेता कृष्णप्रसाद भट्टराईको निधनपछि उनले मसँग फोटो मागे । मैले भनेकै साइजमा किसुनजीको फोटो बनाएर दिएँ । पैसा दिन खोजेका थिए, मैले लिइनँ । त्यसको केही समयपछि शेरबहादुर देउवाको फोटो मागे । मैले दिएँ । यस पटक पनि उनले पैसा लिन खुबै कर गरे । मैले मानिनँ । 

उनी अरुलाई भन्दा मलाई बढी माया गर्थे । मेरो फोटोग्राफीको प्रशंसा गर्थे  । एक दिन नेपालमा सुजाता कोइरालाको अन्तर्वार्ता छापिएको पृष्ठ देखाउँदै ‘के यस्ताको  फोटो खिचेको’ भनेर आलोचना गरे । उनले किन यसो भने मैले चासो दिइनँ । 

२३ फागुनको बिहान चिया पसलमै बसिरहेका बेला उनै काका आइपुगे । ‘गुडमर्निङ भतिज’ भनेर कुरा सुरू गर्ने काका यसपटक पूरै फरक ढंगमा प्रस्तुत भए । मलाई देख्नेबित्तिकै नेपालमा प्रकाशित देउवाको स्केचमा आपत्ति जनाए । भने, ‘तिमीहरुले देउवाको सुरूवाल खुस्काएको होइन, तिमीहरुको पाइन्ट फुस्किएको हो ।’ 

करिब पाँच मिनेटजति कालो चिया खाँदै उनले आक्रोश व्यक्त गरे र आफ्नो बाटो लागे । हामी पनि काकाको प्रेसर हाई रहेछ भन्दै बाहिर निस्कन लागेका मात्र के थियाँै, साहुनीले मलाई बोलाएरै भनिन्, ‘आज काकाले तपार्इंको चियाको पैसा दिनुभएको छैन, तपाईंसँगै लिनू भन्नुभएको छ ।’ साथीहरु हाँस्न थाले । म भने काकाको देउवा–प्रेम र मप्रतिको घृणा देखेर अवाक् भएँ । 

Follow Ravi Manandhar on Twitter: @ravimanandhar1 

प्रकाशित: चैत्र ७, २०७३