उच्छृंखल उल्लास

  • महिलाका लागि होली जहिले पनि त्रासको पर्व

- माधव बस्नेत

‘..हामीले सोच्नुपर्ने हो, किन धेरैजसो महिला होलीका दिन आफ्नो घरबाट बाहिर निस्कन चाहँदैनन् । यदि यस्तै घटना दोहोरिए, आउँदा वर्षमा होली मनाउनुको कुनै औचित्य छैन । मानिसहरुका लागि डर र त्रासको पर्व मनाउनुको के अर्थ ?’ 

नेपालमा रहेकी बेलायती पत्रकार कोरिन रेडफ्रेनले ट्वीटरमा लेखेको अंश हो यो । व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकताको अघिल्लो सूचीमा राख्ने बेलायतजस्तो खुला समाजकी यी पत्रकारले नेपालीको सांस्कृतिक पर्वमाथि यति कडा टिप्पणी गर्नुले होली मनाउने, रमाइलो गर्ने बहानामा उच्छृंखलता बढेको पुष्टि गर्छ । रेडफ्रेन यतिमा मात्र अडिएकी छैनन् । उनले आफूमाथि ‘अहिलेसम्मकै भयानक व्यवहार’ भएको भन्दै यौन दुव्र्यवहारको संकेत गरेकी छन् । 

होली पौराणिक इतिहाससँग जोडिएको अबिरको पर्व हो । तर, पछिल्ला वर्षमा यो पर्व विकृत बन्दै गएको छ, पुरुषको पर्वजस्तो मात्र हुन गएको छ । त्यसैले युवती र महिलामा यो पर्वले यौन दुव्र्यवहारको त्रास थपिदिएको छ । त्यसैले धेरै महिला यस दिन घरबाट निस्कन चाहन्नन् । बरू, झ्यालढोका थुनेर घरैमा बस्न रूचाउँछन् । होली मनाउने बहानामा गलत मनसायले महिलालाई छुने, जिस्क्याउने, संवेदनशील अंगमा लोला हान्ने, रंग दल्ने, भौतिक, मानसिक यातना दिने विकृति यस पटकको होलीमा पनि देखियो । त्यस्ता उच्छृंखल र अमर्यादित गतिविधिमा संलग्न करिब तीन सय जनालाई प्रहरीले पक्राउ गर्‍यो । त्यसमा पुरुष त छन् नै, केही महिला पनि छन् । भलै, पक्राउ पर्ने सबैलाई प्रहरीले मुक्त गरिसकेको छ । 

महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यरत एसपी (प्रहरी उपरीक्षक) नरेशमान श्रेष्ठका अनुसार २०–२५ वर्षका युवा पुस्ता होलीका दिन सबैभन्दा बढी अमर्यादित र उच्छृंखल गतिविधिमा सहभागी थिए । परिणामको ख्याल नगर्ने उमेरजन्य स्वभावका कारण युवाहरूको ठूलो संख्या अमर्यादित गतिविधिमा संलग्न भएको श्रेष्ठको बुझाइ छ । 

खास गरी काठमाडौँको ठमेल, सुन्धारा, बौद्ध, बानेश्वर ललितपुरको पाटन, मंगलबजार, जावलाखेल, लगनखेल र भक्तपुरको दरबार स्क्वायर, सूर्यविनायक, ठिमी क्षेत्रमा उच्छृंखल गतिविधि भएको गुनासो आएको थियो । ज्ञातव्य रहोस्, यी राजधानीका पर्यटकीय क्षेत्र हुन् । र, त्यहाँ पर्यटकहरूमाथि त्यस्ता दुव्र्यवहारका घटना बढी भएका थिए । 

२९ फागुनमा राजधानी उपत्यकालगायत पहाडमा र ३० फागुनमा तराईमा होली थियो । त्यसको नौ दिनअघि नै गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरी खबरदारी नगरेको होइन । तथापि, त्यो विज्ञप्तिले धेरैलाई छुन सकेन । यसको अर्थ होलीमा रमाउने जति सबै उच्छृंखलै थिए भन्ने पनि होइन ।

परिवारका सदस्य, नातागोता जम्मा भएर पारिवारिक माहोलमा पर्वको महत्त्व दर्शाउने क्रम पनि गत वर्षको तुलनामा यस पटक बढेकै हो । विगत वर्षहरूको तुलनामा लोलाको प्रयोग पनि धेरै हदसम्म 

कम भएको हो । 

विडम्बनाको कुरा के मात्रै हो भने गृह मन्त्रालय, प्रहरीले जुन मात्रामा मर्यादित र विनयशील हुन आग्रह गरेको थियो, त्यो प्रयासचाहिँ सफल हुन सकेन । सरकारी प्रयास सफल हुन्थ्यो भने रेडफ्रेनजस्ता पत्रकारले त्यति कडा टिप्पणी गर्ने थिएनन् । प्रहरीले तीन सय बढी व्यक्तिलाई पक्राउ गर्नुपर्ने पनि थिएन । 

अपराधशास्त्री माधव आचार्यका अनुसार होली मनाउँदा बढ्तै उच्छृंखल शैली अपनाउने क्रम बढेको छ । त्यसैले होली नेपालीहरूको सांस्कृतिक सद्भावको चाड हुँदाहँुदै पनि विदेशीहरूले घृणाको नजरले टिप्पणी गर्न पुगेका हुन् । परिवारका सदस्य, नातागोता, समाजको नियन्त्रणभन्दा बाहिर बस्न रुचाउने र मौका छोपेर अरूलाई दु:ख दिने नियत राख्ने जमात बढ्दै गएकाले होली विकृत हुन पुगेको हो । “केही व्यक्तिको उच्छृंखल व्यवहारले सिंगो पर्वमाथि नै प्रश्न उठ्नु दु:खद हो,” आचार्य भन्छन्, “अमर्यादित गतिविधि नियन्त्रणको पद्धति विस्तारित हुन नसक्दा कलंकको दाग बोकिरहनुपरेको छ ।” 

विगतको तुलनामा आपराधिक, उच्छृंखल, अमर्यादित गतिविधि कम भएको प्रहरीको दाबी छ । पूर्वतयारी गरी पर्याप्त सचेतता अपनाइएकाले त्यस्ता घटनामा कमी आएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी प्रद्युन्न कार्की बताउँछन् । “उच्छृंखल घटना विगत वर्षका तुलनामा धेरै कम भएको छ । एकाध व्यक्तिले गरिदिएको अमर्यादित कदमका कारण मात्र होली मर्यादित भएन भनेर प्रश्न उठाउने ठाउँ मिलेको हो,” कार्की भन्छन् ।

संस्कृतिविद् जगमान गुरुङ रंग र पर्वको महत्त्व नबुझ्नेहरूले होली खेल्ने बहानामा उच्छृंखल हर्कत गरेको बताउँछन् । उनका अनुसार होलीमा अबिरको महत्त्व बुझ्न सकियो भने त्यसले ऊर्जा पैदा त गर्छ नै, स्वास्थ्यलाई समेत बलियो राख्ने काम गर्छ । होलीलाई ख्याल–ख्यालका रूपमा लिने, रमाइलो गर्ने माध्यम मात्र बनाउने, गलत ढंगले बुझ्ने गरेकाले समस्या निम्तिएका हुन् । “शक्ति, सद्भाव, एकता प्राप्त गर्ने पर्व हो होली,” संस्कृतिविद् गुरुङ भन्छन्, “तर, यसलाई मर्यादित बनाउन नसक्दा/नजान्दा सद्भाव होइन, द्वैष बढाउने विषय बन्ने त होइन भन्ने चिन्ता छ ।” 

प्रकाशित: चैत्र ७, २०७३