[टिस्टुङ देउराली] तयारी चाउचाउजस्तो विचारधारा

  • सीमित घटना, विचार र केही व्यक्तिका आफू अनुकूल उदाहरणले गुजमुज्ज परेका तथ्यमा त्यसलाई हालेर बेस्सरी हल्लायो र तयार भयो दुई मिनेट विचारधारा ।

- विवेक पौडेल

सजिलोका हिसाबले दुई मिनेट तयारी चाउचाउलाई माथ गर्ने खाने कुरा अरू सायदै होला । ट्वाक्क मसला मिलेको र ठिक्क आकारको खोलमा बेरिएको । स्वादिलो त छँदै छ, बनाउन र बोकेर हिँड्न पनि छरितो । फुक्कै खाए पनि हुने, अन्डासँग उमाले पनि हुने, मरमसला थपेर चपपटेजस्तो बनाउन पनि सकिने । अलि मिहिनेत गरे थुक्पा, चाउमिनजस्तो बनाए पनि भयो । अझ, विज्ञापन पत्याउने हो भने भिटामिन र प्रोटिनजस्ता पोषक तत्त्वसमेत हुने र जेहेनदार विद्यार्थीका लागि पढाइको व्यवस्था पनि गरिदिने ।

गाउँगाउँमा तयारी चाउचाउले नेपाली नास्ता र खानाको स्थान ओगटिसकेको छ । र, बालबालिकाहरू यही खाएर हुर्कंदै छन् । अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने उद्योग नै बनिसकेको चाउचाउमा मिसाइएका हानिकारक रसायनबारे बोलेर अलोकप्रिय बन्ने जोखिम किन उठाउनू ? भिटामिन र प्रोटिनको साटो पिठोको डल्लोले दिनेजति पनि पोषण यसले दिँदैन भन्ने कुरा थाहा नपाएजस्तो गरिदिँदैमा फाइदा छ । कम्तीमा घाटा त छैन । गाउँगाउँमा बालबालिका कुपोषित हुँदै गरेको र स्वस्थ आहारबिना हुर्कंदै गरेको तथ्य उठाउने गाह्रो काम गरेर किन छुच्चो बन्नू ? घरबारीमै सस्तोमा उपलब्ध हुने पोषणयुक्त, स्वस्थ र स्वच्छ मौलिक नेपाली खानेकुराबारे प्रभावकारी चेतना फैलाउने दु:ख किन गरिरहनू ? 

दुई मिनेट तयारी चाउचाउजस्तै दुई मिनेट विचारधारा पनि सजिलो, सुलभ र छरितो हुन्छ । एक–दुई वाक्य, स–साना ट्वीट र फेसबुक स्टाटस, एक–दुईवटा लेख वा दुई–चार जनासँग कुरा गरेर बनिने रिपोर्टमै सबै कुराको सारांश ट्वाक्क बनाएर प्रस्तुत गर्न सकिन्छ । विदेशी दाता हुन् वा देशभित्रकै गन्यमान्य, सबैलाई हाम्रा सारा समस्याका कारण र समाधान सजिलै बुझाउन सकिन्छ । एक–दुई गाह्रो सुनिने शब्दका मसला टिपेर हत्केलामा राख्यो, राम्रो लेखन शैली र भाषा–सीपको अर्को खोल झिकेर ती शब्दलाई घोल्यो । अनि, सीमित घटना, विचार र केही व्यक्तिका आफू अनुकूल उदाहरणले गुजमुज्ज परेका तथ्यमा त्यसलाई हालेर बेस्सरी हल्लायो र तयार भयो दुई मिनेट विचारधारा । सर्वसुलभ र लोकप्रिय यो विचारमा कति प्रोटिन र भिटामिन हुन्छ भनिरहनै परेन । विविधता र फरक विचारजस्तो देखाउन अलग–अलग देखिने खोलमा राख्यो र झिलीमिली विज्ञापन गर्‍यो । दुई मिनेटमा बुझ्न सकिने र फत्ते गर्न पनि सकिने काम भएपछि अलि जटिल तर मिहिन पोषणबारे कसलाई मतलब ?

नेपाली बौद्धिक भनिने जमातको प्रभाव र उपस्थिति पनि ठ् याक्कै दुई मिनेट तयारी चाउचाउकै जस्तो छ । यो जमातका हर्ताकर्ताहरू विशेष गरी काठमाडौँ खाल्डोका लेखक, प्राध्यापक, पत्रकार, व्यवसायी र गन्यमान्यहरू हुन् । मलाई केही परेमा उसले, उसलाई केही परे मैले भनेजस्तो आपसी भरथेगमा टिकेको यो साथीभाइको सीमित घेरालाई नेपाली नागरिक समाज वा नागरिक अगुवाहरू पनि भन्ने गरिएको छ । कम्तीमा पनि विसं ०४६ पछिका दशकमा समाज र राजनीतिको समग्र दिशा डोर्‍याउने अति महत्त्वपूर्ण अवसर पाएको यो जमातले हाम्रो समाजलाई अहिले कहाँ ल्याइपुर्‍याएको छ भनेर विस्तारमा भनिरहनु परेन । यही अवस्था रहिरहे अबका दशकमा आमनागरिकका दु:ख विगतभन्दा झनै विकराल बन्दै जाने भविष्यवाणी गर्न जो कसैले पनि सक्छ ।

तैपनि, यो दुई मिनेट तयारी विचारधाराको थोरै चिरफार गरेमा यो घेराको भर परेर बसिरहेका जिम्मेवार नागरिकले केही सार्थक पहल गर्न सक्लान् कि ? यही घेरामा सम्मिलित भएर राम्रो गर्न सकिएला भन्ने सोझो नियत भएका असल मानिसहरूले त्यो भ्रम तोडेर अलि पोषिलो विचारधाराको बाटो समात्न सक्लान् कि ?

हालैका केही उदाहरण हेरेर चाउचाउजस्तै यो ‘दुई मिनेट तयारी विचारधारा’लाई अलि बुझ्ने कोसिस गरौँ ।

सप्तरी घटना हुन नपाई अनेकौँ तयारी विचारहरू आउन थालिसकेका थिए । न घटनाको वस्तुगत अनुसन्धानको प्रयास भयो, न हुनेछ । यसअघि यस्ता प्रयासमा अवरोध गर्नेहरूलाई बौद्धिक आड दिने जमातमार्फत नै तयारी विचारहरू आउन थाल्नु संयोग त पक्कै होइन । एकथरीले मृतकहरूप्रति संवेदनशीलता देखाउनसम्म पनि जरुरी ठानेनन् । बरू, तुरुन्तै उनीहरूको मृत्युलाई आफ्नो ‘दुई मिनेट व्यवसाय’का निम्ति प्रयोग गरिहाले । भन्न थालियो, ‘यो आन्तरिक उपनिवेशको नतिजा हो ।’ अरूले थपे, ‘गोलीले मान्छे मरेको होइन, विचारले हो ।’ संघीय प्रदेशका आफ्ना तर्क फैलाउन होस् वा दुईवटा राष्ट्रियताका झूट प्रचार गर्न होस्, मृतकहरूको शवको संख्यालाई ओलम्पिक जितेको पदक संख्या जसरी सगर्व घाँटीमा बोकेर हिँड्न सुरु भइहाल्यो । पछि परिने सम्भावना देखेर होला, चुप बसेर हेरिरहेकाहरू पनि मधेसमा बालिएको आगोमा होम्न हाजिर भइहाले । केही वर्षदेखि राम्रो बजार विस्तार गरिरहेको नश्लकेन्द्रित राजनीतिको अग्नि होममा सबैभन्दा ठूला घ्यूका ठेकी प्राय: पहाडी मूलका बौद्धिक जमातकै रहेको छ । यसपालि पनि फरक भएन । एउटालाई पर्दा अर्कोले गर्नैपर्‍यो । अग्निहोमको फल आ–आफ्नो सहभागिताको हिस्सा अनुसार वितरण हुने नै होला ।

दुई मिनेट विचारधारा
नेपालमा सरकारको बलजफ्तीका घटना नौला होइनन् । दुई दशकअघि नै घरको झ्यालबाट पसेको गोलीले बालक अनिश शाक्यको मृत्यु भएको घटनाले काठमाडौँ तातेको थियो । गृहमन्त्री थिए, अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तत्कालीन सत्ताधारी दल कांग्रेसका प्रभावशाली नेताहरूमा कोइराला खलकका बाहेक महेन्द्रनारायण निधि, विजय गच्छदार, जयप्रकाश गुप्ता, महन्थ ठाकुरजस्ता व्यक्ति पनि थिए । त्यतिबेला राज्य संयन्त्र सुधारको प्रयास हुनुको साटो प्रहरी संगठनलाई कार्यकर्ता भर्ती गर्ने अखडा बनाइयो । देउवा, खड्कादेखि वामदेव गौतमसम्म सबैले प्रहरीलाई चुनावमा आफ्नो दलको पक्षमा सरकारी गुन्डाजसरी प्रयोग गरे ।

माओवादी द्वन्द्वको समयमा दुवै पक्षबाट गैरन्यायिक हत्या हुनेमा पहाडी मूलकै मानिस धेरै थिए । तथ्यांक अनुसार खस समुदाय र पहाडी जनजाति समूह यसको क्रमश: सबैभन्दा ठूलो र दोस्रो ठूलो सिकार बन्यो । दोस्रो जनआन्दोलनपछि कृष्ण सिटौलाका पालामा भएको सुडान घोटाला र अहिले फेरि देखिएको सुन काण्डका बीचमा प्रहरी संयन्त्र सुधारमा कसैलाई चासो भएन । द्वन्द्वका घटनाको अनुसन्धान गर्नुको साटो ढाकछोप गर्ने काममा बाबुराम भट्टराई सरकारको सत्ता घटक मधेसी मोर्चा र ती निकटका अगुवाको सक्रिय योगदान थियो ।

त्यसपछि पनि हिंसाको राजनीतिलाई निरन्तर मलजल गर्ने काम भइरहेकै छ । प्रदेश–२ मा आन्दोलन नउठेपछि टीकापुर पुगेर उत्तेजक हिंस्रक भाषण गरेपछि संयम अपनाइरहेका प्रहरी कसरी मारिए भन्ने सबैको स्मरणमै छ । त्यस घटनाले बाँकी प्रहरीको मनोबलमा पारेको प्रभावले उसै पनि तालिम, सामग्री र व्यवस्थापनको बेथिति हुने गरेको संगठनको दूरगामी सुधारको कुरा अहिलेसम्म उठेको छैन । उल्टै यो संगठन प्रमुखको नियुक्तिमा कुनै दलका नेताको तजबिजी हुने विचारलाई मूलधार स्वीकार्न नेपाली जनता बाध्य छन् ।

सप्तरी घटना स्वत:स्फूर्त हो वा नियोजित भन्ने ठोकुवा कुनै विश्वासिलो अनुसन्धान भएमा थाहा हुने नै छ । तर, घटना पहिले जिम्मेवारहरू र सरकारकै मानिसबाट समेत हाकाहाकी ‘प्रतिकार गर्ने’, ‘आमसभा गरे लखेट्ने’, ‘भाला र लाठी बोकेर आउने’, ‘सजिलै बन्दुक पाइने’जस्ता धम्की दिँदा पनि हाम्रा दुई मिनेट विचार व्यवसायीहरू मौन रहे । भाला, लाठी, खुकुरी, पेट्रोल बम वा तरबार बोकेर गरिने प्रदर्शनलाई शान्तिपूर्ण भन्न कदापि सकिँदैन । सप्तरीपछि पनि केही स्थानमा बस जलाउने र राजनीतिक कार्यक्रम गर्न नदिने हरकत जारी नै छ ।

तर, हाम्रो मूलधारको चासो यस्ता कुराको निन्दा गर्नुभन्दा सजिला लक्ष्य ताक्दै त्यसकै आलोचनामै मख्ख पर्नु रहेको छ । कुनै राजनीतिक दलले कार्यक्रम गर्नु र त्यसलाई हिंस्रक तरिकाले अवरोध गर्ने कार्यलाई दुई धार भनेर उस्तै–उस्तै जसरी प्रस्तुत गर्नु बिलकुल गलत हो । एमालेको राजनीतिको आलोचना गर्न सकिन्छ तर लोकतान्त्रिक परिधिभित्र गरिने राजनीतिको आलोचना र प्रणाली नै तहसनहस पार्ने उद्देश्यले चालिने हिंसा–आतंकलाई एउटै जसरी प्रस्तुत गर्नु एकविरुद्ध अर्कालाई असहिष्णु बनाउने कार्यको मतियार हुनु हो ।

भारतीय लेखक प्रताप भानु मेहताले नरेन्द्र मोदीको उदयपछि भनेका थिए, ‘सजिला लक्ष्य छानेर त्यसको आलोचना गर्दा सजिलो वैचारिक जितको उद्देश्य पूरा हुन्छ र के के नै गरे जसरी आफँैलाई बधाई दिन पाइन्छ ।’ बौद्धिक जमातको काम सजिला र सुरक्षित तारो हानेर बस्नु हो कि अलोकप्रिय नै भए पनि वास्तविक तर जटिल मुद्दाहरूमा मिहिन छलफल चलाउनू हो ? मेहताले हालै मिडियाको सन्तुलनको प्रश्नबारे पनि टिप्पणी गरेका छन्, ‘कुनै झूट कुरा र गम्भीर विषयलाई बराबरीजस्तो तुलना गरेर दुवैको बीचमा बस्नुलाई सन्तुलन भन्न सकिँदैन तर अहिले मिडिया यस्तै काममा मख्ख परेको छ ।’

विभाजनकारी नियत
कुनै संगठित कार्य कति स्वत:स्फूर्त हुन्छ भन्ने प्रश्न अर्को ठाउँमा छ । कुनै अमूर्त विचारका निम्ति मानिसको जीवन बलिदानलाई सामान्य मान्ने हाम्रो दुई मिनेट विचारधाराले यस्ता कार्यलाई केवल ‘ विचार’को जिम्मा लगाउन सजिलो मान्छ । एक दशकअघि मात्रै देशको आधा भाग नियन्त्रणमा रहेको दाबी गर्ने आन्दोलनको हालत अहिले के छ भन्ने हेर्दा त्यो कति स्वत:स्फूर्त थियो भन्ने छर्लंगै हुन्छ । गरिबी, असमानता र अरू समस्या भएका देश थुप्रै छन् । तर, किन थोरै मात्रै देशमा तिनको नाममा हुने हिंस्रक अभियानले सफलता पाउँछन् त ?

इतिहासले भन्छ– कुनै पनि दीर्घकालीन संगठित हिंस्रक अभियान प्रशस्त स्रोत, समर्थन र भू–राजनीतिक ढाढसबिना नेपालमा जसरी मूलधारमा स्थापित हुन सक्दैन । यस्तै कार्य समर्थन गर्ने काममा ठूला देशका खुफिया संस्था र कूटनीतिक संयन्त्रहरू अति विशिष्ट रूपले प्रशिक्षित छन् । युक्रेन, इजिप्ट, सिरियाजस्ता अनेक समस्या भएका देशमा स्वत:स्फूर्त देखिने आन्दोलन कसरी उठे, तिनले कसको सेवा गरे र कसरी हराएर गए भन्ने कुरा बुझे पनि यस किसिमका ‘स्वत:स्फूर्त आन्दोलन’का वास्तविकता थाहा हुन्छ । अहिले विश्वमा स्वत:स्फूर्त आन्दोलन चलाउन सहयोग गर्ने प्रख्यात पेसेवर संगठनहरू नै छन्, जसलाई विविध देशको सहयोग प्राप्त छ । नेपालले धेरै समयदेखि आफ्नो निर्णायकत्व गुमाएको र शक्तिकेन्द्रका खेलमै अल्झिएका कारण हाम्रो समस्या आफ्नो पकडभन्दा धेरै बाहिर पुगेको छ । यसको नतिजा कसै गरी पनि सुखद हुनेछैन ।

हालका घटनाका उद्देश्य पनि चुनाव बिथोल्ने, नेपालको केही भूभागलाई केही सीमित पात्रको एकलौटी नियन्त्रणमा रहेजस्तो बनाउने, नेपालीहरूले एक भएर कुनै कुरा निधो गर्न नसक्ने र नेपालीपनको भावना बलियो हुनै नदिनेतर्फ निर्देशित छन् । मुलुकको सामाजिक समस्यालाई यसरी प्रस्तुत गरिँदै छ, मानौँ यो अमेरिका वा दक्षिण अफ्रिकाको श्वेत–अश्वेत सम्बन्ध वा युरोपेली र दक्षिण अमेरिकीको उपनिवेशी र आदिवासीको जस्तै हो । किनभने, यस्तो प्रस्तुतीकरण सजिलो र ट्वाक्क स्वाद आउने किसिमको हुन्छ । एउटा जटिल समाजको मिहिन विश्लेषणको साटो यस प्रकारको कालो–सेतो चित्रण विदेशीलाई बुझाउन सजिलो हुन्छ र दाताको स्वार्थसँग सजिलै घुल्न सक्छ । देशभित्रै पनि घृणा र विभाजन फैलाउन यो निकै प्रभावकारी हुन्छ । तर, नेपालमा मानव विकास सूचकांक, विभिन्न व्यवसायमा सफल मानिस, शिक्षा, पहुँच, सम्पत्ति आदिको स्थिति हेर्दा के यस्ता तुलना जानाजान स्थिति भड्काउने र हिंसा मच्चाउने अभीष्टसँग गाँसिएको छैन भन्न सकिन्छ त ?

स्वतन्त्रताअघिको भारतमा २० प्रतिशत रहेको मुसलमान जनसंख्यालाई सुरुमा ५० प्रतिशत रहेको प्रचार भएको थियो । पछि बिस्तारै मोहम्मद अलि जिन्हाको दललाई मात्रै उनीहरूको एक मात्र प्रतिनिधिका रूपमा प्रस्तुत गरियो । उपनिवेशी शक्ति बेलायतका लागि ‘फुटाऊ र राज गर’ अन्तर्गत यस्ता विभाजन चर्काउनु आफ्नो हैकम कायम राख्न निकै सहयोगी भएको थियो । सुरुमा भारतीय कांग्रेसलाई धेरै मत दिएका भारतीय मुसलमान समुदायको एक मात्र प्रतिनिधिका रूपमा प्रस्तुत गरेपछि जिन्हाको मुस्लिम लिगलाई सबै राजनीतिक सौदाबाजीमा बराबरीको हिस्सा दिइयो । चुनावमा मत कम पाए पनि यस्तै कार्यबाट स्थापित हुँदै जाँदा नास्तिक स्वभावका कोट लगाउने जिन्हा पनि कट्टर धार्मिकजस्तो हुँदै गए । भारत, पाकिस्तान र तीसँग जोडिएका त्यसपछिका घटनाका परिणाम सबैलाई थाहै छ । तत्कालीन भारतमा मिलेर बसेका हिन्दु र मुसलमानलाई अलग–अलग गर्ने त्यही अभियानकै नक्कल यतिबेला नेपालमा पनि भइरहेको छ ।

सबै आन्दोलन वा असन्तोषलाई एकै घानमा हाल्न सकिँदैन । नेपाल समस्यारहित पनि होइन र यहाँ विभेद रहेकामा विमति पनि छैन । तर, ती समस्या/विभेद समाधान गर्ने तरिका हाम्रो संवैधानिक र लोकतान्त्रिक परिधिभित्र मात्रै र मुलुकका शक्तिहरूबीचको समझदारीमा मात्रै खोजिनुपर्छ/हुनुपर्छ । 

नकारात्मक पक्षलाई मात्रै उचालेर समुदायहरू मिलेर बस्नै नसक्ने र एक–आपसमा कत्ति पनि हार्दिकता नभएका समूह भनेर गरिएको प्रचारका पात्रहरू र तिनको स्वभाव हेर्दा कतैबाट पनि स्वत:स्फूर्त देखिँदैन । समस्या समाधानका नाममा विद्यमान फरकपनलाई बढाउँदै लगेर विभाजनसम्म पुर्‍याउने कि धेरै सकारात्मक पक्ष, मेलमिलाप तथा समानतामा ध्यान केन्द्रित गरेर हार्दिकता बढाउनेतर्फ काम गर्ने ? प्रकट र छद्म स्वार्थ समूहहरूले अपहरण गरेर हाम्रो वैचारिक तथा राजनीतिक मूलधार नै दुई मिनेट व्यवसायको पन्जामा फसेका बेला यस्तो बाटो पहिल्याउने सूत्र के होला ? यस्तो आँट गर्न सक्ने नयाँ राजनीतिक समूह वा पोषिलो विचारधाराको समूह हामीबीचबाटै निस्कन सक्ला ? 

प्रकाशित: चैत्र ७, २०७३