क्रिकेटमा नयाँ स्टार

  • नेपाली क्रिकेटमा आशलाग्दो प्रतिभा दीपेन्द्रसिंह ऐरीको आगमन

- विनोद पाण्डे

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का खेल्ने/नखेल्ने अनिश्चित थियो । निश्चित के थियो भने दीपेन्द्रसिंह ऐरी, १८, ले केन्यासँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्ने । पारसको अन्योलबीच टिम व्यवस्थापनले दीपेन्द्रलाई यो खबर दिएको थियो । पारस खेलेमा दीपेन्द्रले छैटौँ नम्बरमा ब्याटिङ गर्ने, नखेलेमा चौथो नम्बरमा । नेपालको रणनीति यही थियो ।

पारस नखेल्ने नै भए । त्यही मौकामा दीपेन्द्रले चौथो नम्बरमा ब्याटिङ गर्न पाए । २८ फागुनको पहिलो खेलमा उनले परिपक्वता प्रदर्शन गरे । राष्ट्रिय टोलीबाट पहिलो पटक खेल्दै दीपेन्द्रले त्यस्तो प्रदर्शन गरेको कसैले भन्न सक्दैनथ्यो । केन्याका तीव्र बलरले विशेष गरी पहिलो खेलमा बेजोड बलिङ गरेका थिए । त्यसमा नेपाली ब्याट्सम्यानहरू एकपछि अर्को गरी पवेलियन फर्किरहेका थिए । त्यस्तो बलिङविरुद्ध उनले ढुक्क भएर खेलेका थिए । 

पहिलो खेलमा उनले १९ रन बनाए । दीपेन्द्रभन्दा बढी रन बनाउनेमा ज्ञानेन्द्र मल्ल मात्र थिए । ३० फागुनको दोस्रो खेलमा पनि उनले त्यही प्रदर्शन दोहोर्‍याए । नेपालको ब्याटिङ धेरैजसो पारसमा भर पर्ने गरेको छ । पारसको अनुपस्थितिमा दीपेन्द्रले कप्तानकै शैलीमा खेल्दै ६२ रन बनाए । नेपाल विजयको नजिक पुगेको अवस्थामा उनी आउट भए । आउट भएकामा निश्चय पनि कोही खुसी हँुदैन । तर, क्रिजमै रहेका उक्त खेलका कप्तान ज्ञानेन्द्रले पवेलियन फर्किरहेका दीपेन्द्रलाई दौडिएर आउँदै अंकमाल गरी उत्कृष्ट इनिङ्सका लागि बधाई दिए । 

दीपेन्द्रले ज्ञानेन्द्रसँग १ सय ११ रनको साझेदारी गरेका थिए, जसले पाँच पटक विश्वकप खेलिसकेको केन्यामाथि नेपालको पहिलो विजयलाई सम्भव बनाएको थियो । नेपाललाई ठूला खेल जिताउने क्रममा पारसले राम्रो साझेदारी गर्ने गरेका छन् । दीपेन्द्रको भूमिका ठ्याक्कै त्यस्तै थियो । यसको अर्थ सुदूरपश्चिमका यी खेलाडीको तुलना पारससँग गरिएको होइन तर उनले जुन खेल देखाए, त्यसले नेपाली क्रिकेटमा नयाँ प्रतिभा आगमन भएको स्पष्ट देखाएको थियो । 

तीव्र बलरलाई सीधा छक्का हानेका दीपेन्द्रले स्पिनरलाई सजिलै रन हानिरहेका थिए । उनी हरेक बल स्ट्रोक गर्न खोज्थे, जसले नेपाली ब्याट्सम्यानमा देखिएको डट बलको समस्यालाई धेरै भए पनि हल गरेको थियो । रनिङ विट्विन द विकेटमा उनी पोख्त देखिन्थे । उनको फुर्तिलो स्वभाव नेपाली टिमको जोस बनेको थियो । “स्किलका हिसाबमा दीपेन्द्र निकै प्रतिभावान् छन् । माइन्डसेट राम्रो छ, एट्याकिङ खेल छ । सही ठाउँमा राखेर अगाडि लाने हो भने नेपाली टिममा लामो समयसम्म उनले योगदान दिन सक्छन्,” नेपाली टोलीका सहायक प्रशिक्षक एवं पूर्वकप्तान विनोद दास भन्छन् । 

दीपेन्द्र तीन वर्षअगाडि कुवेतमा भएको एसीसी यू–१९ प्रिमियरदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा देखिएका हुन् । तीन महिनाअघि एसीसी यू–१९ एसिया कपले दीपेन्द्रलाई चर्चामा ल्यायो, जहाँ प्रशिक्षक तिनै दास थिए । दीपेन्द्रले श्रीलंकासँगको खेलमा ९० रन बनाए । त्यसका बाबजुद नेपाल एक रनले पराजित भयो । नेपालले सात पटक यू–१९ विश्वकप र तीन पटक यू–१९ एसिया कप खेलिसकेको छ, त्यसमा दीपेन्द्रले बनाएको ९० रन नेपाली खेलाडीको यू–१९ मा टेस्ट खेल्ने राष्ट्रविरुद्ध उच्च स्कोर हो । हुन त गत वर्ष नामिबियाविरुद्ध घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमै दीपेन्द्र नेपालको वैकल्पिक सूचीमा थिए । तर, कोलम्बोमा श्रीलंकाविरुद्ध खेलेको इनिङ्सले यसपटक नेपाली टोलीमा उनको स्थानलाई औपचारिक बनाइदिएको थियो । त्यसमा उनी पनि विश्वस्त थिए, १८ सदस्यीय दोस्रो अन्तिम सूचीमा पर्नेमा । केन्यासँग मौका पाउँदा उनले चौका हानेका मात्र हुन् । 

घरेलु क्रिकेटमा यसअघि नै दीपेन्द्र स्थापित नाम हुन् । नेपाल पुलिस क्लबलाई गत महिना मात्र रुस्लान कपको उपाधि दिलाउने क्रममा उनी नेपाल आर्मीसँगको फाइनल खेलमा म्यान अफ द म्याच भएका थिए । त्यसअघि उनी एभरेस्ट प्रिमियर लिगको विजेता पञ्चकन्या तेजका प्रमुख सदस्य हुन् । यसै महिनाको अन्त्यमा धनगढीमा हुन लागेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल)मा विराटनगर किंग्सले उनलाई अधिकतम ८० हजार भाउ लगाएर किनेको थियो । लिलामीमा उनीमाथि सहभागी सबै ६ टोलीले अधिकतम पैसा खर्च गर्न तयार हुँदा विराटनगरले लक्की ड्रमा बाजी मारेको थियो । 

अलराउन्डरको हिसाबमा दीपेन्द्रलाई केन्यासँगको खेलमा नेपाली टिममा राखिएको थियो । केन्यासँग जित हात पार्दा नेपाली दर्शकले मिस गरेको उनको बलिङ र विकेट लिएपछि खुसी मनाउने ‘समरसल्ट’ हो । उनलाई पिठ्यूमा चोट थियो । त्यसैले उनले बलिङ गरेनन् । बलिङ नगरेपछि उनले ‘समरसल्ट’ सेलिब्रेसन गर्न पाएनन् । 

पछिल्लो समय नेपाली क्रिकेटमा सुदूरपश्चिमको ठूलो प्रभाव छ, दीपेन्द्रको आगमन त्यही पृष्ठभूमिमा भएको छ । उनको प्रदर्शनमा जुन चमक छ, उनको स्वभाव ठीक त्यसको उल्टो छ । निकै लजालु स्वभावका छन् । 

गृहनगर महेन्द्रनगरमा भएको प्याब्सन कपमा पहिलो पटक खेलेको उनलाई सम्झना छ । तर, त्यो कति वर्षअगाडि हो भनेर प्रश्न गर्दा उनको उत्तर थियो, “खोइ, जाडोको बेलामा थियो क्या हो ।” केन्यासँगको खेल जितेपछि उनलाई सञ्चारमाध्यमसँग बोल्न भनियो । त्यो देखेर बलिङ प्रशिक्षक दास जिस्किँदै भन्दै थिए, “दीपेन्द्रको दोभाषेका रूपमा कोही गएर उसले बोलेको उल्था गरिदियोस् ।” त्यति धेरै दर्शकका अगाडि राष्ट्रिय टोलीबाट पहिलो पटक खेल्दा दबाब भएन ? दीपेन्द्रको उत्तर थियो, “त्यही दबाब हुन्छ, त्यसलाई कम गर्नुपर्छ भनेर चौका हानेको थिएँ ।” 

प्रकाशित: चैत्र ६, २०७३