पाइलट वेद उप्रेतीलाई १० प्रश्न

- विमल आचार्य

विमान चालक वेद उप्रेती, ५०, को विमान–लगाव विचित्रको छ । दुई वर्षअघि धनगढीमा एयरक्राफ्ट संग्रहालय खोलेका उनी अहिले काठमाडौँमै यस्तै अर्काे विमान संग्रहालय खोल्न जुटेका छन् । 
र, यसका लागि प्रयोग हुँदै छ, दुई वर्षअघि काठमाडौँमा दुर्घटनाग्रस्त भएर थन्किएको टर्किस एयरलाइन्सको एयरवस ए–३३० वाइड बडी जहाज ।

लगालग खोलिरहनुभएको छ संग्रहालय, काठमाडौँपछि कहाँ खोल्नुहुन्छ ?
त्यस्तो कुनै योजना छैन । तेस्रो संग्रहालय खोलिँदैन होला । 

संग्रहालय खोल्ने विचार कहाँबाट आयो ? 
फोटोग्राफी, भिडियोग्राफीमा रुचि थियो र छ । उडानका क्रममा खिचेका तिनै फोटो देखाउने रहरले संग्रहालय बनाउन मन लाग्यो । ठाउँ कस्तो बनाउने त भनेर सोच्दा अनि संसारका ८० देश घुमी–उडेका आधारमा विमानलाई नै स्थानका रूपमा लिइयो । थन्किएको विमानलाई गज्जबले सदुपयोग गरियो ।

धनगढीमा खोल्न कति खर्च गर्नुभयो ? 
डेढ करोड रुपियाँ । 

सबै निजी लगानीमा ? 
हो, आफैँ खर्च गरेको हुँ । 

लगानी उठ्यो त ? 
लगानी त कहिल्यै उठ्दैन । नाफाका लागि भन्दा पनि केही रहरले, केही सन्देश दिऊँ भन्ने उद्देश्यले खोलेको हुँ । अहिले प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपियाँ र अरूका लागि एक सय रुपियाँ छ । चालू खर्चचाहिँ उठिरहेको छ । 

संग्रहालय खोलेपछि कस्तो पाउनुभयो प्रतिक्रिया ? 
निकै नै उत्साहजनक । सुदूरपश्चिम आएपछि यहाँ नघुमी फर्किने कमै हुनुहुन्छ । यहाँ संसारका धेरैथरी पुराना विमानका प्रतीक छन् । सुदूरपश्चिमको समग्र महत्त्व झल्काउने डकुमेन्ट्री देखाइन्छ । तर, यो सानो ठाउँ र जनघनत्व पनि कम भएको स्थान भएको हुँदा धेरै चापाचाप भने हुँदैन । 

अनि, काठमाडौँमा ? 
नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा खोल्दै छौँ सिनामंगलमा । कुल ६ करोड खर्च लाग्ने अनुमान छ । 

कहिलेसम्म सञ्चालनमा आउला त ? 
अबको पाँच महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ । 

धनगढी र काठमाडौँको संग्रहालयमा के फरक हुनेछ ? 
काठमाडौँमा धनगढीको भन्दा धेरै ठूलो आकारको हुनेछ । वायुसेवासम्बन्धी इतिहास, आवश्यक सामग्री, सेवाका आवश्यकता र महत्त्वपूर्ण मोड, सूचना आदि सबै झल्किने कुरा यहाँ हुनेछ । 

फरक प्रश्न, धेरै बालबालिकाले पछि गएर पाइलट बन्ने भनेको सुनिन्छ तर कमै मात्र पाइलट हुन्छन् नि ? 
पाइलट कोर्स गर्न अहिले पनि धेरै महँगो छ । कम्तीमा ५० लाख रुपियाँ खर्च गर्नुपर्ने अवस्था छ । तर, नेपालमा पाइलटको धेरै नै अभाव छ । हामीले पाइलट बन्नका लागि मोटिभेसन, इन्फर्मेसन केही दिन सकेका छैनौँ । अब उत्प्रेरणा र सूचना दिने काम खुल्दै गरेको संग्रहालयले गर्नेछ । 

प्रकाशित: चैत्र ६, २०७३