[झटारो] सौहार्दताको स्वर्ण समय !

- लक्ष्मण गाम्नागे

हाम्रो देशको राजनीति दिन–प्रतिदिन सङ्लिँदै छ । राजनीतिक दलहरूमा एकअर्काप्रति सौहार्दता र सहिष्णुता बढ्दै छ । यस्तै हो भने अब राजनीतिक संक्रमणकाल सकिन्छ होला ।  

वर्तमान सरकार हेर्नूस्, कस्तो समावेशी छ । क्रान्तिकारी, यथास्थितिवादी, प्रजातन्त्रवादी, अधिनायकवादी, वामपन्थी, दक्षिणपन्थी, उग्रपन्थी, प्रतिगामी, राजतन्त्रवादी, गणतन्त्रवादी सबै विचारधारा एउटै सरकारमा अटेका छन् । काँधमा काँध, हातमा हात मिलाएर मुलुकलाई निकास दिन खटेका छन् । सरकारसँग आँखो र खुर्सानीको जस्तो सम्बन्ध भएको मधेसी मोर्चा सरकारकै छेउमा छ । हरेक सरकारको संकटको साथी विजय गच्छदारको चुइँगम पार्टी पनि सरकारतिरै छ । 

लाठा लगाएर भए पनि चुनाव गराएरै छाड्नुपर्छ भन्नेहरू पनि त्यहीँ छन्, चुनाव हुन नदिन भाटा बोकेर बसेका पनि त्यहीँ छन् । पहिला चुनाव अनि संशोधन भन्ने पनि भित्रै छन्, पहिला संशोधन अनि चुनाव भन्ने पनि सँगै छन् । जे गरे पनि हुन्छ, गरौँ न गरौँ भन्ने पनि छँदै छन् । 

एक मधेस, दुई मधेस, दस प्रदेश, आठ प्रदेश, सात प्रदेश आदि अनेक अलगअलग माग भएर पनि सबै एउटै भागमा खान बसेका छन् । टाउको फुटाएर भए पनि प्रदेश–५ फुटाउनै पर्छ भनेर लागेका र टाउकै फुटोस् तर त्यो प्रदेश फुटाउन दिन्नौँ भन्नेहरू टाउका जोडेर सरकारभित्रै बसेका छन् । यस्तो विचित्र विविधतायुक्त सरकार न यसअघि कहिल्यै बनेको थियो न भविष्यमा नै बन्ला ।

समग्र राजनीति हेर्नूस्, को सत्तापक्ष, को प्रतिपक्ष छुट्याउन नसकिने हुँदै छ । सरकार पक्षमै बसेर सरकारकै उछित्तो काढ्ने पनि त्यहीँ छन्, प्रतिपक्षमा बसेर सरकारलाई काँध थाप्ने पनि त्यहीँ छन् । सरकारले घोषणा गरेको चुनावलाई सरकार पक्षकै दलहरू विरोध गरिरहेका छन्, प्रतिपक्षीचाहिँ घोषणाको स्वागत गरेर चुनावलाई सफल पार्न घुँडा धसेर लाग्दै छ । राप्रपा सरकारमै बसीबसी सरकारले पेस गरेको संशोधन प्रस्तावको विपक्षमा भोट हाल्छु भन्छ । सरकारले गोली हानेर मान्छे मार्छ, गालीचाहिँ सरकारले खाँदैन, प्रतिपक्षीतिर जान्छ । सरकारभन्दा पहिला गोली ठोक्नेको बचावट प्रतिपक्षी दलले पो गर्छ । ल हेर्नूस्, कस्तो सौहार्दता एकआपसमा !

 

भारतीय प्रहरीले गोली हानेर नेपालीलाई मारेको घामजत्तिकै छर्लंग छ तर हाम्रा कतिपय नेताचाहिँ भारतले गोली हानेको हो कि होइन छानबिन गर्नुपर्छ भन्दै छन् । छिमेकीले गोली हानेर परिवारको मान्छे मार्छ, हामी आफ्नै घरमा आगो लगाएर रिस दबाउँछौँ । छिमेकीप्रतिको सौहार्दता र सहिष्णुता पनि बढेकै छ ।  

धेरैले एमाले र मधेसी मोर्चाबीचमा शत्रुता छ भन्छन् तर त्यस्तो पटक्कै छैन । पछिल्लो घटनालाई हेर्नूस्, सप्तरीमा दुवैले एकअर्कालाई ‘ल आइज !’ भनेर जानकारी दिएरै जम्काभेट गरे । आ–आफ्ना आगामी रणनीति तय गर्न एकअर्काको नाडी छामे । त्यहाँ उनीहरू आपसमा भिडेनन्, एउटाले सरकारलाई भिडायो, अर्कोले आमजनतालाई भिडायो । मिलिभगत र सौहार्दता पो छ, खोइ शत्रुता ?

प्रधानमन्त्रीको व्यवहार त्यस्तै सौहार्दपूर्ण छ । यता फर्किन्छन् चुनाव भन्छन्, उता फर्किन्छन् संशोधन भन्छन् । जसलाई जे भन्दा खुसी हुन्छ, त्यही भन्दै उनी सबैलाई समेटेर अघि बढिरहेका छन् । 

सौहार्दताका हिसाबले नेपाल अहिले स्वर्ण युगमा छ । त्यसैले नआत्तिउँm, मुलुकले निकास पाउँछ नै जस्तो छ, देश अघि बढ्ला नै जस्तो छ !

प्रकाशित: चैत्र ६, २०७३