बद्रीनाथकी दुल्हनिया: दाइजो प्रथाको विक्षपमा

  • यो फिल्म तीन वर्षअघि प्रदर्शित हम्टी शर्माकी दुल्हनियाको ‘फ्रन्चाइज’ हो ।

- गोकर्ण गौतम

जब भारतीय समाजमा महिला सशक्तीकरणको सवाल टड्कारो रूपमा उठ्न थाल्यो, हिन्दी फिल्ममा त्यसका बाछिटा पर्न सुरु भयो । अक्सर फिल्ममा हिरोइनहरू ‘सो–अप’मा सीमित हुन्थे, अचेल मूल कथा नै उनीहरू वरपर घुम्न थालेको छ, जसरी समाजको नेतृत्वदायी र प्रभावकारी भूमिकामा महिलाको उपस्थिति देखिन थालेको छ । खास गरी युवतीको आत्मनिर्भरता र स्वतन्त्रताका मुद्दालाई पटकथामा उधिन्न फिल्मकर्मी बडो चनाखो हुन थालेका छन् ।

आलिया भट्ट र वरुण धवन स्टारर बद्रीनाथकी दुल्हनिया पनि त्यही अभियानको नयाँ शृंखला हो । जहाँ दाइजो प्रथा र बुहारीले घरको चौघेरा नाघ्नु हुन्न भन्ने सोचमाथि गहिरो रोष पोखेको छ । भलै, निर्देशक शशांक खेतानले विषयलाई रोजे पनि शैली धेरै पुरातन र बिकाउ नरोजेका हैनन् । यो फिल्म तीन वर्षअघि प्रदर्शित हम्टी शर्माकी दुल्हनियाको ‘फ्रन्चाइज’ हो ।

झाँसीका धनी परिवारका बद्रीनाथ (वरुण)को चाह छ, सुशील स्वभावकी केटी विवाह गर्ने । उता, मध्यम वर्गीय परिवारमा हुर्किएकी वैदेही (आलिया) विवाह होइन, करिअरमा बढी केन्द्रित छिन् । किनभने, बुबालाई दाइजोको बोझ बोकाउने पटक्कै मन छैन । बद्रीनाथको लाख कोसिसपछि उनी विवाहका लागि राजी त हुन्छिन् तर बिहेको दिन घरबाटै भाग्छिन् । उनी किन र कहाँ भागिन् ? उनको अपमानपछि बद्रीनाथ र उसको घमन्डी बाबुले के गर्लान् ? यिनै सवालका जवाफसँगै फिल्म सकिन्छ । यत्ति हो कि, हिन्दी फिल्मका नियमित दर्शकले यसको क्लाइमेक्स सहजै अनुमान लगाउन सक्छन् ।

पटकथाकारसमेत रहेका निर्देशक खेतानले मुख्य दुई पात्रको चरित्रलाई स्वाभाविक र सन्तुलित बनाएका छन् । दर्शकले ती पात्र र तिनका क्रियाकलापलाई आत्मसात् गर्न सक्छन् । बद्रीनाथ धनी त छन् तर धनको घमन्ड छैन । बरू, आफू सज्जन भएकाले आफूसँग बिहे गर्ने केटी धेरै भाग्यमानी हुन्छिन् भन्ने ठान्छ । वैदेही बाहिर हेर्दा रुखो लाग्छिन् तर उनको मन औधि सफा छ । इमानदार हुँदाहुँदै धोका दिन उनी बाध्य हुन्छन् । उनको यही अन्तरद्वन्द्वलाई निर्देशकले बडो जीवन्त शैलीमा उनेका छन् । त्यसो त बद्रीनाथप्रति पनि संवेदना र प्रेम पैदा नहुने होइन ।

कोटाजस्तो सानो सहरकी युवती भए पनि वैदेहीमा सपना र साहस ठूलो छ । विवाह र अन्य परम्परागत मान्यता आफ्नो उद्देश्यको बाधक बन्ने देखेपछि परिस्थितिले उनलाई विद्रोही बनाउँछ । भारत मात्र होइन, दक्षिण एसियामै यस्ता उडान भर्न चाहने तर कुप्रथाको सिकार हुने युवतीको जमात ठूलो छ । तिनै अनुहारको प्रतिनिधि लाग्छिन् वैदेही । तर, विषयवस्तु जति मार्मिक छ, त्यसलाई सोही अनुरूप पस्कने सवालमा चाहिँ निर्देशक चुकेका छन् । कतिपय सन्दर्भमा निर्देशकले लंैगिक समानता र महिला शिक्षालाई नाराझैँ घोकाउन खोजेको भान हुन्छ । वैदेहीको ‘फ्ल्यासब्याक’, बद्रीनाथको बाबुको स्वभाव र उसको दाइको देवदासपना विश्वसनीय लाग्दैन । झन् वैदेही र बद्रीनाथको बाबुले अक्सिजन लिने शैली त दर्शक हँसाउने एकोहोरो रटानले थोपरिएको छ । सिंगापुर पुगेर वरुणले देखाउने अस्वाभाविक हर्कतले फिल्मको गरिमा थप घटाएको छ । बरू, भूमिका छोटो भए पनि वरुणकी भाउजू, जो एमबीए गरेर पनि घरमै थन्कन बाध्य छिन्, दर्शकको मानसपटलमा रहिरहन्छिन् । 

हाइवे, उड्ता पन्जाब, डियर जिन्दगीझैँ बद्रीनाथकी दुल्हनियामा पनि आलियाको जबर्जस्त र जीवन्त अभिनय देख्न पाइन्छ । रूढिवादी मान्यता र आफ्नो महत्त्वाकांक्षाको दोसाँधलाई प्रस्तुतिमार्फत अब्बल तुल्याएकी छन् । वरुणको भूमिका हम्टी शर्माकी दुल्हनियाकै जस्तो लागे पनि दमदार अभिनय उनको सबल पक्ष हो । उनको सोझो र एकोहोरो प्रेमले हास्य सिर्जना गरेको छ । वरुण र आलियाको ‘केमेस्ट्री’ अझ आकर्षक छ । शीर्ष गीत सबैको मुखमा झुन्डिने खालको छ भने ‘तम्मा...’को रिरेकर्डेड भर्सनले फिल्ममा ‘कलर’ थपेको छ । झाँसी, कोटा र सिंगापुरका मनोरम दृश्य फिल्मको अर्को सशक्त पक्ष हो । 

वरुण र आलियाका फ्यानले मात्र होइन, सामाजिक विषय रुचाउनेले बद्रीनाथकी दुल्हनियामा पूर्ण मनोरञ्जन लिने छन् । तर, कलात्मक फिल्मका पारखीचाहिँ निराश हुन सक्छन् । 

प्रकाशित: चैत्र ६, २०७३