'खोजीमेली'मा सत्य–तथ्यको खोजी

  • 'खोजीमेली'मा शिव रेग्मीले ओझेलमा परेका थुप्रै पात्र र विषय उधिनेका छन् ।

- विमल आचार्य

भूपी शेरचन, शंकर लामिछाने, भैरव अर्यालजस्ता लेखकका पुस्तकमा नपरेका तर विभिन्न पत्रपत्रिकामा छापिएका फुटकर रचनालाई संकलन गरेर पुस्तकाकारमा छाप्ने शिव रेग्मीलाई आफू जलेर अरूलाई उज्यालो दिने वर्तमानका दुर्लभ दियो भन्दा अति हुँदैन । शारदाका सम्पादकीय, महाकवि लक्ष्मीप्रसाद देवकोटाका भूमिका, गोरखापत्र, उद्योग, सुन्दरीजस्ता पत्रत्रिकाका रचना र लेखक पहिचान गर्न उनको धेरै योगदान छ । केही वर्षअघि छापिएको अतीतका पाना पुस्तकमा पनि उनले बिर्सिइसकेका थुप्रै पुराना पत्रपत्रिकाको इतिहास उतारेका छन् । हालै छापिएको खोजीमेलीमा शिवले ओझेलमा परेका थुप्रै पात्र र विषय उधिनेका छन् ।

जिउँदा सहिद टंकप्रसाद आचार्यले लेखेको कविता होओस् अथवा वीर सहिद गंगालाल श्रेष्ठ अथवा इतिहासकार बाबुराम आचार्यले लेखेको कविता; पढ्नका लागि तपाईंले पल्टाउनैपर्ने हुन्छ, साहित्यिक–अन्वेषक शिव रेग्मीको नयाँ पुस्तक खोजीमेली । 

गंगालाल श्रेष्ठले दु:खी जीवनलगायत दुई–तीनवटा उपन्यास लेखेको कुरा बालकृष्ण समले सिद्धिचरण श्रेष्ठलाई सुनाएका थिए । दु:खी जीवन शीर्षकको उपन्यास गंगालालको हत्या भएको एक वर्षपछि शान्तशमशेर जबराका नाममा छापियो, उही हो वा फरक– तथ्य खुल्न सकेको छैन । नेपाली भाषा प्रकाशिनी समितिमा बुझाइएका गंगालालका पाण्डुलिपि सिद्धिचरणले गंगालालका भाइ नेता पुष्पलाललाई दिएका थिए तर ती अहिले कहाँ, के कस्तो हालमा छन्, पत्तो छैन । तर, विसं १९९५ मा शारदामा छापिएको गंगालालको कविता शिव रेग्मीले खोजीमेलीमा पस्केका छन् । 

गोपालप्रसाद रिमालको आमाको सपनाको पहिलो संस्करणमा ‘सहिदहरूसित’ कविता भिकिएको रहेछ । आमाको सपनामा नपरेका रिमालका केही कविता यसमा संकलित–सूचित छन् । रिमालको रचनालाई श्यामदास वैष्णवले आफ्नो भनी साधना पत्रिकामा छापेपछि रेग्मीले वैष्णवलाई सोधे ।

वैष्णवले माफी माग्नुको साटो ‘मैले भनेका कुरा नबुझेर लेखेका हुन्’ भनेर गल्ती पन्छाए । 
‘ओझेलमा परेका कवि भवदेव पन्त’ शीर्षकमा रेग्मीले उनका थुप्रै सिर्जना रहेको खुलाएका छन् । कृष्णबम मल्ललाई उद्धृत गर्दै रेग्मी लेख्छन्, ‘कवि भवदेव पन्तले एकपटक त्रि–चन्द्र कलेजका तत्कालीन प्रिन्सिपल नरेन्द्रमणि आचार्य दीक्षितलाई गाला चड् काएका थिए ।’ सूक्तिसिन्धुका सन्दर्भमा यदुनाथ खनालसँग दोहोरी खेलेका समालोचक रामकृष्ण शर्माको पुस्तक भाषा प्रकाशिनी समितिले नौ वर्षसम्म पनि प्रकाशन गरिदिएन । रेग्मीका शब्दमा ‘यसमा समितिको दुराशय’ देखिन्छ । 

 मान्छेले तान्ने रिक्सा चढेर पढाउन जाने सोमनाथ सिग्देलबारे रेग्मी लेख्छन्, ‘ मकैपर्वको छिटाले छोइएका पण्डितराज सिग्देललाई त्यतिबेलाका माहिला गुरुज्यू हेमराज पाण्डेले चन्द्रशमशेरको स्तूतिगान र प्रशंसा लेख्न लगाएर चोख्याएका थिए रे भन्ने हल्ला मैले सानैमा सुनेको हुँ ।’ इतिहासविद् नयराज पन्तका अनुसार सिग्देललाई मकैपर्व काण्डमा ५० रुपियाँ जरिवाना तिराइयो । संस्कृत सिद्धान्त अनुसार आदर्शराघव महाकाव्य लेखेका सिग्देल लक्ष्मीप्रसाद देवकोटाका महाकाव्यलाई भने महाकाव्यका रूपमा स्वीकार्दैनथे । 

हाम्रो श्रुतिपरम्परालाई पहिलोपल्ट नेपाली दन्त्यकथा (१९९६) नाममा लिखितम स्वरूप दिएर लोकसाहित्यमा अमूल्य योगदान दिएका बोधविक्रम अधिकारी विसं १९५१ मा तनहुँमा जन्मेका हुन् । रेग्मीको दाबी अनुसार उनी अंग्रेजीमा एमए गर्ने पहिलो नेपाली हुन् । राल्फ लिली टर्नरले बनाएको अ कम्पेरेटिभ एन्ड इटिमोलोजिकल डिक्स्नरी अफ द नेपाली ल्यांग्वेजमा बोधविक्रम अधिकारीको धेरै नै योगदान रहेछ । शारदाकालमै बौद्धिक निबन्ध छपाएका अधिकारीका केही पाण्डुलिपि ०१६ मा तनहुँको घर भत्किँदा नष्ट भएको नमीठो घटना रेग्मीले उल्लेख गरेका छन् । 

‘ईश्वरमहिमा’ कविता लेखनाथ पौड्यालको हुनुपर्नेमा चक्रपाणिको हो भनेर शरदचन्द्र शर्मा भट्टराई र घटराज भट्टराईसमेतका अनुसन्धाताले गल्ती नसच्याएकामा रेग्मीलाई उदेक लागेको छ । यस्तै, मोतीराम भट्टले लेखेको एउटा कविता बालकृष्ण समको नेतृत्वमा रहेको नेपाली भाषा प्रकाशिनी समितिबाट छापिएको बालभूगोल पाठ् यपुस्तकमा भानुभक्त आचार्यका नाममा छापिएर वर्षाैंवर्षसम्म विद्यार्थीलाई गलत पढाइएछ । 

रेग्मी आफ्नो काममा कतिसम्म लागिपर्छन् भन्ने जान्न ‘पहिलो नारी कथाकार कुमारी तुषारमल्लिका’ पर्याप्त छ । १९९२ सालमा शारदामा ‘स्त्रीरत्न’ कथा प्रकाशन गर्ने कुमारी तुषारमल्लिका को होलिन् भन्ने खुलदुली मेट्न रेग्मीलाई धेरै कष्ट परेको छ । उनीबारे जान्न सक्ने सिद्धिचरण श्रेष्ठ हुनुपर्छ भन्ने ठानेर रेग्मीले ‘शारदाकी स्त्रीरत्न’ शीर्षकमा उन्नयनका लागि लेख लेख्छन् तर लेख ०४९ मा छापिनुभन्दा पहिल्यै सिद्धिचरण बितिहाल्छन् । रेग्मी तीतो सत्य लेख्छन्, ‘लेख छापिएपछि कुनै प्रकारको प्रतिक्रिया वा जानकारी प्राप्त हुन सकेन । हुन त अचेल यस्ता लेख–निबन्ध पढेर आफूलाई लागेको प्रतिक्रिया लेख्ने वा थाहा पाएको कुरा जानकारी दिने प्रवृत्ति कम हुँदै गएको छ ।’ यस्तैमा रेग्मीका आँखा ९ वैशाख ०५२ को गोरखापत्रको श्रद्धाञ्जलिमा पुगेर अडिन्छन् । रेग्मी गोरखापत्र संस्थानमा सम्पर्क गर्छन् । त्यसमार्फत विज्ञापन एजेन्सीमा सम्पर्क गर्छन् र बल्लतल्ल परिवारको सम्पर्क नम्बर भेट्छन् ।

शारदाले कथा प्रतियोगिता आह्वान गरेकाले १९७७ मा जन्मेकी मल्लिकाले १५ वर्षकै उमेरमा कथा लेखेकी रहिछन् । आजका चर्चित लेखक तथा राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाका कथासँग प्रतिस्पर्धा गरी जितेर शारदामा कोइरालासँगै छापिएकी रहिछन् । ओझेलमा परेका यस्ता थुप्रै पात्रको सूचना–विवरणले भरिपूर्ण छ पुस्तक । 

पुस्तकमा भानुको जन्म सन्दर्भमा १८६९ हुनुपर्नेमा १९६९, १८७१ हुनुपर्नेमा १९७१ भएको छ । आदर्शराघव हुनुपर्नेमा आदर्शराधव छ पुस्तकभरि नै । विभिन्न पुस्तक–पत्रपत्रिका पढेर, अनेकसँग सोधीखोजी गरेर बडो मिहिनेतपूर्वत तयार पारिएका ४३ ओटा निबन्धले पुस्तक खोजमूलक र पठनीय बनेको छ । 

खोजीमेली 
लेखक    :    शिव रेग्मी
प्रकाशक    :    रत्न पुस्तक भण्डार
पृष्ठ    :    १६६
मूल्य    :    २९५ रुपियाँ

प्रकाशित: चैत्र ४, २०७३