लेखक इन्द्रबहादुर राईलाई प्रश्न— नेपाली साहित्य कता गइरहेको छ ?

- पर्वत पोर्तेल

लेखक इन्द्रबहादुर राई, ९०, भारतको दार्जीलिङमा बसेर साहित्य सिर्जना गर्छन् । श्रीमती मायादेवीको देहावसानपछि भने यी लेखक लगभग निष्क्रिय छन् । लेख्न, पढ्न सक्दैनन् । कनिकुथी बोल्छन् । हिँडडुल गर्न पनि सहारा चाहिन्छ । राईको पहिलो कृति सन् १९६१ मा विपना कतिपय प्रकाशित भयो । सन् १९५८ मै लेखिसिध्याएको उपन्यास आज रमिता छ १९६४ मा मात्रै प्रकाशित भयो । उनको पछिल्लो कृति सम्पूरक हो । सन् ’६० को दशकतिर तेस्रो आयाम र त्यसपछि लीला लेखनजस्ता आयामको कमान्ड सम्हालेका राईसँगको संक्षिप्त कुराकानी : 

कसरी बित्छ दैनिकी ?
लेखपढ गर्न छाडेको तीन–चार वर्ष भयो । आँखाको समस्या बढेर गयो । बेलैमा होस पुर्‍याउन सकिएन । अहिले हत्तपत्त मान्छे देख्दिनँ । देखे पनि चिन्न सक्दिनँ । ओछ्यानमा पल्टिएरै बित्छ दिन–रात । 

कति वर्ष बिताउनुभयो साहित्य सेवामा ?
सानै उमेरमा यो क्षेत्रप्रति आकर्षण बढ्यो । लेखनीमा लागेँ । धेरै दु:ख–भुक्तमान बेहोरियो । हाम्रो जमाना अहिलेजस्तो थिएन । अहिले त कसलाई दु:ख छ ? साहित्य लेखनीमा ७५ वर्ष बितिसक्यो । अब त लेखपढ गर्ने साहस पनि छैन । सम्झने शक्ति पनि छैन ।   

नेपाली साहित्य कता गइरहेको छ ?
नेपाली साहित्यले बाटो बिराउँदै गएको छ । नेपाल, दार्जीलिङ, गान्तोक, असम यी सबै क्षेत्रको साहित्य गोलबद्ध भएर, मिलेर एकैतर्फ बढेको भए नेपाली साहित्य फस्टाउँथ्यो । तर, त्यो ऐक्यबद्धता नेपाली साहित्यमा देखिन्न । गान्तोक आफ्नो बाटो हिँड्दै छ । गुवाहाटीको बाटो आफ्नै छ । दार्जीलिङ र काठमाडौँका बाटाहरू पनि फरक–फरक छन् । नेपाली साहित्य बाटोमै अलमलिइरहेको छ । बाटो बिर्सिएका छौँ, कता हो कताजस्तो भएको छ ।

नेपाली साहित्य कस्तो लेखिँदै छ ? 
पढ्न–लेख्न नसकेको थुप्रै समय भइसक्यो । पछिल्लो पुस्ताको लेखनी राम्रै छ रे भन्ने सुनेको छु । तर, दार्जीलिङमा चाहिँ खस्किएको छ साहित्य लेखन । पहिला दार्जीलिङले सोचेपछि मात्रै नेपालले सोच्छ भनिन्थ्यो । अहिले समय उल्टिएको छ । 

नेपाली साहित्यको कमजोरी के देख्नुहुन्छ  ? 
नेपाली साहित्यको विकासका लागि धेरै विषयमा छलफल हुन सकेकै छैन । साहित्यमा कुनै विषयको छिनोफानो गर्नका लागि एनालाइसिस र सिन्फोसिस यी दुइटा कुरा आवश्यक पर्छ ।  एनालाइसिस मात्रैले पनि हुँदैन । सिन्फोसिस पनि उत्तिकै चाहिन्छ ।  

पछाडि फर्किएर हेर्दा जीवन कस्तो लाग्छ ?
उपन्यासजस्तो लाग्छ । नाटकजस्तो लाग्छ । अघि आफूले आफ्नो बेलालाई आफ्नै प्रकारले बुझेको, आफ्नै प्रकारले आनन्द मानेजस्तो लाग्छ । अब फर्किएर हेर्दा त्यो सम्झना मात्रै फर्केर हेरेजस्तो हुन्छ । वास्तवमा  सम्झनाले झुक्याउँदो रहेछ ।  जब सम्झना गरेर आफ्नो विगतलाई हेर्छौं, विगत साँचो रूपमा जस्तो थियो, यथावत् त्यो विगत सम्झन सक्दैनौँ । 

प्रकाशित: चैत्र ४, २०७३