[अनुभूति] हराएका होल्डन

  • मन परेको पात्रसँग दोस्ती बढाउन मलाई खुब मन पर्छ । उनीसँग बोल्न, घुम्न र घरीघरी रोमान्टिक गफ गर्न झन् मीठो लाग्छ । होल्डनीय यात्रामा उनीसँगै आफू पनि यात्रिन थालेको पत्तै भएन ।

- कुमारी लामा

सन् २०१३ को कुनै एक घमाइलो दिन भेटिएका हुन् स्यालिन्जर । उनै जेडी स्यालिन्जर । क्याचर इन द राइवाला स्यालिन्जर । भेट्ने कुनै तिर्सना–चाहना बेगरै भेटिएका हुन् उलिच (दक्षिण–पूर्वी लन्डन) पुस्तकालयको सेल्फमा । कुनै पुस्तक खोज्ने क्रममा नजर पर्‍यो खिनौरो पुस्तकमा अनि नामैले तानिइगएँ । छाड्न मनै भएन । 

बिनायोजना यसै गरी भेट भएथ्यो नवाल एल साद्वीसँग पनि । रेकोमेन्डेसन सेक्सनमा आँखा डुलाउँदै गर्दा नजर परिगयो ब्यान्ड इन अरेबियन वल्र्ड लेखिएको पुस्तकमा । उत्सुकता चुलिइगयो पुस्तक उठाउने । कहिल्यै नसुनेको नाम नवाल एल साद्वी, इजिप्सियन लेखिका । यसरी हात परेथ्यो त्यो द नोबल नामक उपन्यास । पुस्तकालय वास्तवमै एक जमघटस्थल रहेछ । अचानकै भेटिन्छन् अजनवी लेखकहरू अनि भइदिन्छन् एकाएक परिचित र आत्मीय । 

उत्सुकताको आवेगमा भित्र्याएकी थिएँ स्यालिन्जरलाई मोरो चार्लटनको बक्स रुममा । तर, लन्डनको चटारोको बेवास्ता सहँदै बसिरह्यो त्यो खिनौरो पुस्तक निकै समय टेबलमा । थाकेको शरीरले पुस्तक पल्टाउने जाँगर बटुल्नै सकेन केही हप्ता । घन्टे हिसाबको काम र सक्नुपर्ने युनिभर्सिटीको असाइन्मेन्ट भयो सायद बाधक । जब एक सप्ताहन्तमा अल्छे औँलाहरूले पल्टायो पाना र डुल्न थाले नजर पहिलो पानामा, तब मीठो धक्का दिइगयो । पहिलो हरफबाटै सुरु भइगयो कम्पन । कन्फेसनल बेपर्वाह बोली त्यो पात्रको । चुम्बकले तानेझैँ भइगयो । सायद यस्तै भएथ्यो र तानिएथेँ कामुको आउटसाइडरका सुरुआती हरफहरूले पनि । ती पात्र बेवास्ताको पनि हद बोलिदिन्छन् :

मेरी आमा मरिन् । आज या हुन सक्छ हिजो, मलाई थाहा छैन । 

आफ्नै आमाको मृत्युप्रति पनि यति दोधार ? क्या अजीव मनस्थिति ! त्यस पात्रको चरम अराजकताले नै सुरुआत गरेको हो कामुसँगको मेरो क्रस र पछि बदलिएको हो, पर्मानेन्ट अफेयरमा । 
धनी बाबुका छोरा होल्डन किन विचलित छ ? किन भौँतारिबस्छ ? 

सायद नबुझिने छटपटी छताछुल्ल छ मनभरि । हामीलाई पनि हुन्छ यस्तै कहिलेकाहीँ । नबुझिने पीडाले दुखाइरहन्छ । उनलाई पनि त्यस्तै केही भएको छ । कतै भागुजस्तो, कतै हराएजस्तो । मन अडिनै नसकेको अवस्था छ उनको । त्यही दोधारे मन लिएरै होस्टलबाट भाग्छन् । लुक्दै–भाग्दै बहिनी फोबिलाई भेट्छन् । आफैँ फुच्चे छन्, फेरि बहिनीलाई गजबले सम्झाउँछन् । उनको व्यवहार देखेर म अवाक् हुन्छु । झन् बढी आकर्षित हुन्छु उनीप्रति । पात्रसँगको यो जिन्दगी । आफैँ अचम्ममा छु । 

पछ्याइरहन्छु उनको रात्रिकालीन न्युयोर्क यात्रा । उनले चक्कर लाएका बार र पबहरूको झिलिमिलीमा म पनि सामेल छु । कतै मस्तिष्कमा छ ठमेलीय रात्रिकालीन यात्रा मेरो पनि । मादक भइदिन्छन् साँझमा ठमेलका गल्लीहरू । उनको सहरसँग म मेरो सहरको सम्झना मिसाउँछु र अझ बढी रोमाञ्चित हुन्छु । विचित्रको आत्मीयता देखाउँछ होल्डन, ट्याक्सी ड्राइभरदेखि कलगर्लसम्मलाई । ती कलगर्लसँग केही नगरी रातभरि गफ गर्न चाहन्छु । सायद त्यही स्वभाव, जसले मलाई उरन्ठेउले होल्डनको फ्यान बनायो । 

ठ्याक्कै समय र मिति ख्याल नभए पनि स्यालिन्जरसँगको सामीप्य लन्डनको सुन्दर समरकै समय भएको हो । अझ याद छ, त्यस बखत पार्कहरू भरिभराउ थिए ड् याफोडिलले  । समरको न्यानोमा झुमिरहेका मानिसहरूको बाक्लै झुन्ड भेटिन्थे प्रत्येक पबका रंगीन माहोलमा । त्यस बखत म भने च्यापी हिँड्दै थिएँ होल्डनलाई ग्रिनिच कटिसार्क वरपर । 

पढ्दै जाँदा थकथक बढ्दो थियो । किन पहिले नै फेला परेन यो किताब ? 

नारायण ढकाल र गोविन्द वर्तमानसँग अलि पहिले नै भेट भएको भए सायद छोटिन्थ्यो होला यो भेटको दूरी । खैर, भेट्नुपर्ने सही समयमा नै भेटेँ हुँला । विदेशका बेढंगका कामहरूसँगको रस्साकसीबीच फुत्त भाग्न सक्ने ठाउँ भन्नु नै पुस्तक त थियो मेरा लागि । हप्तादिनको थकान मेटाउन हाजिर थिए पुस्तकालय र पब । अकस्मात् भेटिएका होल्डन मेरा प्रिय बनिगए । 

मन परेको पात्रसँग दोस्ती बढाउन मलाई खुब मन पर्छ । उनीसँग बोल्न, घुम्न र घरीघरी रोमान्टिक गफ गर्न झन् मीठो लाग्छ । होल्डनीय यात्रामा उनीसँगै आफू पनि यात्रिन थालेको पत्तै भएन । समलिंगी अंग्रेजी शिक्षकबाट भाग्दाको पल होस् या बहिनीलाई भेट्न जाँदा लुकेर चुरोट पिएको समय, म पनि त उनीसँगै थिएँ ।

पात्रसँगको यात्रा अजीबको हुँदो रै’छ । एकतर्फी । पाठक मात्रै पछि लागिरहनुपर्ने । तर, मन परेपछि के लागोस् † म होल्डनको पछि लागिरहेँ । ट्रेन स्टेसनमा भेटिएकी ननलाई जब उनी कफी अफर गर्छन्, तब त्यो सिन पर्मानेन्ट् ली बस्छ मेरो मनमा । एउटा भौतारिइहिँडेको टिनएजरको अग्लिदै गरेको चेतना र उदार दिलको अघिल्तिर म नतमस्तक भइजान्छु । उनका यस्तै चरित्रले उनी झन् बढी प्यारो लाग्न थाल्छन् । लाग्छ, उनको यात्रा चेतनाको यात्रा थियो । युवकीय अन्योल चिर्दै स्पष्टतातिर लम्कँदै गरेको यात्रा थियो । बिस्तारै उनी एउटा उरन्ठ्उले ठेट्नाबाट जीवन जगत्लाई राम्ररी नियाल्न सक्ने युवामा परिणत हुँदै थिए । 

लाग्यो, उनै त हुन् मैले खोजेजस्तो जीवन्त पात्र । मनमनै मैले उनलाई आफ्नो बनाएँ । सायद आफ्नो ठानेर उलिच लाइब्रेरीको नियम अवज्ञा गर्ने संकल्प गरेँ । तीन हप्तामा बुझाउनुपर्ने पुस्तक निकै महिनासम्म मेरो टेबलमै सुस्ताइरह्यो । अन्तत: मैले त्यो फुच्चे पुस्तक पुस्तकालयमा फिर्ता नगर्ने दृढ निर्णय लिएँ । पुस्तक चोर बन्न म मानसिक रूपमा नै तयार भइसकेकी थिए । जीवनकै पहिलो चोरी । एक मन त बहुत संकोच मान्दै थियो । तर, अर्को मन भन्दै थियो, किताबै त हो चोरेको, के सारो डराउनु हौ । त्यसपछि एकपटक मायाले सुम्सुमाएर थपक्कै राखे सुटकेसको सबैभन्दा भित्री गोजीमा । 

देश फिर्नुअघि केही पटक लाइब्रेरीको अघिल्तिर हिँड्नुपर्दा एकाएक रनक्क भएका थिए कान । म सकेसम्म त्यतातिर नहेरी फटाफट लम्कन्थेँ गन्तव्यतिर । लुकी चोरी हिँड्ने दिन धेरै थिएन । त्यसैले पनि म ढुक्कै थिएँ । मात्र डर थियो रोयल मेलका रातो झोलाबाट फुत्त झर्ने हो कि लाइब्रेरीको कुनै पत्र । तर, त्यसो भएन । म जोगिएँ । अन्तत: सन् २०१३ को चिसिँदै गरेको एक अपराह्न म न्यानो मन बोकी हानिएँ हिथ्रो विमानस्थल । अर्को दिन त म मात्र होइन, मसँगै मेरो प्रिय पात्र भएको क्याचर इन द राइ पनि भित्रिएको थियो मेरो देश । 

मन परेको पुस्तक चोरेरै भए पनि आफ्नो बनाउन पाएकामा म उसै उसै मख्ख थिएँ । उलिच लाइब्रेरीको विशाल फिक्सन सेल्फमा भएको पुस्तक अब मेरो फुच्चे दराजको शोभा भएको थियो । अन्य धेरै पुस्तकसँगको भन्दा भिन्न न्यानोपन महसुस गराइरह्यो यस पुस्तकले । दिनमा कम्तीमा दुई–चार पटक नजर परेकै हुन्थ्यो दराजमा । निकै पटक पढेकी हुँ होल्डनको कल्पना । उनी जौ बारीमा खेलिरहेका हजारौँ बेपर्वाह बच्चाहरूलाई भीरबाट लड्न नदिन कतैबाट फुत्त आएर समात्ने चाहना राख्छन् । उनी जोगाउन चाहन्छन् अन्धाधुन्द दौडिरहेका केटाकेटीलाई । उनको किशोरावस्थामै फक्रिएको चेतनाका कारण अझ बढी मन पराउन थालेकी छु होल्डनलाई । 

तर, मेरो बुक सेल्फबाट एकदिन अचानकै गायब हुन्छ यो किताब । निकै खोजतलासमा लाग्छु तर पटक्कै भेउ छैन । निकै समयसम्म बितेका दिन रिकल गर्दा एउटा पात्रप्रति संशय उब्जिन्छ । उनी गाढा मित्र नभए पनि एक साँझ हुरीबताससरि छिरेका थिए मेरो घर । म चिया बनाउन केही समय छेलिएकी थिएँ । लाग्छ, त्यही समय भयो उनका लागि सुन्दर मौका मेरो मन परेको पुस्तकतिर नजर डुलाउन र खल्तीको एक कुनामा झट्ट घुसाउन । 
(मात्र शंका ।) 

उनीसँगको भलाकुसारीमा भुलिएँ त्यस बखत । जब नजर पर्‍यो दराजमा, तब पुस्तक गायब । मन चिसो भयो । अनौठो संयोग भनौँ, त्यस दिनपछि ती मित्र पनि गायब भए । सामाजिक सञ्जालको कडा निगरानीमा पनि उनी कतै ओझेलिएका छन् । कसरी हुन सक्छ कोही यसरी अलप ? म छक्क पर्छु । तर, न उनी आए, न मेरो पुस्तक भेटियो । आफ्नो बनाउँछु भनी उत्ति टाढाबाट लाइब्रेरीलाई छक्याएर ल्याएको पुस्तक अन्तिममा मेरो भएन । 

यतिखेर लाग्दै छ, जति नै आफ्नो ठाने पनि हराइजाने रै’छन् सबै । सायद आफूसँग रहने भन्नु आफैँ मात्र हो । 

प्रकाशित: चैत्र ४, २०७३