मधेस मानसिकताको मापन

  • मधेस किन असन्तुष्ट बन्यो र एक दशकभित्र तीन–तीनवटा आन्दोलनको बलिवेदीमा होमियो ? यसको चर्चा लेखकले पुस्तकमा गरेका छन् ।

- सीताराम बराल

संघीयतालाई मूल मुद्दा बनाएर एक दशकदेखि निरन्तर आन्दोलित छ, नेपालको दक्षिणी भूभागमा बसोवास गर्ने मधेसी समुदाय । आन्दोलनका पक्ष–विपक्षका स्वरले पहाड–मधेसबीचको मानसिक दूरी धेरै बढिसक्यो, मध्यमार्गी बाटो पहिल्याएर यो मानसिक दूरी घटाउन निकै मुस्किल हुँदै गएजस्तो देखिँदै छ । यसले मधेसमा विखण्डनकारी सोचलाई बढावा दिएको छ । र, यस्तो सोचको प्रतिरोध गर्ने शक्ति कमजोर हुँदै गएको छ । 

तराई–मधेस र पहाडलाई एकअर्काको परिपूरकका रूपमा स्थापित गर्न सकियो भने मात्र तराईमा फैलिँदो विखण्डनकारी विचार कमजोर हुँदै जान्छ । पत्रकारिता र राजनीतिमा समानान्तर रूपमा सक्रिय राम रिझन यादव यही काम गर्न कस्सिएका छन्, ब्ल्याकआउट पुस्तकमार्फत । मधेसीहरूका लागि तराई–मधेस इज्जत, प्रतिष्ठा र पहिचान भएको बताउँदै यादवले नेपाललाई मधेसीहरूको सानका रूपमा अथ्र्याएका छन् । र, दुई समुदायबीचको एकताले मात्र नेपाल बलियो हुन सक्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । 

यादव सुरुमै लेख्छन्, ‘तराई–मधेस चाहँदैन कि, उसको भूमिमा तमिल टाइगर, बोडो, भिन्डरवाले र नागा जन्मोस् । खम्पाहरूको जस्तो विद्रोह पनि तराई–मधेस चाहँदैन । तराई–मधेस शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्छ । यहाँसम्म कि, सुगौली सन्धिको परिधिलाई समेत नाघ्न चाहँदैन । ऊ आफ्नो सगौरव प्राप्त भूमिलाई देशको हकमा प्रयोग, उपयोग तथा सदुपयोग गर्न चाहन्छ ।’ मुलुकप्रति मधेसीहरूको निष्ठामा प्रश्न उठाउने र मधेसलाई नेपालबाट अलग्याउन खोज्नेहरूका लागि यादवको यो दृष्टिकोण चोटिलो जवाफ हो । 

मधेस किन असन्तुष्ट बन्यो र एक दशकभित्र तीन–तीनवटा आन्दोलनको बलिवेदीमा होमियो ? यसको चर्चा पुस्तकमा उनले गरेका छन् ।  राज्यसत्तामा बस्नेहरूको एकलकाँटे राष्ट्रियताको अभ्यासले मधेसको आन्तरिक औपनिवेशीकरणको प्रक्रिया झन् तीव्र भएको र त्यसैको जगमा तराई–मधेसमा असन्तुष्टि देखिएको ठम्याइ छ उनको । मधेस समस्या बुझेर समाधान खोजिनुपर्नेमा दमनकारी र विखण्डनकारी सोचले समस्या बल्झाउँदै गएकामा लेखक दु:खी देखिन्छन् । 

तीन खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा विगत एक दशकभित्र तराई–मधेसमा भएका तीनवटा आन्दोलनको चर्चा छ । यो खण्डको मूल उद्देश्य आन्दोलनमा भएका दमन र सहादत प्राप्त गर्नेहरूको परिचय प्रस्तुत गर्नु हो । आन्दोलनकारीमाथि सत्ताले निर्मम दमन गरेको कुरा शब्द र तस्बिर दुवै माध्यममार्फत पुष्टि गर्ने प्रयास गरेका छन् । २५ भदौ (०७२) मा जनकपुरमा आन्दोनकारी नीतु यादवको पहिले हात मर्काएर भाँचिएको र त्यसपछि टाउकोमा गोली दागेर हत्या गरिएको सचित्र वर्णनले देखाउँछ, आन्दोलन नियन्त्रणका लागि खटिने सुरक्षाकर्मीले आफ्नो कार्यशैलीमा आमूल परिवर्तन गर्नु जरुरी छ ।

दोस्रो खण्डमा मधेस आन्दोलनका क्रममा उनले लेखेका समसामयिक लेख र तेस्रो खण्डमा राज्यले मधेसी पक्षसँग गरेका र मधेससँग सम्बन्धित विभिन्न ऐतिहासिक सन्धि–सम्झौता छन् । पुस्तकको सबल पक्ष के हो भने मधेस आन्दोलनको चर्चा गर्ने क्रममा आन्दोलनको अग्रमोर्चामा रहेका जिल्लाको राजनीतिक इतिहाससमेत प्रस्तुत गरिएको छ । 

पुस्तकको केन्द्रविन्दु मधेस आन्दोलन भए पनि संघीय प्रदेश निर्माणका क्रममा कर्णालीलगायतका क्षेत्रमा भएका आन्दोलनलाई पनि उनले पुस्तकमा स्थान दिएका छन् । कैलालीमा भएका परस्पर विरोधी थारूवान प्रदेशका पक्षधर र अखण्ड सुदूरपश्चिम पक्षधरको आन्दोलनलाई उनले छुटाएका छैनन् । आन्दोलनमा उत्रिएका दुवैथरी भावनालाई पुस्तकमा स्थान दिए पनि लेखकले आफूलाई थारूहरूको असन्तुष्टि सम्बोधन हुने गरी छुट्टै अर्काे एउटा प्रदेशको पक्षमा स्पष्टसँग उभ्याएका छन् ।

जब कुनै राजनीतिक आन्दोलन हुन्छ र त्यो आन्दोलनबारे केही लेखिन्छ, त्यो लेखोट पक्षमा होस् वा विपक्षमा– त्यसमा आक्रोशको बोलवाला हुन्छ, न कि विवेक र सन्तुलनको । यादव आफैँ मधेस आन्दोलनका एक सक्रिय सहभागी हुन् । त्यसैले उनको पुस्तकमा पनि विवेक र सन्तुलनभन्दा आक्रोश र नारा बढी छ । 

आन्दोलनकारीबाट भएको ज्यादतीलाई सरकारी दमनले निम्त्याएको भन्दै त्यसलाई स्वाभाविक घटनाका रूपमा प्रस्तुत गरेका छन् लेखकले । जस्तो : २४ भदौ (०७२)मा महोत्तरीमा सशस्त्र प्रहरी असई थमन विकलाई आन्दोलनकारीहरूले लखेटेर अत्यन्त निर्ममतापूर्वक हत्या गरे । विकको त्यो निर्मम हत्यालाई लेखकले अघिल्लो दिन भएको तीन जना आन्दोलनकारीको मृत्युपछि सिर्जित भनेर सामान्यीकरण गर्न खोजेका छन् भने प्रहरीबाट भएको दमनलाई चाहिँ तालिवानी र इस्लामिक स्टेट (आईएस) शैलीका रूपमा चित्रित गरिदिएका छन् । 

‘संस्थागत सहयोग’ र ‘साधारण सहयोग’ भन्दै पुस्तकको मूल्य क्रमश: दुई हजार रुपियाँ र १ हजार २ सय ५० रुपियाँ तय गरिएको छ । ‘ग्लोसी पेपर’को प्रयोग र रंगीन छपाइका कारण पुस्तकको मूल्य बढेको हो भन्नेमा शंका छैन । कागज र छपाइमा खर्च गर्नुभन्दा सम्पादनमा थोरै खर्च गरेको भए पुस्तकको वजन बढ्ने थियो । तैपनि, मधेस आन्दोलन र मधेसको मानसिकता बुझ्न खो ज्नेका लागि पुस्तक संग्रहणीयचाहिँ छ । 

ब्ल्याकआउट 

लेखक    :    राम रिझन यादव

प्रकाशक    :    लाल मधेस मासिक

पृष्ठ    :    ४६०

प्रकाशित: चैत्र ४, २०७३