फेरि लर्काे भारततिरै

  • जंगलमा जडीबुटी पाउन छाडेपछि ६ गाविसका चार हजारभन्दा बढी विदेशिए

- वसन्तप्रताप सिंह

चैनपुर (बझाङ) ।। कैलाश गाविसका पृथ्वी सिंह १० वर्षको उमेरदेखि मजदुरीका लागि भारत जान थालेका हुन् । जीवनका झन्डै ४३ वर्ष ६ महिना भारतको मजदुरी र ६ महिना घरको काम गर्दै बिताएका उनले ०६७ देखि भने भारत जानुपरेको थिएन । कारण थियो, जडीबुटी टिपेर हुने आम्दानी । 

गाउँघरकै जंगलमा पाइने सतुवा, लोक्ता, चिराइतो, गदाल्नु, पदमचाल, रातोच्याउ आदि जडीबुटी बेचेर उनको परिवार वर्षको करिब चार लाख रुपियाँ कमाउँथ्यो । १२ जनाको परिवारका लागि सबै पुगेसरि थियो । खाइवरी बचेको पैसाले पहिलाको सानो झुपडी भत्काएर सबैलाई पुग्ने ठूलो घर बनाउन भ्याए । घर–परिवारसँगै बसेर दुई छाक टार्न र नुनतेल चलाउन कसैलाई हात थाप्नुपर्ने अवस्था थिएन । बचेको रकम जम्मा गरेर गाउँमै थप जग्गा जोड्ने र व्यावसायिक खेती गर्ने सोचमा रहेका उनको समृद्धि ६ वर्ष पनि टिक्न सकेन । 

“आधा जीवन अर्काको देशमा बिताएँ । अब त घरमै बसेर पनि गुजारा चलाउन सकिन्छ जस्तो लागेको थियो,” १८ फागुनमा छोरासहित सात वर्षपछि भारत हिँडेका ६२ वर्षीय पृथ्वीले लाचारी व्यक्त गरे, “जंगलमा जडीबुटी नै पाउन छोड्यो । परिवार पाल्न केही त गर्नुपर्‍यो भनेर भारत जान लागेको ।”
१८ फागुनमै रिलु गाविसकी चाम्ली जेठारा, ६५, करिब ६ घन्टा हिँडेर बुहारी र नाति–नातिनीलाई गाउँकै एक आफन्तको साथ लाएर भारत पुर्‍याउन बसपार्क आएकी थिइन् । गत वर्ष भारतको बैंग्लोर गएका उनका छोराले बुहारीलाई पनि नाति–नातिनीसहित उतै बोलाएपछि अब उनी घरमा एक्ली भएकी छन् ।

“मर्ने बेला छोराबुहारी र नाति–नातिनीको मुख हेर्न पाइने हैन कि भन्ने चिन्ताले पिरोल्छ,” गहभरि आँसु पार्दै उनी भन्छिन्, “कुन दैवले गरिब बनायो होला । मर्ने बेला पनि छोराछोरीसँग छुट्टिनुपर्ने ?”

१८ फागुनमा मात्र बझाङ बसपार्कमा यस्ता दर्जनौँ दृश्य देखिरहेका थिए । कोही भर्खरै विवाह बन्धनमा बाँधिएका युवतीहरू श्रीमान्को बिदाइमा आँसु झार्दै थिए । कोही आमाबुबाहरू पहिलो पटक मुग्लान जान लागेका आफ्ना स्कुले उमेरका केटाकेटीको वियोगमा रुँदै थिए । बझाङबाट महेन्द्रनगर जाने महाकाली यातायातका दुइटा र बाह्रसिंगा यातायातको एउटा बस यस्तै भारत जाने यात्रुले भरिभराउ थिए । 

जंगलमा पाइने विभिन्न खाले जडीबुटी महँगो मूल्यमा बिक्री हुन थालेपछि विशेष गरी ०६४ यता बझाङबाट भारतमा मजदुरी गर्न जानेहरूको संख्या घट्न थालेको थियो । गाउँ नै खाली गरेर भारततर्फ मजदुरी गर्न जाने सुर्मा, दौलीचौर, काँडा, कैलाश, रिलु, मेलबिसौना, दाँतोला, मष्टा, भातेखोला, कोटदेवल, दहबगर, भामचौर, कफलसेरी, देउलीकोट, पाराकाट्नेलगायत अधिकांश गाविसका बासिन्दाको लर्काे जंगलतिर लाग्थ्यो । घरको खेतीपाती सकिएपछि दुई–चार महिना जंगलमा टिपेको जडीबुटीले वर्षभरिको खर्च चल्थ्यो । मष्टाका कर्ण कठायत भन्छन्, “हाम्रो गाविसबाट झन्डै आठ वर्षसम्म त एक जना पनि भारत जानुपरेको थिएन । अहिले जंगलको जडीबुटी सकिएपछि गाउँमा लोग्नेमान्छे नै देखिन छाडेका छन् । कतिपय त परिवारसहितै भारततर्फ लागेका छन् ।” 

परिवारका पुरुषहरू भारत गएपछि यहाँका महिला तथा बालबालिकामा घर–परिवार चलाउने मात्र होइन, सम्पूर्ण सामाजिक जिम्मेवारीहरू पनि थुप्रिएका छन् । “गाउँमा पुरुषहरू नै छैनन् । हलो जोत्ने र मल बोक्ने काम छोराले गर्छ,” कैलाश गाविसकी अप्सरा सिंह १२ वर्षीय आफ्नो छोरातिर देखाउँदै भन्छिन्, “अरू काम म नै गर्छु । खेताला खोजे पनि मान्छे भेटिँदैनन् ।”

बझाङबाट कति मानिस भारत गएका छन् भन्ने यकिन तथ्यांक कुनै पनि निकायसँग छैन । यद्यपि, जिल्लाबाट यसै वर्ष करिब ३० हजारको हाराहारीमा मानिसहरू भारततर्फ पसेको अनुमान छ ।

आप्रवासनको क्षेत्रमा काम गर्ने एक संस्था सामाजिक तथा प्राविधिक विकास सेवा समूहले जिल्लाका ६ गाविसमा गरेको सर्वेक्षणबाट ती गाविसका चार हजारभन्दा बढी मानिस यस वर्ष भारत गएको पाइएको उक्त संस्थाका टिम लिडर कलक खत्री बताउँछन् । यसरी मानिसहरू भारततर्फ जाँदा महिलाहरू असुरक्षित हुने, विकास निर्माणका काम प्रभावित हुने, स्कुले उमेरका बालवालिकामा कार्यबोझ थपिनेजस्ता असर देखिएको छ । 

जडीबुटीले यहाँका भारत जाने युवाहरूको लस्कर मात्रै रोकेको थिएन, दुर्गम र गरिब मानिने सुर्मा, दौलीचौर, काँडालगायतका दर्जनभन्दा बढी गाविसका बासिन्दाको जीवनशैलीमा नै कायापलट गरिदिएको थियो । यार्सागुम्बा, कटुकी, वन–लसुन, सतुवाजस्ता महँगो मूल्यका जडीबुटीको बिक्रीबाट हिमाली गाविसका बासिन्दाको प्रतिपरिवार वार्षिक आम्दानी ५० लाख रुपियाँसम्म हुने गथ्र्याे ।
“जडीबुटीले गाउँको अनुहार नै फेरेको थियो । दुई छाक राम्रोसँग खान नपाउनेहरूले पनि सदरमुकाम र तराईमा घर बनाए । छोराछोरी काठमाडाँैका निजी स्कुलमा भर्ना गरे । कल्पना नगरेको आम्दानी भयो,” काँडाका गोरख बोहरा भन्छन् । तर, अब जडीबुटी पनि सकियो । धेरैजसो पुरानै अवस्थामा फर्किन थालेका छन् । कतिपयले सदरमुकाम र तराईका जिल्लामा जोडेको घर–जग्गासमेत बेचेर घरखर्च चलाइरहेका छन् । 

जडीबुटीकै कारण आठ वर्षको अवधिमा झन्डै एक हजार गुणाले बढेको सदरमुकाम चैनपुर र आसपासका क्षेत्रको जग्गाको मूल्यसमेत घट्न थालेको छ । कतिपयले काठमाडौँ र अन्यत्र पढ्न पठाएका छोराछोरीको खर्च धान्न नसकेर उनीहरूलाई फर्काएका छन् । उनीहरू गाउँ र सदरमुकामका विद्यालय र क्याम्पसमा भर्ना भएको दौलीचौर गाविसका गणेश बोहरा बताउँछन् । उनकै गाउँका १० भन्दा बढीले सदरमुकाममा घर बनाउनका लागि जग हालेको करिब चार वर्ष भए पनि जडीबुटी पाउन छाडेको र पाएको पनि कारोबार न्यून हुँदा घर निर्माण पूरा गर्न नसकेको र बेच्ने मनस्थितिमा पुगेको बोहराको भनाइ छ । 

एक समय वार्षिक चार अर्ब रुपियाँसम्मको जडीबुटी निकासी हुने गरेकामा अहिले घटेर वार्षिक ९० करोड रुपियाँमा झरेको स्थानीय जडीबुटी व्यापारी शेरबहादुर बोहरा बताउँछन् । भन्छन्, “पहिलाको तुलनामा जडीबुटीको व्यापार निकै घटिसकेको छ । धेरैजसो जडीबुटी नै पाउन छाडेकाले यसको कारोबार घटेको हो ।” 

अन्धाधुन्ध दोहन

प्रतिकिलो १० देखि १५ हजार रुपियाँसम्ममा बिक्री हुने वन–लसुन, पाँचदेखि सात हजार रुपियाँसम्ममा बिक्री हुने सतुवा र यसैको हाराहारीमा बिक्री हुने गुजरगानो, सेतक चिनी, मुस्ली, कटुकी, जटामसी, बज्रदन्तीलगायतका जडीबुटी अव्यवस्थित दोहनका कारण लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका जानकारहरू बताउँछन् । 

०६६ मा ८ हजार ६ सय रुपियाँ प्रतिकिलो निकासी भएको सतुवा ०६७ मा ४ हजार ८ सय ८१ किलो, ०६८ मा २ हजार २ सय २५ किलो मात्र निकासी भएको थियो । जिल्ला वन कार्यालय बझाङको तथ्यांक अनुसार ०७१ मा आइपुग्दा सतुवाको निकासी घटेर १ हजार ५ सय ३० किलोमा सीमित भएपछि ०७२ मा जिल्ला विकास समितिले सतुवाको अस्तित्व नै संकटमा परेको भन्दै यसको निकासीमा नै प्रतिबन्ध लगायो । 

यस्तै ०६९ मा झन्डै चार हजार किलो वन–लसुन निकासी भएको थियो । यो परिमाणको वन–लसुनको तत्कालीन मूल्य चार करोड रुपियाँभन्दा बढी हुन्छ । तर, ०७१ मा आइपुग्दा वन–लसुनको उत्पादन घटेर नौ सय किलो मात्र निकासी भएको जिल्ला वन कार्यालयको तथ्यांक छ । जिल्ला विकास समितिले हाल वन–लसुन संकलनमा पनि प्रतिबन्ध लगाएको छ । 

०६४ यता जिल्लाबाट बर्सेनि २४ देखि ३० प्रकारका जडीबुटी निकासी भइरहेकामा ०७२ सम्म आइपुग्दा यो १२ प्रकारमा सीमित भएको जिल्ला वन कार्यालयको रेकर्डमा उल्लेख छ । “अधिक संकलनका कारण कतिपय जडीबुटीको त बीउसमेत मासिने अवस्थामा पुगेको छ,” जिल्ला वन कार्यालयका सूचना अधिकारी हेमकुमार पाठक भन्छन्, “पहिलाको तुलनामा हेर्ने हो भने सबै जडीबुटीको उत्पादन घट्दो क्रममा रहेको छ ।” 

जडीबुटीको घरेलु खेती गर्ने प्रचलन नहुनु र धेरै ठूलो जनसंख्याले एकै पटक संकलनको अभ्यास गर्दा प्राकृतिक पुन:रुत्पादन प्रणाली नै खलबलिएकाले धेरैजसो जडीबुटीको अस्तित्व संकटमा छ । उत्पादन घट्नुको अर्काे कारण अव्यवस्थित संकलन भएको वनपैदावार संरक्षणको क्षेत्रमा काम गर्ने संस्था सामाजिक विकास केन्द्रका अध्यक्ष सुरतबहादुर सिंहको भनाइ छ । “फल पाकिसकेर झरिसकेपछि संकलन गर्नुपर्ने जडीबुटी उम्रिन नपाउँदै संकलन भयो,” सिंह भन्छन्, “प्रत्येक वर्ष यसो हँुदै गएपछि फल नै फल्न पाएन । अनि, उत्पादन बढ्नुको साटो प्रत्येक वर्ष घट्दै गएको हो ।” अव्यवस्थित र बेमौसमी जडीबुटी संकलन रोक्न नसक्नु नियामक निकाय जिल्ला वन कार्यालयको ठूलो कमजोरी भएको उनको कथन छ । 

बेमौसमी जडीबुटीको संकलनका कारण जडीबुटीको अस्तित्व समाप्त भएको स्वयं संकलकहरू नै स्वीर्काछन् । काँडाका जोवन बोहरा भन्छन्, “बिरुवा जमिनमाथि नआउँदै अन्दाजको भरमा पनि खनेर निकाले । पाक्न नपाई प्रत्येक वर्ष निकालेपछि माटोको फल न हो, कति दिन टिक्थ्यो र ?”
 

प्रकाशित: चैत्र ४, २०७३