वनझाँक्रीको प्रकोप

- हस्त गुरुङ

डलर, युरो, क्रोनर, स्वीस फ्र्याङ्क, पाउन्ड स्टर्लिङ र भारतीय रुपियाँको ‘क्लाउड ब्रस्ट’ भएर धनको ओइरो लागेको दिव्य २० वर्ष (विसं ०४६–०६६) भयो । यसबीच एनजीओ/आईएनजीओमार्फत बाँडिएको धन सोहर्न रातारात द्वन्द्व विशेषज्ञ, शान्ति विशेषज्ञ, नव इतिहासकार, नव समाजशास्त्री र सामाजिक सहजकर्ता बने । नव धनाढ्यमा परिणत भएका ती विशेषज्ञ र ‘रिसोर्स पर्सन’ (स्रोत व्यक्ति)हरूलाई आज वनझाँक्रीको प्रकोपबाट देश र नागरिकहरू कसरी पीडित हुन्छन् भन्ने कथा सुनाउँछु । 

कथा शोकाकूल सप्तरीको त्यही मलेठ गाउँबाट सुरु गर्छु, जहाँ शान्ति स्थापना गर्ने बहानामा प्रहरीले अन्धाधुन्ध गोली चलाएर मरण–शोक उत्पन्न गरेको छ । मलेठ नेपालकै शान्तमध्येको अति–शान्त गाउँ थियो । जहाँ विदेशी धन वर्षाको दिव्य २० वर्षको समयमा अनेकन् गोष्ठीको प्रकोप चल्दा पनि कोही समाजशास्त्री र विशेषज्ञ कहिल्यै पुगेनन् । 

हे विद्वान् र विदुषीहरू हो † सप्तरीको मलेठ गाउँ साँचो अर्थमा शान्त गाउँ थियो । तर, त्यहाँका बासिन्दाले तपाईंहरूलाई स्वागत गर्न पाएनन् । तपार्इंहरू त सहरका होटलका परिकारका पारखी हुनुहुन्छ । त्यसैले कोसी ब्यारेज बनेदेखि बाढी र सुक्खाको प्रकोप भोगिरहेको मलेठ गाउँतिर तपाईंहरूका द्वन्द्व विशेषज्ञता, शान्ति विशेषज्ञता र समाजशास्त्रीय विशेषज्ञताका थोत्रा कार्यपत्रको कर्कश वाचन हुन सकेन । नयाँ राजनीतिका पोङ्गा पण्डितहरू पनि पुग्न नसकेकाले त्यहाँ २० वर्षको धनवर्षाकालमा पनि कौडी पुग्न सकेन । 

राजविराजदेखि रूपनी जाने सडक किनाराका मलेठसहितका बासिन्दाहरू ‘पेटभर–दिनकटा’ संस्कृतिमा बाँचेका थिए । उनीहरू वर्षको आठ महिना रोजगारका लागि दिल्ली, पन्जाब धाउँथे । वर्षाकालमा जलभरण र खेतीबालीमा बालुभरणले पीडित हुने त्यस गाउँमा युवा स्वरोजगार कोषको रकम पनि पुगेन । गर्मीयाममा जमिनबाट तप्त राप निस्कँदा पनि पेट पाल्न यहाँका बासिन्दा माटोसँग लडिरहेका हुन्थे । तथापि, वर्षको आठ महिना परिवारको पेटपालन गर्न सबैलाई सधैँका लागि धौधौ हुन्थ्यो । हो, यही गाउँमा सञ्जन मेहता र पीताम्बर मण्डल सहिद भए । कोसी तटनजिकैको यो गाउँ अब सहिदको गाउँ बन्यो । 

यहाँ आवश्यकता थियो, कृषिबाली संरक्षण र वातावरणीय प्रतिकूलताबाट बच्न सकिने सजिलो उपायको । तर, आवश्यकताका ज्ञान बाँड्ने विशेषज्ञहरू हाम्रा विश्वविद्यालयले उत्पादन गर्न सकेनन् । त्यसैले मलेठ र मधेसका गाउँहरू निरुपाय थिए । 

कोसीको बाढीले सप्तरीका उब्जाउ क्षेत्रमा बढाएको बालुवाभरणको अध्ययन गर्न भदौ ०५४ मा पत्रकारको हैसियतले त्यस गाउँमा पुग्दा जताततै मलिन अनुहार देखिन्थे । उनीहरू आवाज निकालेर रुन सक्ने अवस्थामा थिएनन् । उनीहरूको गुनासो थियो– ठूलो स्वरले रोएर के गर्नु छ र ? यहाँ कसैले केही सुन्दैन । बरू भान्टाका बोट जोगाउने उपाय पाए हुन्थ्यो । भान्टाले छाक टार्न नसके पनि कम्तीमा भोकचाहिँ टार्छ । धियापुताह (बालबच्चा)हरू रोएको सुन्नु पर्दैन । यी भान्टाका बोटमा फल लागेनन् भने बालबच्चाको रुवाइ थाम्न सकिँदैन । धियापुताह रोएको सुन्न नपरोस् भनेर ऋण–सापटी लिएर भए पनि दिल्ली–पन्जाबतिर जाने रेलको एकतर्फी किराया जोहो गर्नु यहाँका किसानको अर्को लक्ष्य हुन्थ्यो । 

त्यस गाउँमा सरकारले नि:शुल्क बाँडेको जुकाको औषधि पुगेको थिएन । धियापुताहहरू जुकाग्रस्त थिए । पेट भोको भए पनि डम्म फुलेका थिए । शरीर दाउराजस्ता थिए । धेरैजसोका आँखा पहेँला र ओठ सुकेका थिए । नजिकै राजविराजका होटलहरूमा चाहिँ घन्टाको २० हजार रुपियाँ लिने विशेषज्ञहरू नेग्रोल्यान्डको भोकमरी, रोग र गरिबीबारे कार्यपत्र पढेर सुनाइरहेका हुन्थे । श्रावकहरू मन्त्रमुग्ध भएर सुन्थे, विचारमग्न देखिन्थे । वाचन समाप्तिपछि जोडदार ताली पड्काउँथे । किनभने, कार्यपत्र वाचन समाप्तिको प्रतीक्षा गर्नु गोष्ठीको आन्तरिक अनुशासन हुन्थ्यो । 

खासमा बिहानीको ब्रेकफास्ट, मध्याह्नको दिवाभोज र रात्रिभोजको ककटेलको प्रतीक्षामा जसले जे सुनाए पनि गोष्ठीका सहभागीहरूले ध्यान दिएर सुन्थे । सही थापेर ताली पड्काउँथे । त्यति गरेपछि प्लेटमा चुली पारेको व्यञ्जन अगाडि राखेर गरिबी निवारण, द्वन्द्व समायोजन, शान्ति समृद्धिका विषयमा फोकस ग्रुप डिस्कसनमा सहभागी हुन पाउँथे । उनीहरू नेग्रोल्यान्डको गरिबी र द्वन्द्वपीडितहरूप्रति दु:ख व्यक्त गर्थे ।

यसरी विद्वान्हरूले मानिसहरूलाई आफ्नो दु:ख बिर्साउन मद्दत गर्थे र परको दुनियाँका पीडितहरूको शान्तिका लागि प्रार्थना गर्न लगाउँथे । सभाका दृश्यहरू अनौठा हुन्थे । सहभागीहरू एकोहोरो शान्तिध्वनि फुकिरहेका देखिन्थे । लाग्थ्यो, नेपालमा जति मनुवा छन्, ती सबै शान्तिकामी छन् । उनीहरू सबै कार्यपत्र बेचुवाको मन्त्र लागेर शान्त भएका छन् ।

 

सन्दर्भ, हेमलिन नगरको 

गाउँका बूढापाकाका भनाइमा मसान लागे पार पाउन सकिन्छ तर मन्त्र बेच्ने वनझाँक्रीको आँखा लाग्यो भने जिन्दगीभर दु:ख पाइन्छ । वनझाँक्रीको आँखा लागेपछि मान्छे एकोहोरो हुन्छ, आफैँलाई बिर्सेर अनौठा काम गर्छ । त्यसैले उनीहरूको सल्लाह हुन्थ्यो– मसान लागे नआत्तिनु तर वनझाँक्रीको आँखाबाट बच्नु । नत्र, बित्याँस पर्छ ।

पश्चिम मधेसका थारूहरू पनि मसानभन्दा बढी झाँक्री (स्थानीय भाषामा, गुनी)देखि डराउँदा रहेछन् । किन रे भने, मसान त गुनीहरूले खेलाउँछन्, शान्त पनि पार्छन् । तर, गुनी नै रिसायो भने विपतै पर्छ किनभने तिनले पटक–पटक मसान उठाएर हान्न सक्छन् । 

नेपालले पनि वनझाँक्रीको प्रकोप भोगिरहेको छ । त्यसले पटक–पटक मसान उठाएर हानिरहेको छ । त्यो वनझाँक्रीको मसानले १२ वर्षसम्म पहाड रक्ताम्य बनायो । त्यही मसान मन्त्र फेरेर अहिले मधेसमा नाचिरहेको छ । मलेठजस्ता शान्त गाउँलाई शोकाकूल बनाएको छ । अझ कति पीडित हुने हुन्, सोच्दा पनि आङ सिरिंग हुन्छ । 

वनझाँक्रीको वास्तविक खेल अमेरिकाका नामी कवि रोबर्ट ब्राउनिङ (सन् १८१२–१८८९)ले लेखेको ‘पाइड पाइपर अफ हेमलिन’ शीर्षकको एक प्रसिद्ध कविताले राम्ररी बताउँछ । आपत्मा पर्दा उद्धारकको खोजी गर्नु मानिसहरूको सामान्य स्वभाव हो । वनझाँक्रीहरूले यस्तै मौकाको फाइदा उठाउँछन् । उनीहरू इमानदार उद्धारकको रूपमा प्रस्तुत हुन आउँछन् । अचूक समाधानको वचन दिन्छन् । तर, तिनको भित्री उद्देश्य अर्कै हुन्छ । 

सन् १३७६ मा हेमलिन नगरका बासिन्दाहरू मुसा र विषालु कीराको प्रकोपबाट पीडित थिए । मुसाहरू गृहरक्षक कुकुरहरूलाई आक्रमण गरेर भगाउँथे । बिरालाहरूलाई मारिदिन्थे । झोलुङ्गामा सुतेका नानीहरूलाई घाइते बनाउँथे । अनि, मानिस बस्ने घरलाई दुर्गन्धित र विषालु गुँड बनाइदिन्थे । तिनले प्रत्येक नागरिकमा मृत्युको भय उत्पन्न गराइदिए । त्यसपछि नगरवासीले मेयरलाई गुहार लगाए । नगरसभा गरेर मेयरले उपाय निकालेछन्– केही धन खर्चेर भए पनि यो समस्याबाट पार लगाऊँ, कुनै झाँक्री खोजौँ । नागरिकहरू तयार भए । यस्तैमा छिमेकको एक मानिस सभामा उपस्थित भयो ।

त्यसले टुपीदेखि पैतालासम्म ढाक्ने गरी छिर्केमिर्के टालोले बनेको गाउन लगाएको थियो । त्यो छिमेककै उद्धारक हो भनेर चिनियो तर मुहार देखाएन । उसले प्रस्ताव राख्यो– म तपाईंहरूको शान्ति फिर्ता ल्याइदिन्छु, ज्यानमारा मुसा र कीराहरू तह लगाइदिन्छु । सभा सहमत भयो । उसले आफ्नो नाम पाइड पाइपर बतायो र दुष्ट जीवहरूलाई तुरुन्तै नियन्त्रणमा लिने वचन दियो । उसले विश्वभरि शान्तिदायक भूमिका खेलेको पनि बतायो । 

उसले मेयरसँग भन्यो– म गोप्य जादु गरेर यो विकराल समस्या हटाइदिन्छु । तर, मलाई ५० हजार गिल्डर चाहिन्छ । उसलाई थाहा थियो, त्यति धन हेमलिन नगरका बासिन्दासँग थिएन । तर, मेयरसँग विकल्प पनि थिएन, प्रस्ताव स्वीकार भयो । अनि, वनझाँक्रीले पाइपर बजाउन थाल्यो । त्यसको धुन सुन्नेबित्तिकै ज्यानमारा मुसा र विषालु कीरा परेडका लागि तयार भएको सैनिक जसरी अनुशासित रूपमा झाँक्रीसामु लामबद्ध भए । पाइपर बजाउँदै झाँक्री अघि लाग्यो, दुष्ट जीव उसको पछि लागेर सहरबाहिर गए । झाँक्रीले धेरैजसोलाई नदीमा डुबाइदियो । तर, तिनका मुख्य नेताको समूहलाई भने उम्काइदियो । झाँक्रीले नेता मुसाहरूलाई त्यो छुट दिएको थियो । 

ज्यानमारा मुसाहरूको प्रकोपबाट मुक्ति पाएको खुसीयालीमा मेयरले भोजको आयोजना गरे । भोज सुरु हुनै लाग्दा झाँक्री आइपुग्यो र कबुलबमोजिमको रकम माग्न थाल्यो । मेयर आत्तिए । सम्पूर्ण नगर बेच्दा पनि त्यो रकम जुटाउन सकिँदैनथ्यो । मेयरले ५० गिल्डर दिने प्रस्ताव गरे । तर, झाँक्री रिसायो र भन्यो– तिमीहरू चलाखी गर्छौ भने पाइपरबाट अर्को धुन निकालेर यसभन्दा ठूलो समस्यामा जाकिदिन्छु । मेयरले पत्याएन । अनि, उसले मधुर धुन निकालेर पाइपर बजाउन थालिहाल्यो । 

सुन्दर सपनाको रमणीय सहरमा बिनाभेदभाव सबैलाई लगिदिने मधुर धुन सुनेर सहरका युवाहरू झाँक्रीसमीप जम्मा भए । झाँक्री सहरबाहिर जान थाल्यो, युवाहरू उसैको पछि दौडन थाले । उनीहरू फर्केर आउनेछन् भनेर कसैले रोक्दा पनि रोकेनन् । तर, झाँक्रीले तिनलाई सहरबाट धेरै टाढाको अन्धकार गुफामा लगेर बन्द गरिदियो । त्यो गुफाको विशेषता के थियो भने त्यहाँ पुगेकाहरूले आफन्त र आफ्नो नगर बिर्सन्थे । यसरी वनझाँक्रीको रिसको प्रकोपमा परेर हेमलिन नगरका बासिन्दाले आफ्नो एक पुस्ता गुमाए ।

चपेटामा हामी

हेमलिन नगरका बासिन्दाजस्तै वनझाँक्रीको चपेटामा अहिले हामी परेका छौँ । पहाडमा रक्तपात र रुवाबासी बन्द गरेको मूल्य नपाएको झोँकमा वनझाँक्रीले मधेसमा रक्तपात र रुवावासी चलाएको छ । अर्थात् त्यो कपटी गुनीले नेपालमा पटक–पटक मसान उठाएर हानिरहेको छ । कहिले थाप्लामा हान्छ त कहिले ढाडै भाँचिने गरी कम्मरमा । 

हेमलिनमा झैँ त्यस झाँक्रीले हामीकहाँ पनि ज्यानमारा मुसा र कीराहरू त तह लगाइदियो । तर, त्यसको एवजमा देशले तिर्नै नसक्ने गरी सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताको मूल्य माग्यो । त्यो तिर्न नसक्दा उसले अर्को तरिकाले पाइपर बजाइदियो । त्यो धुन सुनेर मधेसको एकथरी युवा जमात त्यही वनझाँक्रीकै पछि लाग्यो । कारबाहीको छुट पाएका पुराना मुसाहरू पहाडबाट झरेर मधेसमा सक्रिय भएकै थिए । तिनले मधेसलाई अन्धकारयुक्त गुफा बनाइदिए । मधेसवादको गुफामा पुगेको जमातले देश बिर्सन थाल्यो । अनि, मधेस जल्न थाल्यो ।

त्यही वनझाँक्रीका पुत्लाहरू विशेषज्ञ बनेर अझै पनि शान्ति मन्त्रालय र स्थानीय शान्ति समितिमा मन्त्र दिन सक्रिय छन् । तर, उनीहरूले देशमा लागेको वनझाँक्रीको प्रकोपलाई अझै चिन्न सकेका छैनन् । उनीहरू वनझाँक्रीकै पाइपरको धुनमा नाचिरहेका छन् । हेमलिन नगरका बासिन्दाले गुफामा परेका युवाहरूलाई फर्काउने कोसिस गरेका थिए । तर, मधेसवादको गुफामा परेका युवाहरूलाई फर्काउन नेपालीहरूले कुनै कोसिस गरेका छैनन् । हो, वनझाँक्रीको प्रकोपले अहिले मधेस पीडित छ । ज्यानमारा मुसाको प्रकोपबाट उद्धार गर्न आएको वनझाँक्रीले देशका युवाहरूको अपहरण गरिसकेको छ । त्यसैले मलेठजस्तो शान्त गाउँ आक्रान्त बनेको छ । देशले मधेसका नयाँ पुस्ता गुमाएर झन् चर्को मूल्य चुकाउनुपर्ने भएको छ । 

प्रकाशित: चैत्र २, २०७३