दक्षिण सुडान: जातीय युद्धले छियाछिया

  • जात आधारित राजनीतिको परिणाम

- दीर्घराज उपाध्याय

रुम्बेक (दक्षिण सुडान) ।। अफ्रिकाको सबैभन्दा लामो गृहयुद्धका कारण २० लाखभन्दा बढी मानवीय क्षति बेहोरेर ६ वर्षअघि सुडानबाट अलग भएको दक्षिण सुडान स्वतन्त्रतापछि जारी जातीय युद्धका कारण तहसनहस भएको छ । यस्तो लाग्छ, अब दक्षिण सुडानसँग गुमाउनलाई केही छैन । जातीय लडाइँ कति भयानक र नृशंस हुन्छ, त्यसको उदाहरण बनेको छ, दक्षिण सुडान ।

“युद्धमा हामीले सबैथोक गुमायौँ,” दक्षिण सुडानको रुम्बेकका  मोसेस बाकोर, ३२, युद्धको त्रासदी सुनाउँदै थिए, “अब त गुमाउनका लागि केही बाँकी छैन ।” मोसेस गृहयुद्ध अन्त्य भएको हेर्न चाहन्छन्, शान्ति र विकास चाहन्छन् । सबैले पढ्न पाऊन् भन्ने कामना गर्छन् । उनीजस्तै अन्य सुडानीको पनि वार्ता र संवादबाट समस्याको समाधान होस् भन्ने चाहना छ । तर, नेतादेखि जातीय अगुवाहरूमा उग्र जातीयता, बदला र प्रतिशोधको भावना यति हाबी भएको छ कि त्यस्तो भावना बाहिर आउनै पाउँदैन । जातीय युद्धबाट अशान्त रहेको दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाका एक अधिकृतको चिन्ता थियो, जातीयताको यो आगोले नेपाललाई नजलाओस् ।

बेलायती उपनिवेशबाट सन् १९५६ मा मुक्त भएयता सुडानी जनताले कहिल्यै शान्ति र स्थिरता देख्न पाएनन् । उत्तर र दक्षिण सुडानबीच ३८ वर्ष लामो लडाइँ भयो । १९५५ देखि १९७१, १९८३ देखि २००५ सम्म द्वन्द्व जारी रह्यो । ६० वर्ष लामो गृहयुद्धमा २० लाखभन्दा बढीको मृत्यु भएपछि २००५ मा युद्धविराम भयो । त्यसपछि पनि दक्षिण सुडानको स्वतन्त्रताका लागि संघर्ष जारी रह्यो । जोन गराङको नेतृत्वमा १९८३ मा स्थापना भएको साउथ सुडान लिबरेसन मुभमेन्ट (एसएसएलएम) र त्यस मातहतको साउथ सुडान लिबरेसन आर्मी (एसएसएलए)ले गरेको सशस्त्र संघर्षमा थप लाखौँ नागरिकले ज्यान गुमाए । २०११ मा भएको जनमतसंग्रहमार्फत अलग्गिएको दक्षिणी सुडान दुई वर्ष केही शान्त रहे पनि राष्ट्रपति साल्भाकिर र उपराष्ट्रपति रिक माचारबीच द्वन्द्व चर्किएपछि पुन: गृहयुद्धमा धकेलियो । 

दक्षिण सुडानमा ६० भन्दा बढी फिरन्ते जाति छन् । डिङ्का र नियुर यहाँका प्रमुख जाति हुन् । यहाँ डिङ्का ३६ र नियुर १६ प्रतिशत छन् । स्वतन्त्रताका लागि यी दुवै जाति मिलेर लडेका थिए । त्यही कारण स्वतन्त्रतापछि डिंका जातिका साल्भाकिर राष्ट्रपति र नियुर जातिका रिक माचार उपराष्ट्रपति भए । तर, सत्तामा पुगेपछि दुवै नेताबीच बढेको जातीय वर्चस्व कायम गर्ने महत्त्वाकांक्षा र अहंकारका कारण शान्ति प्रक्रिया नै धरापमा पर्‍यो । अहिले बाहिरबाट हेर्दा डिङ् का र नियुर जातिबीच मात्र द्वन्द्व देखिए पनि डिङ् काकै उपजातिहरूका बीचमा र अन्य जात–जातिका बीचमा पनि उत्तिकै द्वन्द्व र मारकाट भइरहेको छ । 

डिसेम्बर २०१३ मा राष्ट्रपति साल्भाकिरले उपराष्ट्रपति माचारमाथि कुको आरोप लगाउँदै पदच्यूत गरे । साल्भाकिरले सुडान पिपुल्स लिबरेसन आर्मी (एसपीएलए)का नियुर जातिका अधिकृतहरूलाई निशस्त्र गरेर निकालिदिए । त्यसलगत्तै नियुर जातिकै ४० हजार सैनिकलाई लिएर माचार बाहिरिएपछि दक्षिण सुडान पुन: गृहयुद्धमा धकेलियो । लडाइँका कारण १६ लाख विस्थापित भएका छन् । १० हजारभन्दा बढीको मृत्यु भएको छ । सन् २०१३ यता जातीय द्वन्द्वका कारण १० लाखभन्दा बढीले देश छाडेका छन् । देशभित्रै विस्थापित भएर शिविरमा बस्नेको संख्या दुई लाख २३ हजार छ । 

आफ्नै देशमा विस्थापित हुनुको पीडा दक्षिण सुडानीलाई मात्र थाहा छ । शिविरभन्दा बाहिर जाँदा मारिने डर त छँदै छ, भोकभोकै मर्ने भयले पनि उनीहरू बाहिर निस्किन सकिरहेका छैनन् । शिविरभित्र कम्तीमा सुरक्षा र आवश्यक खाद्यान्न यूएनले उपलब्ध गराइरहेको छ । हो, यही कारण शिविरमा रहेकाहरूको संख्या घट्नुको साटो अन्यत्रबाट विस्थापित भएर आउने क्रम जारी रहेका कारण शिविरहरू साँघुरो हुँदै गएका छन् ।

सडकमा आममानिस कम, एसपीएलएका सैनिक बढी भेटिन्छन् । उनीहरूको कुनै निश्चित पोसाक हुँदैन । मैलो र पुराना पोसाकमा फाटेका जुत्ता–चप्पल लगाएकाहरूका हातमा एके–४७ देख्दा उनीहरू सेना हुन् कि विद्रोही छुट्याउन गाह्रो हुन्छ । 

१९८३ मा दक्षिणी सुडानको स्वतन्त्रताका लागि विभिन्न जातिका सैनिकहरूलाई एकीकरण गरी गठन गरिएको एसपीएलए नै सन् २०११ मा स्वतन्त्रतापछि राष्ट्रिय सैनिकमा परिणत भएको हो । तर, चेन अफ कमान्ड छैन, एसपीएलएमा । केन्द्रीय कमान्डको निर्णय तल्लो तहका कतिपय सेनाले स्वीकार गर्दैनन् । उनीहरू आफूखुसी निर्णय र काम गर्छन् । एसपीएलएका विरुद्ध कहीँकतै सुनुवाइ पनि हुँदैन । 

सुडानबाट अलग्गिँदा उनीहरू एक थिए । मुख्य परिचय थियो, दक्षिणी सुडानी नागरिक । अनि, धार्मिक रूपमा उनीहरूको अर्को परिचय थियो, क्रिस्चियन । धर्म एउटै तर ईष्र्या र प्रतिशोध यति हाबी छ कि उनीहरूले देश र धर्म एउटै भएको बिर्सिएका छन् । एउटै जातिको उपजातिबीच समेत मारामार छ । जातको राजनीति कति भयावह हुन्छ, घृणा र बदलाको भावना कति खतरनाक हुन्छ, त्यसको उदाहरण दक्षिण सुडान हो । 

दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाका सकल दर्जाको एउटै चिन्ता छ, नेपाल दक्षिण सुडान नबनोस् । जातीय युद्धले तहन–नहस भइरहेको यो देशलाई नजिकबाट हेरिरहेका एक सैनिक अधिकारी भन्छन्, “हाम्रा नेताले दक्षिण सुडानबाट पाठ सिक्लान् ?” 

प्रकाशित: चैत्र २, २०७३