पक्षीदूत

  • हठन पेसाले चरा गाइड हुन्, जानकारीका हिसाबले अरू धेरैथोक । ‘बर्ड वाचिङ’मा सुनाम छ उनको ।

- राजकुमार बानियाँ

दूरबिन नभिरेका हठन चौधरी, ४८, सायद भेटिँदैनन् । चराको खोजीमा उनी कहाँ पुगेका छैनन् ? लाङटाङ, शुक्लाफाँटा, अन्नपूर्ण, सगरमाथा, रारा, कञ्चनजंघादेखि बर्दियासम्म । त्यसैले त उनी नेपालमा पाइने आठ सय प्रजातिका चराको जन्मकुण्डली उतारिदिन सक्छन् । हठन पेसाले चरा गाइड हुन्, जानकारीका हिसाबले अरू धेरैथोक । ‘बर्ड वाचिङ’मा सुनाम छ उनको । कुन चरा कहाँ कहाँ छन् ? त्यसको मेनु छिनमै तयार गरिदिन सक्छन् ।

खासमा ‘रोयल’ सोख हो, बर्ड वाचिङ । रोयल किन भने चरा हेर्न आउने ९८ प्रतिशत बेलायती हुन्छन् । बाँकीमा जर्मन, फ्रेन्च र अमेरिकी पर्छन् । कतिपय यसलाई क्रिकेटजस्तै महामूर्खको सोख ठान्छन् । कतिपय पैसावालको सोख पनि भन्छन् । केही सेकेन्ड या मिनेटको आनन्दका लागि सामान्य भ्रमणभन्दा डेढ गुना ज्यादा खर्चिलो हुन्छ, बर्ड वाचिङ । उदाहरणका लागि अमेरिकी नागरिक बेन किङ वर्षको आठ–१० महिना एसियामै हुन्छन् । तीन प्रजातिका चरा हेर्न ११ दिनसम्म लाङटाङमै डेराडन्डा जमाए उनले । 

नोभेम्बर पिक महिना हो हठनको । मार्चसम्म कोसी, चितवन र शुक्लाफाँटामा भुलेपछि गुराँस फुल्ने सिजनमा लाङटाङ, अन्नपूर्ण, मकालु–बरूण र कञ्चनजंघामा हुन्छन् । उनको अफसिजन भनेको बर्खा मात्र हो । त्यतिबेला पनि ‘सेल्फ स्टडीका लागि’ काठमाडौँ उपत्यकाका शिवपुरी, नागार्जुन, शालीनदी, फूलचोकी, चोभार, टौदह, गुर्जेभन्ज्याङ, टोखा, फर्पिङ, वाग्मती, चन्द्रागिरि, गोदावरी, रानीवनतिरै व्यस्त हुन्छन् । “काठमाडौँ माइग्रेसन रुट भएकाले अनएक्सपेक्टेड चरा देखिन्छन्,” उनी भन्छन्, “दुर्भाग्य के भने बर्ड वाचिङका सरसामान महँगा हुन्छन् । साना चरालाई मजाले हेर्न सकिँदैन ।” काठमाडौँमा भएका बेला शनिबार उनी विद्यार्थीका लागि बर्ड वाचिङ गराइदिन्छन् । 

चरा हेरेपछि संसार झन् सुन्दर लाग्छ । जति हेर्‍यो, त्यति मनमोहक । प्रजातिको हिसाब गर्दा नेपाललाई चराको स्वर्ग भने पनि हुन्छ । नेपालले पृथ्वीको ०.०१ भाग मात्र ओगटेको छ तर नौ प्रतिशत चरा यहीँ छन् । नेपालभन्दा २२ गुणा ठूलो भारतमा १ हजार ३ सय १४ प्रजातिका चरा पाइन्छन् । त्यसैले होला, हठन र उनका साथीहरू सूचित बस्नेत, बद्री चौधरी, टीकाराम गिरीले काठमाडौँ, सोह्रखुट्टेमा नेचर सफारी टुर्स नामक बर्ड वाचिङ कम्पनी नै खोले १८ वर्षअगाडि । 

त्यसो त सिटी गाइडले भन्दा चरा गाइडले धेरै कमाउँछन् । “सिटी गाइडको आठ घन्टे ड्युटी हुन्छ, बर्ड गाइडको १२ घन्टे । त्यसैले सिटी गाइडभन्दा डेढ गुना बढी पैसा लिन्छन्,” हठन सुनाउँछन्, “सिटी गाइडले सपिङको कमिसन लिएर कमाउँछन्, हाम्रो त चोखो पारिश्रमिक मात्र हो ।” नेपालमा व्यावसायिक चरा गाइड नै १०–२० जना छन् । एक दिनको सय डलरसम्म लिँदा रहेछन् हठन । पोहोर चेपाङ हिल (उपरदाङ गढी)मा भ्याकुर प्रजातिको रेड फेस लियोसिच्ला भेटेपछि तीन सय डलरको सरप्राइज टिप्स पायो उनको टिमले । त्यो चरा १ सय ७८ वर्षपछि नेपालमा भेटिएको थियो । 

चितवन, शुक्रनगरको किसान–थारू परिवारका जेठा छोरा हुन् उनी । जन्मँदा आमालाई लामो प्रसव बेथा लागेकाले उनको नामै हठन रहन गयो । दिव्यनगर आदर्श माविबाट ०४२ मा एसएलसी दिनासाथ पञ्चायतका जानेमाने नेता बुद्धिमान तामाङको गाउँ बोराङ (धादिङ)को विद्यालयमा पढाए, ६ महिना । त्यसको पृष्ठभूमि भने रमाइलो छ । उनकी स्कुले सहपाठी सरस्वती लामालाई कान्छी बनाएर भित्र्याएका थिए बुद्धिमानले । सहपाठीकै कारण उनले धादिङको स्कुलमा पढाउन मात्र पाएनन्, बुद्धिमानले ससुराली गाउँलाई एकैचोटि झिलीमिली पारिदिए । त्यो पनि बिहे गरेको तीन–चार महिनामै । 

त्यहाँबाट फर्केपछि सौराहाको वाइल्डलाइफ क्याम्पको बारमा भ्याकेन्सी खुलेको रहेछ । त्यहाँ बार टेन्डरको काम पाए उनले । एक वर्षपछि क्याम्पका अपरेसन इन्चार्जले उनलाई जुनियर गाइडको तालिममा पठाइदिए । उनका ‘सिनियर’ धनबहादुर तामाङ र चमारसिंह गुरुङ कस्ता थिए भने परबाट गैँडा आउँदै छ भन्ने पहिल्यै थाहा पाउने । सबैले हठनलाई हौस्याए, ‘यसको आँखा तेजिलो छ, कान टाठो ।’

रापती र ढुंग्रे खोलाले छुट्याएको तीन वर्गमाइलको आइल्यान्ड थियो वाइल्डलाइफसँग । बिहान–बेलुकी कोठा–कोठामा आइपुग्थ्यो गैँडा । टाइगर टप्सपछि दोस्रो वाइल्डलाइफ कम्पनी थियो, त्यो । शाही नातेदार दीपकविक्रम शाहको कम्पनी भएकाले राजा वीरेन्द्रका साथै अधिराजकुमार ज्ञानेन्द्र, शाहजादा पारस गइरहन्थे । 

चरामा रुचि जागेको त्यही बेला हो हठनलाई । हरेक चरा उनलाई पेन्टिङजस्तो लाग्थ्यो । कुशल पेन्टरले रंग छ्यापेजस्तो । सुगाका पखेटामा अलिकति रातो देखेर झन् चमत्कृत हुन्थे । त्यति सानो ठाउँ मात्र कसरी रातो भयो ? देख्दा त सुगा नै हो तर रंग फरक । उनको भनाइमा नेपालमा सुगाका सातै प्रजाति पाइन्छन् । “चरा चाहेर मात्रै हेर्न सकिँदैन, यसका लागि प्यासन चाहिन्छ । आधारभूत ज्ञान बरू थोरै भए पनि पुग्छ,” उनको अनुभव छ, “चरा अवलोकन प्राकृतिक दृश्य हेरेजस्तो होइन । दृश्यका लागि हामीले प्रकृतिलाई पछ्याए पुग्छ । तर, चरालाई निरन्तर पछ्याइरहनुपर्छ, कुरिरहनुपर्छ, धैर्यका साथ ।”

‘प्यासन’ कस्तो भने चरा ब्लू नेक पिटा (नेपाल पिटा)को दर्शनका लागि आठ–दस वर्ष कुरेछन् उनले । “गोदावरीे जंगलमा त्यो चरा भेटेपछि मैले साथीभाइलाई सक्दो सेयर गरेँ,” भन्छन्, “त्यही चराको गुँड १५ वर्षपछि चितवनको चेपाङ हिलमा भेटेँ पोहोर ।” 

चरामा लगाव बढ्न थालेपछि उनका साथी भए, रोबर्ट फ्लेमिङ सिनियर र जुनियरको पुस्तक बर्ड्स अफ नेपाल । फ्लेमिङ जुनियरसँग सौराहामै भेट भयो उनको । त्यति बेला त्यही एउटा पुस्तक उपलब्ध थियो नेपालमा । अर्को पुस्तक थियो, सलिम अलिको बर्ड्स अफ इन्डियन कन्टिनेन्ट । पछि बेलायती दम्पती क्यारोल इन्स्किप र टिम इन्स्किपको पुस्तक ए गाइड टू द बर्ड्स अफ नेपाल पनि हात पर्‍यो । हठन इन्स्किप दम्पतीलाई गुरु नै मान्छन् । आफूले नजानेका कुरामा इमेल लेख्छन् । 

रोचक प्रसंग के भने क्यारोल र टिम बेलायतबाट ग्रीस, इरान, इराक, टर्की, अफगानिस्तान, पाकिस्तान हुँदै भारतीय नाका छिचोलेर मोटर यात्रामा नेपाल आएका थिए सन् १९७७ मा । लन्डनदेखि चार सय माइल परको उनको घरमा गएर बसेका पनि छन् हठन । उनको घर, बेडरुम, भर्‍याङ, भान्छाकोठा जताततै चराकै किताब देखेर छक्क पनि परेछन् । उनी तीनचोटि गए बेलायत । बेलायतमा चरा धेरै छन् तर प्रजातिको संख्या कम । 

बेलायतीहरू चराका कति सोखिन हुन्छन् भने हरेकको गाडीमै टेलिस्कोप र दूरबिन हुन्छ । एउटा घटना आफैँले देखे– बाटोमा ‘ह्वाइट टेल इगल’ भेटिएपछि एक सोखिनले गाडी रोकेर बर्ड लाइफ अफिसमा फोन गरिदिए । त्यसपछि सबैको मोबाइलमा म्यासेज गयो अनि एक–डेढ घन्टासम्म गाडी जाम । त्यसैले टिम मिनेट–मिनेटमा म्यासेज हेरिरहन्छन् । कसैले केही देखिहाल्यो कि भनेर । बेलायतमा रोयल सोसाइटी प्रोटेक्सन अफ बर्ड नामक संस्थाले त दुर्लभ चरा भेटिएको ठाउँ नै किनिदिन्छ । 

खासमा हेमसागर बराल, राजेन्द्र सुवाल, टीकाराम गिरीसँगको भेटले हठनमा चराको चाख बढेर गयो । पखेटाको धर्का, पुच्छर, खाने बानी, ठुँड र आवाजले चरा चिन्न थाले । उनका लागि वाइल्डलाइफ क्याम्प नै पाठशाला भइदियो । स्कुले उमेरमा गुलेली हान्न कहलिएका थिए हठन । आठ कक्षा पढ्दा सुगा मारेर घर लैजाँदा फुपूले उनलाई बेसरी गाली गरिन् र सम्झाइन् पनि, ‘सुगा मरेपछि उसको बालबच्चाको अवस्था के होला ?’ त्यसपछि उनले चरा मार्न छाडिदिए । 

सहिद स्मृति क्याम्पस, टाँडीमा आईकम पढेका उनले बीकम भने पूरा गर्न सकेनन् । उनले चराको औपचारिक अध्ययन गरेका छैनन् तर सिकाउन भने सक्छन् । त्यसैले विद्यार्थीले उनलाई विभिन्न कार्यक्रममा बोलाइरहन्छन् । पाँच वर्ष वाइल्डलाइफमा काम गरेपछि उनलाई नेचर ट्रेक नामक ब्रिटिस कम्पनीले कोसीटप्पु आरक्ष बोलायो । त्यहाँ पनि पाँच वर्ष बिताएपछि काठमाडौँ आए । दुई वर्षपछि आफ्नै अफिस खोले । 

बर्ड्स अफ नेपालको पछिल्लो संस्करणमा चराका ८ सय ८४ प्रजाति नेपालमै पाइने उल्लेख छ । त्यसपछि पनि हठन र नरेश खुसीले दुई नयाँ चरा फेला पारिसकेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा उनले पत्ता लगाएको पछिल्लो चरा हो, वेस्ट हिमालयन बुस ब्याब्लर (हिमाली घाँसे फिस्टे) । अहिलेसम्म उनले तीनवटा चरा पत्ता लगाएका छन् । पहिलो (सन् १९९९) जिरीको बजारको बगेको पानीमा ब्ल्याक टेल क्रेक र दोस्रो कोसीटप्पुमा असिमिनिभेट (सन् २०१४) । बडर््स अफ नेपाल (सन् १९८२) छापिँदा नेपालमा चराका प्रजातिको संख्या ८ सय ४३ मात्रै थियो । चरा अध्ययनका क्रममा ७१ जिल्ला पुगिसकेका हठन ताप्लेजुङ, अछाम, बझाङ र बाजुरा जान चाहन्छन् । उनले फ्रेन्ड्स अफ नेचर कन्जरभेसन अवार्ड पनि प्राप्त गरेका छन् । 

हठन चौधरी घरपरिवारको भन्दा चरा संसारकै बारेमा कुरा गर्न इच्छुक छन् । प्राकृतिक चरालाई कुनै राजनीतिक सिमाना थाहा छैन । तर, मानिसले घर बनाउनुभन्दा पहिले अर्थात् पाँच हजार वर्षअगावै गुँड बनाएका थिए चराले । सबभन्दा सुन्दर बासस्थान बनाउने मिहिनेतीचाहिँ तोपचरा हो । उसको ‘ह्याङगिङ नेस्ट’मा फुल पार्ने, बैठक र भान्छाकोठा छुट्टाछुट्टै हुन्छन् । हठनलाई कोइली सबभन्दा अल्छी चरा लाग्छ । “अर्को चराको अन्डा खाइदिएर उसले आफ्नो अन्डा छाडिदिन्छ, त्यसका निम्ति सानो चरालाई उपयोग गर्छ,” उनी भन्छन्, “बिचरा फिस्टोले समेत कोइलीका चल्ला हुर्काएको देखेको छु ।” 

तराईका रैथाने चराहरू गर्मीमा हिमाल–पहाडतिर लाग्छन् भने जाडोमा हिमाल–पहाडका चरा तराईतिर झर्छन् । चराहरू आहारमा प्रतिस्पर्धा नभएको ठाउँ नै रोज्छन् प्राय: । हिउँदमा भने नेपाली आकाश आगन्तुक चराले भरिभराउ हुन्छ । साइबेरिया, मंगोलिया, उत्तरी युरोप, तिब्बत, मानसरोवरबाट आएका कतिपय पानी चरा तीन महिनाका लागि भ्यालेन्टाइन्स डेमै आइपुग्छन् । पक्षीविद्हरू प्लेकार्ड नै बोकेर बस्छन्, वेलकम टू दी बर्ड्स । 

“सगरमाथाको उचाइ काटेर आउने चरा हो, बार हेडेड गुज (खोया हाँस),” उनी सुनाउँछन्, “नौ हजार मिटर माथिबाट उडेर उचाइ घटाउँदै ओर्लने क्रममा खोया हाँसको लस्करले नेपालको सिमानै काटिसकेको हुन्छ ।” चराहरूको चल्ला कोरल्ने ठाउँ निश्चित हुन्छ । एउटा पुस्ता मात्र नभएर थुप्रै पुस्तासम्म पनि । 

दुई छोरी र एक छोरा छन् हठनका । जेठी छोरीले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् भने सानी छोरी प्लस टू पढ्दै छिन् । छोरा जापानमा आईटी पढ्दै छन् । सात वर्षअघि शुक्लाफाँटामा चरा गाइड गरिरहँदा उनले हृदयघातबाट पत्नी बितेको खबर पाएका थिए । तर, यतिका वर्षसम्म दोस्रो घरबार गरेनन् । १४ वर्षको उमेरमै आमा गुमाएका उनको मागीविवाह भएको थियो । चरा गाइड बनेपछि शाकाहारी बन्ने अनन्त कोसिस गरे उनले । तर, अहिलेसम्म त्यसमा सफलता पाएका छैनन् । 

पाहुनालाई ध्यान कम होला भनेर एसएलआर क्यामरा त्यति चलाउँदैनन् । त्यही खातिरदारीकै कारण पाहुना ६ चोटिसम्म आएका छन् । दुर्लभ चरा आफ्नै आँखाले देखियो भने उनी धन्य भइहाल्छन् । “दिनभरि चरा देखायो, साँझ कतिपयले देखिनँ भन्छन् या बिर्सिसक्छन्,” कहिलेकाहीँ हठनलाई रिस उठ्छ, “देखेको कुरा नदेखेको भन्दा झोँक चल्दैन ?” हठन राजनीति फलो गर्दैनन् । मन परेको उम्मेदवारलाई भोट हाल्छन् बस् । गत संविधानसभा चुनावमा उनलाई भूमिसुधार मन्त्री विक्रम पाण्डेले भोट मागिदिन भनेका थिए । उनले ठाडै भनिदिएछन्, ‘सरी † मेरो काम चरा चिन्ने र चिनाउने मात्र हो ।’ 

प्रकाशित: चैत्र २, २०७३