नोटबुक

- राजकुमार बानियाँ

हरामी हर्न

साँझपख नियमित रुपमा गृहमन्त्रीजीको केरकार झेल्नु सामान्य भइसकेको छ । उनले सेलफोनको घन्टी बजाउने नै भइन् । एक पटक उठ्दैन, दुई पटक उठ्दैन, पटक–पटक उठ्दैन । बारम्बार फोन–मौन भएपछि उनको ब्लड प्रेसर बढ्ने नै भयो । घर पुग्दा स्पष्टीकरण दिँदादिँदै हैरान हुन्छु । के भनेर सम्झाउने ? गृहमन्त्रीजीलाई काठमाडौँ ‘धूलोमान्डू’ भइसकेको थाहा छैन । ‘हर्नमान्डू’ भइसकेको पनि थाहा छैन । त्यो पनि झन्डै सय डेसिबलको हर्न । उसको कथित पति सडकमा कसरी पैदल यात्रारत हुन्छ भन्ने पनि जानकारी छैन । 

काठमाडौँको कोलाहल सडकमा एकोहोरो हिँडिरहँदा श्रीमतीजीको प्यारो कल थाहा नपाउने पति अभागी नै हो । राक्षसी हर्नको ‘इमोसनल’ अत्याचार कति छ भने हरदम कान थुन्नुपर्ने अवस्था आउँछ । यहाँका दुईपाङ्ग्रेदेखि चारपाङ्ग्रेका चालक महोदयहरुलाई कति हतार हो, जेब्राक्रसमा बाटो काट्न लाग्दा पनि हर्न थिचिहाल्छन्– टिटिट्, पपप्, टुटुट्... ।

राजधानीको १ हजार ५ सय ९४ किलोमिटर सडकमा साढे १० लाख गाडी गुड्दा रहेछन् । सरकारलाई २० वर्ष पुराना गाडी हटाउने मेसो आयो, हर्न हटाउने मेलो आएन । हरेक गाडीमा ‘ हर्न प्लिज’ लेखिएकै हुन्छ । तर, हर्नप्रेमी चालक महोदयहरुको फुर्तिफार्ती देख्दा लाग्छ, हरिप्रसाद चौरसियाको बाँसुरी सुनाइरहेका छन् । थोरै मान्छेका कारण धेरै मान्छेले दु:ख पाएको बुझेर तिनलाई पाँँच हजार रुपियाँको टिकट थमाउने हो भने हर्नले पक्कै आराम पाउँछ । कुनै सरकार आउला त ‘हर्न फ्रि रोड’ बनाउने ? 

प्रज्ज्वलनशील पानी ?

सखारै ठमेल, सातघुम्तीनेर हिँड्दै गर्दा सडकमा एउटा ट्यांकर देखियो, सडक किनाराकै घरमा पानी खन्याएर फर्कन लागेको । ट्यांकर हिँड्ने बेला ट्यांकरको पछिल्तिर आँखा परिहाल्यो, ‘अत्यधिक प्रज्ज्वलनशील !’ तिरीमिरीझ्याइँ बनाएपछि साथीलाई देखाएँ । ऊ मुसुक्क हाँस्यो मात्र । कस्तो खालको प्रज्ज्वलनशील पानी हो ? पानीवाला ट्यांकर कसरी प्रज्ज्वलनशील हुन्छ ? अझ अगाडि बढ्ने क्रममा लेखेको देखियो, ‘खानेपानी सेवा ।’ मनमा कुरा खेलाउँदा खेलाउँदै अलि ढिलो भएछ । ज्याकेटबाट मोबाइल निकाल्न लाग्दा जिपर नै उघारिएन । कुन खानेपानी सेवा भन्ने जान्न खोज्दाखोज्दै ट्यांकर कुदिहाल्यो । प्रज्ज्वलनशील पानी बोक्ने कम्पनी कुनै दिन तपाईंकै घरमा पनि आउन सक्छ ।

भाषाको हुर्मत कसरी लिइन्छ भन्ने अर्को उदाहरण त्यही दिन दरबारमार्गमा देखियो । प्रहरी प्रभागनेर रोकिएको ट्राफिकको गाडीमा लेखिएको रहेछ, ‘मोबाइल फोन प्रयोग गरी सवारी साधन नचलाऔँ ।’ मैले साथीलाई त्यो पनि देखाएँ । ऊ फेरि हाँस्यो । मोबाइलबाट सवारी साधन कसरी चल्छ ? मोबाइलले काम चल्ने भए विदेशबाट महँगोमा पेट्रोलियम किन ल्याउनु पथ्र्यो ? मित्रराष्ट्रको पटक–पटक नाकाबन्दी किन झेल्नुपथ्र्यो ? ‘सवारी साधन चलाउँदा मोबाइल फोनमा बात नमारौँ’ भनेर लेखेको भए के जान्थ्यो ? भाषालाई अनावश्यक रुपमा जटिल बनाउने या अन्यथा रुपमा प्रयोग नहोस् भन्ने चाहना मात्र हो । अजासु बन्नचाहिँ खोजेको होइन है ! 

बौद्धिक सिन्डीकेट

एक महिनाको अन्तरालमा लगालग तीन ठाउँमा साहित्य महोत्सव भयो । अब काठमाडौँमा हुनै बाँकी छ । साहित्य महोत्सव हुनु ठीकै होला, राम्रै होला । अलि अनौठो लागेको चाहिँ पोखरा, काँकडभिट्टादेखि बनेपासम्म एकैथरी अनुहारको धुइरो भने बुझ्न सकिएन । वक्ता दोहोरिने–तेहेरिने त भइहाले, ‘प्यानल डिस्कसन’को शीर्षक पनि एकै प्रकारको । मानौँ, संसारमा बहस गर्ने शीर्षक नै बाँकी छैनन्, अखबारमा चंगा उडाउनेबाहेक ‘प्यानलिस्ट’ हुनै सक्दैनन् । 

कथित बौद्धिक–लेखकहरु अखबारमा हुन्छन्, टेलिभिजनमा हुन्छन्, विमोचनमा हुन्छन्, रेडियोमा हुन्छन्, महोत्सवमा हुन्छन् । हरेक ठाउँमा हरेक वर्ष एकै शीर्षकमा एकोहोरो बोलेको बोल्यै छन् । उनीहरुले कुनै नयाँ कुरा गर्दैनन् भन्ने जगजाहेरै छ, सुन्ने मान्छे चाहिँ नयाँ फेला परेका होलान् । तिनका थोत्रा कुरालाई रसबरी मानेर सुन्छन् सायद । यस्तो उधुमका कलाकारको विशेष क्षमतालाई सलामी नै ठोक्नुपर्छ । उनीहरुलाई एउटै कुरा बोल्नुको मजा थाहा छ, एकै ठाउँ गइरहनुको मजा पनि थाहा छ । गधापच्चिसी ननाघेका युवकदेखि ६० खाइसकेका बूढाहरुको गुरिल्ला–सिन्डीकेट छ । सिन्डीकेटलाई महोत्सव मान्नुपर्ने बाध्यता पनि छ । त्यसलाई अब क्लबको महोत्सव भन्ने कि महोत्सवको क्लब ? 

प्रकाशित: फाल्गुन ३०, २०७३