[झटारो] धन्यवाद यमराज !

  • ‘एक सय वर्षपछि तेरो खनातिले मोनोरेल चढ्न पाउनेछ । अब हिँड् ।’ यमराजले मलाई ताने ।

- लक्ष्मण गाम्नागे

म काठमाडौँको चाबहिलतिर सडकपेटीमा हिँड्दा हिँड्दै अचानक धूलोको कुइरीमण्डलमा फसेर हुरुक्हुरुक् भएँ र डङ्ग्रङ्गै ढलेँ । तुरुन्तै मलाई लिन यमराज आए । उनी मलाई लैजान तान्ने, म नजानलाई तान्ने, तानातान भयो । मेरो ढिपी देखेर चकित हुँदै यमराजले सोधे, ‘हे मूर्ख मनुष्य, तँलाई यो धूवाँ, धूलो, दुर्गन्ध र अनेक विकृति–विसंगतिले भरिएको नर्के खाल्डोबाट उद्धार गरेर स्वर्ग लैजान्छु भन्दा किन अटेरी गर्छस् ?’

मैले भनेँ, ‘हे प्रभु ! वैभवशाली राजधानी स्थापना हेतु सरकारले काठमाडाँै उपत्यकाको विकासमा इतिहासदेखि नै ठूलठूला आकर्षक योजना ल्याइरहेको छ । भर्खरै पनि महानगरपालिकाले काठमाडौँमा मोनोरेल कुदाउने घोषणा गरेको छ । अरू पनि दर्जनौँ चित्ताकर्षक योजना छन् । ती सम्पन्न भएको हेर्न, भोग्न इच्छा छ प्रभो, मलाई छाडिदिनूस् ।’

‘एक सय वर्षपछि तेरो खनातिले मोनोरेल चढ्न पाउनेछ । अब हिँड् ।’ यमराजले मलाई ताने । 

मैले बिन्ती गरेँ, ‘मोनोरेलको मात्र कुरा होइन प्रभो ! त्यसभन्दा पहिला मेट्रो रेल कुद्ने योजना थियो । उपत्यकाका सफा नदी किनारामा फराकिला सडक, ग्रिनबेल्ट, लभ–पार्कका झिलिमिली योजना छन् । काठमाडौँलाई सिंगापुर बनाउने पुरानो योजना छँदै छ । अझ पहिलाको योजना मेलम्चीको पानी ल्याएर काठमाडौँको सडक पखाल्ने थियो । हामी बच्चै हंँुदा स्वच्छ सफा हराभरा स्वस्थ काठमाडौँ भन्ने योजना बनेको थियो । उपत्यकालाई फास्टट्रयाकमार्फत तराई जोड्ने कुरा छ, रेलसँग चीन जोड्ने भनिएको छ । भित्री चक्रपथमा धेरै खाल्डाखुल्डी भए, धेरै धूलो उड्यो, जनताले दु:ख पाए भनेर सरकारले बाहिरी चक्रपथको योजना पनि तेस्र्याइसकेको छ ।’ 

मैले थपेँ, ‘भर्खरै अर्को एउटा सनसनीपूर्ण समाचार आएको छ, सरकारसँग इच्छाशक्ति भयो र लगानी जुटाउन सकियो भने तीन वर्षमा उपत्यका केबलकारको सञ्जालले ढाकिनेछ  । कत्रो भव्य योजना प्रभो ! सरकारसँग इच्छाशक्ति भयो र लगानी जुट्यो भने !’

म भन्दै गएँ, ‘केही मुख्य सर्तहरूमा केही सहायक सर्तहरू पूरा भए भने त यो उपत्यका स्वर्ग हुन के बेर प्रभो ! जस्तै : मुलुकमा संविधान लागू भए । राजनीतिक स्थिरता भए । नेताहरूको बुद्धि फर्किए । विदेशीका अगाडि लम्पसार पर्न छाडे । देशभित्रैका स्रोतसाधनको परिचालन गरे । मुलुकमा भ्रष्टाचार नभए, कमिसनको खेल नभए । बन्द, हडताल, आन्दोलन, हिंसा र मारकाट नभए । आवधिक निर्वाचन ठीकठीक समयमा भए । आहा प्रभो ! यत्ति सर्तहरू पूरा भएपछि यो उपत्यका मात्रै किन, सिंगै देश कति समृद्ध होला ! मलाई त्यस्तो वैभवशाली उपत्यकामा लामोलामो सास तानेर मात्रै मर्न मन छ । मलाई छाडिदिनूस् प्रभो ।’ 

यमराजले हप्काउँदै भने, ‘धत् मलाई उल्लु बनाउन खोज्छस् ! त्यो सब त तेरो तीन पुस्ताले पनि देख्न पाउँदैन ।’ 

मैले फेरि बिन्ती बिसाएँ, ‘उसो भए मलाई अर्को जुनीमा पनि यही ठाउँमा जन्मिन पाउने वरदान दिनूस् र लैजानूस् प्रभो ।’ 

‘अर्को जुनीले तँलाईं पुग्दैन, थप अर्को जुनी पनि तँलाई यहीँ पठाइदिउँला । ल अब हिँड् ।’ यति भन्दै यमराजले मलाई जुरुक्क उचाले । म आफ्नै ओछ्यानबाट जुरुक्क उठेछु । रातको १२ बजे, दमको औषधि खाने समय ठिक्क भएको रहेछ । धन्यवाद यमराज !

प्रकाशित: फाल्गुन ३०, २०७३