दर्पणछायाँ २: ‘भेट्रान’ निर्देशकको भुत्ते फिल्म

  • दर्पणछायाँ २ सकिएपछि त परको कुरा फिल्म चलिरहँदा पनि ताली बज्दैन/बजाउन सकिन्न ।

- गाेकर्ण गाैतम

नेपाली फिल्मका ‘ब्रान्डेड’ निर्देशक हुन्, तुलसी घिमिरे । जसको खातामा आधा दर्जन ज्यादा ब्लकबस्टर फिल्म छन् । कुसुमे रुमाल, बलिदान, चिनो, देवता, लाहुरे, दक्षिणा, दर्पणछायाँ आदि–आदि । त्यसो त पैसा कमाएर मात्र यी फिल्म सम्झनालायक मानिएको होइन, बरु हरेक फिल्ममा घिमिरेले निर्देशकीय क्षमताको नयाँ आयाम र विषयवस्तु समेटेकाले विशेष भएका हुन् । तर दर्पणछाँयापछि उनको लगाम फुत्केको–फुत्कै छ । जुन आफैँमा ‘फिल्मी’ लाग्छ ।  त्यसयता उनका सात फिल्मले न प्रसंशा कमाए, न पैसा । तीतो र अपत्यारिलो भए पनि सत्य हो यो ।

दर्शकलाई निराश तुल्याउने घिमिरेको यही शृंखलामा सूचीकृत भएको छ, दर्पणछायाँ २ । दर्पणछाँयामा मार्मिक प्रेम कथा देखाएर मन जितेका थिए उनले । यही नामको पछाडि २ झुन्डाएर बनाएको फिल्ममा दोब्बर आशा राख्नु अस्वाभाविक होइन तर कथादेखि कथा भन्ने शैलीसम्म अैँसतभन्दा तल छ । घिमिरेले संगीत र सर्जकप्रति अगाध स्नेह राख्नुपर्ने सकारात्मक सन्देश त दिन खोजेका छन् तर त्यो सुगारटाइ मात्र छ । त्यसमा कलात्मकता र रोचकता छैन । 

नाम दर्पणछायाँ २ भए पनि पुरानो दर्पणछायाँसँग यसले रत्तिभर सरोकार राख्दैन । मतलब सिक्वेल होइन । फिल्ममा तीन युवायुवतीको प्रेम कथा छ, सेक्सोफोन बजाउन माहिर आलाप (पुष्पल खड्का), नृत्यकी शौखिन सरगम (सहारा कार्की) अनि धनी बाबुकी छोरी निशा (श्रद्धा प्रसाईं) को । आलाप र सरगम एकअर्कालाई अँैधि माया गर्छन् । तर आलापको आर्थिक हैसियत कमजोर भएकाले सरगमका बुबा यो सम्बन्धको विपक्षमा छन् । अमेरिकाबाट फर्किएकी निशाको मनमा पनि आलापको लागि माया छ । त्यो माया सहाराले गर्ने जस्तै हो कि फरक ? आलापको विगतसँग पनि निशा जोडिएकी छन् । त्यो के थियो ? सेक्सोफोन र संगीतप्रति आलापको प्रेम र सम्मान कुन हदसम्म हुन्छ ? यस्तै प्रश्नको वरिपरि घुमेको छ । क्लाइमेक्सले न भावुक बनाउँछ, न ‘अहो !’ ।

द्वन्द्व र दृश्यको वहाबबीच तालमेल नमिल्दा फिल्म खुकुलो हुन्छ । पर्दामा दृश्य सल्बलाउँछन् तर दर्शकको मन रम्दैन । उकुसमुकस हुन्छ । दर्पणछाँया २ मा यस्ता आँत नभरिने र कथाको ट्रयाक बिथोल्ने दृश्यको रास छ । सुरुआतबाटै निर्देशकले लामा र अप्रभावकारी दृश्यलाई प्राथमिकता दिएका छन् । कलेजका अधिकांश क्रियाकलाप, सांगीतिक कार्यक्रम, आलाप र साथीहरूको विवाद जर्बजस्ती तन्काइएको छ । कलेज भए पनि पढाइको माहोल शून्य छ । आलापलाई सेक्सोफोन दिलाउन खोज्दाखोज्दै मध्यान्तर हुन्छ । सहायक पात्रलाई अनावश्यक स्थान दिएकाले फिल्म थप नीरस लाग्छ । 

निशाको कलेजको ‘इन्ट्री’, दुर्घटनामा परेको बाबुलाई अस्पताल लैजानुको सट्टा आमालाई बोलाउन घर दौड्ने, दिवंगत प्रिय साथीको छोरोलाई सेक्सोफोन नदिने बडाको अड्डीलगायतका दृश्य अपरिपक्व छ । कलेजको आधुनिक माहौललाई ‘क्याप्चर’ गर्न पटकथाकारसमेत रहेका निर्देशक घिमिरे चुकेका छन् ।

उनले नयाँपुस्ताको नवीन शैली र व्यवहारलाई उधिन्न त खोजेका छन्, तर आफ्नो परम्परात ‘लिगेसी’भन्दा बाहिर निस्कन सकेका छैनन् । पर्दाबाहिरको निर्देशकको यही द्वन्द्वले पर्दामा आवश्यक द्वन्द्व फितलो बनाएको छ । सांगीतिक प्रेमकथा हुनुको नाताले मुखमा झुन्डने र श्रुतिमधुर गीतको खडेरी हुनुनपर्ने हो तर पुरानो दर्पणछाँयाको शीर्ष गीतको ‘रिरेकडेर्ड भर्सन’ले मात्र सान्त्वना दिन्छ ।

रामेश्वर कार्कीले खिचेका दार्जिलिङका मनोरम दृश्यले फिल्मलाई मनमोहक  बनाएको छ । पाश्र्वध्वनिले दृश्यको भावलाई आत्मसात् गरेको छैन । बरु पात्रहरूको ड्रेस डिजाइन प्रसंशनीय छ ।

मुुख्य कलाकारकै अस्वाभाविक अभिनय फिल्मको वजन घटाउने अर्को कारण हो । म्युजिक भिडियोमा राज गरेका पुष्पलको दर्पणछायाँ २ सोलो डेब्यु हो । तर हाउभाउ र संवाद बोल्ने शैली यति बनावटी लाग्छ कि यही ताल रहने हो भने ठूलो पर्दाका लागि उनी दुई दिनको पाहुना मात्र हुनेछन् । श्रद्धा चाहिँ ‘ओभर–एक्टिङ’बाट ग्रस्त छिन् । न उनी रिस पोख्दा जीवन्त लाग्छिन्, न आँसु चुहाउँदा । तुलनात्मक रुपमा सहारा अब्बल छिन् । अमेरिकामा नियमित बसोवास गर्ने भए पनि प्रस्ट नेपाली लवज, प्रभावकारी शारीरिक हाउभाउ र नृत्यमार्फत उनले पात्रलाई न्याय गरेकी छन् । शेरबहादुर केसी जर्बजस्त हसाँउनकै लागि राखिएका पात्र हुन् तर उनको चरित्र र थेगोले दर्शकको मुहारमा मुस्कान होइन, बरु दिगाग चाहिँ तताउँछ । 

क्लाइमेक्सतिर पृष्ठभूमिमा एउटा संवाद सुनिन्छ घिमिरेकै आवाजमा, ‘समयको दर्पणमा यस्तो छाँया छोडेर जानु कि पर्दा खसिसके पनि ताली बजिरहोस् ।’ तर विडम्बना ! दर्पणछायाँ २ सकिएपछि त परको कुरा फिल्म चलिरहँदा पनि ताली बज्दैन/बजाउन सकिन्न । लाग्छ, घिमिरेको निर्देशकीय क्षमता क्षीण भइसकेको छ, समयमै चार्ज नगरे अझ काम नलाग्ने भइजान्छ ।

                                

 

प्रकाशित: फाल्गुन २७, २०७३