विद्रोहीहरूको बिजोगी जीवन

  • झापा विद्रोहमा संलग्न पाकाहरू पार्टीप्रति असन्तुष्ट र आक्रोशित

- पर्वत पोर्तेल

काँकडभिट्टा ।। वीरबहादुर श्रेष्ठ ०२८ सालको झापा विद्रोहका पीडित योद्धामध्ये महापीडित हुन् । उमेरले पनि वयोवृद्ध यिनको कम्युनिस्ट राजनीतिमै सिंगो जीवन बिताए । न बिहे गर्न सके, न त घरबार बसाउन भ्याए । जीवनको उत्तराद्र्धमा यिनी अर्काको घरमा छन् । कन्काई–१, जामुनखाडीका नरपति पाण्डेको आश्रयमा बसिरहेका ८४ वर्षीय श्रेष्ठ भन्छन्, “घरमा कामधन्धा सघाइदिन्छु । खान–बस्न दिएका छन्, बस् ।” बुटन चौधरी हत्या आरोपमा उनी पाँच वर्ष जेल बसेका थिए । 

झापा आन्दोलनका धेरै योद्धा बितिसके । सोम मर्डी, मंगल मर्डी सतार, छविलाल राजवंशी, पानवीर विश्वकर्मा, भेट्ला राजवंशी, भोगेन राजवंशीलगायत । बाँकी रहेका केही सत्ता र शक्तिमा छन् । केही पद र प्रतिष्ठामा रूमलिएका छन् । बाँकी काल पर्खिएर बसेका छन् । “मरेर जानेहरूले ठीक गरे, बरू,” १० वर्ष जेल बसेका दुर्गा अधिकारी (ठूलो) निराशा व्यक्त गर्छन्, “जिउँदो लास भएर बाँच्नुभन्दा मरेकै भए बेस् ।”

झापा विद्रोह त्यही हिंसात्मक आन्दोलन थियो, जसले ‘वर्ग शत्रु सफाया’का नाममा ११ जनाको हत्या गर्‍यो । त्यसपछि पञ्चायती शासकले सात जना विद्रोहीको हत्या गरेर बदला लिए । 

मेचीपारिको पश्चिम बंंगालमा चारु मजुम्दारको अगुवाइमा किसान विद्रोह अर्थात् नक्सलवाडी आन्दोलन उत्कर्षमा थियो । त्यही विद्रोहको झिल्को उछिट्टिएर नजिकैको सीमावारि झापासम्म पुग्यो । नक्सलबाट उछिट्टिएको त्यो झिल्कोले कालान्तरमा झापा विद्रोहको रूप लियो । पञ्चायती सत्ताविरुद्ध उठेको क्रान्ति अन्तत: सिंगो मुलुकमा भुसको आगोझैँ सल्कियो । झापा विद्रोहमा धेरै निमुखा किसान होमिएका थिए । त्यस दौरान धेरै समातिए । धेरै जेल परे । छविलाल राजवंशी, हरिकृष्ण चौधरी, भेत्ला राजवंशी र हेम खड्काको चोला जेलमै उड्यो । कतिपय अहिले पनि छन् । धेरैजसो त कम्युनिस्ट सिद्धान्तबाट टाढिएर भोग, विलास, सत्ता र सम्पत्ति आर्जनमा लागेका छन् । विद्रोह सञ्चालन गर्नेहरूको पार्टी नेकपा एमाले ०४६ यता पटक–पटक सत्तामा पनि पुगेको छ । 

तर, आफूहरूले लामो समयसम्म जेलनेल खेपेको भए पनि पार्टी (एमाले)ले सधैँ बेवास्ता मात्रै गरेको उनीहरूको गुनासो छ । “पार्टीमा माधव नेपाल र केपी ओलीले जति योगदान गर्नुभो, हामीले पनि गरेका हौँ,” दुर्गा अधिकारी (ठूलो) भन्छन्, “तर, उहाँहरू कहाँ पुग्नुभो, हामी जहाँको त्यहीँ ।” झापा आन्दोलनको पुन:मूल्यांकन गरी आन्दोलनका ‘ज्यूँदा सहिद’लाई राहत उपलब्ध गराउन पार्टीसँग उनको निवेदन छ । उनी आक्रोशित हुन्छन्, “आफ्नै पार्टीको सरकार हुँदा पनि हामीले सधैँ रोइकराइ गर्नुपर्ने ?” ७० वर्ष पुगेका उनी युरिक एसिड, बाथ र दमले पीडित छन् । भनेका बेला औषधिमूलो गर्ने पैसासमेत यिनीसँग हुँदैन । 

आफ्नो घर–व्यवहार छाडी पार्टीको झोला बोकेर निरन्तर हिँडेका यिनी निराश अवस्थामा भेटिए । धाइजन–६, पीपलडाँगीको सानो घरमा अहिले यिनी विगत सम्झिएर दिन काटिरहेका छन् । भन्छन्, “त्यो मान्छे म हो कि होइन ? मैले हिँडेको बाटो, त्यो थियो कि थिएन जस्तो लाग्न थालेको छ ।”
गत वर्ष २१ फागुन अर्थात् सुखानी सहिद स्मृति दिवसका दिन एमाले सरकारले झापा विद्रोहमा पञ्चायतद्वारा मारिएका सातमध्ये पाँच जनालाई ‘सहिद’ घोषणा गर्‍यो । ती थिए, झापा किसान संघर्षका दौरान सुखानीमा सहादत भएका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशी । तर, त्यही आन्दोलनमा खटेर लामो समय जेलनेल बे होरेका केही नेता–कार्यकर्ता भने आफू उपेक्षाको सिकार भएको गुनासो गर्दै जीवनको उत्तराद्र्ध काटिरहेका छन् । 

कम्युनिस्ट नेताहरू सिद्धान्तबाट क्रमश: स्खलित बन्दै गएको उनीहरूको आरोप छ । सिद्धान्तच्यूत भएका भए सायद यिनले पनि कमाउँथे होलान् । तर, यिनले कम्युनिस्ट सिद्धान्तलाई कहिल्यै साटेनन् । “हामीले कम्युनिस्ट सिद्धान्तलाई कहिल्यै बेचेनौँ,” धुलाबारीको हडिया पुलमुनिको सानो कटेरोबाट ठूलो दुर्गा अधिकारीका भाइ सानो दुर्गा बोले, “इमानदार बन्दा आज यो हबिगत भयो ।” 

जीवनको आधाभन्दा बढी समय एमाले पार्टीको राजनीतिमा खर्चिए यिनले । ०२७ देखि झापा विद्रोहमा होमिएका सानो दुर्गाले तत्कालीन पञ्चायतको खिलाफ काम गरेको आरोपमा करिब १७ वर्ष जेल भोगे । इलामको शान्तिपुरस्थित जुरे भन्ने स्थानबाट सहयोद्धा रामप्रसाद प्रधानलाई तत्कालीन पञ्चायती सरकारले मार्दा यिनी भाग्यले बाँचे । “म पनि मरेँ होलाजस्तो लागेको थियो,” कहालीलाग्दो क्षण सम्झिए, “भाग्यले बाँचेछु । तर, प्रहरीको कुटाइले शरीर छियाछिया भएको थियो ।” बल, जोस र जाँगर हुँदा पार्टीमै खटिएका यिनी बिलौना गर्छन्, “अहिले तागत पनि सकियो । पार्टीले पनि वास्तै गरेन ।”

झापा विद्रोहका योद्धाहरू आफूलाई नेताहरूले अचानो मात्रै बनाएको बताउँछन् । ६६ वर्षका सानो दुर्गा भन्छन्, “नेताहरूले सधैँ हामीलाई अचानो बनाए, अचानोको चोट खुकुरीलाई के थाहा ?” केही वर्षअघि झापा विद्रोहमै संलग्न डिगेन राजवंशीले एमाले मुख्यालय बल्खुमा आत्महत्या गरेको प्रसंग कोट्याउँदै उनी भन्छन्, “पार्टीले हामीलाई पनि आत्महत्या गर्न बाध्य नपारोस् ।”

झापा शनिअर्जुनका दधिराम उप्रेती, ६५, को हबिगत पनि अधिकारी दाजुभाइको भन्दा भिन्न छैन । शनिश्चरे हाई स्कुलमा पढ्दापढ्दै कम्युनिस्ट भए । जेल बसेर एसएलसी दिए । १४ मंसिर ०२९ देखि २८ असोज ०४४ सम्म करिब १५ वर्ष जेल बसे । झापा विद्रोहकै क्रममा पक्राउ परेका केपी ओली (एमाले अध्यक्ष), राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारीसँगै जेलमा थिए । ओलीलाई जेलमा टीबीले सताएपछि उप्रेतीले खुबै सघाए । 

आन्दोलन र जेलमा सहयोग गरेका उनै केपी ओली अहिले पार्टीको नेतृत्वमा छन् । तर, त्यस बेला ओलीलाई सहयोग गर्ने उप्रेतीहरू यति बेला सहयोगको याचना गरिरहेका छन् । उनलाई धेरै पटक माओवादीले पनि फकाउन आए । आँगनमै आएर मार्चपास पनि गरे । भन्छन्, “तर, कहिल्यै विचलित भइनँ ।”

कतिपयचाहिँ माओवादीको ललाइफकाइमा लागे । अहिले उनीहरू त झन् घर न घाटका भएका छन् । झापा विद्रोहमा लामो समय जेल बसेका धर्मप्रसाद घिमिरे, भीष्म धिमाल, हर्क खड्काहरू माओवादी भए । घिमिरे र धिमाल त पहिलो संविधानसभा निर्वाचनताका सभासद् पनि भए । तर, अहिले उनीहरू गुमनाम छन् । पञ्चायती शासनविरुद्धको आन्दोलनका दौरान १० वर्ष जेल परेका चन्द्र भण्डारी भन्छन्, “न एमालेले न्याय गर्‍यो, न त माओवादीले नै । सबैले प्रयोग मात्रै गरे, छोडे ।” 

पार्टीको सक्रियता

एमाले अध्यक्ष भएपछिको १  वैशाखमा केपी ओलीले भक्तपुरको निवासमा झापा विद्रोहसँग जोडिएका नेता तथा कार्यकर्ताको भेला बोलाएका थिए । त्यही बेला उनले आन्दोलनमा योगदान पुर्‍याउने नेता–कार्यकर्तालाई सहयोग गर्ने प्रतिबद्धता जनाए । जिल्ला कमिटीलाई निर्देशन पनि दिए । तर, अहिलेसम्म जिल्ला कमिटीले कसैलाई सोधीखोजी नै नगरेको आरोप पीडित योद्धाहरूको छ । 

एमाले झापाका अध्यक्ष चिन्तन पाठक झापा विद्रोहका योद्धाहरूको सहायताका लागि पार्टीले कार्यदल वनाएर काम थालेको बताउँछन् । सबभन्दा बढी १७ वर्ष जेल बसेका सांसद नरेश खरेलको संयोजकत्वमा अर्जुन राई र हीरा थापा सदस्य रहेको कार्यदलले राजनीतिक पीडितहरूबारे अध्ययन सुरु गरेको छ । झापा क्रान्तिलगायतका अन्य राजनीतिक घटनामा मारिने नेता–कार्यकर्तालाई सहिद घोषणाका लागि सांसद रविन कोइरालाको संयोजकत्वमा कमिटी बनेको छ । सहिद घोषणा हुन छुटेकाहरूलाई समावेश गराउन कमिटीले पहल थालेको छ ।

 

प्रकाशित: फाल्गुन २७, २०७३