[स्मरण] नेहरुको यू–टर्न

  • तुलसी गिरीले राजा महेन्द्रको के सन्देश लिएर गएका थिए, जसले एकाएक भारत नेपाल मामिलामा नरम भयो त ?

- गोरक्षबहादुर न्हुछें प्रधान

‘डेमोक्रेसी रिसिभ्ड ए सेटब्याक इन नेपाल’ अर्थात् नेपालमा प्रजातन्त्रले झड्का पाएको छ । भारतको नयाँदिल्लीमा एउटा आमसभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले यस्तो मन्तव्य दिए । नेपालमा राजा महेन्द्रले ‘कू’मार्फत निर्वाचित सरकार र संसद् विघटन गरेपछि भारतको दृष्टिकोण के होला भन्ने आमजिज्ञासा थियो । त्यही बेला भारतीय प्रधानमन्त्रीबाट यस्तो धारणा सार्वजनिक भएको थियो । प्रजातन्त्रले झड्का बेहोरेको भन्ने नेहरुको भनाइले पञ्चायत पक्षधरमा खैलाबैला नै मच्चियो । किनभने, निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकार अपदस्थ गर्दा राजा महेन्द्र भारतीय संस्थापन पक्षको समर्थन पाइनेमा ढुक्क थिए । तर, ‘कू’पछि एकाएक भारतीय प्रधानमन्त्रीको नकारात्मक प्रतिक्रिया आएपछि राजा पनि अप्ठ्यारो अवस्थामा पुगे ।

नेहरुको त्यो मन्तव्य आउँदा संयोगले म नयाँदिल्लीमै थिएँ । पाँच महिने संसदीय कार्यविधि तालिमका लागि म त्यहाँ गएको थिएँ । पाटन क्याम्पसमा पढाइरहेको मलाई प्रशासनिक सेवातर्फ जान धेरै साथीभाइको सल्लाह प्राप्त भएकाले ०१६ सालमा उपसचिवका रूपमा सरकारी सेवा प्रवेश गरेको थिएँ, बीपी कोइरालाको सरकार बनेसँगै । लगत्तै सभामुख कृष्णप्रसाद भट्टराईको पहलमा मलाई संसद् सचिवालयमा तानियो । करिब आठ महिना काम गरेपछि तालिममा जाने अवसर मिल्यो ।

चार महिना दिल्लीमा तालिम लिएपछि एक महिना मुम्बईको राज्य विधानसभामा गएर अभ्यास गर्नुपर्ने थियो । दुर्भाग्य ! चार महिना पूरा मात्र के भएको थियो, यता मुलुकमा संसदीय व्यवस्था नै खारेज भयो । उता संसदीय तालिम, यता संसदीय व्यवस्थामाथि नै ‘कू’ । संसदीय व्यवस्था नै नरहेपछि तालिम लिइरहनुपर्ने जरुरी ठानिनँ । तर, दिल्ली लोकसभा सचिवालयको नियम भने कडा रहेछ । पाँच महिनाका लागि तोकेर आएपछि कि सरकारी तवरमा अर्को चिट्ठी लेख्न लगाएर फिर्ता बोलाउनुपथ्र्यो, होइन भने तालिम बीचमै छोडेर फर्किन मिल्दो रहेनछ ।

म सरकारी चिट्ठी बनाउने मनसुवाले दिल्लीस्थित नेपाली दूतावास जाँदा त्यहाँ परराष्ट्रमन्त्री तुलसी गिरीलाई देखेँ । माथिल्लो तलाबाटै उनले मलाई देखे र माथि बोलाइहाले । उनीसमक्ष आफ्ना कुरा राखेँ । उनले पनि ठट्टा गर्दै भने, “संसदीय व्यवस्था नै नभएपछि केको संसदीय कार्यविधि तालिम चाहियो ? फिर्ता जाने चिट्ठी बनाएर पठाइदिन्छु । स्वदेश फर्किने तयारी गर्नू ।” 

मलाई तुलसी गिरी दिल्ली आउनुको कारण बुझ्न धेरै समय लागेन । केही साथीभाइसँगको कुराकानीका क्रममा थाहा पाएँ, भारतीय प्रधानमन्त्री नेहरुले नेपालमा राजाले चालेको कदमबारे दिएको प्रतिक्रियापछि उनी राजाको विशेष प्रतिनिधिका रूपमा दिल्ली आएका रहेछन् । राजा महेन्द्रको सन्देश–वाहकका रूपमा नेपाल–भारत कूटनीतिक सम्बन्धलाई सामान्यीकरण गर्ने उनको मनसुवा रहेछ । अझ भन्दा राजाको कदममा समर्थन जुटाउन उनी दूतावासमा बसेर भेटघाटमा सक्रिय थिए । 

नेपालको सन्दर्भमा राजा महेन्द्रले चालेको कदम तानाशाही थियो । यसलाई भारतले पनि यही ढंगले बुझ्नुपथ्र्यो । तर, भारतले आपसी लेनदेनका रूपमा यस मुद्दालाई सल्टाउने कूटनीति अपनायो । नेपाल पनि यसमा सहमत देखियो । तुलसी गिरीको त्यही विशेष भ्रमणपछि भारतले नेपाल–दृष्टिमा नरमपना ल्यायो । उनको त्यही भ्रमणले राजा महेन्द्रको ६ वैशाख २०१९ का लागि भारतको औपचारिक भ्रमण हुने मिति तय गर्‍यो । 

तुलसी गिरीले राजा महेन्द्रको के सन्देश लिएर गएका थिए, जसले एकाएक भारत नेपाल मामिलामा नरम भयो त ? त्यो भने त्यसबेला चाल पाउने विषय थिएन । तर, राजाले गिरीमार्फत पठाएको गोप्य सन्देशकै कारण भारतीय प्रधानमन्त्री नेहरु ‘यू–टर्न’ भएको भने सबैले चाल पाए । मैले पनि त्यही ढंगले बुझेँ । हुन पनि गिरीको त्यही विशेष भ्रमणपछि भारतले राजा महेन्द्रका कदममा धाप दिन थाल्यो । पञ्चायती व्यवस्थाका निम्ति फलदायी साबित भएको त्यो भ्रमण नेपालको दीर्घकालीन हित र प्रजातान्त्रिक व्यवस्थाका निम्ति भने दुर्भाग्यपूर्ण रह्यो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: फाल्गुन २७, २०७३