[संस्मरण] बेहुला–बेहुली पक्षको अंग्रेजी परीक्षा

- यादव खरेल

साधुराम वयलमानले गाडामा वयल जोत्यो । हामी चार भाइ लुगा लगाएर स्कुल जान तम्तयार भयौँ । मीनपचासको छुट्टीमा मौजामा आउँदा पनि बुबाले गाउँको स्कुलमा भर्ना गरिदिनु हुन्थ्यो । हाम्रो स्कुल झुट्कीमा थियो । बाटोमा धूलो उडाउँदै गाउँको बीचबाट गाडा झुट्कीतर्फ लाग्यो ।

बाटोको दुवैपट्टि एकैनासका एकतले फुसका कच्ची घरहरू थिए । घरअगाडि आँगनको छेउमा बस्तुभाउको फुसकै गोठ थिए । गाउँभरि करिब एकैनासका घर र ग्वालीहरू थिए । सबैतिर बार भने बाँसको हुन्थ्यो । ससाना बग्रेल्ती केटाकेटी नांगैभुतुंगै धूलोमा खेलिरहेका हुन्थे । सबै नै जसो केटाकेटीले एक वा दुई कौडी झुन्डाएको कन्दनी भने बाँधेको हुन्थ्यो । 

पहाडको गाउँभन्दा बिलकुलै भिन्न वातावरण, परिवेश, वेशभूषा, भाषा र मानिसहरू थिए । यो देख्दा कहाँ आइपुगियो भनेर अनौठो लाग्थ्यो । गाउँको सफर र बाटाको दृश्य देख्दा अनौठोका साथसाथै रमाइलो पनि लाग्थ्यो । वरपरका घरहरूबाट मानिसहरू हामीलाई गाडामा हिँडिरहेको हेरिरहन्थे । 

बल्ल झुट्की आइपुगियो । बाँस र खरले बनाएको लामो स्कुलको आँगनमा विद्यार्थीहरू खेलिरहेका थिए । स्कुलको घन्टी बज्नासाथै सबै विद्यार्थी आ–आफ्ना कक्षाकोठातिर लागे । हेडसरले हामीलाई पनि लानुभयो । एकाएक विद्यार्थीहरूको हल्लाखल्ला शान्त भयो । एक जना विद्यार्थी रामिया धानुक गुरु बस्ने स्थानतिर गएर हामीतर्फ हेर्दै उभियो । यसले के गर्न आँट्यो भन्ने मेरो उत्सुकताको जवाफमा रमिया धानुकले सस्वर गीत गाउन सुरु गर्‍यो ‘...जन मन अधिनायक जय हे भारत भाग्य विधाता’ । कक्षाका सबै विद्यार्थीले एकै स्वरमा गीत दोहोर्‍याएर ‘जन गण अधिनायक जय हे भारत भाग्य विधाता’ ।

रमिया धानुक : ‘पन्जाब सिन्ध गुजरात मरठा द्राविण उत्कल बंगा ।’

विद्यार्थीहरू : ‘पन्जाब सिन्ध गुजरात मरठा द्राविण उत्कल बंगा ।’

एवं रीतले गीत गाउने काम सकिएपछि बल्ल गुरुले पढाउन सुरु गर्नुभयो । त्यहाँको पाठशालामा पढुन्जेल मैले पनि ‘जन गण अधिनायक जय हे भारत भाग्य विधाता’ भनेर त्यो गीत कण्ठ पारेर गाएँ । भारतको राष्ट्रिय गान नै त्यहाँका सबै स्कुलको राष्ट्रिय गान थियो । नेपालको कुनै राष्ट्रिय गान थिएन अथवा त्यहाँका शिक्षण संस्थाहरूलाई थाहा थिएन । अंग्रेजीबाहेक सबै विषयको पढाइ हिन्दीमा हुन्थ्यो । नेपालको कुनै पाठ्यपुस्तक पढाइ हँुदैनथ्यो । अरू त अरू त्यहाँ नेपाली रुपियाँ पनि चल्दैनथ्यो । सबै कारोबार भारतीय मुद्रामा हुन्थ्यो । पहिलो दिन स्कुलबाट गाडामा घर फर्कंदै गर्दा म रमिया धानुकको ठाउँमा आफू उभिएको कल्पना गरिरहेको थिएँ । त्यस स्कुलमा पढुन्जेल रामिया धानुकको सट्टा राष्ट्रिय गानको नेतृत्व मैले पो गर्नुपर्ने त भन्ने कुराले मलाई पिरोलिरह्यो तर राष्ट्रिय गान गायनको नेतृत्व गर्न भने मैले कहिल्यै पाइनँ । 

झुट्की स्कुलको छेउमै दाहिने र देब्रेपट्टि दुईवटा ठूलठूला पोखरी थिए । दाहिनेपट्टि पोखरीको छेउमा एक जना बाबाजी कुटी बनाएर बस्नुभएको थियो । स्कुलको छेउछाउमा अरू कुनै बस्ती थिएन । यस्तो एकान्त ठाउँमा नडराईकन बाबाजी कसरी एक्लै बस्न सक्नुहुन्छ भनेर मलाई आश्चर्य लाग्थ्यो । हामी स्कुल आउँदा बाबाजीलाई बुबाले बेलाबेलामा दाल, चामल, नुन, तेल आदि पठाइदिनुहुन्थ्यो । 

बाबाजीले त्यो पोखरीको कथा सुनाउनुभयो । पोखरीको कथा महाभारतको कथासँग जोडिएको थियो । महाभारतमा पाण्डव र कौरवको युद्ध सुरु हुनुअघि पाण्डवहरू गुप्तबास बसेका बेलामा खाना पकाउन लुकाएर राखेका भाँडाकुँडा पोखरीभित्र छन् र रातीराती भाँडा बजेको आवाज अझै पनि सुनिन्छ भनेर सबै गाउँले विश्वास गर्थे । तर, पोखरीभित्र खनेर भाँडा निकाल्ने दुस्साहस भने कसैले गरेका थिएनन् । त्यस पोखरीमा मल्लाहाहरूले माछा पनि मार्दैन थिए । 

स्कुलको दायाँपट्टिको पोखरीले भने हामी विद्यार्थीलाई बढी आकर्षित गथ्र्याे । कारण के थियो भने त्यहाँ सधैँ जंगली पानीहाँस कमलको फूलको बीचबीचमा पौडी खेलिरहेका हुन्थे । हामीलाई पोखरीको डिलबाट ससाना ढुंगाले पानीहाँस हान्न मजा आउँथ्यो । त्यस पोखरीमा बेलाबेलामा मल्लाहाहरूले गिट्ठाजस्ता काला दाना निकाल्थे । झन्डैझन्डै कमलको जस्तै पात भएको लहरे बिरुवाको पानीमुनिको जरामा यस्ता काला दाना फल्थे । 

मैले मल्लाहालाई साधेँ, “यो के हो ?”

मल्लाहाले भने, “यी मख्खन छे मख्खन ।”

मलाई विश्वास लागेन । सधैँ सेतो मख्खन मात्र देखिरहेको मलाई उसले उल्लु बनाउन खोज्यो भन्ने लाग्यो । तर, मल्लाहाको कुरा साँचो रहेछ । त्यो कालो मख्खनलाई भुटेर बोक्रा निकालेपछि भित्रबाट सेतो मख्खन निस्कँदो रहेछ । 

पढाइमा हिसाब र अंग्रेजी विषयको सबैभन्दा धेरै महत्त्व थियो । बाँकी विषयलाई त्यति महत्त्व दिइँदैनथ्यो । अंग्रेजी विषयको महत्त्व र गरिमा मैले एक दिन एउटा विवाहको जन्ती जाँदा प्रत्यक्ष अनुभव गरेको छु । 

बेहुलाका तर्फबाट बुबा सँगसँगै म पनि बननिया गाउँमा जन्ती गएको थिएँ । जन्तीलाई स्वागत गर्न ढोकामै मैन्टोल बालेर राखिएको थियो । गाउँमा बिजुली पुगेको थिएन । मैन्टोलको नजिकै दुईपट्टि दुई जना मानिस हातमा स्ट्यान्ड लगाएको कचौराजस्तो भाँडो बोकेर उभिएका थिए । लाममा भएका जन्ती त्यस भाँडोमा हात हालेर मात्रै पालतिर अगाडि बढिरहेका थिए । मैले पनि कुरा नबुझीकनै त्यो कचौराजस्तो भाँडोभित्र हात घुसारेँ । हात बाहिर निकाल्दा त मगमग अत्तर बास्ना आयो । बल्ल थाहा पाएँ, त्यो ठूलो बटुकोभरि जन्तीको स्वागतार्थ अत्तरमा छपक्क भिजेको रुई राखिएको रहेछ । पहाडको गाउँमा जन्ती जाँदा त यसरी अत्तरमा हात चोपल्न दिँदैनथे । मधेसमा त खासाको चलन रहेछ । म मनमनै तारिफ गर्दै पालपट्टि लागेँ । 

पालमा बेहुला र बेहुलीपट्टिका जन्तीहरू आमने–सामने गरेर दुई भागमा बाँडिएर बसेका थिए । पालभित्र अस्वाभाविक रूपमा शान्ति थियो । बेहुलापट्टिका एक जना मानिस बसेको ठाउँबाट जुरुक्क उठेर बेहुलीपट्टिकालाई सम्बोधन गर्दै अंग्रेजीमा भाषण गर्न थाल्यो– म हरि मिश्र, बीए । 

बेहुलापट्टिकाले तुरुन्तै टररर ताली बजाए । ऊ अंग्रेजीमा भन्दै गयो– मेरो गाउँ बननिया हो । एकदम सुन्दर छ । मैले दरभंगा कलेजबाट बीए पास गरेको छु । 

झन् बेसरी ताली बज्यो । 

भारतका राष्ट्रपतिको नाम के हो ? मिश्रजीले अंग्रेजीमै प्रश्नको गोली दागे । बेहुलीपट्टि खलबली मच्चियो । जन्तीहरू खासखुस गरे । धर्मा यादवले फुर्तिसँग अंग्रेजीमै जवाफ दिन थाले– म धर्म यादव, बीए । लहरिया सरईबाट बीए पास गरेको छु । 

बेहुलीपट्टिका जन्तीहरूले अघिको भन्दा बेस्कन ताली पड्काए । मेरो गाउँको नाउँ नार्घाे हो । बननियाभन्दा सुन्दर छ । यो पनि अंग्रेजीमा । तालीको पर्रा छुट्यो । बल्ल क्लाइमेक्स आयो ।

अंग्रेजीमै भन्यो– भारतका राष्ट्रपतिको नाम श्री राजेन्द्र प्रसाद । 

गोली ठीक ठाउँमा लाग्यो । उत्तर सही थियो । केटापट्टिका जन्तीहरू खिस्रिक्क परे । केटीपट्टिका जन्तीले भने पाँच मिनेटसम्म ताली बजाइरहे । 

अंग्रेजीमा बोल्दा जति छिटो बोल्न सक्यो उति बढी नम्बर पाइन्थ्यो । भाषाको शुद्धताको खासै मतलब थिएन । त्यसैले वक्ताहरू सकेसम्म छिटोछिटो पररर अंग्रेजी बोलेर जन्तीहरूलाई प्रभावित गर्न खोज्थे । 

अबको पालो थियो केटीपट्टिको । धर्मा यादवले फुर्तिसाथ अंग्रेजीमा प्रश्न गर्‍यो– भारतमा कति राज्य छन् ?

 प्रश्न जटिल थियो । बेहुलापट्टिका फत्रक्कै परे । निकै बेरको खासखुसपछि हरि मिश्रले धर्मराउँदै जवाफ दिए– भारतमा १३ राज्य...।

धर्मा यादव औँला ठडाउँदै तुरुन्तै करायो– गलत जवाफ । १३ होइन, १५ राज्य ।  

बेहुलीपट्टिका जन्तीहरू कोही बुर्लुक्कै उफ्रँदै थपडी बजाउन र कोही सिट्ठी बजाउन थाले । एवं रीतले एक घन्टासम्म दुवै पक्षबीच प्रश्नोत्तरमा अंग्रेजी भाषाको परीक्षण क्रम चलिरह्यो । आखिरमा केटीपट्टिकाको जित भयो । भोज खाने बेलामा केटीतर्फका धर्मा यादवको तारिफ गरिरहेका थिए, ‘ धर्मा यादव आज नर्घोके नाक राखल्छिन् । केहेन इंगलिस बोलैछिन् । अंग्रेजी बाबु से कम नाहै ।’

साँच्चि नै बेहुलाभन्दा पनि त्यस दिनको हिरो भएको थियो धर्मा यादव । 

प्रकाशित: फाल्गुन २७, २०७३