ईपीएलमा थ्रीम्यान डिफेन्स

  • नयाँ शैलीले चेल्सी फाइदामा

- ज्ञानेन्द्र आचार्य

यो सिजन प्रिमियर लिगमा एउटा ट्रेन्ड चलेको छ, ‘थ्रीम्यान डिफेन्स’को । प्रिमियर लिगका २० मध्ये १३ वटा क्लबले यसै सिजन यो सिस्टमलाई कम्तीमा एउटा खेलमा प्रयोग गरेका छन् । फुटबलमा यो कुनै नयाँ सिस्टम होइन । इटालियन क्लबहरूले सबैभन्दा बढी रुचाउने ‘फर्मेसन’ हो यो, डिफेन्समा तीन खेलाडी लिएर खेल्ने । डिफेन्स मजबुत राख्न चाहने प्रशिक्षकले यो सिस्टम अँगाल्छन् । जस्तै : चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टे । 

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक लुई भानगालले पनि यसलाई पछ्याएका थिए । म्यानचेस्टर युनाइटेडले यही सिस्टम अन्तर्गत आंशिक सफलता पायो । सन् २०१४ को विश्वकपमा नेदरल्यान्डले पनि थ्रीम्यान डिफेन्स लिएर खेलेको थियो । भानगाल नै प्रशिक्षक रहँदा विश्वकपमा नेदरल्यान्डले राम्रै खेलेको थियो । 

भन्नलाई थ्रीम्यान डिफेन्स भनिए पनि यसमा डिफेन्ड गर्ने तरिका फरक छ । टिम ‘डिफेन्सिभ मोड’मा रहँदा पछाडिका तीन डिफेन्स खुम्चिन्छन् । यसले डिफेन्स लाइनको दायाँ र बायाँ दुवैतिर ‘स्पेस’ रहन्छ । यसैमा ‘विङ ब्याक’मा खेलिरहेका खेलाडी पछाडि झरेर यो स्पेस कब्जा गर्न खोज्छन् । यसरी डिफेन्सिभ मोडमा पाँच जना डिफेन्डरको भूमिकामा रहन्छन् । 

प्रिमियर लिगका टिमहरू निकै तीव्र गतिमा खेल्छन् । एकाध टिमबाहेक सबैले डाइरेक्ट शैलीको फुटबल खेल्छन् । यस्तोमा थ्रीम्यान डिफेन्स कहिलेकाहीँ आत्मघाती पनि हुन सक्छ । खास गरी विङबाट आक्रमण गर्ने टिमविरुद्ध । त्यसैले यो सिस्टम प्रिमियर लिगमा आंशिक रूपमा मात्रै सफल भएको थियो । ब्रेन्डन रोजर्सले पहिला स्वान्सी र पछि लिभरपुललाई यही शैलीमा खेलाएका थिए । रोबर्टो मार्टिनेज एभरटनमा हुँदा थ्रीम्यान डिफेन्स शैलीलाई नै प्रयोग गरेका थिए । औसत टिमविरुद्ध राम्रै देखिए पनि यो सिस्टम ठूला टिमविरुद्ध चाहिँ सफल हुन सकेन । त्यसैले कुनै प्रशिक्षकले पनि यसलाई स्थायी फर्मेसन बनाएनन् । 

एन्टिनियो कोन्टो यस्ता प्रशिक्षक हुन्, जसले यो सिस्टमलाई सही तरिकाले प्रयोग गर्न सकेका छन् । युभेन्ट्सका प्रशिक्षक रहँदा कोन्टेले यही शैली प्रयोग गरेर लगातार तीन पटक इटालियन सिरी ए जिते । र, अहिले चेल्सीमा पनि उनी यसलाई राम्रै प्रयोग गरिरहेका छन् । 

प्रिमियर लिगका लगभग सबै टिमले ४–४–२ या ४–२–३–१ सिस्टम प्रयोग गर्छन् । यी सिस्टममा डिफेन्समा चार खेलाडी रहन्छन् । चेल्सी आएपछि कोन्टेले पनि चार जना डिफेन्डर राखेरै सुरु गरेका थिए । उनले छैटौँ साताको खेलमा आर्सनलविरुद्ध पहिलो हाफमै तीन गोल खाएपछि दोस्रो हाफमा फर्मेसन परिवर्तन गरे । गोल गर्न नसके पनि चेल्सीले त्यसपछि प्रभावशाली खेल देखायो । अनि, अर्को खेलबाट कोन्टेले थ्रीम्यान डिफेन्स नै प्रयोग गरिरहेका छन् । अहिले ३–४–३ सिस्टममा रहेको चेल्सीले आर्सनलसँगको हारपछि प्रिमियर लिगका २० खेलमा १७ जित, दुई बराबर र एक हार दर्ता गरेको छ । चेल्सी अहिले प्रिमियर लिगको शीर्ष स्थानमा पनि छ ।

यो सिस्टमको अर्को सकारत्मक पक्ष भनेको यसले मिडफिल्डलाई कम्प्याक्ट बनाउँछ । अर्थात्, विपक्षीलाई मिडफिल्डमा स्पेस भेटाउन गाह्रो पर्छ । र, उनीहरूबाट गोलको मौका सिर्जना पनि कम हुन्छ । बल आफ्नो नियन्त्रणमा राखेर खेल्न रुचाउने बार्सिलोना पनि बेलाबेलामा ३–४–३ शैलीमै खेल्छ । १९ फागुनमा स्पोर्टिङविरुद्ध ६–१ को प्रभावशाली जित निकाल्दा बार्सिलोना यही शैलीमा उत्रिएको थियो । 

तर, चेल्सी र बार्सिलोनाको ३–४–३ शैली भने फरक छ । बार्सिलोनाका मिडफिल्डरहरू ‘स्किलफुल’ छन् र उनीहरू बल आफ्नो नियन्त्रणमा राख्न पोख्त छन् । चेल्सीले बल ‘पोजेसन’मा खासै ध्यान दिँदैन । यस कारण ३–४–३ सिस्टममा खेल्दा चेल्सीका विङ ब्याक सतर्क र सक्रिय हुनु जरुरी छ । चेल्सीमा भिक्टर मोजेज र मार्कोस अलोन्सोले यो भूमिका राम्रोसँग निभाएका छन् । त्यस कारण पछिल्ला २० खेलमा चेल्सीले ४५ गोल गर्दा मात्रै १० गोल खाएको छ । 

३–४–३ मा खेल्दा चेल्सीको डिफेन्स गेरी केहिल, डेभिड लुइज र सिजर एज्पुलिक्वेटाले सम्हाल्छन् । बीचमा चार मिडफिल्डरमध्ये एनगोलो कान्टे र नेमान्जा म्याटिच डिफेन्सिभ मिडफिल्डको भूमिकामा हुन्छन् । विङ ब्याक भएर खेल्ने मोजेज र अलोन्सो आक्रमण गर्दा अगाडि हाजार्ड र पेड्रोलाई सघाउन जान्छन् । र, परेका बेला तुरुन्तै डिफेन्समा झर्छन् । उनीहरूकै सहयोगबाट पेड्रो र हाजार्डलाई गोलको मौका सिर्जना गर्न सजिलो भएको छ । कहिलेकाहीँ पेड्रोको ठाउँमा विलियान खेल्छन् । डियगो कोस्टा सधैँ स्ट्राइकरको भूमिकामा रहन्छन् । यो सिस्टम अपनाएपछि चेल्सीले १२ खेलमा गोल खाएको छैन । 
प्रिमियर लिगमै थ्रीम्यान डिफेन्समा चेल्सी सफल देखिएपछि वेस्टह्यामले पनि यही शैलीमा खेल्न सुरु गरेको छ । यहाँसम्म कि म्यानचेस्टर सीटी, एभरटन र टोटन्ह्यामजस्ता ठूला क्लबले पनि प्रिमियर लिगका केही खेलमा परम्परागत फोर म्यान डिफेन्सको सट्टा थ्रीम्यान डिफेन्समा खेलिरहेका छन् । 

प्रकाशित: फाल्गुन २६, २०७३