नेपाली नन–एक्टर

  • ‘रियल’ चरित्रलाई ‘रिल’मा उतार्ने कलाकार

- गोकर्ण गौतम

‘मलाई मान्छे नसोच्नू, म भरिया हो भरिया ।’

सेतो सूर्यमा अमृत परियारले यो संवाद बोल्दा आङ सिरिंग नहुने सायदै कोही होलान् । फुच्चे भएकै कारण आफूभन्दा बडेमानको भारी बोक्न नपाएपछि परियारका मुखबाट यो वाक्य फुत्त निस्कन्छ । यो संवाद निर्देशक दीपक रौनियारको होइन, परियारकै हो । किनभने, सेतो सूर्य खेल्नुअगाडि वास्तविक जीवनमा उनी भरिया नै थिए । भारी बोकेर, खच्चड र भेडा धपाएर उनको बालापन बित्यो । फिल्ममा जस्तै वास्तविक जीवनमा पनि उनी टुहुरा हुन् । अनि, कसरी ननिस्कियोस् त्यो पीडाभाव ? भन्नु परोइन कि जीवन्त अभिनयबाट देश/विदेशमा काफी प्रशंसा बटुलेका परियारलाई सेतो सूर्य नखेल्दासम्म अभिनय भनेको कुन चराको नाम हो जस्तो लाग्थ्यो । 

माघ अन्तिम साता प्रदर्शित फिल्म डाइङ क्यान्डलको मुख्य भूमिकामा छन्, लाक्पा सिङी तामाङ । यसमा सौगात मल्ल, अर्पण थापा, सिर्जना सुब्बाजस्ता गिनेचुनेका कलाकार पनि छन् तर चर्चा तामाङकै भयो । आखिर ग्रामीण भेगको गरिब परिवारको बालकको चरित्रलाई तामाङले साँच्चै जीवन्त बनाएका छन् । किनभने, उनको वास्तविकता र फिल्मी चरित्रबीच अधिक समानता छ । सुटिङ पनि उनकै गाउँ रसुवाको गत्लाङमा भएको थियो । 

सशस्त्र द्वन्द्वकालको कारुणिक कथा भनिएको कालो पोथी प्रदर्शनसँगै खड्ग नेपाली र शुक्रराज रोकाया रातारात चर्चामा आए । यही एउटा फिल्मले उनीहरूलाई मूलधारको चल्तीको स्टारभन्दा बढी ख्याति दिलायो । यी दुईको पृष्ठभूमि पनि परियार र तामाङको भन्दा फरक छैन । मतलब नेपाली र रोकायाले आफ्नै जीवनसँग अति नजिक भएको चरित्र निर्वाह गरे, फिल्म खेल्न टाढा कहीँ जानुपरेन, निर्माण टोली उनीहरूकै गाउँ मुगुको भामबाडा पुग्यो । 

फिल्मी भाषामा यस्ता कलाकार/पात्रलाई ‘नन–एक्टर’ भनिन्छ । जो आफैँमा कलाकार होइनन्, न त कहिल्यै अभिनयको प्रशिक्षण नै लिए । तर, पर्दामा यस्तो चरित्रमा देखिए, जुन उनीहरूको यथार्थसँगै मिल्दोजुल्दो छ । भनिन्छ, जब समाजको तल्लो तहमा पुगेर कथा बुनिन्छ, तब नन–एक्टरको बाहुल्य बढ्छ । किनभने, कुनै व्यावसायिक कलाकारभन्दा सोही पृष्ठभूमिमा हुर्किएकाले चरित्रलाई जीवन्तता दिन्छन् । नुमाफुङ र दलनमा नन–एक्टरलाई काम गराएका निर्देशक नवीन सुब्बा भन्छन्, “उनीहरू जुन परिस्थितिमा बाँचेका हुन्छन्, चरित्र त्यस्तै हुन्छ । त्यसमाथि कहिल्यै नदेखेको अनुहार हुने भएकाले दर्शकले छिट्टै रिलेट गर्छन् ।” यसो हुँ‘दा फिल्मको कलात्मक पक्ष बलियो हुन्छ । 

स्टार सिस्टमले गाँजेको हाम्रो जस्तो फिल्म उद्योगमा नन–एक्टरलाई प्रमुख चरित्रमा उभ्याउनु आफैँमा चुनौती हो । तर, निर्देशकले सही मात्रामा त्यस्ता पात्रलाई पर्दामा उतार्न सके भने त्यसको ख्याति स्वदेशमा मात्र सीमित हुन्न । जस्तो : कालो पोथीले प्रतिष्ठित भेनिस फिल्म फेस्टिभल–२०१६ मा क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड जित्यो । सेतो सूर्यले भेनिसमै ‘इन्टर फिल्म अवार्ड’ चुम्यो भने डाइङ क्यान्डल अमेरिकाको क्विन्स वल्र्ड फेस्टिभल–२०१६ मा उत्कृष्ट फिल्मसहित तीन विधामा मनोनयनमा पर्‍यो । 

हुन त आधा शताब्दी पार गरेको नेपाली फिल्ममा नन–एक्टरलाई काम गराएर समाजका अन्तरकुन्तरलाई खोतल्ने निर्देशक र फिल्मको खडेरी छ । बलिउडको मसला सूत्रबाट दीक्षित फिल्ममेकरले अभिनय र चरित्रका भित्री आयामलाई उधिन्ने कष्टै गरेनन् । तर, यो वर्ष रिलिज भएका कालो पोथी, सेतो सूर्य र डाइङ क्यान्डल मात्र नन–एक्टरलाई देख्न पाइएको भने होइन । बजारभन्दा कलालाई महत्त्व दिने निर्देशकहरूले यसअघि नै यसको अभ्यास गरिसकेका थिए । 

विसं ०५० तिर नेपाल टेलिभिजनबाट उजेली नामक सिरियल प्रसारण भएको थियो । निर्देशक थिए, दीपेन्द्र गौचन । बालविवाहमा आधारित यस सिरियलले तत्कालीन समयमा नेपालमा बहस त छेड्यो नै, सँगै विश्वका २० भन्दा बढी टेलिभिजन च्यानलबाट पनि प्रसारण भयो । धेरैलाई थाहा नहोला, यो सिरियलको मुख्य भूमिकामा रहेकी बालिका बिन्द्रा अधिकारी पनि नन–एक्टर नै हुन् । पटकथा र लोकेसन निधो भएपछि अडिसन्समार्फत नुवाकोट बेतिनीकी अधिकारीलाई अभिनय गराइएको थियो । आफ्नै गाउँमा छायांकन भएको र आफँैले देखे/भोगेको चरित्रमा उनले बनावटी अभिनय नै गर्नुपरेन । सिर्फ क्यामेराअगाडि वास्तविक जीवन बाँचिन् । जसको कारण अढाई दशकपछि पनि उक्त चरित्र धेरैले सम्झने गर्छन् ।

ओस्कार अवार्डको ७२औँ संस्करणमा उत्कृष्ट विदेशीभाषी फिल्मको मनोनयनमा परेको क्याराभानका मुख्य अभिनेता थिन्ले लेन्डुप पनि डोल्पाका स्थानीय हुन् । फ्रेन्च निर्देशक एरिक भ्यालीले डोल्पा पुगेरै थिन्लेलाई कास्टिङ गरेका थिए । उनको लबज, हुलिया, भाषा र हाउभाउले फिल्मको वजन बढायो । अघिल्लो वर्ष देहान्त भएका थिन्लेले क्याराभानपछि इकु नामक फिचर फिल्म र नेपथ्य ब्यान्डको सा...कर्णाली...को भिडियोमा देखिए । निर्देशक मनोज पण्डितले पनि बालयौन दुराचारमा आधारित फिल्म छायाँमा जयबागेश्वरीस्थित स्कुलमा ३ कक्षामा अध्ययनरत प्रविना खड्कालाई अभिनय गराएका छन् । नन–एक्टरको स्वाभाविकता र चरित्रकरणबीच सन्तुलनमा राख्न सकियो भने उनीहरूको निश्छलता र निर्दोषपन फिल्मको सबभन्दा ठूलो विशेषता हुने पण्डितको बुझाइ छ । 

नेपाली फिल्मको मौलिकता निर्माणमा मानक मानिएको नुमाफुङमा बोझु बनेकी राममाया तुम्रुकलाई निर्देशक सुब्बाले पाँचथरको सिवाबाट छानेका थिए । पात्र लेखेपछि खोज्दै जाँदा भेटिएका थिए, सुब्बाकै खाङग्रीकी मुख्य कलाकार जङ्बु शेर्पा । मनाङ, खुम्बुजकी जङ्बुले खाङग्रीअगाडि कुनै फिल्मसमेत हेरेकी थिइनन् । चर्चित सिरियल दलनका अधिकांश बालकलाकार सुटिङस्थल पर्वत र कास्कीका हुन् । कटुवालको भूमिकामा रहेका ल्यामबहादुर दर्जी पनि नन–एक्टर नै । दलनका दलित कलाकार यथार्थमै पनि दलित हुन् । निर्देशक सुब्बा भन्छन्, “कथाकै परिवेश र समाजमा हुर्किएकालाई अभिनय गराउँदा नक्कल लाग्दैन, वास्तविक महसुस हुन्छ । त्यसैले नन–एक्टर सधैँ हाम्रो रोजाइमा पर्छन् ।” 

फिल्म प्राविधिक रूपमा जटिल माध्यम हो । त्यसैले कहिल्यै फिल्मसँग सरोकाकार नभएकालाई अभिनय गराउँदा क्यामेरा, लाइटिङ र रिफ्लेक्टरसँग डराउने खतरा हुन्छ । अपेक्षाकृत काम पनि निस्कँदैन । यसका लागि ती कलाकारलाई सहज र सौहार्द्र माहौल उपलब्ध गराउनुपर्ने डाइङ क्यान्डलका कास्टिङ निर्देशक विमल सुवेदी सुनाउँछन् । करिब पाँच सय विद्यार्थीको अडिसन लिएपछि तामाङ छानिए । त्यसपछि उनले करिब तीन महिना अभिनयको वर्कसप दिएका थिए । विमल भन्छन्, “लाक्पा जस्तो छ, त्यस्तै चरित्र थियो हाम्रो । त्यसैले क्यामेरामैत्री हुनासाथ चरित्रलाई पूरै आत्मसात् गर्न थाले ।” फिल्मका रोएका दृश्य अनुभूत गरेरै लाक्पा वास्तवमै रोएका थिए । 

बरू, व्यावसायिक को–स्टारले रि–टेक लिन्थे तर कालो पोथीका नेपाली र रोकाया अनि सेतो सूर्यका परियारको अक्सर पहिलो सट नै ‘ओके’ हुन्थ्यो । सेतो सूर्यकी सुमी मल्ल पनि अमृतजस्तै सोही पृष्ठभूमिकी हुन् । सुरुमा उनको भूमिकाका लागि काठमाडौँबाट एउटी बालिका लगिएको थियो, कास्कीको घान्दु्रकमा तर त्यो परिवेशलाई उनले आत्मसात् नै गर्न सकिनन् । त्यसैले सुटिङको तीन दिनपछि सुमीलाई छानिएको थियो । यही फिल्मका अभिनेता रवीन्द्रसिंह बानियाँ भन्छन्, “अमृत र सुमीको जीवन्त अभिनयले म र दयाहाङ (राई)लाई आच्छुआच्छु पथ्र्यो । किनभने, उनीहरू आफ्नै जीवन बाँचिरहेका थिए, हामी बाँचेको जस्तो नक्कल गरिरहेका थियौँ ।” 

इटालीमा दोस्रो विश्वयुद्धपछि कम बजेटमा समाज अन्तरकथा खोतल्ने फिल्म बनाउन थालिएसँगै नन–एक्टरलाई काम गराउने अभ्यास सुरु भयो । पछि यो ‘ट्रेन्ड’ इरानतिर सर्‍यो । नन–एक्टरलाई खेलाइएका फिल्महरूबाटै इरानले विश्व फिल्मी मानचित्रमा आफ्नो अलग र विशेष पहिचान बनाइरहेको छ । हामीकहाँ कालो पोथीहरूले त्यही सम्भावना देखाएका छन् । भनिहालियो, नन–एक्टरलाई अभिनय गराइएका फिल्म एकातिर सामाजिक यथार्थसँग अति नजिक हुन्छन्, अर्कातिर विदेशी फिल्म फेस्टिभलमा सम्मानजनक उपस्थिति जनाएका छन्, नुमाफुङदेखि डाइङ क्यान्डलसम्मले । निर्देशक सुब्बा भन्छन्, “बलिउडको मसला ह्याङ र स्टारको टाउको बेच्ने प्रवृत्तिको अन्त्य गर्न पनि नन–एक्टरलाई काम गराउनु फलदायी हुन्छ ।” 

तर, संकट त नन–एक्टर फिट हुने मौलिक कथा र उनीहरूलाई काम गराउने निर्देशकको न हो !

प्रकाशित: फाल्गुन २६, २०७३