पृथ्वीनारायणका कारण जागिर चट्

  • यस राष्ट्रप्रति पृथ्वीनारायणको लगानी छ भन्ने मान्यता र उनको नाम नै सुन्न नचाहने द्वन्द्वको बीचमा छ, नेपाल ।

- सुमित शर्मा समीर

प्रसंग हो, गैरसरकारी संस्था नेपाल ट्रान्जिसन टू पिस इन्स्टिच्युट (एनटीटीपीआई)ले नेपालको शान्तिप्रक्रिया १० वर्ष पुगेको अवसरमा १–३ मंसिरमा आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको । यो त्यही सम्मेलन हो, जसलाई अभूतपूर्व रूपमा सफल बनाएको भन्दै संस्थाको कार्यकारी निर्देशक यो पंक्तिकार र यसका अरू कर्मचारीलाई पुरस्कृत गरेको थियो, संस्थाको बोर्डले । त्यसमाथि उम्दा काम गरेको भनेर मेरो एक वर्ष करारसमेत थप गरिएको थियो । 

तर, अन्तत: त्यही सम्मेलनमा मैले दिएको स्वागत मन्तव्य नै केही सातापछि मलाई संस्थाबाट राजीनामा गराउन कारक भइदियो । कारण थियो, मेरो स्वागत मन्तव्यमा परेको पृथ्वीनारायण शाहसम्बन्धी अभिव्यक्ति ।  

यस राष्ट्रप्रति पृथ्वीनारायणको लगानी छ भन्ने मान्यता र उनको नाम नै सुन्न नचाहने द्वन्द्वको बीचमा छ, नेपाल । पुरानाजति सबै खराब, चाहे त्यो इतिहास होस्, धर्म होस् या संस्कृति नै किन नहोस् । र, नयाँजति सबै ठीक । हामी यही द्वन्द्वमा छौँ । 

यो विचारसँग म सहमत छैन । पुराना पनि सबै खराब हुँदैनन् र नयाँ पनि सबै ठीक हुँदैनन् । हाम्रो संस्थाको काम के हो ? यही द्वन्द्वलाई सम्बोधन गर्ने होइन ? यस्ता द्वन्द्वरत विचारहरूलाई समायोजन गर्न नै मैले पृथ्वीनारायण शाहले प्रारम्भ गरेको राष्ट्रनिर्माणको प्रक्रियाले शान्तिप्रक्रियामा प्रतिबद्धता जनाइएका मुद्दाहरूको सम्बोधनपछि पूर्णता पाउँछ भन्ने तर्क गरेको थिएँ ।

कार्यक्रममा उपस्थित केही मधेसी र जनजाति मित्र तथा अग्रजहरूले मेरो कुरामा चित्त बुझाउनु भएन । ठीक छ, विमति हुन्छ । ‘कन्टेस्टेसन’लाई कसले इन्कार गरेको छ ? तर, अरूको विचार सुन्न सक्ने धैर्य पनि चाहिन्छ । पृथ्वीनारायणको नाम लिनेबित्तिकै संस्था र दातृ निकायका केही पात्र र प्रवृत्तिलाई आपत्ति भयो । दातृ निकाय भनेर सम्पूर्ण ‘इन्स्टिच्युसन’लाई अधैर्यवान् भनिरहेको छैन म । कमसेकम मेरो सन्दर्भमा संस्था र दातृ निकायभित्रका एकाध पात्र र प्रवृत्तिको कुरा गर्दै छु । 

तिनै पात्र र प्रवृत्तिले संस्थाका महासचिव विद्याधर मल्लिकसँग आफ् नो असन्तुष्टि व्यक्त गरे । अनि, सुरु भयो– मेरो मौखिक स्पष्टीकरणको प्रक्रिया । संस्था छोडेर जान पनि कसरी भन्नू ? के कारण देखाएर भन्नू ? केहि महिनाअघि मात्रै उम्दा काम गरेको भनेर करार थपिएको जो थियो । 

मलाई माफी माग्न भनियो, मैले मानिनँ । बरू, म राजीनामा गर्न तयार भएँ । अन्तत: फागुनको तेस्रो साताबाट लागू हुने गरी राजीनामा गरिदिएँ ।

नेपालमा जारी द्वन्द्वलाई औपचारिक र अनौपचारिक तवरको बीच अर्थात् ‘ट्रयाक १.५’मार्फत शान्तिप्रक्रियालाई सहजीकरण गर्ने उद्देश्यले स्थापित एनटीटीपीआईले अमेरिका र स्वीट्जरल्यान्डका सहायता नियोगबाट आर्थिक सहायता पाउँदै आएको छ । पूर्वसभामुख दमननाथ ढुंगाना अध्यक्ष रहेको यस संस्थाको बोर्डमा पद्मरत्न तुलाधर, विद्याधर मल्लिक, स्टेला तामाङ, प्रा वीरेन्द्र मिश्र, विष्णु सापकोटा र सजना मानन्धर छन् । 

खासमा दोष हाम्रो बुझाइको हो । दोष हामीले बोकेका मतहरूबीचको भेदले गर्दा हो । यही मतभेदका कारण संस्थाबाट बिदा हुनुपरेको हो । 

मैले पृथ्वीनारायणको नाम नबुझी लिएको होइन । उनले यस राष्ट्र्रको पुन:एकीकरण गरेका हुन् । कसैले यसलाई राज्य विस्तार पनि भन्छन् । त्यसमा आपत्ति भएन । तर, तथाकथित बौद्धिक जमातले नै विचारको विविधतालाई आत्मसात् नगर्नु, फरक विचार सुन्नै नसक्नु, कस्तो निषेधको वकालत गरिरहेछौँ हामी । 

०६२/०६३ को आन्दोलनसम्म पृथ्वीनारायणलाई यो राष्ट्रको निर्माता भनिएकै हो । तर, राजसंस्थाविरुद्धको आन्दोलनले त्यो मान्यतामाथि प्रहार गर्‍यो । पृथ्वीनारायणका सालिकहरू तोडिए । गणतन्त्रको पक्षको आन्दोलनमा म स्वयं सरिक भएकै हुँ । हालका स्वास्थ्यमन्त्री गगन थापाले १९ दिने त्यस आन्दोलनको सञ्चालन मेरै नयाँ बानेश्वरको डेराबाट गर्नुभएको हो । 

इतिहास इतिहास हो । यसलाई समाप्त गर्नु परिवर्तन होइन । पृथ्वीनारायणको इतिहास समाप्त गर्ने अथवा मान्यता नदिने हो भने भोलि मैथिल, भोजपुरा, किराँत आदि कसैको इतिहासलाई मान्दिनँ भने भने के हुन्छ ? 

मैले संस्थाको कार्यकारी निर्देशकको हैसियतले सोचेरै बोलेको हुँ । त्यसैले यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु । मेरो बुझाइमा, त्यो मन्तव्यले संस्थाको ‘लेजिटिमेसी’लाई थप फराकिलो बनाउँछ भन्ने थियो । त्यसभन्दा पनि महत्त्वपूर्ण मेरो आस्थाको विषय थियो । परिवर्तन, विचारधारा, ‘डिस्कोर्स’को बीचमा नेपाल द्वन्द्वरत छ भन्ने मेरो बुझाइ हो । र, त्यो द्वन्द्व निराकरणका लागि सहजीकरण गर्ने काम नै एनटीटीपीआईजस्तो संस्थाले गर्ने हो । यस्तो संस्थाले दूरी घटाउने हो कि बढाउने ?

वैचारिक दूरी कसरी घट्छ त ? ०६२/०६३ पछिका संघर्षहरू समस्या समाधानमा व्यावहारिक रूपमै सम्बोधित र समायोजित भएनन् । त्यसका लागि हिजोका सम्भ्रान्तहरूसँग सहमति आवश्यक थियो । किनभने, संविधानसभाको दोस्रो निर्वाचनपश्चात् नेपाली समाजले हिजोको र दोस्रो जनआन्दोलनपछिको विचारधारालाई सन्तुलित भएर अघि बढ्ने सन्देश दिइसकेको थियो । नेपाली समाजले विगतमा र भोलि पनि दिने सन्देश यही हो, सन्तुलनको । हिजो सन्तुलन थिएन, त्यसैले त ठूलठूला आन्दोलन भए ।

के पृथ्वीनारायणको नाम लिँदै गर्दा मैले शान्तिप्रक्रियाप्रति मेरो गहिरो आस्था अभिव्यक्त गरेको थिइनँ ? के मैले नेपाल एकीकरणको निम्ति पृथ्वीनारायणलाई धन्यवाद दिँदै गर्दा अधिकार र सम्मानबाट वञ्चित मधेसी, महिला, मुस्लिम आदिले यस भूखण्डमा अपनत्व महसुस गर्नुपर्छ भनेको थिइनँ ? शान्तिप्रक्रियाको बाटोमा हामी थोरै अगाडि बढ्दै गरेको तर उदाहरणीय बन्न नसकेको भनेको थिइनँ ? के भनेको थिएँ, जो अहिले पनि यूट्युबमा सुन्न सकिन्छ । 

खासमा म सन्तुलनको खोजीमा थिएँ । मलाई ‘एक्टिभिस्ट’ भनियो । सायद, दातृ निकायका उपल्लो तहमा काम गर्ने नेपाली या विदेशीहरू नेपालको गन्तव्य र शान्ति भनेको सन्तुलित इतिहास, वर्तमान र भविष्यमा नै छ भन्नेसँग सहमत छैनन् । 

विपन्न र पछि पारिएका समुदायलाई माथि उठाउने दुईवटा बाटा छन् । एउटा संघर्षको, जून सामाजिक आन्दोलन, राजनीतिक दल र अधिकारकर्मीहरूले सम्भ्रान्तहरूविरुद्ध गर्छन् । दोस्रो, सम्भ्रान्तहरूसँगको मोलमोलाइ र ‘नेगोसिएसन’ले । अब, एनटीटीपीआई के हो ? राजनीति गर्ने दल या नेगोसिएसन गर्ने ठाउँ ? म एक्टिभिस्ट कि एनटीटीपीआई ? 

वास्तवमा मेरो फरक मत के थियो भने नयाँ सन्दर्भमा संस्थाले आफूलाई समय सापेक्ष बनाउन सकेन । ‘कन्फ्लिक्टिङ एक्टर’ (द्वन्द्वरत पात्र)हरू ०६२/०६३ सम्म जो थिए, ती अब उही रूपमा छैनन् । नयाँ पात्रलाई नयाँ सन्दर्भमा सम्मिलन गर्न हामी फराकिलो हुनु जरुरी थियो र छ । मैले संस्थालाई आफ्नो स्वागत मन्तव्यबाट त्यस्तै सन्तुलनतिर लाने प्रयास गरिरहेको जनाउ दिएको थिएँ । दुर्भाग्य ! जसलाई म फराकिलो विचारवाहकका रूपमा देख्दै थिएँ, त्यो साँघुरो बनेर परिभाषित हुन पुग्यो । मैले अझै पनि जवाफ पाइसकेको छैन, के पृथ्वीनारायण नामै लिन नहुने पात्र हुन् ? के पृथ्वीनारायण खलनायक नै हुन् ? 

प्रकाशित: फाल्गुन २४, २०७३