नोटबुक

- गोकर्ण गौतम

(अ)सांस्कृतिक सहचारी
एसियाकै प्रतिष्ठित भारत रंग महोत्सवमा सहभागी हुन नेपाली रंगकर्मीको २५ सदस्यीय टोली दिल्लीको मन्डी हाउस पुगेको थियो, फागुन पहिलो साता । पल्लो चोक बारखम्बा रोडमा थियो, नेपाली दूतावास । कला–संस्कृति प्रवद्र्धनमा विदेशस्थित नेपाली नियोगको उदासीनता थाहा नभएको होइन । तर, दूतावासले नेपाली कलाकारलाई भेटघाटका लागि बोलायो, हामी तीनछक पर्‍यौँ । त्यसभन्दा अचम्म त दूतावासका सांस्कृतिक सहचारी कृष्णप्रसाद पन्तको चालढालले भयौँ अझै । 

भेटघाटमा राजदूत दीपकुमार उपाध्याय पनि थिए । सामान्य चिनापर्चीपछि भारतमा नेपाली नाटक मञ्चनमा दूतावासले खेल्न सक्ने भूमिकाबारे राजदूतले बोल्न सुरू गरे । उनी प्रत्येक पाँच वाक्यमा ‘पन्तजीसँग सल्लाह र समन्वय गर्नूस् है’ भन्थे तर पन्त स्वयंचाहिँ घरी मोबाइल खेलाउँथे, घरी फोन उठाउन बाहिर निस्कन्थे । उनले मर्यादा मिचे नै, कार्यक्षेत्रप्रति कति अनुदार छन् भन्ने पनि देखाए । 
आफ्नो भनाइ राख्नासाथ राजदूत बाहिर निस्के, ‘पन्तजीसँग थप सल्लाह गर्नूस्’ भन्दै । तर, पन्तजी चाहिँ चुइक्क बोलेनन् । मैले आफ् नो परिचय दिँदै सोधेँ, “साँस्कृतिक सहचारी भएको दुई वर्षमा के के गर्नुभयो ?” उनको प्रतिक्रिया बडो अजीवको थियो । हात जोड्दै भने, “सर ! यस्तो कुरा मलाई नसोध्नूस्, बोल्नै मिल्दैन ।” सुरक्षा र राजनीतिबारे सोधिएको थियो र ? उनले मुख खोल्न नहुने । तर, उनी त दुई हात जोडेर उम्किए । 

हामी पनि ठट्टा गर्दै बाहिरियौँ, सांस्कृतिक सहचारीका अगाडि ‘ अ’ पो थप्नुपर्ने रहेछ । 

क्या मार्मिक बात !
नयाँदिल्ली रेल्वे स्टेसनबाट गोरखपुरका लागि ट्रेन चढ्दा राती ९ बजिसकेको थियो । तर, दुई घन्टा बित्दा पनि ट्रेनमा चियासम्म पिउन पाइएको होइन । 

हामीसँग दुई–चार बोतल पानीबाहेक केही थिएन । खान पाइँदैन भनेपछि पेटमा झन् मुसा दौड्न थालिहाले । यसरी छटपटाइरहेका बेला दुई जनाले खानाको अर्डर लिए । हामी त फुरुंग । २३ जनाका लागि तु खाना मगायौँ ।

खाना आयो तर पानी आएन । खानावालासँग माग्दा ‘पानी चाहिने भए नखाए हुन्छ’ भनेर ठूलो स्वरमा करायो । चुप बस्नुको विकल्प थिएन । तर, हाम्रै डब्बामा रहेका एक तन्नेरी एकाएक उठे र खानावालालाई पानी दिन आग्रह गरे । तर, उनी ‘तिम्लाई के मतलब ?’ भन्दै उल्टै पड्किए । उनीहरुबीच झगडै भयो । अन्तिममा उनले परीक्षणकर्तालाई ‘कम्प्लेन’ गरेर पानी दिलाएरै छाडे ।

हामी अन्जानका लागि उनी किन यत्ति लागिपरे ? उनी रहेछन्, लखनउ निवासी रोहित मिश्रा । केही समयअघि नेपाल आउँदा बानेश्वरमा यसरी नै ठगिँदा उल्टै हप्कीदप्की सहनुपरेछ । अरुबाट पनि मीठो व्यवहार पाएनन् । यो सबै कुरा एक नेपाली मित्रलाई सुनाउँदा यस्तो जवाफ पाए, ‘हामीलाई भारत जाँदा तिमीहरुले यस्तै हेप्छौ, ठग्छौ । त्यही भएर भारतीय देख्नासाथ नेपालीहरु रुखो हुन्छन् ।’ उनी नाजवाफ ।  

रोहितले मुस्कुराउँदै भने, “अहिले तपाईंहरु मेरैअगाडि ठगिँदा चुप बसेँ भने अर्को पटक म नेपाल जाँदा त्यस्तै भोग्नुपर्दैन त ?” 
क्या मार्मिक बात !

मध्यरातको मेकअप

मध्यरातमा आँखा मिच्दै खाना खान चितवनको जुगेडीस्थित एक होटलमा छिर्ने हाम्रो टोलीमा चल्तीका अभिनेता दयाहाङ राई पनि थिए । टोपी उनेकाले जोकोहीले ठम्याउन मुस्किल पथ्र्यो । तैपनि, दुई ठिटाले चिने, सेल्फी खिच्न आग्रह गरे । दयाहाङले नम्र स्वरमा ‘सरी’ भने । उनीहरु फरक्क फर्किए । त्यही बेला मेरो आँखामा परिन्, होटल काउन्टरमा रहेकी साहुनी । ४० वर्ष त पक्कै कटेकी हुनुपर्छ । मेरो नजरमा किन परिन् भने त्यतिबेला उनी आँखा ठूला पार्दै दयाहाङतिर हेरिरहेकी थिइन् ।  

केही मिनेटको एकोहोरो हेराइपछि उनी ढुक्क भएको हुनुपर्छ, त्यो केटो हिरो दयाहाङ नै हो । त्यसपछि के चाहियो ? ग्राहकको ओइरो र मध्यरात भए पनि वालै फरर भनेजसरी मेकअप गर्न थालिन् । 

लिपिस्टिकबाट सुरू भएको शृंगार शृंखला गाजल र आइस्याडोमा पनि रोकिएन । ऐना हेर्दै अनुहारमा क्रिम दलिन्, कपाल कोरिन्, एयर–रिङ लगाइन् । अन्तिममा पन्चुले ढाकिएर चिटिक्क परिन् । यता ग्वामग्वाम भात खाइरहेका दयाहाङलाई के पत्तो ? उनीसँग फोटो खिचाउन कोही मस्त मेकअप गर्दै छ भन्ने । 

ठमठम गर्दै दयाहाङको छेवैमा आएर बसिन् । दयाहाङ त ट्वाँ । वेटरलाई मोबाइल थमाइन् । मोबाइल त्यति गतिलो हो जस्तो लागेन । तैपनि, बडो सानले भनिन्, ‘उहाँलाई र मलाई ताकेर हान ।” खिचेपछि मोबाइलमा फोटो हेर्दै भनिन्, ‘फेसबुकाँ हालिहाल्ने हो अब ।’ 

लखतरान परेका दयाहाङ अनि मध्यरातमा मेकअपले सजिएकी ती आन्टीको ‘ऐतिहासिक फोटो’ले कति लाइक र कमेन्ट पायो होला, कुन्नि ? 

प्रकाशित: फाल्गुन २३, २०७३