‘साम्यवाद छल्ने कुरा मात्र रहेछ’—रामेश श्रेष्ठ (गायक)

- रामबहादुर रावल

पञ्चायतकालीन कठोर राजनीतिक व्यवस्थाविरूद्ध ‘गाउँगाउँबाट उठ...’ भन्दै जनतालाई जगाउने युवाहरुको समूह राल्फाका सदस्य थिए, रामेश श्रेष्ठ, ७३ । पञ्चायत ढल्यो, बहुदल आयो । फेरि ‘कू’ भयो । तिनै गीत लिएर उनी सडकमा उत्रिए । लोकतन्त्र आयो । गणतन्त्र घोषणा भयो । तर, उनलाई सन्तोष छैन । सान्दर्भिकता नसकिएको भन्दै ५० वर्ष पुराना राल्फाकालीन गीत रेकर्डिङमा जुटेका तिनै श्रेष्ठसँग नेपालले गरेको कुराकानी :

पुरानै शब्द, संगीत र आवाज कहिलेसम्म बेचिरहने ?
गीत–संगीत पुराना भए पनि उत्तिकै सान्दर्भिक र उपयुक्त छन् । तबसम्म यी गीतहरू गाइरहनुपर्छ, जबसम्म जनताले सुख पाउँदैनन्, देशमा परिवर्तन आउँदैन, जनता देशका मालिक हुन्नन् ।

तपाईंले जुन उद्देश्यले गाउन थाल्नुभएको थियो, त्यो पूरा भएन र ?
त्यो त तपाईं आफैँलाई सोध्नूस् । तपाईंको परिवारलाई सोध्नूस् । तपाईंको जीवनलाई सोध्नूस्, त्यसको उत्तर पाउनुहुनेछ ।

सुरुमा तपाईं यस क्षेत्रमा लाग्दा कहिलेसम्म आफूले चाहेको परिवर्तन आउलाजस्तो लागेको थियो ?
म आफूले होइन, तीन करोड जनतामध्ये ९९ प्रतिशत श्रमिक थिए, जो बौद्धिक र शारीरिक श्रम गरेर बाँच्थे । तिनको चाहना भनेको जीवन सुखी, सम्मानित हुनुपर्छ र आर्थिक रूपले समृद्ध हुनुपर्छ भन्ने हो । यी सबैले आफ्नो देश बचाइदिने, कमाइदिने इमानदारी खोजेका छन् । राणाकालदेखि आजसम्म परिवर्तन पक्षधर हरेक नेपालीको भावना यही हो ।

लोकतन्त्र, गणतन्त्र सबै आइसक्यो । अब कस्तो परिवर्तन हुनुपर्ने हो ?
कमजोर वर्गमाथि अपमान, हिंसा, विभेद अझै उस्तै छ । जसले सारा कुरा श्रम गरेर कमाइदिएका छन्, थामिदिएका छन्, तिनको जीवन झन् दु:खी छ । तिनै माग्ने छन् । हलीहरूलाई जग्गा वितरण गरेर स्वामी बनाउनुपर्छ भनेर पहिला कांग्रेसले नारा लगायो । पछि त्यही नारा कम्युनिस्टले लगाए । जोजो सत्तामा गए, ती सबैले बिर्सिए । केही गरेनन् । 

व्यवस्था त बदलियो नि, होइन ?
हो, केचाहिँ भन्न सकिन्छ भने हामी असफलचाहिँ छैनौँ । क्रमिक रूपमा हामी अघि बढ्दै छौँ । राणाको दरबारबाट राजनीति शाहकोमा आयो । त्यसपछि कांग्रेसकहाँ आयो अनि कम्युनिस्टकहाँ । समस्या के भइदियो भने जो सत्तामा गए, तिनको चाल, चलन, चरित्र, व्यवहार, संस्कार, संस्कृति सबै उही सामन्ती । एउटाले लुट्थ्यो, अर्कोमा सर्‍यो । अर्कोले लुट्थ्यो, झन् अर्कोमा सर्‍यो । देश र जनताको दुर्दशा भयो । र, त ४०औँ लाख मानिस विदेशिएका छन् ।

आधुनिक पुस्ताले विश्व चहार्नुमा राजनीतिज्ञको के दोष ?
उनीहरूलाई नेपालमा बस्नका लागि अनुकूलता दिइएन, धपाइयो । यो गणतन्त्रमा झन् देशको दुर्गति भयो । जसलाई हामीले गीत गाउँदै गाउँदै गणतन्त्रको पक्षमा ल्याएका थियौँ, तिनैलाई गणतन्त्रमा रमाउन दिइएन । 

जनताले त अब भोट नै हाल्न पाउने कि नपाउने भन्ने अवस्था छ नि ?
भोट हाल्न नपाए जनता सडकमा आउँछन् । भाग्य, जिन्दगी बनाउने हो भने हामी आफैँ उठ्नुपर्छ । यसरी उठ्दा धर्म, जाति, इलाका यस्ता कुरामा लटपटिने होइन । अबको युग जनता मालिक हुने युग हो । जनता मालिक बन्न जान्नुपर्छ, जाग्नुपर्छ, ती गुण पनि आफूमा ल्याउनुपर्छ ।

समावेशिताका सन्दर्भमा जातीय र क्षेत्रीयताका कुरा बहसमा छन् । यसलाई कसरी लिनुभएको छ ?
देशलाई दुर्बल, कमजोर र अशक्त पारेर, आफ्नो कब्जामा राखेर चलाउनका निम्ति गरिएको विदेशीहरूको षड्यन्त्र हो यो । जातीय, धार्मिक, क्षेत्रीय जेजे नारा दिइएका छन्, यी कुनै पनि सही नियतले आएका छैनन् । धर्म, जातिका नाममा आफ्नो व्यापार र जीविका चलाउनेहरूले यस्ता लफडा निकालेर आफ्नो अनुकूलतामा मान्छेलाई चलाउने चाल मात्र हो । 

माओवादीको पक्षमा भोट पनि माग्नुभयो । अहिले विचार परिवर्तन भयो ?
त्यत्रो अठारौँ हजार जनताको जीवन लिएर, पचासौँ हजार घाइते/अपांग बनाएर, हामीजस्ता बुद्धिजीवी र करोडौँ नेपालीको आस्था लिएर आएकाले केही गर्ला कि भनेर यसलाई भोट दिऊँ भनेकै हो । राणापछि कांग्रेस, कांग्रेसपछि कम्युनिस्ट, कम्युनिस्टपछि अर्को महाकम्युनिस्ट आए । यसले केही गर्ला कि भनेको त यो पनि झन् त्यस्तै । अब यो बेइमानी, धोकाधडी, विश्वासघातको राजनीति चल्दैन । इमानको राजनीति, त्याग र समर्पणको राजनीति हुनुपर्छ । यसका लागि योग्य मान्छे ल्याउनुपर्‍यो ।

कहाँबाट ल्याउने त्यस्ता योग्य मान्छे ?
धेरै छन् । हरेक पार्टीभित्र छन् । ती असल र योग्यलाई माथि आउन दिइएको छैन ।

त्यसो भए फेरि पनि सडकमा उत्रिने त ?
यस्तै हो भने उत्रिनुपर्छ । अब त यस्तो प्रश्न उठिसक्यो, घरै रहेन भने बस्ने मान्छे कहाँ जाने ? देशै रहेन भने देश खोज्न कहाँ जाने त ? राष्ट्र नै रहेन भने हाम्रो राष्ट्रियता खोज्न कहाँ जाने ? 

हिजो राणा, शाहहरूविरुद्ध जनता लडे । अब कसका विरुद्ध लड्ने ? शत्रु को हो ?
राणा, शाह शत्रु हुन् भनेर हामीलाई कसले देखायो ? र, तिनीहरू सत्तामा गएर के गरे ? अब लड्ने तिनीहरूसँग हो । हिजो राणा–शाहहरूले गल्ती गरे भनेर कसले देखाए ? यिनै कांग्रेस–कम्युनिस्टले होइन ? आज सत्तामा गएर तिनै राणा–शाहले गर्ने कुकर्म यिनले गरेर देश दुर्गतिमा पुगेको होइन ?

मूल धारका शक्तिहरू स्खलित भए । अब के वैकल्पिक शक्तिको सम्भावना देख्नुहुन्छ ?
त्यो भएन भने त जीवनै चल्दैन । रोग लाग्नेबित्तिकै अर्को विकल्प केही छैन भनेर बस्ने कि उपचार गर्ने ? उपचार त गरिहाल्छन् सचेत जनताले । 

त्यस्तो कुनै नेतृत्व देख्नुभएको छ ?
अब नेतृत्वमा नेता होइन, नेपाली जनता हुन्छन् । जनतालाई मालिक त्यसै भनिएको होइन । जनताले अह्राउँछन्, खटाउँछन्, त्यो मान्ने नेता हुन्छ । नमान्ने बढारिन्छन् । जनता कुनै पार्टीको हुँदैन, राष्ट्रको हो ।

यो त आदर्शको कुरा मात्र भएन र ?
कहाँको आदर्श हुन्छ ? घरमा बाबुले नेतृत्व गर्छ कि गर्दैन ? देश भनेको त घर हो । जनता भनेको परिवार हो । बाबुआमा भनेको सरकार हो । छिमेकी देश भनेका छिमेकी घरहरू हुन् । यसलाई जटिल बनाएर हेरेमा के हो के हो जस्तो देखिन्छ, जटिललाई सरल बनाएर पेस गरौँ, सबैले बुझ्छन् । 

जेलनेल भोगेका, संघर्ष गरेकाहरू सत्तामा पुग्दा किन फेरिन्छन् होला ?
सत्तामा पद हुन्छ, पैसा हुन्छ । अहिले हरेक कुरा जागिरका लागि भएको छ । पैसा र पदका लागि भएको छ । राजनीति यति कुहिएर, सडेर, संकुचित भएर गयो, बहुत दु:ख लाग्छ । नेताहरू त सबै लाज पचाइसकेका । 

हामी जनतामै पनि खराबी छ कि ? 
हामी संगठित भएनौँ । भएका पनि स्वतन्त्र रहेनौँ । कि त एनजीओ–आईएनजीओका भयौँ, कि पार्टीका भयौँ, कि सरकारका । खोइ जनता ? खोइ नेपालका लागि नेपाली ? 
आश गर्न सकिने नयाँ पिँढी त झन् क्याम्पसहरूमा आगजनी गर्दै छ । राजनीतिको नर्सरी नै बिग्रेको हो ?
यी त खराब राजनीतिका विद्यार्थी हुन् । यसलाई राजनीति भनिँदैन । यिनलाई इमान र सेवाको राजनीति सिकाइएकै छैन । उन्नति–प्रगतिका निम्ति राजनीति, संस्कृति, संस्कार सिकाइएकै छैन । 
अनि, सिक्न कहाँ जाने त ? नेपाली जनतासँग सिक्ने । जनताले के आगजनी ठीक भनेका छन् ? स्ववियु भंग गर्न भनेका छन् । संसद्वादी व्यवस्था नै फापेन पनि भन्दै छन् । यसको बदलामा अर्को कुनै विकल्प सोच भनिरहेका छन् । 

के हो त्यो विकल्प, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने हो ?
अहिले मधेसवादी दलहरूले अलमल्याएका छन् र मात्रै । होइन भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नभई त यो देशमा केही हुँदै हुँदैन । जनता मालिक पनि हुँदैनन् । सधैँ यिनका नोकर हुन्छन्, दास हुन्छन् । यिनीहरूको अरौटे, भरौटे, झोले, झन्डे मात्र हुन्छौँ हामीहरू । 

बाबुराम भट्टराईको नयाँ शक्ति वैकल्पिक शक्ति बन्न सक्छ ? 
बाबुराम भट्टराईको अनुहार संसारले थाहा पाइसकेको छ । कसरी नयाँ भयो त्यो शक्ति ? उनी प्रधानमन्त्री हुँदा उनको परिवारबाट के के भयो, संसारलाई थाहा छैन र ? 

तपाईं जुन साम्यवादको परिकल्पनाका साथ कम्युनिस्ट बन्नुभयो र अरूलाई पनि बनाउनुभयो, आजको दिनमा हेर्दा सम्भव छजस्तो लाग्छ ?
साम्यवाद कार्यकर्तालाई छल्ने कुरा मात्र रहेछ । माक्र्सले एक पटक लेखिदिएका थिए । त्यही भट्याएर बसेका छौँ । मान्छे अहिलेको अहिल्यै यहाँ खान नपाई मर्ने अवस्था छ । उसलाई साम्यवाद ल्याइदिन्छौँ, चुप लाग् भन्नुको कुनै अर्थ छैन । 

भनेपछि जनतालाई छल्नकै लागि यी नारा दिइएका रहेछन्, होइन त ?
छल्नका लागि नभनौँ, सपना देखाइयो । त्यो सपना राम्रो पनि छ तर लागू हुन कठिन । जनवाद ल्याउँछु भन्नेहरूमै सामन्ती संस्कार छ । 

हाम्रो संस्कारमै कतै कमजोरी छ कि ?
संस्कार खराब पनि छ, असल पनि । खराबलाई उठायौँ, असललाई दबायौँ । हामीले सेवक चाहेका थियौँ, झन् ठूला शासक आए । शासक प्रवृत्ति यिनमा हुर्कियो । अब असल शासन/सुशासन होइन, सु–सेवा भन्न थालौँ । शासक होइन, सेवक भन्न थालौँ । 

अब कहिले सुध्रिएला त देश ?
म कहिल्यै निराश हुन्न । निराश हुने कुरै छैन । देश राम्रो हुन्छ । निराश हुनु भनेको मर्नु हो । कोही मर्न चाहन्छ ? कति त वितृष्णाले मरेका पनि छन् तर तिनले के पाए ? बरू बाँचेकाले, संघर्ष गरेकाले धेरै कुरा सिक्ने मौका पाएका छन् । असल र खराबबीचको संघर्ष नै त हो जीवन । भागेर कहाँ पुगिन्छ ? गीतै छ नि, ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवनदेखि भागेर मर्छु नभन...।’ 

 

प्रकाशित: फाल्गुन २३, २०७३