[झटारो] आक्रोश आदान–प्रदान

- लक्ष्मण गाम्नागे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई लेखेको ‘आक्रोश–पत्र’ बोकेर उनका दूत देउवाको दरबारमा छिरे । करिब दुई घन्टा प्रतीक्षा गरेपछि बल्ल दूतले देउवाजीको दर्शन पाए । पौडेलले पठाएको पत्र दूतले नै पढेर सुनाउने चेष्टा गर्नासाथ देउवाले पत्र खोसी टोकरीतिर हुत्याइदिए । दूत वाल्ल परे ।  

देउवाले भने, ‘कविता सुन्ने फुर्सद छैन मलाई । के भन्न आयौ, सोझै भन ।’ 

दूतले बिन्ती बिसाए, ‘यो कविता होइन हजुर, चिट्ठी हो । यो चिट्ठी हजुरले यसै गरी नपढी हुर्‍याउनुहुन्छ भनेर नै वरिष्ठ नेताज्यूबाट मलाई आफैँले पढेर सुनाउन निर्देशन भएको छ ।’ 
देउवाले गर्जेर सोधे, ‘को त्यो मभन्दा वरिष्ठ नेता ?’

दूतले बिन्ती टक्र्याए, ‘पत्र प्रेषक हाम्रै पार्टी नेपाली कांग्रेसका वरिष्ठ नेता हुनुहुन्छ । हजुरले हाम्रो पार्टीमा आजसम्म कसैले नामै नसुनेका आशा लामा, रमेश कोइराला र भीम उदासजस्ता प्रतिभालाई चिनेर कांग्रेसको कोटामा राजदूतमा सिफारिस गर्नुभयो भने रामचन्द्र पौडेललाई पनि अवश्य चिन्नुहुनेछ भन्ने उहाँको अठोट छ ।’ 

‘चिन्यो, चिन्यो । अनि, के खान चिट्ठी लेख्नुपर्‍यो त, मुख थिएन बोल्नलाई ?’
‘मुखले भन्दा हजुरका कानमा बतास नलागेकाले चिट्ठी नै लेख्नुपरेको भन्ने उहाँको भनाइ छ ।’ 
‘यो चिट्ठी हो कि पर्चा हो ? भएभरका पत्रपत्रिकामा प्रचारप्रसार गरेर लेख्नुपर्छ चिट््ठी लेख्दा ? एकलौटी पार्टी चलायो । केन्द्रीय समितिको बैठक डाकेन । पैसा लिएर गैरकांग्रेसलाई राजदूत सिफारिस गर्‍यो । आईजीपी नियुक्तिमा सल्लाह गरेन । त्यही लेखेको होला, हैन ?’  

‘हो हजुर, के भनिदिऊँ उहाँलाई ?’

‘म लेख्न सेख्न जान्दिनँ । मुखैले भन्छु । मैले बोलेको बुझेर सबै सुनाउनू ।’
दूत ध्यान दिएर सुन्दै टाउको हल्लाउन थाले । देउवा धाराप्रवाह बोल्न थाले : 

– पार्टी चलाउने निर्वाचितले हो कि पराजितले हो, सोधेको छ भन्दिनू ।  
– पार्टी चलाउन पैसा चाहिन्छ कि चाहिँदैन ? चुनावको मुखमा खुला हृदयले पार्टीलाई सहयोग गर्ने दाताहरूलाई राजदूत सिफारिस गरेँ त गरेँ भनेर पनि सुनाउनू ।    
– म संसदीय दल र केन्द्रीय समितिको दुवै बैठक बोलाउन ठिक्क परेको थिएँ । दुई–चार महिनाभित्रै बोलाउँथेँ । तर, पौडेलले पेपरबाजी गरेर मलाई झोँक चलाएकाले म अब बैठकै बोलाउँदिनँ । के गर्न सक्छौ गर भन्दिनू । म चानचुने दबाबलाई टेर्ने मान्छे होइन भन्ने दुनियाँलाई थाहा छ ।
– पार्टीको बैठक नबसेर कुनै काम रोकिएको छैन । सरकार चलेकै छ । मेरो पालो आइरहेकै छ । नियुक्तिहरू, सिफारिसहरू गर्न म एक्लै काफी छु । जाबो आईजीपी, राजदूत, न्यायाधीश नियुक्ति गर्न पनि मैले आफूखुसी नपाउने हो भने यत्रो ठूलो प्रजातान्त्रिक पार्टीको सभापति किन हुने ? 
– मैले आरजुको मुमालाई राप्रपाकी नेतृ भनेर राजदूतमा सिफारिस गरेको होइन । सासूआमा भनेर गरेको हो । आरोप लगाउन पाएँ भन्दैमा जे पनि बोल्न पाइन्न भनिदिनू । 
– राजदूतमा सिफारिस भएका नाम मलाई इच्छा लाग्यो भने फिर्ता हुन्छ, लागेन भने हुँदैन पनि भनिदिनू ।

‘ल तिमी जाऊ । फेरि फेरि पनि तिमी नै आउनू, नेताहरूलाई नपठाउनू, मलाई झन्झट लाग्छ । ल गइहाल !’

प्रकाशित: फाल्गुन २२, २०७३